बालबच्चा हुर्काउने कला……….

प्रेमनारायण भुसाल : सन्तानलाई असल र उत्तम बनाउने चाहना हरेक अभिभावकमा हुन्छ। यही चाहनालाई पूरा गर्न अभिभावकले आफ्ना सुविधामा कटौती गर्छन्। श्रमको मात्रा बढाउँदै सन्ततिलाई सुखसुविधा दिने ध्येय उनीहरूले राखेका हुन्छन्।

कसैसँग पनि पराजित हुन नचाहने अभिभावक पनि जीवनमा आफूभन्दा उच्च ओहोदामा सन्तति पुग्न सकुन् भनी सन्तानबाट पराजित हुने अभिलाषा राख्छन्। नि:सर्त र स्वाभाविक प्रेम अनि त्यागको उदाहरण आमाबाबु र छोराछोरीबीच पाइन्छ।

त्यसो त उमेर बढ्दै गएपछि सन्तान स्वार्थी हुँदै गएका र बुढेसकालमा आमाबाबुको सेवा नगरेका समाचार यत्रतत्र आउन थालेका छन्। तथापि आमाबाबु सन्तानप्रति कृतघ्न बनेका खबर विरलै सुनिन्छन्। अर्को शब्दमा भन्नुपर्दा सन्तान खराब भए पनि आमाबाबु सन्तानको कुभलो चाहँदैनन्।

यति उत्कृष्ट सम्बन्ध हुँदाहुँदै पनि बालबालिका हुर्काउने तौरतरिका नमिल्दा अभिभावक र सन्तानबीचको सम्बन्धमा अपेक्षित सुमधुरता पाइन्न। त्यस्तै अभिभावकको अपेक्षाअनुरूपको परिणाम पनि देखिन्न। यस्ता घटनाहरू बढ्दै गएको सन्दर्भमा बालबालिका हुर्काउने आधारभूत सीप हरेक वयस्क तथा प्रौढ व्यक्तिका लागि सान्दर्भिक हुने देखिन्छ।

लेखक – प्रेमनारायण भुसाल

आठ वर्षसम्म राम्ररी पालनपोषण गर्ने। १६ वर्षसम्म कडाइका साथ नियम, आचरण र संस्कार सिकाउने। अनि १६ वर्ष पुगेपछि मित्र वा साथीको जस्तै व्यवहार गर्ने शिक्षा पूर्वीय आचरण विज्ञानले दिएको छ। बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई आधार मानेर आठ वर्षसम्म नि:सर्त प्रेममात्र गर्ने र बच्चाबाट ठूलो अपेक्षा नराख्ने। उसको व्यवहार, भेष, भाषाका लागि उसलाई दण्डित नगर्ने। बरु उपयुक्त वातावरण निर्माण गरी संस्कार हस्तान्तरणको आधारभूमि तयार गर्ने उद्देश्य यसमा लिएको देखिन्छ।

आठ वर्ष पुगेपछि सामाजिक मूल्य मान्यता, संस्कार र पद्धतिलाई आत्मसात् गरी अनुशासनको मर्यादाभित्र रहन सिकाउने कुरालाई अन्यथा ठान्नु हुँदैन। तर १६ वर्षसम्म कडा अनुशासनमा राख्नुपर्छ भन्नुको अर्थ कडा र क्रूर यातना दिएर राख्नुपर्छ भन्ने हुँदै होइन। संस्कृत ‘ताडयेत्’ शब्दलाई फरक ढंगले अथ्र्याएकाले मात्र आचरण विज्ञान अवैज्ञानिक देखिएको हो।

वास्तवमा आठ वर्षसम्म नि:सर्त बालव्यवहारलाई स्वीकार गर्ने, त्यतिखेर अर्ती उपदेशबाट वा दण्डको भय र अनावश्यक प्रलोभनबाट बच्चालाई बालसुलभ व्यवहारबाट च्युत नगराउने। यदि बच्चामा अवाञ्छित व्यवहार देखा परेमा अभिभावक स्वयम्ले आफ्नो व्यवहार परिवर्तन गर्ने भन्ने तात्पर्यमा उपर्युक्त नियम अर्थपूर्ण र वैज्ञानिक देखिन्छ।

आठ वर्षसम्मको अवधिमा बच्चाको तार्किक शक्ति पूर्णत: विकसित भइसकेको हुँदैन। अभिभावकलाई आदर्श मानी उनीहरूका व्यवहार अनुकरण गर्ने समय भएकाले अभिभावकले बच्चालाई जस्तो बनाउने हो त्यस्तै व्यवहार उनीहरूसँग गर्नुपर्ने मान्यता पाइन्छ। प्रसिद्ध मनोवैज्ञानिक फ्रायड पनि यस उमेर समूहका बच्चासँग झर्किने वा असामान्य व्यवहार देखाउने नगरी ममतापूर्ण व्यवहार मात्र गर्नुपर्ने धारणा राख्छन्।

