कर्मशील भीमहरु देशका वरदान ।

राजु डुम्रे “मार्मिक” :
गत माघको १० मा केन्द्रीय राजधानीकै केन्द्र भाग नयाँ बानेश्वर अगाडि इलामका प्रेम आचार्यले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । उपचारबाट उनले जीवन पाउन सकेनन् । सदाका लागि देहत्याग गरे ।
आम युवा मात्र नभई उद्यमीका रुपमा पनि जमेका प्रेम आचार्यको त्यो घटनाले देश तरंगित बन्यो । आम युवा पंक्तिमा निराश र आक्रोश एकैपटक देखियो । सरकार, सांसद र नेताले कृषक र उद्यमीका समस्यालाई नजरअन्दाज गरेको भन्दै राज्यप्रति वितृष्णा थप पैदा भयो । ठुला घरना, उद्योगपति र व्यवसायीले वस्तु र सेवाहरु माथिको सिन्डिकेटका विरुद्धमा नागरिकको आवाज मुखरित भए ।
चुनौतीलाई सामना गर्न हिम्मत जुटाउन नसकेर मृत्यु रोज्नुलाई कायरताका रुपमा व्याख्या पनि गरिन्छ । प्रेमले रोजेको बाटोलाई केहीले कायरतापूर्ण भनिरहँदा बहुसङ्ख्यकले सहानुभूति दर्शाए । राज्यले नागरिक प्रति देखाएको गैर जिम्मेवारीको परकाष्ठाले प्रेमले मृत्यु रोजेकाले स्वभाविक रुपमा उनी प्रति सहानुभूति प्रकट भए । उनले मृत्यु रोज्नु पारिवारिक विचलन कारण थिएन । राज्यले देखाएको भूमिका प्रमुख कारक थियो ।
युद्धसँग मुकाविला गर्न सक्ने निडर व्यक्ति कहिलेकाँही यथार्थसँग डराउने रहेछ । उसका लागि जीवन भन्दा मृत्यु प्रिय हुन पुग्ने रहेछ । दया भावले प्रेमको परिवारका लागि देश विदेशबाट सहयोग जुट्यो । ऋणको पासोबाट आचार्य परिवार मुक्त बनाउन नागरिक तहबाट सहयोग ओहिरियो ।
हाम्रो नियति मरोणपरान्त वाहवाही र विभूषित गर्ने परम्परा छ । असफलताको कहानी उनले सामाजिक सञ्जालमा सार्वजनिक नगरेको भए परिवारलाई उनीप्रति सहानुभूति र परिवारलाई आर्थिक जोहो हुँदैनथ्यो । असफलता मात्रै बाँडेर उनले मृत्यु नरोजेको भए समाजले प्रेमलाई हुतिहाराकै पगरि सायद गुथाइरहने थियो ।“स्वदेशमा इलम मार्फत रोजगार सृजना गर्नेहरुको महान हुन् । तर, ती उद्यमीहरुको विचल्ली दिनहुँ बढीरहेको छ । परिणामतः देश छोडेर विदेशको बाटो लाग्न विवश छन् । देशमा गरिरहेको उद्यम प्रणालीगत समस्या झण्झटले युवाहरुलाई निल्नु न ओकल्नुको अवस्थामा पु¥याएको छ ।”
व्यवसायमा वा साना उद्यममा संलग्नहरु सफलता प्राप्त गर्न कठिन छ । उमेर दुई बीस काटिसक्दा सम्म, न सफलताको सिढी चढ्न पाए, न सुखको बाटो रोज्न । परिवारका इच्छाहरु पुरा गर्न नसक्नु अर्को दुखद पक्ष छ । यही नियति अहिलेको युवा उमेर समूहले मात्रै भोग्न विवश नभएर भावी पुस्ताले पनि भोग्न प¥यो भने नेपाल बन्दैन भन्ने संकथनले अझ बलियो हुँदै जानेछ ।
युवाहरुमा आशा मरिसकेको भने छैन । चुनौतीहरु पार गर्दै असम्भवलाई सम्भव देखाउन सकिने शिक्षा केही युवाहरुले देखाइरहेका छन् । निराशा र वितृष्णा मात्रै छैन । भोलि प्रति आशा पनि छ ।
“चुनौतीलाई स्विकार्दै युवा पुस्तालाई मार्ग निर्देशन गर्ने पात्रका रुपमा भीम लुईंटेल देखिए । वालिङ–१४ स्याङ्जाका लुईटेल निरन्तर संघर्षबाट आजित भएर भागेका छैनन् ।”
