नियमको पालनामा थोरै बिचलित हुँदा राजा नल र रानी दमयन्तीको यो गति……

खुमकान्त अर्याल :

रुप,शील,स्वभाव,ऐस्वर्य,धैर्यताको गुणले सम्पन्न विधर्भ राजकुमारी दमयन्तीको स्वयंम्वरको घोषणा गरियो । धेरै वीर पराक्रमी राजा, राजकुमार र देवताहरु उपस्थित सोयंवर सभामा वेदज्ञ, धर्मका ज्ञाता, सर्वगुण सम्पन्न सुन्दर निषध देशका राजा नललाई दमयन्तीले पति वरण गरिन् । स्वयंवरको कार्यक्रममा भागलिई फर्केका ईन्द्र समेतका लोकपाल देवहरु फर्कदा वाटोमा कलि र द्वापर संग भेटभयो । ईन्द्रले के कार्य विशेषले कँहा जादै हो भनेर सोध्दा, विदर्भ देशकी राजकुमारी दमयन्तीको स्वयंवरमा जानलागेको भनी कलिले वताएछ । दमयन्तीको स्वयंवर त राजा नल संग सम्पन्न भइसकेको कुरा ईन्द्रले वताए । देवताहरु उपस्थित भएको सभामा दमयन्तीले मानिसलाई पति वनाएको कुराको विरोध गर्दै नल र दमयन्तीको दम्पत्तिलाई संगै रहेर सुख भोग गर्न दिनेछैन भनिकन कलिले प्रतिज्ञा गरेछ ।

विदर्भ देशमा केही दिनको वसाइपछि राजा नल र रानी अाफ्नाे देश निषधतर्फ फर्के । ज्ञान विवेकले सम्पन्न धर्मभीरु राजा नल र तेस्तै धैर्य र शीलले भरिएकी महारानी दमयन्ती पाएर देशवासीहरु हर्षित थिए । उनिहरुको राजमा कुनै कुराको कमि थिएन सवै सम्पन्न थिए । राजा नलले विधिपुर्वक दैनिक तथा नैमित्तक कर्महरु निष्ठापुर्वक पुरा गर्दथे । यो जोडी देवराज ईन्द्र र सचीको वैभव भन्दा कमी थिएन ।

कलि, निषध देशको राजधानीमानै वसेर नलको दैनिक कर्ममा कँहा खोट र छिद्र फेलापर्छ तेसैवाट छिरेर नलको सुख र ऐश्वर्य छिन्ने दाऊ हेरेरे वसेको थियो । भयो तेस्तै, एक दिन साँझ, नलले सौच गरीसके पछि हातमुख धोएर कुल्ला गरीसकेर गोडा नधोइकन आचमनगरी साँझको देवपुजा तथा उपासनाको लागि वसेछन् (सौच गरीसकेपछि हातमुख गोडा धोएरमात्र मुखमा कुल्ला गरेर आचमन गरियो भनेमात्र पवित्र भईन्छ नत्र भइदैन भन्ने वैदिक विधि छ ) ।

खानाखानु अगाडि वा पछाडि पनि पुरा गर्नुपर्ने शुद्दताका विधिहरु निर्धारित छन् । सौचपछि हातगोडा धोई कुल्ला गर्नुपर्नेमा, गोडा नधोएको मौकाको उपयोग गर्दै तत्क्षण कलि, राजा नलको शरीर भित्र छिरेछ (त्रुटी नभए सम्म कलिले छिर्न पाउदो रहेनछ) । तेसपछि कलिले फेरी आर्को पनि रुप धारण गरेर नलको भाई पर्ने पुष्करलाई नल संग जुवा खेल्नको लागि मच्चाए छ । कलिले ,जुवामा आँफै उपस्थित भएर नलको सारा सम्पत्ति र राज्य जिताउने भरोसा दिएको हुदा पुष्कर राज्य र धन पाउने आसामा, पासा खेल्नको लागि राजा नललाई उक्साउन गयो । शरीरमा कलिले प्रवेश गरेपछि वुद्दि मलिन भएका राजा नलले पासा खेल्न स्वीकार गरे । दुवैभाईका वीचमा जुवा खेल सुरु भयो । खेलको सुरुदेखीनेै राजाले धनसम्पत्ति हार्दै गए । सम्पुर्ण धन सम्पत्ति र राज्य गुमाउने आशंकामा दमयन्ती र मन्त्री तथा सेवकहरुले अनेक पटक जुवा नखेल्न विन्ती गर्दापनि उनीहरु पट्टि फर्केर उत्तर पनि दिदैनथे नलले ।

जुवाको हारवाट मोहित भै आफनो सुझवुझ गुमाउदै गएको र जुवाको आशक्ति वढ्दै गएको देखेर भावी शंकटको अनुमान गर्नथालिन रानीले । चाडैनै राज्य गुम्ने अनिष्टको डरले रानीले आफना एक छोरा र एक छोरीलाई मन्त्रीको साथलगाएर माईती तर्फ पठाइन् ।

खेल्दै जाँदा नलले भएका हिरा, सुन, रथ, हात्ति, घोडा, कपडा समेत सर्वस्व समाप्त गरे, केही वाँकी रहेन । अव नलको साथमा दमयन्तीमात्र वाँकी थिइन् । पुष्करले कटाक्ष र व्यंग गर्दै रानी दमयन्तीलाई पनि पासामा थाप्न भन्याे । यो भनाईवाट विद्दिर्ण भएका नलले कटि माथीको कपडा समेत खालमा वुझाई आधावस्त्र लगाएर दरवार वाहिर निस्के । रानी दमयन्ती पनि एकसरो कपडाको भरमा नलको पछिपछि लागिन् ।

