गल्याङको लाखुडाँडामा सामुहिक टिमुरखेति शुरु, पकेट क्षेत्र बनाउने वडाको लक्ष्य ।
कला राना/वालिङ :
सरकारले जग्गा बाँझो नराख्ने निति लिएर अगाडि बढिरहेका बेला स्याङ्जाको गल्याङका कृषकहरुले बाँझो जग्गामा सामुहिक टिमुर खेति शुरु गरेका छन् । गल्याङ नगरपालिका वडा नं. १० लाखुडाँडाका कृषकहरुले झाडी फाँडेर बाँझो जग्गामा सामुहिक टिमुर खेति शुरु गरेका हुन् । साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुर खेति शुरु गरिएको हो । स्थानीये लिला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जन समेत गर्न सकिने भएकाले सामुहिक टिमुर खेतिमा लागेको बताउनुभयो । स्थानीय ५० घरधुरीले देविभञ्याङ टिमुर व्यवसायिक कृषि समुह गठन गरी सामुहिक टिमुर खेतिमा जागरुक भएका हुन् ।
पछिल्लो समय बन्यजन्तुले अन्नबाली तथा फलफूलहरु खाईदिने गरेकाले पनि टिमुर खेति आफूहरुको लागि लाभदायिक हुने सारुको विश्वास छ । सारु भन्नुहुन्छ, “हामी टिमुर खेतिमा जागरुक छौँ । यसको संभावना देखिएकाले खेति शुरु गरेका हौँ ।” अघिल्लो वर्ष वडामा ७ सय टिमुरका विरुवा परिक्षणका रुपमा लगाईएको र टिमुरका लागि चाहिने हावापानी समेत आफ्नो ठाँउमा रहेको अर्का कृषक लक्ष्मण शाहीको भनाई छ ।
शाही भन्नुहुन्छ,“यो वर्ष हामीले २५ सय टिमुरका विरुवा रोप्न शुरु गरेका छौँ, लाखुडाँडामा रहेका ५० घरधुरी टिमुर खेतिका लागी समुहमा आवद्ध छन् ।” टिमुर खेतिका लागि स्थानीय रुपमै नर्सरी गरी विरुवा उत्पादन समेत गरिएको शाहीले बताउनुभयो ।
त्यस्तै युवा टेकबहादुर सिंजाली भन्नुहुन्छ, “बेरोजगार युवाहरुलाई कृषिका माध्यमबाट स्वोरोजगार बन्न यस्ता कार्यक्रमले टेवा पुग्नेछ ।” ग्रामिण स्तरमै समेत युवाहरुलाई कृषिका माध्यमबाट रोजगारीको संभावना धेरै रहेको भन्दै मेहेनतका साथ लाग्नुपर्ने सिंजालीको भनाई छ ।
वडा अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले वडालाई अर्गानीक वडाको रुपमा विकास गर्नका लागि कृषिका माध्यमबाट अगाडि बढिएको बताउनुभयो । युवालाई विदेश पलायनबाट रोक्न सामुहिक टिमुर खेति, सामुहिक कागती खेति, कुरिलो खेतिलाई समेत वडाले प्राथामिकता दिँदै आएको उहाँले बताउनुभयो ।
अन्य वडा भन्दा भौगोलिक विकटता रहेको वडा नं. १० मा स्थानीयलाई कृषिबाटै समृद्ध बनाउने योजना रहेको वडा अध्यक्ष पंगेनीले बताउनुभयो । पकवादीमा सामुहिक कागती खेति गरिएको भन्दै ८ हजार कागती लगाउने उहाँले बताउनुभयो । पंगेनी भन्नुहुन्छ, “६० जना कृषकले ५ सयका दरले कुरिलो खेति शुरु गर्नुभएको छ । उन्नत जातको बोयर बोका मार्फत क्रस बोयर बाख्रा उत्पादन गर्दैछौँ ।” पर्यटकीय दृष्टिकोणबाट समेत महत्वपुर्ण रहेको लाखुडाँडालाई होमिस्टेका माध्यमबाट अगाडि बनाउने भन्दै भवन समेत निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष पंगेनीले बताउनुभयो । “मनमोहक हिमश्रृङ्खला संगै वालिङका सबै बजार, पाल्पा, कालीगण्डकी लगायतका दृश्य अवलोकन गर्न सकिने यस ठाँउबाट १२७ किलोमिटर एउटै नदी बहाब गरेको समेत देख्न सकिन्छ ।” अध्यक्ष पंगेनीले भन्नुभयो । कृषि र पर्यटनको भरपुर संभावना रहेको लाखुडाँडामा स्थानीय समेत सामुहिक टिमुर खेतिमा सक्रिय देखिएको अध्यक्ष पंगेनीको भनाई छ । गाउँमा टनेल निमाण गरी मौसमी तथा बेमौसमी तरकारीका बेर्ना, फलफूलका बेर्ना समेत स्थानीय स्तरमै उत्पादन भईरहेको उहाँले बताउनुभयो ।
मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधिय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार वनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ । टिमुरको फल वोक्रा सम्पूर्ण फल र वीउलाई दन्त मञ्जन, सावुन, अत्तरको रुपमा प्रयोग गरिदै आइएको छ । बहुउपयोगी एवं औषधिय गुण भएको टिमुरको बजार माग अधिक रहेकोले यसको खेतीवाट मनग्य आर्थीक लाभ लिन सकिन्छ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…