कोरोना महामारी : बच्चालाई त्रस्त होइन, व्यस्त राखौँ

प्रेमनारायण भुषाल : विश्वव्यापी त्रास सिर्जना गरेको कोरोना भाइरसको सङ्क्रमण तथा महामारीको आशङ्काले यस पटक नेपालका शिक्षण संस्थाहरु चाँडै नै बन्द भए । कम्तीमा तीन हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन शिक्षा मन्त्रालयले निर्देशन दिइसकेकाले र सङ्क्रमणको क्रम अझै नियन्त्रणमा नआइसकेकाले बालबच्चाका लागि लामै बिदा मिलेको अवस्था छ ।
नियमित प्रक्रियाभन्दा फरक किसिमले बिदा लम्बिँदा अभिभावकमा व्यवस्थापनजन्य समस्या थपिनु स्वाभाविकै भए पनि अरु कुराभन्दा पहिले जनताको स्वास्थ्यलाई महत्त्व दिई भिडभाड हुने स्थललाई व्यवस्थापन गर्ने सरकारको नीतिलाई राम्रो नै मान्नुपर्दछ । सङ्क्रमणको त्रासका कारण दिइएको यो बिदा अन्य बेलाको जस्तो स्वाभाविक बिदा नभएकाले लामो बिदामा अभिभावक मात्र होइन विद्यार्थी स्वयम् पनि अन्योलमा पर्ने सम्भावना रहन्छ । यसैले दैनिक क्रियाकलापको रुपरेखा निर्माण गरी अघि बढ्दा बिदाको सदुपयोग हुन सक्दछ ।
कामकाजी परिवारमा अनायास थपिएको बालबालिकाको बिदाले अभिभावकमा तनाव सिर्जना गरिसकेको हुन सक्दछ । अर्कोतिर समूहमा जान निषेध गर्ने, घुमफिरलाई निरुत्साहित गर्नुपर्ने अहिलेको अवस्थाले बालबालिकामा छटपटी र एक किसिमको बेचैनी सिर्जना गर्न सक्दछ । आफ्नो कार्यक्षेत्रमा लैजान नमिल्ने अनि ढुक्क भएर घरमा पनि छोड्न नसकिने अवस्थाले अभिभावकलाई असमन्जसमा पार्ने मात्र नभई सहज वातावरणको महसुस नहुँदा बालबालिका पनि झगडालु एवम् चकचके बन्ने सम्भावना बढ्दछ ।
आफ्ना नियमित काममा कसैले सहयोग नगर्ने तर समस्याका क्षणमा छोराछोरीले पनि आफ्नो कुरा नबुझिदिएको भान पर्दा अभिभावकमा दिक्दारी बढ्दछ भने सधै स्कुलमा साथीहरुसँग व्यस्त हुने बालबच्चा घरमा बढी फुर्सदिला हुँदा उत्तेजित र असंयमित पनि बन्न सक्ने सम्भावना रहन्छ । अभिभावक र बालबालिकामा परिवर्तित परिस्थितिले सिर्जना गरेको असामान्य मनोविज्ञानले एक आपसमा असमझदारी सिर्जना गरी पारिवारिक सन्तुलन र सहिष्णुतामा क्षति पुर्याउन सक्ने भएकाले विपदका क्षणलाई सामना गर्न केही कुरामा विशेष ध्यान पुर्याउनु आवश्यक देखिन्छ ।
खास गरी यस्तो बेलामा बच्चाका सामु अभिभावकले महामारीजन्य सन्त्रासका कारण आत्तिने, हतोत्साहित हुने र बालबच्चालाई महामारीजन्य घटना तथा समाचार देखाई त्रसित बनाउने भुल गर्नै हुँदैन । महामारीका सन्दर्भमा सतर्कता अपनाउने तथा बालबालिकालाई पनि सतर्क रहन सिकाउनु अति आवश्यक भए पनि सतर्कतासँगै सिर्जना हुने एन्जाइटी अझ विनाशकारी हुने भएकाले ‘हामी सुरक्षित छौँ’ भन्ने वातावरण सिर्जना गर्नु अभिभावकको पहिलो कर्तव्य हो । यसका लागि गाउँघरमा आमाबाबु हुने अभिभावकले आफ्ना नानीबाबुलाई केही समय गाउँघरमा पठाई हजुरबा हजुरआमाका अनुभव तथा गाउँले जीवनबाट सिक्ने अवसर मिलाइदिनु सबैभन्दा राम्रो हुन्छ भने आफन्तसँग बढीभन्दा बढी सम्पर्क गराउने, बालबालिकाका खेलमा आफू पनि सहभागी हुने, बिहान साँझ सँगै घुमफिर गर्ने तथा खोलानाला, वनजङ्गल र अन्य प्राकृतिक दृश्यावलोकनका लागि लैजाने गर्दा बालबच्चालाई नयाँ वातावरणमा समायोजन हुन मद्दत पुग्दछ ।
