लकडाउनको उपलव्धी : पुर्ख्यौली पेशामा व्यस्त छन् स्याङ्जाका युवापुस्ता

भवानी अधिकारी/स्याङ्जा :

पुतलीबजार नगरपालिका-९ कोल्मा बराहचौरका दिलकुमार भुजेलले कोरोना भाइरसबाट बच्‍न गरिएको लकडाउनलाई सदुपयोग गरेका छन्। उनले माहामारीका रुपमा फैलिएपछि यसलाई कहर मात्रै होइन अवसरका रुपमा उपयोग गर्न जान्नुपर्छ भन्ने भनाईलाई आत्‍मसात गरेका छन्।

कोरोना संक्रमणबाट आइपर्न सक्ने समस्या नियन्त्रणका लागि भन्दै झण्डैं ३ सातादेखि लकडाउनमा बस्न सरकारको निर्देशन छ। सबै आआफनै घरघरमा लकडाउनमा बसेका समयलाई भुजेलले भने आफनो सीप ‘पुस्तान्तरण’को अवसर ठान्दै उपयोग गरेका छन्।  शहर बजारका मानिसहरु घरबाट बाहिर निस्कन नपाएको गुनासो गरिरहेका बेला भुजेलले भने बाँस र निगाँलाबाट बन्ने नेपाली मौलिक सामाग्री बनाउँदै भाई, छोरालाई सिकाउँदैछन। बाँस र निगाँलाबाट बन्ने थुन्से, भकारी, चित्रा, मान्द्रो, पेटारो (पिरिङगो), पेराखु, सुपो (नाङ्लो), सोली, कोर्को, डोका, स्याखुलगायतका विभिन्न सामाग्री बनाएर नयाँ पुस्तालाई सिकाएका थालेका हुन्। उनले भने ‘एक त पुस्तालाई आफुमा भएको सीप हस्तान्तरण गर्दैछु। अर्कोतर्फ गाउँ घरका आवश्यकता पनि पुरा भएको छ।’

आफना बाबाले घरमै बसेर बाँस र निगालाका सामाग्री बनाउदै गरेको देखेपछि छोरा शरणकुमार भुजेलले पनि बाबासँग सिक्दै बनाउन सुरु गरे। पोखराको एसओस बालग्राममा कक्षा ९ मा अध्ययरत भुजेलले ३/४ दिनमै राम्रो डोको बुनेर देखाएपछि बाबु भुजेलले अन्य सामाग्री पनि बनाउन सिकाएको बताए। उनका छोरा मात्र होइन, अहिले गाउँका केही सिक्न इच्छुकहरुले समेत भुजेलसँगै यस्ता सामाग्री बनाउन सिकेका छन्। यतिकै घरमा बसेर बित्ने समयको सदुपयोग गर्दै नयाँ नयाँ सीप सिक्न पाएका छन्।

.

गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङको स्वकीय सचिव समेत रहेका भुजेल यतिबेला गाउँमै छन्। लकडाउनका कारण उनलाई गाउँमा बस्ने मौका मिल्यो। नत्र भने उनलाई फुर्सद नै कहाँ हुन्थ्यो र? स्वकीय सचिवका भूमिकामा गर्नुपर्ने कतिपय कामहरु अहिले पनि गाउँबाटै फोन र इमेलबाट गर्ने गरेको उनले सुनाए। गाउँमा बसेर उनले झण्डै ४ दर्जन जति बाँस र निगालाबाट बन्ने सामाग्रीहरु बनाएका छन। गाउँमा टोल टोलमा राखिएका फोहोर संकलन गर्ने भाडो पनि बाँस र निगालाको प्रयोग गर्दे उनले नै बनाएका हुन। लकडाउनपछि डोको, स्याखु, चाङ, नाम्लो, फुर्लुङ, पेटारो लगायत २७ वटा फोहोर संकलन गर्ने टोकरो बनाएको उनले बताए।

त्यसो त, उनले लोपोन्मुख अवस्थामा रहेको स्याखु पनि बनाएका छन्। हाम्रा हजुरबुवा आमाको पालामा छाताको विकल्पमा स्याखुको प्रयोग गरिन्थ्यो। बिशेषतः आमाहरुले मेलापात जाँदा स्याखु ओढ्ने गर्नुहुन्थ्यो। स्याखु चोयाबाट बुनिएको हुन्छ भने भित्री पाटोमा कटुसका पात वा प्लाष्टिकले मोडेर पानी छिर्न नसक्नेगरी बनाइएको हुन्छ। जसले टाउकोदेखि कम्बरसम्मको भागलाई छाप्ने गर्दछ। दक्ष ब्यक्तिले मात्र स्याखु बनाउन सक्छन।

.

गोरखाबाट बसाई सरेर कोल्मा आएका गोर्खा बाजे (तिलबहादुर गुरुङ) बाट बाँस र निगालाबाट बन्ने अधिकांश सामाग्री बनाउन सिकेको उनले बताए। उनले भने ‘त्यसबेला गोर्खा बाजे नेपाली सेनाबाट अवकास प्राप्त हवल्दार हुनुहुन्थ्यो। गोठाला जाँदा मलाई पनि सँगै लैजाने र त्यही नै उहाँले नाम्ला, डोका, थुन्से लगायतका सामाग्री बनाउदै मलाई पनि सिकाउनुहुन्थ्यो।’

हुन त, भुजेल जातीको पुर्ख्यौली पेशा पनि यही हो भन्छन उनी। आफना बाजे नरबीर भुजेल गाउँका किसान भएकाले यही पेशा अंगाले तर, बुवा समबहादुर भुजेल भने भारतीय सेनाबाट अवकासपछि मात्र पुर्ख्यौली पेशालाई केही साथ दिए। गोर्खा बाजेको प्रेरणा, सीप र परिवारको देखासिखीले आफुलाई यी सामाग्री सिक्नमा सहज बनेको उनले बताए। उनी भन्छन  ‘अब भने, मेरा भाई छोराहरुले पुर्ख्यौली पेशा बिर्सने हुन कि भन्ने मलाई चिन्ता छ।’ तर, नजिकै रहेका कान्छा छोरा शरणकुमार भुजेलले भने ‘हाम्रो संस्कृति र परम्परा बोकेको पुर्ख्यौली पेशा र बुवाको सीपलाई निरन्तरता दिनेछु।’ उनका जेठा छोरा भने अध्ययनका लागि अष्ट्रेलिया छन्। गाउँघरमै सजिलै पाइने बाँस र निगाला काटेर, केही दिन पानीमा ढडाएपछि चोया काढेर यी सामाग्री बनाउने गरिन्छ।

Facebook Comments Box
TOP