“नाम”

शम्भु अर्याल :

नाम पाउनु ठूलो कुरा होइन क्यारे। नाम त सबैले पाएकै छन् । कुल्ली, ढाकर, रिक्सावाला, नेता, नोकर,जाेकर, अधिकृत, विद्यार्थी सबैले पाउँछन् नाम । विद्धान हुनुमात्र ठुलोकुरा होइनजस्तो लागिरहेकाे छ। शकुनी, हिटलर, विनलादेन पनि त विद्धान थिए । नाम र विद्या उस्तैउस्तै लागिरहेकाे छ मलाई । नाम त कतिले पाए पाइरहन्छन् । कति आए कति गए,आउनु र जानुकाे शृङ्खलाबद्ध आराेह र अवराेह ।

“खै हजुरबुवा, बाजे, बाजेका बाजे ? खै कहाँ छन् ति सबै ? हिज उनिहरू जो थिए तिनीहरु आज कता गए ? ठूलोकुरा त रहेछ नाम कमाउनु, झनठूलो कुरारहेछ नाम जोगाउनु, नाम बचाउनु पो नाम राख्नु ।

विद्या पनि त उस्तै रहेछ । सत्कर्म, सत्काम, सत्मार्ग, सत्विचार, सत्निष्ठा पो त विद्या । विद्धान भैकन पनि ठूलाठूला शक्तिशाली मान्छेहरु विद्धान छु, विद्धान हुँ । भन्दा भन्दै, गुन्दागुन्दै घमण्ड र दम्भले कुमार्गमा हिडेको पत्तैपाउँदैनन् । मान्छे कति विद्वान छ भन्नेकुरा उसले हाँसिल गरेकाे  डिग्री र प्रमाणपत्रको चाङले निर्धारण गर्दैन । खै कहाँ गयो हिटलर, शकुनी र विनलादेनको विद्धता ? गर्व गर्नुहाेस  तपाई तेलकाे दीपजस्तो बाँचिरहनुहुनेछ । स्वाभिमानले दिग्दर्शक बन्नुहुनेछ । घमण्डले तपाई पानी मिसिएकाे तेलजस्तै मलिन हुनुहुनेछ । दम्भकाे रागले तपाई भस्म हुनुहुनेछ । बगेको पानीमा छिहिराे देखिन्छ गहिराे तालमा मुहार देखिन्छ । नामपनि यस्तै लागिरहेको छ मलाई ।
महाभारतमा देबरथ यतिकै भीष्म बनेका हाइनन् । राज्य राष्ट्र र आफ्ना पिताका खातिर उनले लिएकाे प्रतिज्ञा जस्तो अनुकरणीय के हुन सक्छ ? अठाेट प्रतिज्ञाकाे नाम भिष्मप्रतिज्ञा ।  नाम हजुरबुबाले राख्नुभएको रे । विद्वान धुरन्धर पण्डित हुनुहुन्थ्यो वहाँ। बेद, गीता, भागवत र पुराणको कण्ठ्यता वहाँले राख्नुभएको नाम अविनाश, भन्नुभएको रे । कहिल्यै नाश नहुने, अजर, अमर । 
हो म त्यस्तै हुँनु थियो । तर कति गाह्रो विचार थियो । नदिको बालुवालाई, ढुङ्गालाई त अमर भन्न सकिन्छ या सकिदैन । फलाम, रुख, सुन,चाँदी, जवाहरातलाई त अमर भन्न सकिन्छ, सकिंदैन। म त प्राण भएको मान्छे । कतिबेला हिड्दाहिड्दै, डुल्दाडुल्दै फिस्लिक्क फुस्किनसक्छ सास र दन्दन्ती डढेलो लाग्न सक्छ चितामा । कसरी बन्नु अविनाश, अजरामर । कत्राकत्रा मान्छे त मरेर गए खरानी भए ।  जसलाई हामी तस्विर अगाडि राखेर पुजा गछौं । भगवान त खोज्दै हिड्छाैं। म त सामान्य परिवारको, विपन्न सबैभन्दा ह्यापिएकाे मान्छे । कसरी बन्नु अमर ? कसरी रहनु अजर ? मलाई आमाको कुरा पनि ओईह्यात लाग्याे । विद्धान हजुरबुवाको न्वारनपनि झुटो लाग्यो । 


