बन्दाबन्दी(लकडाउन)को कुप्रभावको सिकार बालबालिका नबनून्
प्रेमनारायण भुसाल :
कोभिड १९ का कारण नेपाल सरकारले बन्दाबन्दी घोषणा गरेको सत्तरी दिन पूरा भइसकेको छ । सरुवा रोगको सङ्क्रमणलाई रोक्न सङ्क्रमित व्यक्तिबाट टाढा बस्ने प्राकृतिक नियमअनुसार विश्व स्वास्थ्य सङ्गठनले लकडाउनको मान्यता अघि सारेपछि संसारका धेरै देशहरुले लकडाउन घोषणा गरी रोगनियन्त्रणका कदमहरु चाले । नेपालमा भने कोरोनाको औषधी नै लकडाउन हो जस्तो गरी यसको कार्यकारण प्रभाव वा बहुपक्षीय असरको आँकलन र विज्ञको सुझावबिना लकडाउनलाई निरन्तरता दिइएको छ । रोग नियन्त्रणका अन्य तयारी गर्ने अवसरका रुपमा लकडाउनलाई लिन नसक्दा नागरिक कोरोनाको त्रास र बन्दाबन्दीको अत्यासबाट पीडित बनेका छन् । लकडाउनले वैयक्तिक स्वतन्त्रता गुमाउँदा मानिसमा छटपटी मात्र होइन ससाना बालबालिकामा समेत असामान्य मनोविकारले स्थान लिने गरेको देखिन्छ ।
“बालबालिका स्वभावैले चञ्चल हुने भएकाले एकै ठाउँमा बसिरहन रुचाउँदैनन् फलतः घरमा चकचक गर्ने, झगडा गर्ने, रिसाउने, झर्किने र टोलाउनेजस्ता प्रतिक्रिया देखाउन थाल्दछन् भने राम्रो वातावरण नभएको र आर्थिक अभावले छटपटिएको परिवारमा लामो समयको बन्दाबन्दीले झनै तनाव सिर्जना गर्न सक्दछ । यसको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्न सक्दछ, जसले गर्दा अकल्पनीय दुर्घटना निम्तिने सम्भावना बढ्दछ ।
प्रौढ व्यक्तिले जीवनका असन्तुष्टि र तत्सिर्जित मनोविकारका कारण आत्महत्याका प्रयास गरेका घटनाहरु समाजमा समयसमयमा देखिने भए पनि किशोर र बच्चाबच्चीले सामान्यतया आत्महत्या गर्दैनन् भन्ने मानिन्छ । वर्तमान समाजको असन्तुलित आर्थिक सामाजिक संरचना तथा सञ्चारका माध्यमका कारण आजकल बालआत्महत्या समेत बढ्न थालेको छ । बन्दाबन्दी लम्बिँदै जाँदा बच्चाबच्चीले घरको समस्या मात्र होइन, आयआर्जन गर्न नसकेर मजदुरबाट मगन्ते बन्न विवश अभिभावकको असन्तोष र विरक्तिको तनाव समेत महसुस गर्न थालेका छन् । कोमल बालमस्तिष्कमा परेको यस प्रकारको नमिठो अनुभूतिले आत्महत्याजन्य दुर्घटना बढाउने अध्ययनहरुले देखाएका छन् । डब्लुएच्ओले कोभिड १९ को महामारी केही समयमा हराउने सम्भावना रहे पनि यसले मस्तिष्कमा पारेको असर समाजले लामो समयसम्म भोग्नुपर्ने कुरामा सचेत पारेको छ ।
“मंगलबार मात्रै स्याङ्जा जिल्ला हरिनाश गाउँपालिकाकी ११–१२ वर्षकी बालिकाले आत्महत्या गरेको समाचार प्रकाशमा आएको छ । आफ्नो घरबाट टाढा मामाघरमा बस्दै आएकी बालिकाले आत्महत्या गर्नु पर्ने अन्य कारण त खुलिसकेको छैन तर बन्दाबन्दी र परिवारसँगको विछोड तथा यसैले सिर्जना गरेको एकलासेपन आत्महत्याको कारण हुन सक्ने आशङ्का गरिएको छ ।
यी त प्रतिनिधि पात्र मात्र हुन् आजकल यस्तै कलिला बालबालिका चरम निराशाका कारण अकालमै मृत्यु रोज्न पुगेका समाचार यत्रतत्र आउन थालेका छन् । अमेरिकामा २००७ देखि २०१७ सम्मको एक दशकमा १० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको आत्महत्या दर ५६ प्रतिशतले वृद्धि भएको तथ्य रोग नियन्त्रण तथा सुरक्षण गणना (सीडीसी २०१९)ले देखाएको छ । डब्लु एच ओको १०१५ को रिपोर्टअनुसार नेपाल बढी आत्महत्या गर्ने मुलुकमध्ये १२६औँ स्थानमा रहेको छ भने डब्लु एच ओको २०१६को रिपोर्टले १० देखि १४ वर्षका बालबालिकामा गरेको अध्ययनमा त्यस वर्ष ९३६८ बालबालिकाले आत्महत्या गरेकामा केटाको सङ्ख्या ५१३० र केटीको सङ्ख्या ४२३८ रहेको थियो । नेपालका सन्दर्भमा त्यसबारे विशद अनुसन्धान हुन सकेको छैन । नेपाल प्रहरीले गरेको अनुसन्धान अनुसार आ. व. २०७५ /७६ मा भएका आत्महत्याका ५७५४ घटनामध्ये ५१८ जना अर्थात् ९ प्रतिशत १८ वर्षमुनिका बालबालिका रहेका थिए ।
