‘आफू जलेर भए नि’…..कोरोनाले पारेको प्रभावमा एक प्रअको भावना !

bed_prasad aryal_edt

बेद प्रसाद अर्याल :

आफू जलेर भए नि,ज्ञानको ज्योति छर्थे,
के खाएर आयौ भनी,मैले प्रश्न गर्थे ।
दायाँबायाँ जान्थे कहिले,हराए भनी खोज्न,
कति उत्सुक हुन्थे बरै,यिनी प्रश्न सोध्न ।।

कोही नाङ्गै कोही भोकै,भन्दैन्थ्ये झरी,
पढ्न भनी खोलानाला,आउँथे जंघार तरि ।
कोहि भीरपाखा हुदै,आउँथे सिक्न भनी,
पढ् बाबू भन्दा खेरी,पढथे कनी कनी ।।

स्कुल आउँथे उकालोमा,कान्ला छामी छामी,
हजुरको छत्रछायामा,हुर्केका छौ हामी ।
भन्थे यिनले मुस्कुराई,दिलको ढोका खोली,
ठुलो मान्छे बन्नुपर्छ,न्युटन जस्तै भोलि ।।

कहिले हात समातेर,अघिपछि हिडथे,
सन्तानको भक्तिभाव,तिनले हामीलाई छिडथे ।
कति खुसी हुन्थ्यौ हामी यिनको सामु हुँदा,
मनै चस्क हुन्थ्यो हजुर!कोमल हात छुँदा ।।

दिनभरी यिनीसंङ्ग,रमाउँदा खेरी,
नतमस्तक हुन्थ्यौ हामी,यिनको प्रतिभा हेरि ।
भन्थे ढिडो,आटो खाई,सिक्न हामी आएको,
यी चन्चल स्वभावको, कति माया लाएको ।।

अहिले के गर्दै होलान् ?यी लालाबालाहरु,
सिक्न कति खोजे होलान,मैले कसो गरुँ ।
प्रबिधिको छाता मुनि,सबै पुग्ने भए,
लाउने थिए मैले पनि,प्रबिधिको लय ।।

के नै पाप गरेथ्यौ र?भनी हाल पहिले,
प्रकृतिको बज्रपात नि,हामी माथि अहिले ।
हानिकारक सुक्ष्मजीवको,तिमी उत्पत्ति गर्दा,
सुन्दर संसार हाम्रो थियोे,लाग्ने भयो पर्दा ।।

हाम्रो पुकार सुनिहाल,सक्छौ तिमी गर्न,
सुगन्धका बासनाहरु,जताततै छर्न ।
कहिल्यै पनि हुन्न हेर,तिमी पछि पर्न,
आशा गर्छौ कसैलाई नि,दिने छैनौ मर्न ।।

देशका कर्णधार यिनी,सिक्ने बेला यहि हो,
मस्तिष्कमा आघात पर्‍यो,समय खेर गैइगो ।
अब कहिले आउँला हाम्रो,सिक्ने दिन फेरि,
बसे होलान यिनीहरू,टुलुटुलु हेरि ।।
बसे होलान यिनीहरू,टुलुटुलु हेरि ।।

(अर्याल दहथुम माबि भीरकोटका प्रधानाध्यापक हुनुहुन्छ ।)

Facebook Comments Box
TOP