राज्यले विभेद गरोस् !

matrika aryal-0

मातृका अर्याल :

देशको वर्तमान स्थिति र भावि सम्भावित परिस्थितिको बारेमा आकलन गर्दा पनि साच्चिकै उदेक लागेर आउँछ । यही देशमा जन्मियो, यहीँको परिवेशमा हुर्कियो, यहींको जागिर पेशा गरियो अब यो देश छाडेर कहाँ जाने ? अर्को देशमा गएर पनि त यहाँ जस्तै सजिलै फेरि जम्न गाह्रो छ । तर यहाँको राजनीति, राजनीतिक परिवर्तन, देशको भविष्य सम्झेर अलि मन बुझाउन गाह्रो भएको छ ।

राजनीतिको खासै चासो नहुने हो मलाई ९, १० वर्ष अगाडिसम्म । आफ्नो काम गर्ने र आफ्नै सुरमा हिंडने मेरो बानी थियो । तर बुझ्दै जाँदा जहाँ हुर्कियो, त्यहीँको माया लाग्ने अर्थात जुन देशमा जन्म्यो त्यही देशको माया लाग्ने, त्यही ठाउँको राम्रो होस् भन्ने चाहना राख्ने स्वभाव हुँदोरहेछ विवेकशील प्राणी जगतको । म पनि यही प्राणी अन्तर्गतको पृथ्वीमा आएको व्यक्ति परें । मलाई पनि आफ्नो देशको माया हुनु स्वभाविक नै भयो । राजनीतिप्रति चासो नभएपनि यसो सोचें देश चलाउने त राजनीतिक दलले हो । त्यसो हुँदा राजनीति नगरि देशको भलो चिताउनुले पनि खासै अर्थ राख्दो रहेनछ । त्यसैले अलिअलि राजनीतिमा चासो बढ्दै जान थाल्यो ।
राजनीतिमा विभिन्न पार्टीका विभिन्न सिद्धान्तहरु छन् । मानिसले आआफ्ना विचार, साथीसंगत, घरपरिवार, रहनसहन, सुख, द्वेश आदि कारणले विभिन्न राजनीतिक दलसँग आफ्ना विचार सहमत गराउने प्रयास गरेजस्तै मैले पनि यस्तै खालको परिवेशमा लोकतान्त्रिक शासन प्रणालीमा आधारित भएको, स्वतन्त्र विचार राख्न पाउने, आफ्नो व्यक्तिगत रुचि अनुसार काम गर्न पाउने सिद्धान्त बोकेको राजनीतिक दलमा आस्था राखें ।
किनकि मलाई मान्छे भएर जन्मेपछि आफ्नो मनमा लागेका, अरुलाई नकारात्मक असर नगर्ने किसिमका कुनै पनि गतिविधि सञ्चालन गर्न पाउनुपर्छ भन्ने लाग्छ । अनि त्यस्तै गरीबै गरीब भएको ठाउँमा कोही व्यक्ति धनी हुन्छन् भने उनीहरुलाई धन कमाउन दिनुपर्दछ भन्ने लाग्दछ । शहरमा पुँजीवाद र गाउँमा समाजवाद लगाउनु पर्छ भन्ने लाग्दछ । अर्थात काम गर्न सक्नेलाई, काम गर्न जान्नेलाई काम गर्न देउ, राज्यको नीति अनुसार कर लेउ अनि त्यो करबाट जो काम गर्न सक्दैनन्, जो काम गर्न जान्दैनन् उनीहरुलाई सहयोग गर भन्ने कुरा, विचार, धारणा, सिद्धान्त मलाई मनपर्छ ।

मलाई धेरै मेहनत, दिमाग, परिश्रम खर्च गरेर बनेका थोरै धनीहरुसँग भएको धन केही काम नगरी गरीब भएकाहरुलाई बाँडनुपर्छ भन्ने कदापि लाग्दैन । मेहनत गर्ने र अल्छी गर्नेसँग बराबर धन हुनुपर्छ, बराबर सम्मान हुनुपर्छ भन्ने लाग्दैन । जो काम गर्न सक्दैनन् उनलाई राज्यले हेर्नुपर्छ तर जो काम गर्न चाहँदैनन् तर म गरीब भएँ, फलानो धनी भयो त्यसको सम्पत्ति मलाई पनि चाहिन्छ भन्ने जस्ता कुरा मन पर्दैन । म चाहन्छु हाम्रो देशमा यस्तो खालको राजनीतिक संस्कारको विकास होस् । जसले काम गर्न सक्ने र काम गर्न नसक्नेहरुको बीच विभेद नगरोस् । तर काम गर्न सक्ने आन्तरिक वैयक्तिक क्षमता भएकाहरु मध्ये काम गर्ने र काम नगर्नेबीच विभेद गरोस् ।
-वालिङ् १, त्रियासी, स्याङ्जा

Facebook Comments Box
TOP