‘Covid-19 को हुचिल’ सिकायो मानवता र जन्मभुमीको महत्व !

कमला अधिकारी सिग्देल :

हिमाल जस्तै स्वच्छ , गुराँस झै फुलेको छ दिल बिचलित भएको छ कोभिड- 19 को हुचिल ( locked down 2077-01-10, मेरो पहिलो लेख, मेरो शब्दकोषले तपाईंहरूको प्रोत्साहन पाएको छ ,म तपाईँ हरु प्रती आभार ब्यक्त गर्दछु। आज पुनः अर्को लेख सिर्जना गरेकी छु। यो लेख स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपालीहरू प्रती समर्पित छ। प्रोत्साहन सहितको सुझावको अपेक्षा गर्दछु।।

अनेक कथा र ब्यथामा सिमित भएर सिङ्गो बादल मडारिएको कालो आकाशमा आफ्ना मुलायम पाइलाहरु अगाडी बढाउदै जान्छ हुचिल। उसको उराठिलो आवाज मिर्मिरेमा चर्किई रहन्थ्यो । बिचरा सुनिदिने पो को थियो र आफू सानै छँदा आफ्ना बाउबाजेले छाडेर गए ,धन्य छन् इश्वर कता-कता दुईवटा महल बिचको एउटा झुपडीको बचेरोलाई बचाए। कहिले हिमालको छाँयालाई आफ्नो संसार अनि पहिचान मानी सबै दु:खहरु बिर्सेर धर्तिको काखमा निदाई निदरिमा लामो यात्रा गर्थ्यो त कहिले तुषारोले मडारिएको आकाश माथी चिँ चिँ गर्दै ओत लाग्ने ठाँउ खोज्दै अतालिन्थ्यो । समय, प्रकृति र परिस्थिति सँग सङ्घर्ष गर्दै आफ्नो प्यारो बालापन बिताउँछ अनि जवान हुन्छ। फक्रेको फूललाई चुडाउने अनि आफ्ना हरेक सुखदुःख मा सजाउने गर्छ मानिस, कहिले मन्दिर त कहिले चिहान सम्म अनि हरेक उत्सवमा कलकलाउँदो पुष्प गुच्छालाई अर्पण गर्ने गर्दछ मानिस ,तर कहिल्यै सुन्दर फूलको जीवन महिमालाई बुझ्ने प्रयास गर्दैन मानिस । यस्तै कलकलाउँदो ,रहरलाग्दो बनेको हुचिललाई मन नपराउने सायदै कोही थिएन ।

हुचिल सानो झुपडीमा मालिक भएर दुई ठुला ठुला महलको बीचमा रहन्थ्यो । झुपडी बाहिरबाट हेर्दा महादेवले आफ्नो प्रियसिलाई परीक्षा लिन बनाएको कपोलकल्पित जस्तै थियो। तर चिरेर हेर्दा अमुल्य सुन, चाँदी, हिरा, मुगा अनि मानवताले नवाेदित बेहुली झैँ सजिएको थियो हुचिलको झुपडी । महलका महान भनाउँदाहरुले बिस्तारै झुपडीको रहस्यलाई बुझ्दै जान्छन् अनि झुपडीमाथी गिद्दे नजर लगाउँछन् ।

हुचिल जवान ,सुन्दर निर्दोष अनि प्यारो हुन्छ त्यसैले आफ्नो घर चलाउनको लागि महलका मालिकहरुसँग सल्लाह लिन थाल्छ। उनिहरु चरालाई जालमा पार्न चारो छरेजस्तै गरि सहानुभूति देखाउँछ्न अनि हुचिललाई हरेक कदमको लागि उनिहरुको साहारा लिन मजबुर बनाउँछन ।

हुचिल आफ्ना साना आवश्यकता पुर्तीका लागि पनि उनिहरु माथि आस्रित हुन थाल्छ। उसलाई थाहा नहुँदो हो अर्काको खुट्टाले यात्रा गर्न भन्दा आफ्नो बैशाखिले यात्रा गर्दा सन्तुष्ट मिल्छ भनी। समय बित्दै जान्छ हुचिल पारिवारिक बन्छ आफ्नो बालबच्चाको पेट भर्नका लागि चारोको जोहो गर्छ। सन्तान थरीथरीका अनि झुपडिभरी हुन्छन, काम गरेर खाने धर्ती भए पनि अन्न उब्जाउने प्रविधि थिएन आफ्नो झुपडी छोडी महलका मालिकहरुको जमीन खन्न सिकाउँछ हुचिलले आफ्ना सन्तानलाई ।आँफु त उनिहरुमा आस्रित हुन सिकेको थियो नै अनि आफ्ना सन्तानलाई पनि उस्तै पाठ सिकाउँछ। महलबाट आएको रकमले आफ्नो झुपडी सजाउने सपना देख्छ हुचिल अनि उसका सन्तानहरु।