नाम राख्नकोलागि म कतिपटक आमाको चिरपट खााएँ होला ? कैयौं पटक बाबाको झापड धसिए होलान् । यतैकतै अवासान हुनुभएकाे छ । मेराे बाबा ! केवल एक्लै खाेजिरहेकाे छु । आँफुले फाटेकाे स्टकाेट लगाएर उसजमानमा पनि टेलिभिजनकाे एडभर्टाइजजस्तै नयाँ फेसन गर्नेहरू एक पटक सुनेकाे छैन सम्झेकाे छैन कतै संवाेधन न त स्मरण नै । हजुरकाे वास्तविक ममता लिएकाहरूले नै हजुरकाे मृत्युमा दक्षिणाकाेे उत्सव मनाए । पुरै जीवन भेलकाे चट्टान जस्तै घाेटिएर हजुरले अर्जेकाे निस्सा बाँडफाँडमा पाे हतारिए । तर हजुरको खातिर हजुरकाे स्मृतिमा कतै नाम लेखाउनै चाहेनन् । 

श्यामकृष्ण दाइ स्मरणगर्दै भन्नुहुन्छ । “बाँधिएका तमाम परालको भारिहरूमध्य जसले गरूङ्गाे भारि उठाउँछ त्याे यथार्थमा कम्युनिस्ट हाे ।” अहाे ! उस समय मजदुरकाे पक्षमा बुझाउन सकिने उदाहरण याे भन्दा बढि के नै हुन्थ्यो हाेला र ? मेरा कलिला माथले नाम राख्नकैलागि कतिपटक ढोगियो भगवान । धाइयो मन्दिर र गरियो भाकल । नाम राख्नकै लागि म यमन–यमनका पहाडहरूसँग प्रतिस्पर्धा गरेंहुम्ला साथीहरुसँग । फुङ्गालेंहुँम्लाअग्ला कान्लाहरूबाट । मर्किए होलान् हातगोडाहरु, सड्किए होलान् शरिरका अङ्गहरु, खड्किए होलान् अनगिन्ती सपनाहरु । नाम राख्नकै लागि कतिपटक पौडियो होला नजिकैको आँधिखोलामा । ट्यु खेलियो होला, पानीमा छुने खेल खेलियो होला शुरुशुरुमा त नाम राख्नकै लागि आँधिखोलामा कैयौँ पटक पानी खाइयो होला, झण्डै फुस्कियो होला सास र खुस्कियो होला प्राण । सबैको हुन्छ नाम, हरी, रामु, सीता, राधा, जानकी मङ्गले, काले, रामे, सेते, भूतप्रेत बनकी , रङ्किनी तरपनि कति गाह्रो हुन्छ हँ राख्न नाम ? नाम राख्नकै लागि म आमाको दुध चुसेँ होला, बुइ बोकिएँ होला, बाबाको काँधरखुट्टी चढेँ होला, चारखुट्टाले लत्रिदैलत्रिदै कलिला छालाहरुमा रगत बहेँ होलान् । नीलडाम परेहोलान् । कलेठी जमेहोलान् कुइनेटाहरुमा ।

“नाम राख्नकै लागि म नर्सरी पढें होला १,२,३,४, क, ख, ग यतैकतै अन्तरालमा जानेहुँला मैले मेरो नाम ।  कति भोटा फाटे होलान् । कयौं भकारी अनाज सकिएहोलान् अहो ! कस्तो विचित्र छ यो नाम।

