पर्व विवाह पञ्चमी

Vivah_panchami

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)
               प्रत्येक मंसिर शुक्ल पञ्चमीका दिन सीता र भगवान रामचन्द्रको विवाह भएको  दिन स्मरण स्वरूप विवाह पन्चमी  पर्व  मनाइन्छ ।  पौराणिक काल अर्थात् त्रेता युगमा राजा दशरथका पुत्र मर्यादा पुरूषोत्तम भगवान रामचन्द्र र राजा जनककि पुत्री सीताको  यसै दिन विवाह भएको थियो भन्ने पुराणमा उल्लेख छ। यस दिन माता जानकीको जन्मभूमि नेपालीको जनकपुर धाम र भगवान रामचन्द्रको जन्मभूमि भारतको अयोद्यामा विशेष मेला उत्सव लाग्ने गर्छ।

                मिथिलावासीले यस दिनलाई अझ विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । महोत्सवका लागि श्रद्धालु भक्तजनको जनकपुरमा  ठूलो भिड लाग्ने गर्दछ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजन एवं दर्शनार्थीहरु एकसाता अघिदेखि नै जनकपुर आउने क्रम रहन्छ ।
महोत्सवमा देवीदेवताको  अदृश्यरूपमा उपस्थित
हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म मिथिलावासी सहभागी हुने गर्दछन् । मैथिली संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ । सो महोत्सवमा भारतको अयोद्याबाट जन्तीका रूपमा साधु सन्त,महन्त , र अन्य राम भक्त हरूको उल्लेख्य रूपमा उपस्थिति रहन्छ । यता जनमपुरमा पनि उनिहरूको स्वागतको प्रवन्ध उत्तिकै रूपमा मिलाइएको हुन्छ । महोत्सवमा बिदाइका क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाहझै हुने गरेहको छ ।

         पौराणिक कथन अनुसार – कुनै समयमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको विवाह पराक्रमी र बलवान् पुरूषसङ्ग  मात्र गरिदिने अठोट गरेका थिए ।    उनले आफूसँग रहेको शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन जसले सक्छ उसैसङ्ग सीताको विवाह गरिदिने प्रतिज्ञा गरेका थिए । बाल्यकालमा सीताले सो धनुष कुनै परिश्रमविना उठाएको जनक स्वयंले देखेका थिए । सीता विवाहा योग्य भइसकेपछि उनलेे स्वयंवर समारोहको आयोजना गरेका थिए । त्यसमा भागलिन राजा जनकले विभिन्न राजा र राजकुमारहरूलाई आमन्त्रण गरेका थिए ।एकसे एक वीर योद्धाहरू उपस्थित भए ।अयोध्याका राजा दशरथका पुत्र श्रीरामचन्द्र पनि मिथिला पुगेका थिए । राजा जनकले ” जसले शिवको धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ उसैसङ्ग आफ्नी पुत्री सीताको विवाह गरिदिने घोषणा गर्दै सुरू गर्न आज्ञा दिए । देवी सीतापनि त्यहाँ उपस्तिथि थिइन् । उनको हातमा वरमाला कैयौं राजा र राजकुमारहरूले प्रयास गरे तर विफल भए । राजालाई सीताको बिवाहा नै हुन नसक्ने हो कि भन्ने चिन्ता पर्‍यो । त्येत्तिकैमा महर्षी विश्वामित्रले आफ्ना शिष्य श्रीरामचन्द्रलाई शिव धनुष उठाउने आज्ञा दिए । श्रीरामले आफूले हासिल गरेको बिद्याका प्रभाव सो धनुष उठाई तादो चढाउन लाग्दा धनुष भाचिएर टुक्रा भयो । सीताले रामचन्द्रलाई वरमाला पहिर्‍याईन् सीता- रामको विवाह सम्पन्न भयो । त्यो दिन मंसिर शुक्ल पञ्चमी थियो । सीता र रामचन्द्रको बिवाहा भएको  दिनलाई बिवाहा पञ्चमी रूपमा आज सम्म पनि मनाइन्छ ।
  आज वर्षेनि बिवाहा पञ्चमी मनाउदै गर्दा नेपाल र भारतको पारस्परिक धार्मिक ,सास्कृतिक सम्बन्धलाई थप उजागर गर्छ नै तर हामीले आफ्नो ब्यक्तिगत जीवनमा पनि सीतारामचन्दको आदर्शलाई ग्रहण गर्नु छ । आज केही  अल्पज्ञानी मुडहरूले वास्तविकता नबुझी  सीतारामको सम्बन्धलाई लिएर  नकारात्मक टिप्पणी गरेता पनि उहाँहरूको सम्बन्ध दिगो थियो । हरेक नारीमा हुने गुण सीतामा थियो र हरेक पुरुषम हुन पर्ने गुण राममा थियो ।
उहाँहरूको सम्बन्ध हाम्रोलागि प्रेरणाको स्रोत बन्न सक्छ ।
दार्शनिक ब्यक्ति प्रेमचन्दको भनाइ अनुसार ” जसले विवाहलाई धर्मको बन्धक सम्झदैन, उसले विवाहलाई केवल वासना तृप्तिको साधन सम्झन्छ भने त्यो पशु हो।” हामीले पनि बिवाहालाई धर्मको रूपमा ग्रहण गरियो भने मात्र सम्बन्ध मजबुत बन्दछ। बिवाहा जुटाउने खेल हो, छुटाउने होइन । तसर्थ भगवान रामचन्द्र र जननी सीता हाम्रा आदर्श हुन् । इति। ( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।)

Facebook Comments Box
TOP