“सामुदायिक विद्यालय सुधारमा अभिभावक शिक्षा”

सीता गौडेल गैह्रे :

हेर्दा प्रत्यक्ष नदेखिने तर शिक्षा क्षेत्रमा ठुलै प्रभाव पार्ने अभिभावक शिक्षाले सामुदायिक विद्यालयमा विद्यार्थीको पठन पाठनमा विशेष भुमिका खेल्दछ । विदेशी शिक्षा नीतिसँग नेपाललाई तुलना गर्ने, शिक्षा नीतिको कार्यान्वयन पक्ष फितलो भएको वकालत गर्ने शैक्षिक विज्ञले नेपालको माटो र नेपालीको आर्थिक अवस्था मापन गर्ने क्षमता गरेनन् । जसको फलस्वरुप शिक्षा निति, विद्यालय र विद्यार्थीको रुची र रोजगारीको व्यवस्थापन मिल्न सकेन । त्यसैले त्यो नितिले न त विद्यार्थीले उल्लेखनिय उपलब्धी नै हासिल गरे, न त शिक्षक पेशा अंगाल्नेहरुले नै जश पाए । राज्यले भौतिक पूर्वाधारलाई केहि जोड दियो र भवन निर्माणहरु पनि भए तर कक्षा कोठाभित्रको पठनपाठन प्रकृयालाई भने अनुगमनको पाटोबाट कमै हेरियो । अस्थिर राजनीतिक अवस्था दुरगामी शिक्षा नीतिको अभाव कम गुणस्तरका पाठ्यपुस्तक, अभिभावकको आर्थिक अवस्था आदि–आदिले सँधै विद्यालय तनाव ग्रस्त नै रहन पुगे ।

सामुदायिक विद्यालयको शिक्षालाई सुधार्न राज्यको मुख ताक्नुभन्दा अभिभावकको प्रत्यक्ष सहभागिता, प्रधानाध्यापकको कुशल नेतृत्व, र शिक्षकको विषयवस्तुमा दक्षता भएमा काफी हुन्छ । यी मध्ये पनि अभिभावकको शिक्षाप्रतिको लगाव र लगानी अहिलेको महत्वपूर्ण पाटो देखिन्छ । शिक्षा किन ? भन्ने उत्तरमा अभिभावकहरु नै अलमलमा परेको देखिन्छ । शिक्षाको काम जिवनलाइ सरल र स्वाबलम्बी बनाउनु हो भन्ने हेक्का धेरै अभिभावकमा नभएको भेटियो र शिक्षालाई अर्थसँग मात्रै जोडेर हेरिदिनाले र राज्यले रोजगारीको व्यवस्था मिलाउन नसक्दा शिक्षा क्षेत्रमा ठूलो खाल्डो देखाप¥यो र एउटा दुरी तयार भयो, शिक्षा र समाजको । अब यहाँ निर गुणस्तरका कुरा चलिरहदा गुणस्तर के हो ? भन्ने नै बहसको विषय बन्न सक्ला । गुणस्तर भनेको सिप हो ? या संस्कार या सर्टिफिकेट या अरु कुनै ।

“अहिलेको शिक्षाले गुणस्तर सर्टिफिकेटमा मात्रै दाज्ने गरेकोले बच्चाहरुमा संस्कार र सिप तर्फ कूनै पनि विद्यालयले खुलेर वकालत गर्न नसकेको पक्कै हो । सर्टिफिकेटको नम्बरलाई मात्र ध्यान केन्द्रित हुदा बच्चा आफू त दबियो नै समाज कता गयो कता, मासीयो अनि अब्बल सर्टिफिकेट दिन नसकेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घट्यो ।”

माघ श्रीपञ्चमी देखि घरदैलो गरेर विद्यार्थी भर्ना गर्ने संस्थागत विद्यालयको अगाडि बैशाखको पहिलो हप्तामात्र भर्ना अभियान चलाउने सामुदायिक विद्यालयहरु घुँडा टेक्न थाले ।

एसई परीक्षामा ए प्लस, ए र बि प्लससम्म ल्याउन त सफल भए विद्यार्थी तर त्यसपछि के त ? के अभिभावकले उसलाई उच्च शिक्षाको लागी शहर पठाउन सक्ला ? के विद्यार्थीको क्षमता अनुसार राज्यले उसको पढाईमा सहयोग गर्ला त ? अहँ सकेन । ऊ गाउँमै रहेको यहि विद्यालयमा जेनकेन ं२ गरेर विदेशियो । विदेशिन बाध्य पार्ने उसको अभिभावक नै थिए । अनि बि प्लस र बि ल्याउने केहि यूवाहरु नागरीकता बनाएर इण्डीयन आर्मीमा भर्ति भए । यहाँ अभिभावकले उनिहरुलाई रोक्न सक्नुपथ्र्यो तर चाहेनन या सकेनन् ? आज कक्षा कोठामा बच्चालाई भोली के बन्ने भनेर प्रश्न राख्यो भने भर्ती हुने वा विदेश जाने भन्छन् । किनकी, तिनिहरुले सबै परिवारको आर्थिक जिम्मेवारी लिएका हुन । फाट–फुट डाक्टर र इन्जिनियर भनि हाले पनि अभिभावकले त्यहाँसम्म पु¥याउने सपना देख्दैनन् । अब यहाँ दोषि को त ? शिक्षक ? जब बालक स्वयं र अभिभावकले शिक्षामा लगानी गर्न चाहदैन् अर्थात त्यो लगानीको आशा आर्थिकसँग मात्र जोडिन्छ र समाजमा कुसंस्कार भरिन्छ । जसरी हुन्छ पेैशा मात्रै खोजिन्छ । त्यसैले शिक्षकले उसको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भएन राज्यले उसको प्रतिभालाई रोजी रोटीसंग जोडोस् र अभिभावकले त्यसको सार उपभोग गरोस भन्ने नै हो ।

फेरी विद्यालयमा कमसल पाठ्यपुस्तकका कारणले पढाई कमजोर भएको त होइन भन्ने अनुमान कतैबाट आयो र यो अभियानलाई विद्यालयले स्विकार ग¥यो । अभिभावकहरुले बच्चलाई ३ वर्षको उमेर देखि विद्यालय पठाउँछन् । एक वर्ष मै बच्चाको बानीदेखि लिएर शैक्षिक सुधारको प्रगतीको फड्को मारोस् भन्ने चाहन्छन् । विद्यालयले के गर्न सक्छ त्यो अवस्थामा ? निशुल्क शिक्षा, कम न्यूनमा शिक्षक दरबन्दी, गरीबी, पारिवारिक वातावरण, प्रविधि, विद्यार्थीको विचार व्यवहार, अभिभावकको कम चासो, आदि आदिले सामुदायकि विद्यालयको शिक्षाको गुणस्तरमा सधै सम्बन्ध राखेको कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । अझै पनि अभिभावकले आफ्ना बाबुनानीहरुलाई संस्कार भन्दा सर्टिफिकेटको अब्बलता चाहन्छन् भने समाज कता तिर धकेलिएला त ? भन्ने चिन्ता उठ्नु सरोकारवालालाई स्वभाविक नै हो । त्यसैले अबको शिक्षा निति जिवनोपयोगी शिक्षा हुनु जरुरी छ । (गौडेल अध्यापन पेशामा संलग्न हुनुहुन्छ।) -मध्यबिन्दु डटकमबाट

Facebook Comments Box
TOP