स्याङ्जामा सामूहिक कागती खेती
तोलाकान्त बगाले
स्याङ्जाका बासिन्दाले सामूहिक कागती लगाउने निर्णयसहित कामको थालनी गरेका छन् । वालिङ नगरपालिका –१२ र १४ का ढिकीडाँडा, तमादी र अमलडाँडाका बासिन्दाले झण्डै एक हजार रोपनीमा सामूहिक रुपमा कागती खेती गर्ने निर्णयसहित काम आरम्भ गरेका हुन् । बसाइँसराइ, रोजगारी तथा बाँदर एवं वन्यजन्तुको समस्याका कारण उर्वरायुक्त जमीन बाँझै भएपछि डेढ सय घरपरिवार भेला बसी सामूहिक कागती खेती गर्नका लागि एकतबद्ध भएका हुन् । “कागती खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुले हानि पु¥याउँदैन, हावापानी र माटोका दृष्टिले पनि यो ठाउँ कागती तथा अमिलो जातका फलफूलका लागि उपुयक्त देखियो”, वरिष्ठ कृषि अर्थविज्ञ एवं स्थानीयवासी टेकप्रसाद लुइँटेलले भन्नुभयो, “गाउँलाई कागती तथा समग्रमा कृषिको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य र उद्देश्य रहेको छ ।” रोजगारीका सिलसिलामा विदेशिरहेका युवालाई गाउँमै रोजगारी भएसँगै आय आर्जन हुने तथा बसाइँसराइबाट प्रभावित बनेको गाउँलाई पुनर्जागरणका लागि यो अभियान प्रभावकारी हुने विश्वास आफूले लिएको लुइँटेलले बताउनुभयो ।स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङलाई यस खालका अभियानले छिट्टै गन्तव्यतर्फ पु¥याउने विश्वास वालिङ नगर प्रमुख दिलीपप्रताप खाणको छ । “स्थानीयवासी जागरुक भएर स्वतःफूर्तरुपमा गाउँको मुहार परिवर्तन गर्ने महान् अभियानमा लाग्नुभएको छ” खाणले भन्नुभयो, “यस अभियानलाई व्यावसायिक रुपमा सफल बनाउन नगरपालिकाले आर्थिक, प्राविधिक तथा अन्य आवश्यक सहयोग प्रदान गरी अन्यत्र पनि लागू गर्न प्रोत्साहन गर्नेछौँ ।” स्थानीयवासीले सामूहिक रुपमा देखाएको व्यावसायिकता समग्रमा वालिङको आधुनिक कृषि तथा आर्थिक पक्षका लागि एउटा कोसेढुङ्गा सावित हुने नगर प्रमुख खाणको जिकिर छ । “अब हरेक गाउँमा केही न केही उत्पादन गर्नुपर्छ”, नगर प्रमुख खाणले भन्नुभयो, “उत्पादन भएका कृषिजन्य वस्तुहरुको बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने छ ।” बजारलाई स्मार्ट सिटी र गाउँलाई स्मार्ट भिलेज बनाउने गरी स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको नगरपालिकाको पहिलो स्मार्ट भिलेजका रुपमा यस ठाउँलाई चिनाउने गरी काम थालिएको वडा नं १४ का वडा सदस्य गमप्रसाद लुइँटेलले बताउनुभयो । “हामीले झण्डै डेढ सय घरधुरीको करीब एक हजार रोपनी क्षेत्रफलको लालपूर्जा सङ्कलन गरेर पहिलो चरणमा बाँझो जग्गामा रहेका बुट्यानहरु एक सातादेखि फँडानी गरिरहेका छौंँ”, वडा सदस्य लुइँटेलले भन्नुभयो, “फँडानी कार्य केही दिनमा सकिने छ, त्यसको लगत्तै खाडल खनेर कागतीका बिरुवाहरु लगाउने छौंँ ।” पहिलो चरणमा प्रतिरोपनी रु पाँच हजारका दरले रकम सङ्कलन गरेर थालिएको कार्य सम्पन्न गर्न रु दुई करोड १७ लाख ४५ हजार लाग्ने अनुमान रहेको वडा सदस्य लुइँटेलले बताउनुभयो ।चालु आर्थिक वर्षको अन्त्यसम्ममा करीब ३० हजार कागतीका बिरुवा तथा तरकारी लगाउने योजना छ । युवा वैदेशिक रोजगारीमा जाने र कतिपय स्थानीयवासी घर नै छाडेर तराईतिर बसाइँसराई गएका कारणले हिजोको खेतीयोग्य जमीन बाँझै रहेको स्थानीयवासी युवक टीकाराम लुइँटेलले बताउनुभयो । “यहाँ बाँदरले दिएको हैरानीका कारण पनि अन्य खेती लगाउन सकिने अवस्था देखिएन”, स्थानीयवासी टीकारामले भन्नुभयो, “कागतीलाई बाँदरले नखाने भएकाले पनि हामीले बाँझो रहेका सबै जग्गाभरी कागती र अन्य समयानुकुलका तरकारीहरु पनि लगाउने योजना बनाएर काम थालेका हौं ।” ढिकीडाँडामा पहिला ३५÷४० घरधुरी भए पनि अहिले बसाइँसराइका कारण चारपाँच घरमा मात्रै मानिसको बसोबास रहेको स्थानीयवासी वृद्ध पुण्यप्रसाद लुइँटेलले बताउनुभयो । गाउँबाट पलायन भएकाहरुलाई यो अभियानले पुनः गाउँमै फर्काउन सकिन्छ कि भन्ने आशा रहेको पुण्यप्रसाद बताउनुहुन्छ । तीन गाउँमा रहेका सबै घरधुरीलाई समेटिने गरी प्रत्येक गाउँबाट चार चार जनाका दरले १२ जनाको समिति बनाएर कामलाई तीव्रता दिइएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


