बन्दाबन्दी ( लकडाउन ) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु?केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको बन्दाबन्दी दैनिकी-६

कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ?

२) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि / लेखक / साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर स्याङ्जाली साहित्यिक अभियन्ता युवा स्रष्टा मिलन समीरद्वारा केही स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसङ्ग गरिएको कुराकानी जस्ताको तस्तै –

पुर्व प्रकाशित आलेखहरुलाई कृतिको स्वरुप दिने काम गरिएको छ ।

.

गोविन्द न्यौपाने :

आकस्मिक रुपमै देखापरेको विश्व सन्त्रासमयको यो क्षणमा नेपाल पनि पृथक रहेन । चैत्रको दोस्रो हप्तासङ्गै सुरु भएको लकडाउन पछिका दिनहरु विशेषतः अध्ययन – अनुसन्धानमै बिते । इतिहास , संस्कृति , सभ्यता , दर्शन , कला र साहित्यको विद्यार्थी भएकाले तत्तत् विषयका पुस्तकहरु नै पढियो । साहित्य र संस्कृतिको साथै संगीतमा पनि अभिरुची भएको हुनाले दिनको अधिकांस समय वाँसुरीमा पनि बिताइयो । घरमा सानी छोरी छिन् । छोरीको चकचके स्वभावका कारण समय व्यतित् गर्न खासै गारो परेन । यो अवधिमा विशेषतः एउटा अध्ययन प्रतिवेदन तयार गरियो । कालीगण्डकी र प्राचीन रेशममार्गको सम्बन्धबारे नै शोधपत्र तयार थियो । कहिलेकाँही अखबारमा पनि लेख्ने बानी भएकाले अखबारीय प्रकृतिका लेखनमा पनि समय बित्यो । यो बीचमा नागरिक दैनिकमा नेपाल – भारत सीमा विवादबारे एउटा आलेख प्रकाशित भयो । लिपुलेक – लिम्पियाधुरामा रेशममार्गको सामरिक महत्वको विषयको यो आलेखले विशेष नै परिचर्चा पाएको थियो । त्यस्तै प्राचीन कालीगण्डकी परिपथ नै आजको रेशममार्ग हो भन्ने आलेख हिमालखबरमा प्रकाशित भएको थियो । लकडाउनकै अवधिमा कार्यालयको कामहरु पनि गर्नैपर्ने आवश्यकता हुँदा त्यतातिर पनि ध्यान केन्द्रित भयो । वर्तमानमा भने कार्यालयहरु सञ्चालन भइसकेको हुँदा कार्यालयको काममा नै जानु स्वभाविक गतिविधि भएको देखिन्छ । फेरीपनि , आफ्नो नियमित अध्ययन चलि नै रहेको छ । कोरोनाकालमा कतिपय मानिसहरु अवसादको स्थितिमा गएको प्रतीत हुन्छ । तर साहित्य , संस्कृति र संगीतमा रुचि भएका कारण यसमै केन्द्रित हुँदा अवसादको कुनै अनुभव भएन । शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने उखान प्रचलित भएझैं कोरोनाकाल सिर्जनामय नै रह्यो । यो बीचमा आफ्नै पूर्वप्रकाशित आलेखहरुलाई पुस्तकको रुपमा तयार गर्ने कार्य गरियो । सम्भवतः यो वर्ष वा अर्को सालसम्म इतिहास , संस्कृति , सम्पदा र पुरातत्व सम्बन्धी पुस्तक प्रकाशन गर्ने योजना बनेको छ । त्यसै योजनालाई मूर्तरुप दिने काम अगाडि बढिरहेको छ । -चापाकोट , स्याङ्जा ।

==========

यति धेरै लामो समय लकडाउन हुन्छ भन्ने पहिले नै थाहा भएको भए पुस्तक लेखनमा केन्द्रित हुन सकिन्थ्यो ।

.

रिमबाबु राना :

चीनको वुहानबाट विश्वभ्रमणमा निस्केको कोरोना महामारी नेपालमा पनि भित्रिने तरखर गरेपछि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको सुरुका दिनहरूमा थोरै नयाँ परिस्थितिको अनुभव , थोरै त्रास र धेरै फुर्सदमा दिन बिताएँ । फुर्सदमा फिल्म हेर्ने र समुदायले चालेको समुदाय सुरक्षा अभियानमा सहभागी हुने कार्यमा दिन बिताएँ । यस्तो बन्दाबन्दी बढीमा तीन महिना रहला , त्यसपछि परिस्थिति सामान्य होला , विद्यालय सञ्चालन होला अनि विद्यालयमै व्यस्त रहनुपर्ला भन्ने मेरो सतही अनुमान पुर्णतः गलत सावित भयो । खेतीपातीको याम सुरु भएपछि अलिअलि समय खेतीपातीमा बिताएँ । सँगसँगै चित्रेभञ्ज्याङ साहित्य सदनको वार्षिक साहित्यिक पत्रिका ” स्पन्दन ” को बाह्रौं अंककालागि स्रष्टाहरूसँग लेख , रचना सङ्कलन गरें । केही उपन्यासहरूको अडियो भर्सन सुनें , केही पुस्तकहरू पढें । कोरोना महामारीको सात महिना लामो फुर्सदिलो समय विना सदुपयोग बितेपछि अहिले मलाई थकथकी लागिरहेको छ – यति लामो फुर्सद पाइन्छ भन्ने थाहा भएको भए एउटा पुस्तक अवश्य जन्माइन्थ्यो । -हरिनास , स्याङ्जा ।

==========

स्वदेश आउँदा कविता – कृति प्रकाशित गर्नेछु ।

.

माया गुरुङ :

कोरोना भाइरसको महामारीले विश्व नै तहस – नहस बनाईरहेको र हरेक ठाउँमा ठूलो प्रभाव पारिरहेको संकटकालीन समयमा म परिवार सहित वेलायत ( यु. के. ) मा घरभित्रै रहेर समय बिताएँ । त्यस समयमा हाम्रै गाउँ ( सिरुबारी , पञ्चमुल ) सोंपालको लामा गुरु हितमान गुरुङ वेलायत धार्मिक भ्रमणमा आउनु भएको थियो । वहाँ पनि हामीसँग घरमै लकडाउन भई बस्नु भयो । यो विषम परिस्थितिमा सबैलाई डर , त्रास र भयले हरवखत सताईरहेको हुन्थ्यो । त्यसमा पनि स्वदेशको यादले हरपल मन तड्पिरहन्थ्यो । त्यसैले सो असहज परिस्थिति र दैनिकीलाई थोरै भए पनि बदल्न र मन शान्त पार्न बुद्ध भगवानको पुजा – अर्चना गर्ने घर सल्लाह गरेँ । एक महिनासम्म घरमा गुरु हितमान गुरुङबाट बुद्ध भगवानको धर्म पुजा “ दोमाङ ” को पाठ गरियो । यो पुजा हामीले सारा प्राणी जगतको र सारा सृष्टिको रक्षाको लागि , रोगीहरुको लागि , कोरोनाबाट मृत्यु भएकाहरुका लागि आदि सबै कुराहरुको पुकार गर्दै सम्पन्न गऱ्यौं । दैनिक रुपले यसो गर्दा मन केही शान्त भएको महसूस भयो । पहिले देखि नै म कहिले काहीँ कविताहरु लेखिरहन्थेँ । तर यसमा रुचि भएर पनि विदेशमा भएकोले त्यस्तो केही जम्मा गर्ने अथवा छाप्ने जस्तो कुनै काम भएन । तर अहिले ती सबै नभए पनि भेटेको जतिलाई व्यवस्थित गर्दैछु र कहिले काहीँ लेख्दै पनि छु । अब स्वदेश आउँदा अवस्य समय दिएर छपाउने विचार गरेकी छु ।

-अर्जुनचौपारी , स्याङ्जा । हाल – बेलायत ।

==========

गजल लेखनको सन्दर्भमा बहरको बारेमा अध्ययन गरिरहेको छु ।

.

गणेशप्रसाद पौडेल :

विश्व महामारीको बेला म घरमै छु । खेतीपाती र रचनात्मक कार्यमा ब्यस्त छु । स्थानीयलाई परेका समस्याहरु स्थानीय सरकारसँग सहजीकरण गर्ने , कोरोना सम्बन्धि जनचेतना फैलाउने , सजगता कसरी अप्नाउने भन्ने विषयमा स्थानीयलाई जानकारी गराउने लगायतका काम गर्नुका साथै छर छिमेकीका बालबालिकालाई यो बन्दाबन्दीको बेला पढाइ कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने काम गरिरहेको छु । साहित्यको क्षेत्रमा कलम चलिरहेकै छ । म स्वच्छन्दतावादी धारमा लेख्ने मेरो प्रयास जारी छ । विशेषगरि मैले गजल लेख्ने हुनाले अहिले गजल लेखनको सन्दर्भमा बहर र गैरबहरको विषयमा चर्को विवाद भएको हुनाले मैले यतिबेला बहरको बारेमा अध्ययन गरिरहेको छु । -अर्जुनचौपारी , स्याङ्जा ।

==========

कविता र गीतको सिङ्गो कृति प्रकाशित गर्ने सोचाइमा छु ।

.