१०–१२ वर्षका बालबालिकालाई घरभित्रको सरसफाइ, चियानास्ता फकाउने, सरसामान मिलाउनेजस्ता घरेलु कामका साथसाथै फूलबारी, करेसाबारी तथा अन्य क्षेत्रका ससाना काममा संलग्न गराउँदा घरको वातावरणमा समायोजनका साथसाथै जीवनोपयोगी सीपको सिकाइसमेत हुन सक्दछ । आफूलाई समय नमिलेको तथा अप्ठ्यारो परेका बाहानामा बच्चालाई बेपर्वाह ग्याजेट तथा असीमित रुपमा इन्टरनेट उपलब्ध गराउनुहुँदैन । अनियन्त्रित रुपमा ग्याजेटको प्रयोगले बच्चामा एडिक्सन सुरु हुने मात्र होइन, इन्टरनेट तथा सामाजिक सञ्जालमा व्यक्त भएका त्रासद एवम् अवैज्ञानिक विषयवस्तुले मनोसामाजिक सन्तुलनमै असर पार्ने सम्भावना रहन्छ ।
प्राकृतिक विपत्तिको बेलामा मानिस मानसिक रुपमा निकै कमजोर बनेको हुन्छ । यसैले अपत्यारिला र झुठा हुन् भन्ने थाहा हुँदा हुँदै पनि जनमानसमा फैलाइएका अफवाहले मनमा असर पार्न थाल्दछ । यसैले अनधिकृत रुपमा फैलाइएका अनर्गल प्रचार तथा तनावलाई बढावा दिने सामग्रीबाट आफू तथा परिवारका सदस्यलाई सुरक्षित राख्नुपर्दछ । परिवारका सदस्यमध्ये कसैमा अनावश्यक डर, त्रास तथा असामान्य परिवर्तन देखापरेमा उसलाई बेवास्ता होइन, झनै निकटता देखाई अनुभव र भनुभूतिको अभिव्यक्तिलाई प्रोत्साहन गर्नुपर्दछ ।
व्यक्तिगत सरसफाइ, स्वस्थकर खाना, स्वस्थ दैनिकी र उपयुक्त विहार र निद्राको व्यवस्थापनले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बन्दछ र रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ । यस्ता सकारात्मक कुरालाई प्रवर्धन गर्दै बालबालिकामा स्वस्थ रहनसहनको वातावरण निर्माण गर्ने अवसरका रुपमा लामो बिदालाई उपयोग गर्न सकिन्छ । कोरोना सङ्क्रमणबाट बच्न हात धुने कुरालाई डब्लुएचओले विशेष महत्त्व दिएको छ । यस कुरामा अभिभावक सहमत भए पनि बालबालिका हातबाटै कोरोना कसरी फैलिन्छ ? लगाएका कपडा, सँगै बोकेका सामग्री आदिबाट पनि त फैलिने उत्तिकै सम्भावना हुन्छ नि भनेर तर्क गर्न सक्दछन् ।
यस्तो बेलामा उनीहरुलाई निरुत्साहित गर्ने काम गर्नु हुँदैन । उनीहरुले गर्ने तर्क निकै महत्त्वपूर्ण र वैज्ञानिक हुन सक्दछन् । त्यसैले यस्तो बेलामा आफूले बुझेसम्मका कुरा बुझाई हात धुने काम न्युनतम मापदण्ड भएको र अन्य सरसफाइमा पनि जोड दिनुपर्ने कुरा बताइदिनुपर्दछ तर जतिखेर पनि वा जहाँ पनि कोरोना भइरसको कुरा गरिरहँदा बच्चामा गम्भीर त्रास अझ अब्सेसिस कम्पल्सिस डिसअर्डरको सिर्जना समेत हुने भएकाले स्वस्थ आचरणको विकासलाई जोड दिँदै सन्त्रास नभई सतर्कता बढाउने दिशामा ध्यान केन्द्रित गर्नुपर्दछ ।
यस पटकको असामयिक लामो बिदामा बालबालिकालाई शारीरिक स्वच्छता सम्बन्धी व्यावहारिक ज्ञान दिनुका साथै मानसिक स्वस्थताका लागि त्रासमुक्त वातावरणको निर्माणमा आम अभिभावकले ध्यान पुर्याउनुपर्ने देखिन्छ । यसका लागि परम्परागत, व्यावहारिक तथा घरायसी काममा आफ्ना छोराछोरीलाई बढीभन्दा बढी संलग्न गराई उनीहरुको एकलासेपन हटाई मनोसामाजिक स्वास्थ्यलाई सुरक्षित राख्ने काममा प्रेरित गर्नु सान्दर्भिक हुन्छ । (अन्नपूर्ण पोष्ट दैनिकबाट)
(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्)
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…