आफ्नै झुपडीमा प्रविधिको विकास गर्नुको अलावा महलमा गई सन्तानको बल ,बुद्धि र क्षमतालाई दास बनाईदिन्छ हुचिल। महलका मालिक हरु साँच्चै महास्वार्थी थिए ,अर्काको सन्तानलाई बल र बुद्धि हुँदा मात्रै प्रयोग गर्छन जब उनिहरु कमजोर हुन्छ्न त्यतिबेला त्यही सानो झुपडी मा गलत्याई दिन्छ्न। त्यसैले सपनाको महलमा जिउनु भन्दा बिपनाको कटेरोमा जिउनु वेश हुन्छ।

पैसाको मुख कालो हुन्छ भन्छन ,पैसाले सबैथोक किन्न सक्छु भनी दम्भ देखाउने हरु लाई के थाहा मानवता के हो ? समय बित्दै जान्छ हुचिलका झण्डै असी लाख सन्तानहरु अन्य धेरै महल हरुमा आफ्नो बल र विवेकलाई बेचेर आफ्नै झुपडी भित्र सुन्दर महल बनाउने सपना देख्छन् । तर समय प्रतिकुल बनिदिन्छ । संसारभर महामारी (कोभिड-19) को प्रवेश हुन्छ। झुपडीका सन्तानहरु मात्रै होइन सुनका थालमा सुनै खाने महलका महाशक्ती सम्पन्न हरुलाई पनि बाँकी राख्दैन कोभिड-19 , यो महामारी मा अतालिन्छ हुचिल छटपटाउँछ न त उ सँग ज्ञान छ ,न त विवेक न त प्रविधि, ऊ लाचार बन्छ मनको रापलाई आफ्नै आँसुले सितल बनाएर किमकर्तव्यजिमुढ भएर बस्छ। आफ्नो सम्पूर्ण तागत महलहरुले पैसाले किनेका थिए ,पहिला बैशाखी दिनेहरु पनी त्यतिबेला फिर्ता लिने पक्षमा थिए ।

संसारको महाशक्ती मान्ने महलका मालिकहरु छटपटाएको बखत अरुका सन्तानको के माया ?आँफु जलेर हत्केलामा आफ्नो प्राणलाई बाजी राखेर सन्तानको रक्षा गर्ने त कि जननी हुन कि जन्मभुमी त्यसैले त रामायण मा भनिएको छ जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी।

हुचिल का सन्तानहरु गल्लि -गल्ली आफ्नो रात बिताई रहेका छन् भोक भोकै प्यासले ब्याकुल हुँदै। अहिले गुहार गरेका छन ,बिन्ती बिसाएका छन आफ्नो झुपडी अनि आफ्नो हुचिल सङ्ग तर बिडम्बना हुचिल को जीवननै कोविड-19 सँग त्राही त्राही भएको छ। उ आफै बेसाहारा बनेको छ। श्रम र पसिना साटेर आर्जन गरेको रकम झुपडीका माहुरीहरुले मह बनाई चाट्दा ठीक्क भयो । काम गर्ने कालू मकै खाने भालु भनेझैँ मह खाएर झुपडिका माहुरीहरुले आफ्ना दाजु भाइ अनि दिदी बहिनिहरुको दुर्दशालाई मुकदर्शक बनेर नियालिरहेका छन्।

अनि उता महलका मालिकहरु पराईका सन्तानलाई बल हुँदा सम्म फकाई फकाई प्रयोग गरे जब उनिहरुको तागतलाई झुकाउने गरि महामारी आयो तब उनिहरुको सुरक्षा गर्नुको सट्टा तिम्रै घर जाउ भनी लात लगाउँछन् । अहिले घर को न घाटका भएका छन् कर्मी महुरीहरु ।

