संसद्‍मा प्रदर्शनकारीको प्रवेश:  घटनाको छानबिनमा एसएसपी नेतृत्वको समित गठन ।

samsad-bhaban

 

काठमाण्डौ:
संसद् भवन परिसरमा विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएकाहरू प्रवेश गरेको घटनाका बारे छानबिन गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सदस्य रहेको समिति गठन भएको हो । प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले संसद् भवन परिसरमा भएको घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि के कसो गर्नुपर्ने हो आवश्यक निर्णय लिइने बताए ।

संसद् भवन परिसरको सुरक्षामा तैनाथ भएका प्रहरीलाई छक्याएर लघुवित्त ऋणिलगायतका प्रदर्शनकारी सोमबार प्रवेश गरेका थिए । संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठक सकिएको केही बेरमै प्रदर्शनकारी भित्र छिरेर नाराबाजी गरेका थिए । जबर्जस्ती भित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुष पक्राउ परेका छन् । उनीहरूलाई वानेश्वर वृत्तमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

संसद् भवन बाहिर चौबिसै घण्टा प्रहरीलाई सुरक्षाका लागि तैनाथ गरिएको छ । उच्च सुरक्षा घेरा पार गर्दै प्रदर्शनकारी भित्र प्रवेश गर्नुले प्रहरीले संसद् परिसरको सुरक्षामा गरेको लापरबाही उजागर गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेको घटनाबारे जानकारी लिएका थिए । महानिरीक्षक कुँवरले संसद् भवनको सुरक्षामा खटिएका प्रहरीको टोली परिवर्तन गरिएको जानकारी गराएका छन् ।

 

Facebook Comments Box
TOP