वैदेशिक रोजगारीमा राम्रो कमाई हुँदाहुँदै पनि त्यसलाई चटक्कै छोडेर स्वदेशमा केही गर्छु भन्दै आएका व्यक्ति हुन् भीम । बंगुरपालक किसानको (अ)सफल किसानको उनले पहिचान बनाएका छन् । कायर भएको भए वा जीवन देखि भागेको भए उनले युवालाई प्रेरणा दिन सक्ने थिएनन् । निरन्तर कर्म, धैर्यता, आत्मबल र संघर्षले भीम अब्बल पात्र देखिएका छन् ।
भीमको संघर्षले आशा पलाउँछ । सबै खत्तम हुँदैछ भनि भाष्य बनाउने प्रयत्न भइरहँदा समेत आशाको त्यान्द्रो भीमले फलाउन सकेका छन् । वैदेशिक रोजगारी नै अन्तिम विकल्प होइन भनि सन्देश प्रवाह भएको छ । आफ्नै बलबुताबाट उद्यम गरेकाहरु पनि लर्को लागेर विदेशिन लागिरहेका बेला प्रेरणाका स्रोत भीम भएका छन् ।
जीविका चलाउन कठिन छ । कृषि कर्मलाई मर्यादित पेशा नीतिगत तहमा हुनेले बनाउन सकेका छैनन् । सरकारी अनुदानका लागि भनसुन गर्नुपर्छ । पहुँच हुनेहरुले अनुदान प्राप्त गर्छन् । त्यसबाट कृषक र राज्यले कति लाभ प्राप्त गरेको छ, अध्ययन हुन सकेको छैन । पहुँच पु¥याउन नसक्नेहरुको अवस्था जहाँको त्यही छ । भीम जस्ता उद्यमीले राज्यले यो संकटको बेला हेरिदेओस् भनिरहँदा अनुदानमा ब्रम्हलुट गर्नका लागि नै फर्महरु खडा भएका परिदृश्य पनि छन् ।“ठिङरिङ्ग उभिएका भूत बंगलाले अनुदान पाइसके तर राज्यले के पायो? जीवनभर कृषिलाई मूल पेशा बनाउनेले के पाए? अनुदानको रकममा भइरहेको चरम दुरुपयोगको अनुसन्धान गरेर नीतिगत निर्णय कहिले हुने? उद्यमी असफल आफ्नै कारणले मात्रै हुँदैन । उद्यम मैत्री वातावरण भएन भने आँट जगाउने युवा समेत पलायन हुनुपर्दछ । बजारीकरणको व्यवस्थित मार्गचित्र नकोरिनु हो ।”
साना उद्योग र उद्यमीहरु लाई झन्झटिलो बैंकिङ्ग प्रणाली प्रयाप्त ज्ञान नहुनु र प्रकृयागत कठिनाइहरु पनि छन ।
असफलता हात लाग्नुमा उद्यमी आफैं बढी महत्वकांक्षी हुनाले पनि अर्थ राख्छ । सिमित स्रोत साधनमा अथाह परिणाम खोज्न सकिँदैन । हामीकहाँ विषयगत प्राविधिकहरुको समस्या छ । आवश्यक सरसल्लाहको अभाव छ । देशमा मूलतः दुई थरी कृषि उद्यमी छन् । एक, पँुजीपति उद्यमी र पुँजी खोजेर हुने उद्यमी । सरकारले बार्षिक बजेटको १० प्रतिशत कृषिमा बजेट विनियोजन गरेको छ । स्थानीय सरकारको आफ्नो छुट्टै नीति हुन्छ । अनुमान गरौं त, एक आर्थिक बर्षमा कति खर्ब रकम बिनियोजन होला? कृषि कर्जा खर्ब नागिसक्यो तर आयात दिनप्रतिदिन बढिरहेको छ । मनन गरौं, कहाँ के मिलेको छैन । प्रणालीगत कि नीतिगत?
हेर्ने कथाको १०९ औ भागको अब्बल पात्रको रुपमा भाइरल भिम नथाकेका र परिस्थितिसँग नहारेका युवा उद्यमी हुन । संघर्षबाट अविचलित र उद्यमशीलतामा जमेका कयौं भीमहरु पलाएन भएका पनि छन । संसारसँग निडर,कहिले काहीँ परिस्थितिसँग कातर हुँदा रहेछन । यसो हुनुमा अस्थिर राजनीति र दलाली समयंत्र कै उपज लाग्छ । भीमले देखाएको उद्यमशीलता प्रतिको ढृढता,संकल्प,आत्म बिश्वासले कयौं उद्यमीहरुमा प्रेरणा मिलेको छ । दैनिक हजारौंको सङ्ख्यामा बिदेशिएका आमयुवाहरुमा कर्मशील उद्यमीहरु पनि छन । तसर्थ निचोड यो हो कि उद्यमी भीमहरु देशका बरदान हुन् ।
(वालिङ–१४,स्याङ्जाका डुम्रे लेखक,सामाजिक अभियन्ता एवं प्रखर बक्ता हुनुनहुन्छ । सं.)
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…