झुपडी वरिपरिका वृक्ष, अनि पुष्पहरु रोइरहेका छन, आकाशमा उड्ने पंक्षीहरुले मानिसको दर्दनाक अवस्थालाई नियालिरहेको छ। सर्बश्रेष्ठ हुँ भनी घमण्ड गर्ने मानव जगतको रमिता हेरिरहेको छ प्रकृतिले अनि यसैको बीचमा अझ अल्झिएको छ हुचिल अनि उसका सन्तानहरु ।

म पनि हुचिल को एक सन्तान हुँ, मेरा दाजुभाई , दिदिबहिनिहरु कति रहरले त कति बाध्यताले (महल) बिदेश जानुभएको छ । बिदेशको सुगन्ध को रवाफ लगाउनेहरु पनि हुनुहुन्छ । जो जहाँ भएपनि आखिर हौं हामी नेपाल (झुपडी ) सरकार (हुचिल) कै सन्तान । हाम्रो झुपडी प्यारो छ यसलाई नियालेर हेर्याै भने यहीँ छ हिरा, यहीँ छ सुन हाम्रा खेतबारीहरु बाँझिएका छन, हामी हिड्ने गोरेटो झाडी भएको छ, जहाँ हामी खेल्थ्याै डन्डिबियो, लुकामारी ती स्थानहरु बिराना भएका छन्। माया, ममता अनि स्नेहले सिङ्गारिएका हाम्रा पाखा पखेराहरुमा ऐसेलु , दयेली , चुत्रो बनकाफल , किम्बुले हाम्रो स्पर्श खोजिरहेका छन। यति मिठासले भरिएको स्वर्गलाई नसजाई अर्काको भुमिमा नरकिय जीवन बिताउन विवस हुन्छौ किन? फूल ,काँडा र पातको मिश्रणबाट एउटा सुन्दर गुलाफको बोट सिर्जना हुन्छ ।

त्यसैअनुरुप हरेक समाज, गाउँ र राष्ट्र असल र खराब दुबै मानिसको समिश्रण बाट बनेको हुन्छ। राम्रो त यसै राम्रो हुन्छ ,नराम्रोलाई सुनौलो बनाउन कदम चाल्नुपर्छ। प्रकृति हामी भन्दा श्रेष्ठ छ यसमा दुईमत छैन, प्रकृतिलाई मानिस जित्न सक्दैन । धेरै पटक हार्नुपरेको छ हामी ,कहिले भुकम्प, कहिले प्लेग,कहिले डेङ्गु अनि अझै डरलाग्दो कोभिद-19; हामी भन्दा प्रकृति धेरै पाईला अगाडी छ, उसले तर्साएपछि मात्र हामी सातो फुक्ने मन्त्र सिक्छौ, मन्त्र पहिल्यै सिक्नुपर्छ भन्नेतिर हामी ढिला गर्छौ यो हामी नेपाली को पहिलो विशेषता हो ।

जब हामी मन्त्रमा पूर्ण हुन्छौं तब प्रकृति ले भिन्न रुप देखाईदिन्छ अनि हार्नुपर्छ सिङ्गो मानव जगत नै। Covid-19 काे अन्त्य कहिले कसरी हुन्छ केहि टुंगो छैन । यसले हामीलाई सिकाएको छ के हो जन्मभुमी ? के हो कर्मभुमी ? नेपाल हजारौं कस्तुरीहरुको जन्म भुमी हो कस्तुरी आफ्नो सुगन्धलाई चिन्न नसकेर भौतारिए जस्तै हाम्रो भौतिक शरीर पनि बरालिएको छ। हामी भित्र नै छ सुवास, सुगन्ध मिठास, अनि बहुमुल्य धातुहरु एकपटक नियालेर हेरौँ,आफ्नो सुगन्ध आफ्नै भूमि अनि आफैं लाई प्रयोग गराैं।परिस्थितिले जतिसुकै शक्तिसम्पन व्यक्ति राष्ट्रलाई पनि झुक्याउछ, आखिर आकाशलाई छुन्छुभनी कसैको वास्ता नगरी बढेको बाँस पनि टुप्पोमा पुगेर जमिन तर्फ नै फर्किनुपर्छ। आफ्नो जन्मभूमि लाई स्वर्ग बनाउ, यहिँ फलाउ सुन, यहिँ फलाउँ हिरा अनि किन हुन्छ पिर?????

(सिग्देल बालसिद्ध मा.बि वालिङ् ,७,केवरे भञ्ज्याङ् स्याङ्जामा शिक्षण पेशामा कार्यरत हुनुहुन्छ ।)

Facebook Comments Box
TOP