राजधानीको वाहिर गएर पानीमात्र खाएर ३ दिन सम्म वसे । पुष्करले नल संग कुनै लेनदेन व्यवहार गरेमा ठीक हुनेछैन भन्ने जनाउ दिएको हुदा उनलाई कुनै प्रजाले खान दिएनन् सत्कार र सोधपछु ‘समेत गरेनन् । ओरालो लागेको मृगलाई वाच्छाले पनि लखेट्छ भनेजस्तै । दिनरात तँहाका प्रजाकालागि दत्तचित्त रहेर सेवागरेका नललाई आज कसैले कुनै वोलीपनि दिन सकेनन् । केही वनौले फल खाँदै खिन्न चित्त सहित दुवै भयन्करको वन तर्फ लागे । भोक तिर्खा र थकानले विवेक गुमाएका नलले केही सुनौलो चराहरु अाँफु नजिक उडेको देखे । चराको मांसु खाएर भोक मेट्ने र सुनको प्वाँखवाट केही धन आउने आसामा लगाएको कपडाको टुक्रा पनि चराछोप्नलाई फेँके । चरा छोपिएन वरु कपडाको टुक्रा पनि चराले उडाएर लगिदिए ।

.

लेखक अर्याल

आँफुले सुखदिन नसक्ने हुदा वरु माइति तर्फ गए उनको रक्षा हुनेथियो भन्ने मननगरी वनको माझवाट दमयन्तिलाई तँहा वाट पुर्व देश जाने वाटा,े दक्षिण तर्फको नदीको किनारहुदै विदर्भ देश (दमयन्तिको माइतिदेश) पुगिने वाटो देखाए । वाटोमा फलफुल कन्दमुल इत्यादी पनि पाईन्छ भन्दै चारै तर्फको वाटोको विवरण दिए । दमयन्तिले “मलाई माइती जा भन्नको लागि वाटो देखाएको जस्तो लाग्यो । हजुरको भोको, थकित र दुखित अवस्था छाडेर कँही जान सक्दिन, मलाई नत्याग्नुहोस वरु दुवैजना माइतिकँहा गएमा खुसीभएर इज्जतका साथ राख्नु हुनेछ ” भनिन् । अव रात पर्न लागेको थियो । वनमा खाना केही पाइन्छकी खोजे केही पाएनन् । नजिकै एक पौवा रहेछ । पौवामा गएर धुलो भुईमा वसे । भोक, थकाइ, चिन्ता र असह्य दुःखको पीडावाट ग्रस्त दमयन्ती एकछिन पछि निदाइन् । नल निदाउन सकेनन । सोँचे कंहा जाने ? कतै वाटो छैन, उपाय पनि केही सुझेको छैन निरासामात्र छ । आँफना काखमा भोकै भुईमा आधा शरीरमा मात्र वस्त्र लगाएर निदाएकी दमयन्तीलाई हेर्दैै भक्कानिन लागे । पतिव्रता दमयन्तीलाई रक्षा गरीदिन देवताहरुलाई स्तुती गर्दै आधारातमा उनलाई एक्लै छाडेर ताँहावाट नल हिँडे । विउझिएर ्हेर्दा नल नदेखेपछि मुर्छापरेर दमयन्ती चिहिरिन लागिन, घना वनको माझमा । हे प्रभो भोकभोकै र नाङगै मलाई एक्लै छाडेर कँहा जानु भयो आउनुहोस ! यस्तो महाविपत्तिको वेला कमसेकम साथमा रहेर हजुरको सेवा सम्म त गर्थे नि ? जुवा नखेल्न अनेक उपायले संझाउन कोशिस नगरेकी होइन । मोहमा परेर मान्नु भएन । आज यो हाल भो नाथ काहा जानुभायो ? स्वयंवरको वेला मेरो प्राणरहेसम्म कहिल्यै एक्लै नछाड्ने प्रण गर्नु भएको हा,े भन्दै धेरै वेर विलाप गरिरहिन् । नल धेरै टाढा गैसकेका थिए ।


राजा नलको शरीर भित्र छिर्न कलिले १२ वर्ष देखि कुरेको थियो । गोडाधुने नियम पुरा नभएको मौकाको उपयोग गरेर कलि नलको शरीरमा प्रवेश गरेको कारण नलको सर्वस्वहरण भयो । नल सचेत भैरहेर नियम पुरा गरीराख्न सकेको भए कलिले केही गर्न सक्दैनथ्यो । हामी पनि ठीक अनुशासनमा रहने, हातमुख धुने, भीडमा नजाने, जस्ता कर्तव्यमा चुक्ने वित्तिकै कुरेर वसेको कोरोना भाइरसले हामीमा प्रवेश गर्नेछ । हाम्रो जीवनको सपना र योजना लथालिङ्ग पार्ने निश्चित छ । यसर्थ संयममा रहाैं । यो कथा दैनिक जीवनका अन्य क्षेत्रमा पनि त्यत्तिकै महत्वपुर्ण छ । “महाभारत” वनपर्ववाट । धन्यवाद ।

Facebook Comments Box
TOP