गाईबस्तुमा लाग्ने किर्ना र यसको रोकथाम

डा. अनिष सापकोटा, पशु चिकित्सक, गल्याङ नगरपालिका :

किर्ना गाईबस्तुको शरीरमा टासिएर रगत चुस्ने एक बाह्य परजीवी हो। उचित व्यवस्थापन र सरसफाईको कमीका कारण आइपर्ने यस समस्याले गाईबस्तुको उत्पादनमा कमि आउने, विभिन्न रोगहरु लाग्ने तथा पाडाबाच्छाहरुको मृत्यु पनि हुन सक्छ। आउनुहोस्, किर्नाको बारेमा केहि चर्चा गरौ।

किर्नाको जीवनचक्र  :

किर्नाको जिवनचक्रमा चार अवस्था हुन्छन्, फुल, लार्भा, निम्फ र बयस्क।  बयस्क किर्नाले एकै पटकमा हजारौ फुलहरु पार्न सक्छन । हाम्रो गोठको वरिपरी जम्मा हुने फोहोर र सिमेन्टको बिचमा चिरा परेको ठाउ फुल पार्न उपयुक्त मानिन्छ। फुलबाट केहि दिनमा लार्भा निस्किन्छन् र नजिकको घास वा पातमा जम्मा भएर बस्छन्। पशुबस्तु त्यहा नजिकबाट हिड्यो भने टासिन्छन् र रगत चुस्छन्। केहि दिनसम्म रगत चुसेर अघाएपछी आफै जमिनमा खस्छन् र निम्फमा परिवर्तन हुन्छन्। निम्फ पनि त्यसरि नै ढुकेर बसेर अर्को पशुको रगत चुस्छन् र बयस्क बन्छन। बयस्क किर्नाले रगत चुसेर खसेको केहि दिन मा फुल पार्छन् र यसरि अर्को जीवनचक्र सुरु हुन्छ।

डा. अनिष सापकोटा

किर्नाले गर्दा पशु बस्तुमा हुने हानिहरु:  

किर्ना रगत चुस्ने परजीवी हो। पशुको शरीरबाट एकैपटक धेरै मात्रामा रगत खेर जादा पशुलाई रक्तअल्पता हुन्छ। यस्तै लामो समयसम्म थोरै थोरै रगत खेर जादा पशुलाई बिभिन्न खनिज तथा भिटामिन को कमि हुन जान्छ। जसले पशुलाई कमजोर बनाउनाले तौल घट्ने, उत्पादनमा कमि आउने, बिभिन्न रोगहरु लाग्ने जस्ता समस्या आउछ। बिशेषतः कम उमेरका र कमजोर पशुहरुमा यो समस्या बढी देखिन्छ। गर्भिणी पशुहरुमा किर्नाले गर्दा ब्याउन नसक्ने, पाडाबाच्छा कम तौलका तथा लुलालंगडा  जन्मिने, बच्चा को मृत्यु हुने सम्म हुन सक्छ।

किर्नाले टोक्दा जनावरको छालामा घाउ बनाएर छोड्छ। त्यो घाउमा छालामा हुने ब्याक्टेरिया, फंगाई आदिको संक्रमण हुन सक्छ। यसरि किर्नाले टोकेको ठाउमा खिल पर्न जान्छ र पशुको छालाभारी घाउ नै घाउ हुन्छ। किर्नाले टोकेको ठाउमा चिलाउने र पशु ले त्यहि ठाउमा कन्याउने हुदा ठुलै घाउ पनि हुन सक्छ।

किर्ना एक परजीवी मात्र नभई एक पशुबाट अर्को पशुमा रोग सार्ने भेक्टर पनि हो। बेबिसिओसिस, बोरेलियोसिस, थिलेरियोसिस, कोक्जिएलोसिस, लेप्टोस्पाइरोसीस, एनाप्लाज्मासिस जस्ता रोगहरु सार्नमा किर्नाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।

पचार :

टिपेर फाल्ने: यदि पशुमा थोरै संख्यामा किर्ना छ भने एक एक गर्दै टिपेर फाल्न सकिन्छ। तर यसरि टिपेर फाल्दा चिम्टाको प्रयोग गरि किर्नाको मुखको सम्पूर्ण भाग निकालेर फाल्नु पर्छ। यदि किर्ना निकाल्दा मुखको भाग पशुको छालामा बाकि रहेमा खिल पर्छ र झन् घाउ हुन्छ।

तितेपाती, निमपत्ता, सुर्ती, अदुवा, नुन आदि घरेलु उपचारको प्रयोग गरेर पनि किर्नाको रोकथाम गर्न सकिन्छ। यी औषधिहरुको प्रभावकारिता अध्ययनकै क्रममा रहेको छ।

छालामा लगाउने औषधि : साइपरमेथ्रिन्, फ्लुमेथ्रिन, अमिट्राज, आइभरमेक्टिन, जस्ता औषधिहरुको प्रयोग गरेर किर्ना मार्न सकिन्छ

