मुद्धा मिलाउन सक्रिय बन्दै मेलमिलापकर्ता
तोलाकान्त बगाले/ वालिङ ।
वालिङ नगरपालिकामा दर्ता भएका मुद्धा मिलाउनका लागि मेलमिलापकर्ताहरु सक्रिय बन्न थालेका छन् । स्थानीय स्तरमा विवाद समाधानलाई छिटो छरितो बनाउनका लागि मेलमिलापकर्तालाई सक्रिय बनाईएको वालिङ नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक कल्पना तिवारीले बताउनुभयो ।
वालिङ नगरपालिकाले प्रत्येक वडाबाट सहभागिता हुने गरी आठ दिनको ४८ घण्टे तालिम दिएको र मेलमिलापकर्ताको सूचि दर्ता गरी सूचिकृत मेलमिलापकर्तालाई नै वडाको मुद्धा तथा विवाद मिलाउने जिम्मा दिईएको संयोजक तिवारीले बताउनुभयो ।
“नगरवासीले न्यायिक समितिमा निवेदन दर्ता गराएपश्चात ३२ जना मेलमिलापकर्ता मध्येबाट छान्न लगाउँछौं” संयोजक तिवारीले भन्नुभयो, “मुद्धा तथा विवादको मिलापत्रका लागि जुन मेलमिलापकर्ता माग गर्नुहुन्छ उहाँलाई नै मिलापत्र गर्ने जिम्मा दिने गरेका छौं ।”
मेलमिलाप एउटा उत्कृष्ट पद्धति भएको र यसका माध्यमबाट एक पक्षले जित्ने र अर्को पक्षले हार्ने भन्दा पनि दुबै पक्षले जित्ने अवस्था सिर्जना हुने गरेको संयोजक तिवारीको भनाई थियो ।
न्यायिक समितिमा जग्गा सम्बन्धि विवाद, आर्थिक लेनदेन, पारीवारिक बेमेल, घरेलु हिंसा, सामान्य कुटपिट जस्ता मुद्धा बढी आउने गरेका कानून शाखा प्रमुख नरबहादुर पौडेलले बताउनुभयो ।
“न्यायिक समितिमा क्षेत्राधिकारभित्रका मुद्धा तथा विवादहरु अपेक्षा अनुसार आएका छैनन्” शाखा प्रमुख पौडेलले भन्नुभयो, “क्षेत्राधिकारभन्दा बाहिरका मुद्धा, विवादहरुलाई आवश्यक सल्लाह, सुझाव तथा प्रक्रियाकाबारेमा कानूनी परामर्श दिएर सम्बन्धित निकायमा पठाउने गरिएको छ ।”
वालिङ नगरपालिकाको न्यायिक समितिमा गतवर्षको तुलनामा यसवर्ष मुद्धा तथा विवादहरु धेरै दर्ता भएका छन् भने मेलमिलापकर्ताको सक्रियताले पनि न्यायिक निरुपणमा महत्वपूर्ण टेवा पुगेको प्रमुख पौडेलले बताउनुभयो ।
मेलमिलापकर्ताले दुबै पक्षलाई समान दृष्टिले न्यायको तराजुमा राखेर निसाफ गर्नुपर्ने सूचिकृत मेलमिलापकर्ता डण्डपानी पंगेनीले बताउनुभयो ।
“हामीसँग आएका मुद्धाको निरुपणका लागि कारबाही गर्ने, सजाय दिने मनोबल गिराउने नभई दुबै पक्षलाई आत्म सम्मान पुग्ने गरी मिलापत्र गराउँछौं” मेलमिलापकर्ता पंगेनीले भन्नुभयो, “मेलमिलापका माध्यमबाट पक्ष विपक्ष दुबैको राम्रा÷नराम्रा कुरामाथि छलफल गरी दुबैलाई जीतको महशुष हुने गरी समाधानको पहल गर्छौं ।”
न्यायिक समितिमा अपेक्षा अनुसारका मुद्धाहरु नआउने र कतिपय क्षेत्राधिकार बाहिरका मुद्धा आउने गरेकाले अब वडा÷वडामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको न्यायिक समिति संयोजक तिवारीले बताउनुभयो ।
नगरपालिकामा कानूनी शाखा तथा छुट्टै ईजलास निर्माण गरी न्याय सम्पादनलाई अझै ब्यवस्थित तबरबाट अगाडि बढाउन पहल भैरहेको समिति संयोजक तिवारीको भनाई थियो ।
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


