बच्चामा कोरोना एन्जाइटी त छैन ?

प्रेमनारायण भुसाल :
बच्चाले रुने, झगडा गर्ने अनि बिनाकारण झर्किने वा आक्रामक हुने व्यवहार त देखाएका छैनन् ? अरु बेला स्कुल गएकाले थाहा नपाइएको रहेछ घर बस्दा त साह्रै सताउने रहेछन् बच्चाबच्चीले भन्ने त लागेको छैन ? यदि त्यसो हो भने बच्चासँग तपाई भने नरिसाउनुहोस् । यसरी अकस्मात् बच्चाका आनीबानी परिवर्तन हुनुका पछाडि विभिन्न कारणहरू हुन्छन् । उनीहरूलाई डर देखाउने वा तर्साउने काम त झन गर्दै नगर्नुहोस् । तपाईँका क्रियाकलापले बच्चा झनै दुःखी, चिन्तित र आक्रामक बन्नेछन् । घरव्यवहार चलाउनुपर्दैन, अन्य समस्यासँग भिड्नु पनि पर्दैन खालि खायो, खेल्यो त्यत्ति त हो नि बच्चालाई केको तनाव हुन्छ र जस्तो लाग्छ भने सावधान हुनुहोस् ।
तपाईँका व्यवहार तथा बाह्य परिवेशप्रतिको बालबच्चाको बुझाइका कारण उनीहरू तनावमा छन् । भूकम्प, दुर्घटना र महामारीका समयमा अभिभावकले आफूलाई मात्र समस्या परेको र सारा समस्या समाधान गर्ने काम आफ्नो मात्र भएको जसमा बच्चाको कुनै भूमिका नहुने ठान्दछन् तर बच्चाले घटनालाई झनै डरलाग्दो रूपमा बुझेका हुन सक्दछन् । जुन परिवारमा बालबच्चासँग समस्याका बारेमा कुराकानी गरिँदैन र अभिभावक हतास एवम् चिन्तित बन्दछन् त्यस परिवारमा तनावका कारण बालबालिका मानसिक समस्यामा पर्ने गर्दछन् ।
कुनै पनि समस्या सधैँभरि उत्तिकै प्रभावकारी र पीडादायी रहिरहन्न, समयान्तरमा समाधान प्राप्त हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि प्रौढ व्यक्ति कुनै कुनै समस्यामा अस्वाभाविक रूपमा विचलित हुन्छन् भने कलिलो उमेरका बालबालिका त एउटा समस्यामा परेपछि त्यसबाट उन्मुक्ति पाउने सम्भावना नै देख्दैनन् । उनीहरू आगामी दिन झनै पीडादायी हुन्छन् भन्ने सोचका कारण भविष्य नै अन्धकार देख्न थाल्दछन् । निराशाको बादलमा अल्मलिएपछि उनीहरू आफ्ना कुरा व्यक्त गर्न त खोज्दछन् तर प्रौढ व्यक्तिले उनीहरूका कुरालाई महत्त्व नदिएपछि कुण्ठित बन्दछन् । यिनै कुण्ठा, पीडा र तनावका बाह्य अभिव्यक्तिका रूपमा बच्चा अकारण निहुँ खोज्ने, नमिठो बोल्ने, सरसामान तोडफोड गर्ने, आफ्नो स्याहार सुसार नगर्ने जस्ता व्यवहार देखाउँछन् ।
२०७२ सालको भूकम्पपछि केही बच्चाहरू बिस्तारामा पिसाब गर्ने, आफ्नो उमेरभन्दा कम उमेरका बच्चाको जस्तो व्यवहार गर्ने, खानपानमा नियन्त्रण नगर्ने र राम्ररी सुत्न नसकी बडबडाउने जस्ता असामान्य व्यवहार देखाएका थिए । ससानो कुरामा वा विनाकारण दुःखी हुने र चिन्तित बन्ने तथा सधै रमाइलो मान्ने काममा पनि नरमाउने, मांसपेशी र शरीरका विभिन्न अङ्गमा दुखाइको सिकायत गर्ने जस्ता व्यवहारको कारक अरु केही नभएर उनीहरूको तनाव हो । तनावको मात्रा बढ्दै जाँदा बच्चाको एकाग्रता र लगानशीलतामा कमी आई शैक्षिक उपलब्धिमा ह्रास आउन थाल्दछ । बच्चाको तनाव व्यवस्थापनमा अभिभावकको महत्त्वपूर्ण भूमिका हुने भए पनि त्यसको अभावमा बच्चा विचलित भई कुसङ्गतमा लाग्ने सम्भावना बढ्दछ ।
अहिले महामारीको सन्त्रासले विद्यालय बन्द भएका छन् । बच्चालाई घरबाट बाहिर निस्कन बन्देज लगाउने तथा सोसल मिडियार खन्य सञ्चार माध्यममा खालि महामारीका कुरा मात्र देख्दा बच्चाले आकाश नै खस्न थालेको महसुस गर्न सक्दछन् । अभिभावकहरू सन्त्रस्त भएको वा प्रौढ व्यक्तिहरू डराएको देखेपछि सम्भावित दुर्घटनाको डरले बालबालिकामा तनाव सिर्जना गर्दछ । इन्टरनेट र टेलिभिजनमा देखाइने दृश्य र समाचारले बच्चालाई सचेतना भन्दा त्रास सिर्जना गर्न सक्ने सम्भावना रहन्छ । नियमित रूपमा बीभत्स र त्रासद घटनाहरू हेर्दा बच्चामा एसटीएस (सेकेन्डरी ट्रमाटिक स्ट्रेस) सिर्जना हुन सक्दछ । यसैले हरेक अभिभावकले बालबालिकासँग समसामयिक विषयमा बढीभन्दा बढी कुराकानी गर्नुपर्दछ ।
महामारीका सन्दर्भमा उनीहरूको विचार सुनिदिँदा गलत अवधारणालाई सच्याइदिने मौका मिल्दछ भने सङ्क्रमणको त्रासले आत्तिएका रहेछन् भने वास्तविक कुरा बताई सामान्यावस्थामा फर्काउन सकिन्छ । यसैले बालबालिकाहरू कुरा बुझ्दैनन्, तनाव पनि लिन्नन् भन्ठान्नु हुँदैन, इन्टरनेट तथा अन्य स्रोतबाट प्राप्त गरेको सूचनाको गलत अर्थ लगाएर बालबालिका आत्तिइरहेका हुन सक्दछन् । त्यसो त अकस्मात् हतारमा परीक्षा सकेर स्कुल बिदा गरेको घटना नै उनीहरूका लागि अनौठो र विस्मयकारी बनेको हुन सक्दछ ।
खास कुरा कसैले नबताउँदा अवास्तविक र अज्ञात भयले महामारी एन्जाइटी भएको हुन सक्दछ । यसैले विस्तारै र प्रकारान्तरबाट बच्चालाई वर्तमान घटनाक्रमका बारेमा बोल्न प्रेरित गर्नुपर्दछ तर बच्चासँग कुरा गर्ने भन्दैमा उनीहरूके इच्छाबिना कर गरेर महामारीका बारेमा सोधखोज र कुराकानी भने गर्नुहुँदैन । बच्चाको इच्छाबिना जबसजस्ती समाचार हेर्न लगाउने र उनीहरूलाई कुराकानी गर्न बाध्य पार्दा झनै तनावले प्रश्रय पाउँछ । बच्चाले कुरा गर्न चाहे पनि वा नचाहे पनि अभिभावकले उनीहरूलाई ‘हामी सुरक्षित छौँ’ भन्ने महसुस गराउनैपर्दछ । सुरक्षाका पूर्वसावधानीबाट बच्चामा डर होइन, आत्मविश्वास वृद्धि हुने वातावरणको सिर्जना अभिभावकले गर्नुपर्दछ ।
बालबालिकाका जिज्ञासा समाधान गरिदिने तथा आफ्नो तनाव व्यवस्थापनको विधि उनीहरूलाई बताउने गर्दा मलाईजस्तो अनुभव अरु ठुला मानिसलाई पनि हुँदोरहेछ, यसैले म सामान्य अवस्थामा नै छु भन्ने विश्वास बच्चालाई पर्दछ । सकभर बालबालिकालाई नोबेल कोरोना १९ सम्बद्ध समाचार र घटनाक्रमबाट टाढै राख्नु राम्रो हुन्छ । इन्टरनेट, टेलिभिजन तथा अन्य सामाजिक सञ्जालको प्रयोग कम गर्नुपर्दछ । नियमित कार्यतालिका बनाई पढाइ, सिकाइ, मनोरञ्जन, खेलकुद, व्यायाम र योगसँग सम्बन्धित क्रियाकलापमा आफूसँग बच्चालाई सहभागी गराउँदा शारीरिक तथा मानसिक व्यायामका साथै परिवारसँगको सम्बद्धता बढ्दछ । जसले गर्दा पारिवारिक सम्बन्ध घनिष्ट बन्दछ ।
बालबालिकाका अगाडि विचलित नभई आदर्श व्यक्ति बन्दा बालबालिकाको आत्मविश्वास बढी उनीहरूको तनाव कम हुँदै जान्छ । तनावले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउने भएकाले बच्चालाई उपयुक्त किसिमको आराम वा विश्राम र व्यायामको प्रबन्ध गरिदिनुपर्दछ । स्वस्थ र ताजा खाना अनि पर्याप्त निद्राले शरीरमा फुर्ति थप्ने भएकाले सङ्क्रमणको अवस्थामा बालबालिकाको सन्तुलित आहारमा विचार पु¥याउनुपर्दछ ।
अभिभावकले आफूसँगै बच्चालाई खेलाउने, घुमाउने गर्नुका साथसाथै साथीभाइ एवम् इष्टमित्रसँग उपयुक्त माध्यमबाट सम्पर्क गराइरहँदा उनीहरूको एक्लोपन हटेर जान्छ ।यसैले बच्चाका व्यवहारको सूक्ष्म अवलोकन गरी कुनै पनि व्यवहारमा असामान्य परिवर्तन देखा परेमा सम्झाइबुझाइ गर्दै बच्चालाई निःसर्त बोल्न र खेल्न अभिप्रेरित गर्नुपर्दछ । तनावका कारण विध्वंसात्मक तथा असामान्य व्यवहार देखाएमा भने मनोपरामर्शदाताको सल्लाह समेत लिनुपर्दछ । विपत्तिका बेलामा बालबालिकाले समग्र घटना र अवस्थालाई आफ्नै किसिमले अथ्यौइरहेका हुन्छन् । घटनाको सार ग्रहण गर्ने सन्दर्भमा त्रुटि भएमा उनीहरू चिन्तित हुँदै गम्भीर मानसिक समस्यामा फस्न सक्दछन् । यसैले हरेक अभिभावक असामान्य अवस्थामा बालबालिकाका बानी र व्यवहारका बारेमा झनै सचेत हुनुपर्दछ ।(अन्नपुर्णपोष्ट दैनिकबाट)
-भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…