दिनानुदिन बढ्दै गएका आत्महत्याका घटनाका पृष्ठभूमिको अध्ययन तथा रोकथामका लागि राज्यस्तरबाट तदारुकता नदेखाउने हो भने स्थिति झनै भयावह बन्ने सम्भावना देखिन्छ । कल्पनासम्म गर्न नसकिने १०–११ वर्षका बालबालिकाको आत्महत्या प्रवृत्तिका कारण बारे सबै सजक हुनुपर्ने अवस्था देखा परेको छ । आत्महत्याका विभिन्न कारणहरू हुन सक्दछन् । नेपालमा यस विषयमा अनुसन्धान हुन सकेको छैन ।
नेपाल प्रहरीले बन्दाबन्दीपूर्वको एक महिना र बन्दाबन्दी सुरु भएपछिको एक महिनाका आत्महत्याका घटनाको तुलनात्मक अध्ययन गरेको छ । प्रहरीको अध्ययन अध्ययनअनुसार अघिल्लो महिनाभन्दा महिला ६ प्रतिशत, पुरुष १९ प्रतिशत, बालिका ४५ प्रतिशत र बालक ४६ प्रतिशत बढीले आत्महत्या गरेका छन् । बालबालिकाको आत्महत्या दर ५० प्रतिशत हाराहारीमा वृद्धि हुनु निकै गम्भीर कुरा हो । यद्यपि बालबालिकाले गर्ने आत्महत्याको मूल कारण तत्कालीन आवेश, चरम निराशा, असहाय भएको अनुभव र प्रविधिको कुप्रभाव हो । बन्दाबन्दीले यी माथिका सबै कारणमा घिउ थप्न सक्ने भएकाले बालस्वास्थ्य र बालबालिकाका विषयमा सबै बढी संवेदनशील बन्नुपर्दछ ।
यसैले हरेक परिवारमा बालबालिकाका कुरा सुनिदिने र विद्यालयहरूलाई बालमैत्री बनाउने तथा आधुनिकताका नाममा प्रविधिको छाडा प्रयोगमा नियन्त्रण गर्ने काम गर्नुपर्ने भएको छ । बालबालिकालाई नैतिक मूल्य सिकाउने तथा परीक्षामुखी, घोकन्ते शिक्षाका सट्टा गुणात्मक शिक्षा (भ्यालु एजुकेसन) लाई प्रवर्धन गर्ने काममा सम्बन्धित निकाय आजै लाग्नुपर्ने देखिन्छ । बन्दाबन्दीले सिर्जना गरेको असामान्य अवस्था, छाडातन्त्र, अराजकता र नैतिक मूल्यमा आएको ह्रासका कारण बालआत्महत्याको दर अझै बढ्ने सम्भावना रहेको छ । यसलाई रोक्न घरपरिवार, समाज, विद्यालय सबैतिर बालमैत्री वातावरणको सिर्जना गर्न कत्ति ढिलाइ गर्नुहुँदैन ।
“कोभिड १९ महामारी कि त्रासमारी भन्ने विषयले बौद्धिक वर्गमा बहस सुरु गराइसकेको अवस्थामा सङ्क्रमणबाट बच्ने निर्विकल्प उपाय बन्दाबन्दी हो भन्ने सरकारको ठम्याइमा पुनर्विचार गरिनु आवश्यक छ । सचेतना सहितको वैयक्तिक सुरक्षाको प्रत्याभूति गरी जनजीवनलाई सामान्यीकरण गर्न नसके समस्या झनै बढ्ने निश्चित छ ।
बन्दाबन्दीको अन्त्यसँगै मनोवैज्ञानिक प्राथमिक उपचार गाउँगाउँमा पु¥याउन सरकारले स्थानीय निकायको संयोजनमा पहलकदमी गर्नका लागि कत्ति ढिलाइ गर्नु हुँदैन । ज्यालामजदुरीबाट जीविकोपार्जन गर्ने तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई निःसर्त आर्थिक सहयोग गर्दै मनोसामाजिक परामर्श तथा मनोवैज्ञानिक प्र्राथमिक उपचारलाई सुलभ बनाउन सके लामो समयको बन्दाबन्दीको कुप्रभावलाई न्यूनीकरण गर्न सकिनेछ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुन् ।)
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …