उत्कृष्ट पर्यटकीय गन्तव्य स्याड्जाकाे ‘आलमदेवी’

amrit pandey

अमृत पाण्डेय :

नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ विश्वका धेरै देशवाट नेपाल मा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपालमा भएका पर्यटकीय गन्तव्य हरु मध्ये सम्भावना वोकेको ठाउं आलमदेवी मन्दिर क्षेत्र पनी एक हो । महत्वपुर्ण ठाँउ भएर पनी राज्यवाट पछाडी परेको यस क्षेत्र पर्यटनका लागी निकै सम्भावना वोकेको क्षेत्र हो ।

प्रयाप्त प्रचार प्रसार को अभावमा प्राकृतिक र सांस्कृतिक विविधताको अनुपम उपहार हुँदा हुदै पनि राज्यको नजर पुग्न नसक्दा अाेझेलमा परेको छ । नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने दक्षिण एसियाली भू परिवेष्ठित मुलुक हो । आलमदेवी मन्दर क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकीने प्रसस्त सम्भावना रहेको छ । आलम देविमा पुग्नका लागी गण्डकी प‌देशकाे राजधानी पोखरा हुँदै स्याड्जाको पर्यटकीय क्षेत्र सिरुवारी बाट पश्चिम तर्फ नेपालको सबैभन्दा ठूलो जलविद्युत परियोजना कालीगण्डकी जलविद्युत परियोजना हुदै विर्घावाट करिब १ घण्टाको उकालो हिडेपछी आलमदेवी मन्दिरमा पुग्न सकिन्छ ।

यातायातको सुविधापनी भएकाले पैदल हिड्न अप्ठेरा मान्नेहरुका लागी यातायातका साधन वाट पनी जान सकिन्छ । उत्तर, दक्षिण र पश्चिमबाट कालीगण्डकी नदिले घेरीएर रहेको यस मन्दिर कोटाकोट वेसी, लसर्घा वेसी र बिर्घा फाटको सिरमा समुन्द्री सतहबाट करिब ३,००० मिटर उचाइमा रहेको छ ।

साविक स्याड्जा जिल्ला क्षेत्र नं. ३ को साविक आलमदेवी गा.वि.स.हाल कालीगण्डकी गाउपालीका वडा नं ३ मा पर्ने यस मन्दिरको उत्तरतर्फ दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण र माछापुच्छ्रे हिम श्रृङ्खलामा रहेका छन् भने मन्दिरको दक्षिणतर्फ फर्कदा पाल्पा तानसेनको श्रीनगर डाँडा र नेपालकै ताजमहलको रुपमा रहेको प्राचिनकालिन दरवार रानीमहल सुन्दर बस्तीहरु छेर्लुङ र सटुका देख्न सकिन्छ ।

यस मन्दिरको दक्षिणी तर्फ अवस्थित भव्य र आलिसान महल रानीमहलले राणाकालिन प्रधानमन्त्री खड्गशमसेरको सम्झना गराउदछ । मन्दिरको पश्चिमतर्फ सुगन्ध नेपालको बानारसको रुपमा चित्रित रुरु क्षेत्र र रुद्रवेणी रहेको छ । मन्दिरको बीचमा रहेको भिमसेन पातिको रुख, यसको फेदमा परेको प्वालले मानिसलाई कौतुहलता तुल्याउदछ त्यहाँ मगर जातीका पुजारीहरुले पुजा आजा गर्ने प्रचनल रहेका छ । साविक आलमदेवीमा खास गरी मगर जातीको वाक्लो वस्ती रहेको छ ।

aalamdevi
आलमदेवी मन्दिर

यस्ताे छ इतिहास 

मन्दिरको ऐतिहासिक पृष्ठभूमिको बारेमा अध्ययन गर्दा भारतको चित्तोडमा राज्य गरी बस्ने मिचा खाँण र खाम्चा खाँणहरु मुसलमानहरुको आक्रमणमा परेपछि त्यहाँबाट भागेर भारतको गढवाल हुँदै नेपाल प्रवेश गरे । गुल्मीको रिडी हुँदै चण्डीभञ्ज्याडबाट हाल मन्दिर रहेको स्थान आइपुग्दा साँझ प¥यो र त्यस ठाउँमा भिमसेन पातीको रुख र समथर स्थान देखी त्यही रुखमूनि बास बसे । अर्कोदिन बिहान उठेर हेर्दा आफ्नो साथमा लिएर आएकी इष्टदेवी रुखको फेदमा गहिरो प्वाल पारेर अलप भएको पाए । उक्त प्वाल कालीगण्डकीको तीर सम्म नै पुगेको र त्यो प्वालबाट कालीगण्डकी नदी सुस्याएको समेत सुन्न सकिने किंवदन्ति रहेको स्थानीय वताउछन् । यसरी आफ्नी इष्टदेवी अलप भएपछि उनीहरुकै व्यवस्थापनमा मन्दिर स्थापना गरेर अलपदेवीको नाममा पुजा आजा गर्न थाले र त्यही स्थानमा लसर्घाकोट राज्यको स्थापना गरेर केही समय राज्य सञ्चालन गरी बसे । हालको मन्दिर तिनै अलपदेवीको नाम अपभ्रंस भएर आलमदेवी रहन गएको भन्ने पाइन्छ ।

केही समयपछि ती राजाहरु भिरकोट, नुवाकोट, कास्की र लमजुङ हुँदै गोर्खा राज्यको स्थापना गरी राज्य सञ्चालन गरे । कुल मण्डन खाँणले दिल्लीका वादशाहालाई खुशी बनाएर शाह उपाधि पाएपछि नेपालमा शाहवंशिय राजाहरुको राज्य सञ्चालनको परम्पराको थालनी भयो । नेपाल राज्यको एकीकरण पछि पनि तत्कालीन शाहवंशिय राजाहरुले क्रमश आलमदेवीलाई आफ्नी कुलदेवीको रुपमा मानेर पुजा आजा गर्दै आएको परम्परा छ । प्र्त्येक वर्षको दशैमा नेपालका राजाहरु आलमदेवी मन्दीरमा आउने गर्दर्थे भने अहिले पुर्व राजा पनी पुजाआजा गर्न आउने गर्दछन् ।

धार्मिक रुपमा यस मन्दिरमा एकपटक दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । विशेष गरी यस मन्दिरमा नवदुर्गा र चैते दशैमा रागा, बोका, भेडा, परेवा र कुखुराको वली दिने गरेपनि हरेक समयमा दर्शनाभिलाषि भक्तजनहरुको घुँइचो लाग्छ । यस मन्दिरमा मन्दिर वरपरको क्षेत्रहरु स्याड्जा, गुल्मी र पाल्पा बाहेक कास्की,रुपन्देही ,कपीलवस्तु ,नवलपरासी ,अर्घाखाची , लमजुङ, पर्वत, वागलुङ, गोरखा र  काठमाडौं लगायतका स्थानहरुबाट आफ्नो मनोकांक्षा पुरा गर्ने अभिलाषाका साथ आइपुगेका हुन्छन् ।

पञ्चेवाजा र पञ्चवली सहितको पूजा आजा, चैते दशैमा हुने तरवार सहितको नाच र मन्दिरमा पूजा गर्ने स्थानिय मगर जातीहरुका पुजारी सांस्कृतिक परम्पराहरु रहि आएका छन् । मगर जातीहरु नै पुजारी रहनुको कारण खोज्दै जादा तत्कालिन लर्सघाकोट राज्य स्थापना गरी बस्ने राजाले स्थानीय राना थर रहेकी मगरनीलाई विवाह गरेका थिए र जसबाट जन्मेको सन्तानलाई पुजारी मान्दै आएको परम्परा रहेको स्थानीय वताउछन।

ऐतिहासिक यस मन्दिर र यस वरपरको क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक एवं पर्यटकीय भरिपूर्णता भौगोलिक विकटता उपयुक्त प्रचार प्रसारको अभाव, राजनैतिक खिचातानी एवं राज्य र जनप्रतिनिधिहरुको दृष्टि पुग्न नसक्नुका साथै स्थानीयहरुको यस मन्दिर र यस वरपरका धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुलाई जोडेर दीर्घकालीन एकीकृत विकास गुरुयोजनाको खाँचो रहेको छ,

यस मन्दिरलाई मन्दिरबाट करिब २ घण्टाको पैदल यात्रामा पुग्न सकिने गुल्मी, पाल्पा र स्याड्जाको संगमस्थल रुरु क्षेत्र, गुल्मीको रुद्रवेणी पाल्पाको रानीमहल, आलमदेवी मा रहेको वडरकुन शिला त्यसको पारी गुल्मी जील्लामा पर्ने ठुलावगर जहाँ हिलेका प्रभु आएर वसेको ठाँउ जहाँ नेपालका पुर्व राजा र राजपरीवारका सदस्य आउजाउ गर्ने गरेको त्यहांका स्थानीय वताउने गर्दछन् ।

गुल्मी, पर्वत र स्याड्जाको संगमस्थल सेतीवेणी र कालीगण्डकी जलविद्युत परियोजना जस्ता पर्यटकीय र धार्मिक एव सांस्कृतिक स्थानलाई सहज जोड्ने सडक यातायातको विस्तार, उपयुक्त प्रचार प्रसार र दर्शनाभिलासीहरुको लागि खाना र बस्नको लागि सुविधा सम्पन्न होटल आदी जस्ता भौतिक पूर्वाधारको विकासको आवश्यकताका साथै मन्दिर परिसरको जग्गाको अभाव देखिएकोले त्यस वरपरको क्षेत्रमा मुअब्जा दिएर केही जग्गा मन्दिरले अतिक्रमण गर्नुपर्ने देखिन्छ ।

यस क्षेत्रको विकासले पर्यटनको विकास सँगसँगै त्यस क्षेत्रकाे आर्थिक र सामाजिक विकास हुने भरीपूर्ण सम्भावना बोकेको देखिन्छ ।

आलम देवि मन्दिर पुग्दा त्यस आसपासका क्षेत्रको अवलोकन गर्न सकिन्छ पोखरा वाट नजिक भएकालेपनी पोखरा आउने पर्यटकका लागी आलमदेवी जान सजिलो छ त्यस संगै स्याड्डजाको पर्यटकीय क्षेत्र सिरुवारी को अवलोकन गर्न आउने पर्यटकलाई पनी आलमदेवी राम्रो गन्तव्य हुन सक्छ ।  (लेखक पत्रकार हुनुहुन्छ  स. )

 

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP