मेरी आमा ( कविता )
मिलन समीर :
मेरी आमा
बिहान सबेरै उठेर
पोत्नुहुन्छ – दैलोठेला
र दैलोठेलासङ्गै पोत्नुहुन्छ
आफ्नै सपनाको इन्द्रेणी रङ ।
मेरी आमा
मिर्मिरे बिहानीमा गौथली नउड्दै
डोकोमा घैला हालेर
पधेरातिर लाग्नुहुन्छ – एक्लै
र भर्नुहुन्छ – घैलाभरि पानीसङ्गै
हर्ष र विश्मातका आँसुहरु ।
मेरी आमा
झिसमिसे बिहानीको पहिलो प्रहरमै
गर्नुहुन्छ – ढिकीजातो
र ढिकीजातोमा
कुट्नुहुन्छ – मकैका दानासङ्गै
आफ्ना चाहनाहरु
पिस्नुहुन्छ – कोदोसङ्गै
आफ्ना सीमित खुशीहरु ।
मेरी आमा
भान्साको काम गर्नुहुन्छ – बिहानै
सल्काएर आगो – चिसो चुलोमा
दन्काएर दाउरा – आफ्नै सीमित इच्छा र आकाङ्क्षाको
तयार पार्नुहुन्छ – खाना
हाम्रालागि ।
मेरी आमा
चरचरी फुटेका नाङ्गा खुट्टाले
पुसे सिरेटोमा
चुरुच – चुरुच तुषारोसङ्गै
ऐसेलु र चुत्राको काढामाथि टेक्दै
बढिरहनुहुन्छ – अगाडि
हामी सबै सन्तानहरुलाई
राखेर आफ्नो न्यानो खोकिलामा
जिन्दगीको अविरल गोरेटोमा
गर्नुहुन्छ – उकालीओराली ।
मेरी आमा
रातविरात नसुतेरै
घामपानी नभनेरै
कहिले फेरि
खेतबारीमा पुगेर – मध्येरातमै
ठूलै थुन्सेभरि ल्याएर – घाम
हामी सबैलाई – झिसमिसेमै
बाड्नुहुन्छ – अञ्जुलीभरि ।
मेरी आमा
आफ्ना सन्तानको जिन्दगीमा
उज्यालो ताप छर्नैका लागि
फेरि पनि घामसङ्गै
खेल्नुहुन्छ – पौठाजोरी
सुर्योदयसङ्गै
पुजा गर्नुहुन्छ – घामको
कुरा गर्नुहुन्छ – कामको
अस्मिता बचाउनुहुन्छ –
हामी सबैको नामको ।
मेरी आमा
जिन्दगीका हरेक पल – प्रतिपलहरुमा
बुवाका परिश्रमी हातहरुसङ्गै
मिलाउनुहुन्छ -आफ्नो हात
परिश्रमसङ्गै
पसिनाका धाराहरु
पुछेपछि हास्नुहुन्छ
जीवनको श्रुतिमधुर
लयसङ्गै नाच्नुहुन्छ
अविरल बहने
आधिखोला र करादीखोलासङ्गै
मीठो सुस्केरा साट्नुहुन्छ –
एकैछिनका लागि भए पनि
बिर्सिएर – थकाइको असैह्य पीडा ।
हामी सबै सन्तानहरु
हाम्री आमाको सुस्केरामा
अलिकति कावा खान्छौ
बनचरीले जस्तै ।
भतभती मुटु पोलिरहे पनि
लछरप्पै आँसु र पसिनाले भिजिरहे पनि
र कुजिएरै बस्नुपरे तापनि
कहिल्यै धिक्कार्नुहुन्न –
आफ्नो जीवनलाई
अनि हाम्रो कृतघ्नतालाई ।
प्रसवको भन्दा पनि अझै चर्को
पीडामा गाजिनु भए पनि – आफू
हामीलाई अनुभुत गराउनु हुँदैन – कहिल्यै
आमाले आफ्नो असैह्य पीडाको आभास ।
मेरी आमा
दिनभरि गोठालो गरेर भोकभोकै
घाँसको गह्रुङ्गो भारीसङ्गै
घर फर्किदा – ठोट्नेको डुकु टोकेको
नमिठो स्वाद लिएर – आफुले
गराउनुहुन्छ हामीलाई – अमृत भोजन ।
मेरी आमा
साझपख कुखुरा बाख्रासङ्गै
आफ्नै मनका सीमित इच्छा र आकाङ्क्षालाई
थुनेर – पुरानो खोरभित्र
ओडालेर – कोदोको ढिडो
मेटाउनुहुन्छ – आफ्नो भोक ।
मेरी आमा
दिनभरिको थकान मेटाउन
छिप्पिदो अधेरी रातसङ्गै
ओछ्याएर एउटै गुन्द्रीको करङ
कामना गर्नुहुन्छ – हाम्रै शुभ सपनीको
मेरी आमा
घाँस , दाउरा , मेलापातसङ्गै
गर्नुहुन्छ – पानीपधेरो
र छोट्याउनुहुन्छ – आफ्नै जीवनयात्रा
कामना गर्नुहुन्छ – हाम्रैलागि
समुज्ज्वल भविष्यसङ्गै दीर्घायुको ।
आमाको लागि अहिलेसम्म
केही गर्न सकेका छौँ त हामीले ?
अरु कुरा त परै जाओस्
यताको एउटै सिन्को पनि उता सार्नै सक्दैनौं – हामीले
ढलेको एउटै सिन्को पनि उठाउनै सक्दैनौं – हामीले
किनकि –
हामी त छोरामान्छे हौं
छोरामान्छे !
@ करादीखोला , स्याङ्जा
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
१ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …