गुणस्तरीय उत्पादनमा जोड दिदै,वस्तु विक्रीको ग्यारेण्टी सरकारले लिनुपर्छ : नगरप्रमुख अधिकारी

Galayang_discuss_2

आँधीखोला खबर/गल्याङ :
नेपालमा बढ्दो व्यापार घाटाप्रति गल्याङबासीले चिन्ता प्रकट गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिकामा भएको कार्यक्रममा व्यापार घाटाको अवस्थाप्रति स्थानीयबासी चिन्तित भएका हुन् ।
उनीहरुले बढ्दो व्यावार घाटा काम गर्न गुणस्तरीय उत्पादन गरी निर्यात बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको “विश्व व्यापार संगठनको स्थानीयकरण र व्यापारमा मुल प्रवाहीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले गुणस्तरीय वस्तु उत्पादन गरी विश्व बजारमा पुग्नुपर्नेमा जोड दिएकाहुन् ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले निर्यातको ग्यारेण्टी लिएर गल्याङ नगरपालिकालाई अदुवाबालीको केन्द्रको रुपमा विकास गर्ने बताउनुभयो ।
उहाँले आसपासका जिल्लाका पालिकाहरुलाई समेत समेटेर गल्याङ नगरपालिकालाई अदुवाबालीको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो ‘स्याङ्जासँगै पाल्पा, गुल्मी र पर्वत जिल्लालाई समेटेर अदुवाको उत्पादन गर्ने र गल्याङ नगरपालिकालाई त्यसको केन्द्रमा राख्ने योजना छ ।’ अदुवामा ५० प्रतिशतको अनुदानको व्यवस्था भएको भन्दै उहाँले उत्पादित अदुवा विक्रीको ग्यारेण्टी पनि नगरपालिकाले लिएको दोहोर्याउनुभयो ।
नगरप्रमुख अधिकारीले अन्तराष्ट्रिय गुणस्तरको मापदण्ड तयार गरी उत्पादन गर्न नगरपालिकाका किसानहरु पनि तयार हुनुपर्ने बताउनुभयो ।


उहाँले यस वर्ष दश हजार सुन्तलाका बोट लगाउने अभियानमा पनि लागेको जानकारी दिनुभयो । नगरप्रमुख अधिकारीले किसानलाई प्रोत्साहन गर्नका लागि नै आफुले सबैभन्दा बढि ध्यान केन्द्रीत गरेको भन्दै उत्पादन बढि भए मात्रै परनिर्भरता हट्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश आचार्यले अहिले नेपाललाई बजारको समस्या नभई उत्पादनको समस्या भएको बताउनुभयो ।
अहिले पनि एक रुपैयाँको निर्यात हुँदा १५ रुपैयाँ बराबरको आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले व्यापार घाटा १४ रुपैयाँ हुने अवस्थाको अन्त्यका लागि गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले मात्रै व्यापार घाटा धानिरहेको भन्दै उहाँले यहि अवस्था आएमा अबको केही वर्ष पछि जेष्ठ नागरिकको संख्या बढि हुने र रोजगारीको समस्या रहने बताउनुभयो ।
सहसचिव आचार्यले गुणस्तरीय उत्पादन कमि हुँदा निर्यात गर्न नसकिएका कारण विश्व व्यापार संगठनको सदस्यतालाई उपयोग गर्न नेपाल चुकिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले विश्व व्यापार संगठनबाट लाभ लिनका लागि निर्यातजन्य वस्तुको उत्पादन गर्न सकिने बताउनुभयो ।
सरकारले ल्याएका विभिन्न नीति तथा योजनाहरुका बारेमा जानकारी दिदै अधिकारीले चिया, अदुवा, अलैंची, औसधीजन्य जडीबुडी, सुन्तला, कफि लगायतका वस्तुको गुणस्तरीय उत्पादन गरी लाभ लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले किसानबाटै परिवर्तन हुने भएकाले तल्लो तहबाटै परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले विश्व बजारमा पहुँच पु¥याउनका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले स्थानीय तहबाट सक्दो प्रयास भैरहेको भन्दै संघीय सरकारले नै बढि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङले गुणस्तरीय उत्पादन नहुँदासम्म निर्यातमा समस्या हुने भएकाले यसमा नै सबैले जोड दिनुपने बताउनुुभयो ।
जिल्ला समन्वय समितिका सदस्य धनमाया विकले तल्लो तहका जनतालाई अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
कालीगण्डकी यातायात प्रा.लिका अध्यक्ष भेमलाल अर्यालले उत्पादनको समयमा निर्यात गरी महङ्गो मुल्यमा अर्बौ रुपैयाँको चामल आयात गर्नुपरेको बताउनुभयो ।
गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले नगरपालिकाले जस्तै संघीय सरकारले पनि किसान मैत्री नीति लिनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box
TOP