 अहिले म प्रवेशिका परीक्षामा नाम लेख्दैछु यो पनि त नाम राख्नकै लागि होला । रिजल्ट निस्कियो । संयोगले पास भइयो । त्यो पनि नामकै लागि होला । धनेले रिक्सा चलाउँछ नामकै लागि । विरेले भारी बोक्छ नामकै लागि । मीनेले रेष्टूरेण्टमा भाँडा माझ्छे त्यो पनि नामकै लागि होला । खै के भन्ने ? कि छाक टार्न ? प्राण धान्न ? पेट पाल्न ? उसो भए किन रेक्सा चलाउनु ? किन भारी बोक्नु ? किन भाँडा माझ्नु ? ढुङ्गे युगमा पनि त टारेकै थिए छाक ,  धानेकै थिए प्राण, पालेकै थिए पेट ।  घरी–घरी सोँच्छु, त्यो सडकको लावारिसले पनि त छाक टारेकै छ, प्राण धानेकै छ, पेट पालेकै छ । प्रवेशिका पास भएपछि बा भन्नु भयो । खुशी लाग्यो दुबै दाजुभाई पास भयौ । मास्टरी जागिर हो, अहिलेसम्म नानाचाचा गरेकै थिएँ । यतै पढ भो बुढेसकालको शाहारा। अनि मन्दगतिमा घोरिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, खै के ? खै के ? उच्चशिक्षा तिमीहरूकाे पुरै जिन्दगिकाे गुरूमन्त्र र जीवनकाे अन्तिम परीक्षा । कुन्नी यसो पोखरा, काठमाण्डौं पठाउन पाए त्यै पनि नाम राख्थ्यौ की ?आमा निरास हुनुहुन्थ्यो । एककाख छोरा–छोरी, एककाख नाम्लोभारी गरेर हुर्केका लाला–बाला आज घर छोड्ने भैसकेछन् ।

अहो ! जीवन पनि त त्यो जुनजस्तै रहेछ । घामजस्तै रहेछ । पर–पर सर्दै जाने र एकदिन अस्ताउने । आँखाभरी आँशु टप्लकिन्थे आमाका र भन्नुहुन्थ्यो के म यो जून मनपर्छ, यो घाम मन पर्छ भन्दैमा म यो जून रोक्न सक्छु ? यो घाम छेक्न सक्छु ? छोराहरु टाढा हुँदैछन् कि म टाढा हुँदै छु ? जून परपर सर्दै छ कि धर्ती ? आमा टोलाउँदै गरेको देखेर सोधेँ ।आमा के भयो ? आमाले एकएकडाडु दुध कचौरामा खन्याउँदै भन्नुभयो, लौ यो पिय त्यहीपनि नाम राख्छौ कि ? अहो ! यो आमा भन्ने नाम कस्तो रहेछ हँ ? दुध पिलाउँदा पिलाउँदै यत्रो भैसक्दापनि दुधकै कुरा । कति नथाक्दोरहेछ यो दुध ? सानो हुँदा चुसियोहोला, अहिले पिँइदैछ। धन्य दुध । धन्य आमा । बाफरे बा ! सायद त्यो पनि त नामकै लागि होला । अन्ततः बाबाआमाले निर्णय लिनु भो । जाउभो पोखरा कहिलेकाहिँ अत्यार लागे आउ भन्नहुने । त्यै पनि ठूलोठाउँको नाम पनि ठूलैहुन्छ । ठूलोठाउँमा पढ्यौभने नाम पनि ठूलो होला । कस्तोरहेछ यो ठूलो र सानो भन्ने । मान्छे ठूलो–सानो, नाम ठूलो–सानो, जात ठूलो–सानो, भात ठूलो–सानो, पैसा ठूलो–सानो, देश ठूलो–सानो, अझै भएन भनेर भगवान पनि ठूलो–सानो । ए भगवान ! तँ आँफैले श्रृष्टिगरेको यो संसारमा तँ आँफै ठूलो–सानो । अचम्म छ यो प्रकृती सानोठूलोकै दौड दौडिदादौडिदै ड्याम्मै थलापर्ला यो संसार, संहारहोला यो जगत्  । उस समय पनि अजम्मरी रहन्छ नाम । याे दुई अक्षर नामकाे रहस्यमा शाेंच्दाशाेंचदै कुनैदिन यस्तरी निदाउने छु । कहिल्यै नबिउझनेगरी । तरपनि याे ब्रमाण्ड नै सकिएछ भनेपनि केहि न केही त रहिरहन्छ याे दुनियामा त्याे हाे नाम । 
  (वालिङ -६, मिर्दी,स्याङ्जाका स्थायी वासिन्दा अर्याल युवा साहित्यकार हुनुहुन्छ, उहाँका बिभिन्न कृतिहरु प्रकाशित रहेकाछन् भने उहाँका फुटकर कथा,कविता र निवन्ध समेत प्रकाशित रहेकाछन् )

Facebook Comments Box
TOP