आठौं वसन्त पार गरेपछिको समय बालबालिकाको कल्पना क्षमताको विकास हुने अवधि हो। यसैले बालबालिकालाई अनुशासन, अनुशासनको पालना गर्दा र नगर्दा हुने असर, संस्कार र सामाजिक प्रक्रियाका बारेमा प्रशिक्षित गर्नु पर्छ। संस्कार र अनुशासन सिक्ने समय भएकाले यस समयमा असल काममा पुरस्कार तथा गलत काममा सकारात्मक निरुत्साहन आवश्यक पर्छ। शारीरिक र मानसिक दण्डबिना समाजमा समायोजन हुने उमेरका रूपमा ८–१६ वर्ष रहेकाले यस समयलाई ‘जीवनको जग’ पनि मानिएको छ। जग हाल्ने बेलामा अभिभावकको विशेष सहयोग र सुपरिवेक्षण आवश्यक पर्छ।

खराब कुरा जगमा नपरोस् भनेर सचेत भई असल बानी विकासका लागि उत्प्रेरित गर्ने काम यतिखेर हुनु आवश्यक ठानिन्छ। बच्चालाई तिरस्कार, छि:छि र दुर्दुर् गर्ने तथा अनावश्यक यातना दिने कामलाई पूर्वीय आचरण विज्ञानले कतै पनि स्थान दिएको पाइँदैन। आधुनिक मनोवैज्ञानिक दृष्टिमा पनि बच्चालाई स्वीकार्यता, आत्मीयता र सम्बन्धनका माध्यमबाट मात्र असल आचरणमा राख्न सकिने प्रमाणित भएको छ। यस उमेरमा बच्चाको स्वतन्त्रता र आत्मसम्मानमा चोट नपुर्‍याई अभिभावकको निर्देशन वा निर्णयअनुरूपका व्यवहार र आचरण विकास गर्नुपर्ने आग्रह पूर्वीय चिन्तनमा देखिन्छ।

आफ्नो पहिचान, आफ्नो विचारको सम्मान र आफ्ना मौलिक विशेषताको स्वीकार्यता एवम् सम्बन्धन खोज्ने मानसिकताको विकास हुने भएकाले १६ वर्ष पुगेपछि आफ्नै छोराछोरीलाई पनि मित्रवत् व्यवहार गर्न पूर्वीय आचरण विज्ञानले निर्देश गरेको छ। यतिखेर नराम्रो नतिजा आउने काम गर्न छोराछोरी उद्यत् भए पनि आमाबाबु हप्काइदप्काइ गरेर वा अन्य त्रास सिर्जना गरेर रोक्न खोज्नु हुँदैन। उसका कुरा सुनेर उसैलाई त्यस कामका असरका बारेमा सोच्न सहयोग गरेर विचारमा परिवर्तन ल्याउन प्रयास गर्नुपर्छ।

छोराछोरीको दृष्टिकोण र बाबुआमाको दृष्टिकोणमा जेनेरेसन ग्यापसमेत रहने भएकाले हरेक समस्याको छलफलबाट निक्र्योल निकाल्नुपर्छ। साथीको जस्तो व्यवहारको खास तात्पर्य के पनि हो भने अभिभावक र छोराछोरी एकापसमा खुलेर कुराकानी गर्ने र वैचारिक रूपमा एक पक्षले अर्को पक्षलाई आफ्नो विचारमा सहमत गराउने वा आफू सहमतिमा जाने मध्ये एक विकल्प स्वीकार गर्ने परिपाटीले नेतृत्व लिने क्षमता बढ्छ। परिवारका हरेक निर्णय र कामप्रतिको जवाफदेहिता अवश्यै बढ्छ। यसले अभिभावक र सन्तानबीच खाडल होइन, सुमधुर सम्बन्ध स्थापित हुन्छ। पारिवारिक दायित्व तथा संस्कारहरू विस्तारै नयाँ पुस्तामा हस्तान्तरित हुँदै जान्छन्।

आधुनिकताका नाममा पश्चिमा स्वार्थी र भौतिकता केन्द्रित बालबच्चा हुर्काउने पद्धतिलाई आत्मसात् गर्दा समाजमा विद्वेष, विग्रह र सामाजिक सांस्कृतिक अराजकता बढ्दै गएको देखिन्छ। सामाजिक एवम् सांस्कृतिक मूल्य र संस्कारयुक्त नागरिकको निर्माणका लागि पूर्वीय आचरण विज्ञान कोसेढुंगो बन्न सक्ने देखिन्छ। यसैले पुरानो हुँदैमा सबै नराम्रो र नयाँ हुँदैमा सबै राम्रो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ। स्वच्छ र स्वस्थ वातावरणमा बालबालिका हुर्काइ शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक एवम् आध्यात्मिक रूपमा स्वस्थ नागरिक निर्माणमा सबै सचेत हुनुपर्ने बेला आएको छ। (भुसाल शिक्षक एवं मनोविद् हुन्।) (अन्नपुर्ण पोष्टबाट)

Facebook Comments Box
TOP