१. ढाडबाट औषधी चुहाउने: फ्लुमेथ्रिन नामक औषधिलाई भेहिकलमा मिसाएर बनाईएको इमाल्सन बजारमा किन्न पाइन्छ। यो इमाल्सन घाटीको पछाडिको भागदेखि पुच्छरको माथिल्लो भागसम्म नछुटाईकन लगाईन्छ। यसरि लगाएको औषधि प्रसार हुदै शरीरभरी पुगेर किर्नाहरुलाई मार्छ तर शरीरभित्र सोसिएर पशुलाई हानि भने पुर्याउदैन । यद्दपि गर्भिणी पशुहरुमा यो प्रबिधि प्रयोग गर्ने सल्लाह दिइदैन।

२. शरीरभरी औषधी दल्ने: साइपरमेथ्रिन, डेल्टामेथ्रीन, अमिट्राज औषधिहरु एक एमएल १५ लि. पानीमा मिसाएर प्रयोग गर्न सकिन्छ। यो औषधि प्रयोग गर्दा पशुलाई गोठबाट केहि पर चौरमा लिएर जानुपर्छ र पन्जा, मास्क लगाएर एउटा कपडा वा ब्रसको सहायताले शरीरभरि यो औषधि दल्नुपर्छ। औषधि दलेपछी पशुको मुखमा कोर्को लगाएर केहि घण्टा चौरमै छोडिन्छ र सफापानीले नुहाईदिएर पुनः गोठमा ल्याइन्छ। यो विधिको प्रयोग गर्दा किर्नाहरू मर्ने भन्दा पनि लठ्ठीएर खस्ने हुदा फेरी उठेर आउन सक्छन। यसैले औषधि दलेको चौरमा आगो लगाईदिने वा खन्दिने गर्नुपर्छ।

३. औषधिको झोलमा पशुलाई डुबाउने (डिपिंग) : यसका निम्ति एउटा सिमेन्टेड ट्यांकीमा औषधि मिसाएको पानी भरिन्छ र त्यसमा पशुलाई डूबाइन्छ। यो प्रबिधि भेडाबाख्रामा प्रयोग गर्न सजिलो र उपयुक्त हुन्छ। यदि ठुलो स्तरमा भेडा वा बाख्रापालन गरिएको छ भने डिपिंग ट्यांक बनाएर प्रयोग गर्न सकिन्छ तर सानो स्तरमा यो निकै महगो हुन जान्छ। यसैले यो बिधि प्रयोग गर्ने सल्लाह दिइदैन।

रोकथाम :

किर्नाको रोकथामबारे बुझ्नका लागि सबैभन्दा पहिले किर्नाको जिबनाचक्र र हामीले रोकथाम गर्न सकिने अवस्थाहरु कुन कुन हुन् भनेर बुझ्नु जरुरि छ। यसपछी मात्र उपयुक्त अवस्थामा नियन्त्रण र रोकथाम गर्न का निम्ति प्रभावकारी कदम चाल्न सकिन्छ। रोकथामको एकमात्र उपाय भनेको किर्ना मार्नु नै हो।

रोकथामको सर्बोत्तम उपाय भनेकै सरसफाई हो। गोठको वरपर जम्मा हुने फोहोरमा किर्नाले फुल पार्छ र विभिन्न अवस्थाहरु त्यहि बिकाश हुन्छन्। त्यसैले गोठ वरपर सफा राख्न सकियो भने बधुवा पशुमा किर्नाको संक्रमण कम गर्न सकिन्छ।

चरनका पशुहरुमा किर्नाको समस्या कम गर्न बर्षा मौसम सुरु हुनुभन्दा अघि चरनक्षेत्र जोतिदिने वा डढेलो लगाउने गर्न सकिन्छ। यसो गर्दा किर्नाको संख्या कम हुने हुनाले आउने वर्षा मौसममा संक्रमण कम हुन्छ। यतिमात्र होइन, बर्षा मौसममा हुर्किने घास धेरै र पौष्टिक पनि हुन्छ।

जुर्रो नभएको गाईभन्दा जुर्रो भएको गाईका जातहरु केहि हदसम्म किर्ना प्रतिरोधी हुने हुनाले यी जातका गाईहरुको पालन गर्नाले किर्नाको संक्रमणबाट केहि हदसम्म छुटकारा पाउन सकिन्छ।

गाई भन्दा भैसी किर्नाबाट तुलनात्मक रुपमा प्रतिरोधी मानिन्छ। र गाई र भैसी एकैठाउमा पालेको खण्डमा गाई र भैसी दुबैमा किर्ना लागेको हुन्छ। तर गाईमा यो समस्याको रुपमा देखिन्छ र समाधान पनि गरिन्छ। तर भैसिमा भने किर्ना धेरै कम संख्यामा रहेका हुन्छन र त्यहा उपचारको ध्यान पनि जादैन तर भैसिबाट गाईमा किर्ना सजिलै सर्ने हुन्छ। यसैले गाई र भैसी एकै ठाउमा मिसाएर पाल्नाले किर्नाको संक्रमण बढी हुन्छ। यसैले सकेसम्म एकैठाउमा गाई र भैसी पाल्नु उचित मानिदैन।

Facebook Comments Box
TOP