नेपाली कांग्रेसको विशेष आन्तरिक अभियान
वालिङ :
नेपाली कांग्रेसको विशेष आन्तरिक अभियान अन्तर्गत स्याङ्जा क्षेत्र नंं २ को संयुक्त बैठक शुक्रबार गल्याङस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ तथा प्रदेश क्षेत्र नं. २ (१) र प्रदेश क्षेत्र नंं २ (२) को संयुक्त बैठक सम्पन्न भएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार स्याङ्जामा पनि साउन २० गतेदेखि ३० गतेसम्म विशेष आन्तरिक अभियान सञ्चालनमा रहेको छ ।
गल्याङमा भएको विशेष आन्तरिक अभियान कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं अभियानकालागि केन्द्रीय प्रतिनिधि सीतादेवी देवकोटाले रुपान्तरण अरुबाट नभई आँफैबाट हुनुपर्ने बताउनुभएको छ । अरुलाई बदलेर नभई पहिला आँफै बदलिन सकेमात्रै क्रान्ति वा रुपान्तरण सम्भव रहेको उहाँले बताउनुभयो । “अरुलाई बदल्छु भन्ने तर आँफू नबदलिने हो रुपान्तरण कहिल्यै हुँदै हुँदैन” उहाँले भन्नुभयो, “रुपान्तरण हुनकालागि स्वयं बदलिनु जरुरी छ ।”
पार्टीको संगठन गर्दा भुईमान्छेलाई केन्द्रमा राखेर गर्नसकेमात्रै मजबुत हुने धारणा उहाँको छ । महामानव विश्वेश्वरप्रसाद कोईरालाको आदर्श, संस्कार र आचरणबाट अगाडि बढेको नेपाली कांग्रेसलाई कमजोर बनाउने छुट कोही कसैलाई नभएको उहाँले बताउनुभयो ।
कांग्रेस कमजोर भयो भने देश कमजोर हुने भएकाले देशलाई कमजोर बनाउने छुट नेपाली कांग्रेसलाई नभएको धारणा उहाँको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सभा सदस्य कल्पना तिवारी, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, गण्डकी प्रदेशसभाका संस्थापक सदस्य भागवतप्रकाश मल्लले लोकतन्त्रको रक्षाकालागि पनि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य एवं प्रदेश प्रतिनिधि सीता गुरुङ, प्रदेश सदस्य कुमबहादुर गुरुङ, कार्यबहाक जिल्ला सभापति केदार काफ्ले, जिल्ला उपसभापति शेरबहादुर थापा, महाधिवेशन प्रतिनिधिहरु अर्जुनप्रकाश अर्याल, लक्ष्मीप्रसाद रेग्मी, युवराज पाण्डे, कांग्रेस ज्येष्ठ सदस्य शालिकराम न्यौपाने लगायतले आ– आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ प्रदेश १ का सभापति अर्जुनप्रसाद खनालको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम क्षेत्र नं. २ का सभापति दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न भएको थियो भने धन्यवाद क्षेत्र नं. २ प्रदेश २ का कार्यवहाक सभापति टिकाराम तिवारीले र सञ्चालन क्षेत्रीय सचिव दिपक रेग्मीले गर्नुभएको थियो । यसैबीच बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं सांसद खगेन्द्रराज रेग्मीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधि शिवकुमार गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
समाचार
थप सामाग्री
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
३ दिन अगाडि
वालिङ : स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज…