सागर काफ्ले :

अप्रत्यासित रुपमा बिश्वनै कब्जा गरेको कोरोना भाइरसद्वारा सृजित यो कोभिड – १९ महामारीको सुरुवातदेखि नै म आफ्नै जन्मस्थान स्याङ्जा , वालिङ – २ स्थित घरमा छु । यतिधेरै समय देश नै ठप्प होला भन्ने सोचाइ नभएको हुनाले हतार – हतारमा काठमाडौँ छोड्ने निर्णय गरिएको थियोे । त्यसैले साथमा केही थान कपडा बाहेक कुनै पुस्तकहरु बोक्ने सोंच नै भएन । साथमा ल्यापटप त बोकेको थिएँ , इन्टरनेट भएपछि लगभग धेरै काम येसैबाट चल्ला भनेर , तर समय अनि कोरोनाले जस्तै त्यसले पनि धोका दियो या भनौ समय अनुसार चल्यो , नयाँ साल नलाग्दै त्यो पनि बिग्रीयो । अनि निर्णय गरें जती समय घरमा बस्छु तन – मन सबै गाउँ – घरमै लगाएर रमाउछु । त्यति समय कुनै पुस्तक नपढ्ने , कुनै कविता नलेख्ने , कुनै तनाव नलिने निधो गरेर पूर्ण रुपमा गाउँलाई समर्पण गरें । लगभग एक – दुई महिना मोबाइल पनि अत्यन्त जरुरी बाहेक चलाइन ।

कहिले काहीँ साह्रै मुड चलेको बेला टिकटकमा केही भिडियो बनाएँ । हुन त विषयको हिसाबले यो समय सबैभन्दा व्यस्त हुनुपर्ने सुक्ष्मजीव विज्ञान क्षेत्रको विद्यार्थी हुँ , तर राज्यले केही अन्याय गरिदिएको हुँदा हामी जत्तिको जनशक्ति मुलधारमा आएर क्रियाशील हुन पाएनौँ । केही वर्ष विदेश बसाइ अनि लामो समय अध्ययनको सिलसिलामा घरबाहिर रहेको हुनाले करिब २ दशकदेखि धित मरुन्जेल गाउँको हावापानीसँग भिज्न पाइएको थिएन , अर्कोतर्फ यो समय अनि राज्यले नै सकेसम्म घर नछोड्नु भनेको हुनाले , सामान्य समयमा पनि घर झ्यास्सै नछोड्ने मलाई अर्को फाइदा भयो – बुवाआमासंग समय बिताउन पाउनु यौटा मज्जा , त्यसमा अर्को मज्जा पनि थपियो यो पाली , जम्मा ३ महिनाकी छोरी अनि ३ वर्षकी भान्जीसँग धित मरुन्जेल समय बिताउन पाउदा लगभग ४ पुस्तासँगको सम्बन्ध एकै पटक रमाइलोसंग व्यतित गर्ने मौका मिल्यो ।

किसानको छोरो भएको हुनाले घर बसाइमा पनि खालि बस्नुपर्ने पिर भएन । समयको सदुपयोग गर्दै बुवाले अनि समय समयमा आफ़ैले रोपेका केही बोट कागती , एबोकाड़ो , सुन्तला लगायत अन्य फलफुलहरु थप्ने , गोड्ने काम गरियो । लगभग हरेक बोटसँग मिठो सम्बन्धको पुनस्थापना भयो । पछि टिप्न जाने मौका मिल्यो भने को आयो नभन्ने गरी । त्यो बाहेक सामान्य किसानले गर्ने मौसमी खेतीमा बुवाआमालाई साथ दिने मौका मिल्यो धेरै समय पछि । धान गोद्डा खुट्टामा हिलोले खाएको अनि मकै दोहोर्याउदा घाँटी पासेको , गहुँको झुसले रातभर ज्यान चिलाएको लगभग बिर्सिसकेको रहेछ ज्यानले , यादहरु तरोताजा भए । केही सामाजिक , धार्मिक कार्यहरुमा प्रत्यक्ष्य अग्रसरता लिने सुनौलो मौका पनि दिलायो यो समयले । घर नजिकै रहेको देवी मन्दिरले स्याहार पायो । नयाँ बाटो बनाउने पुरानो बाटो बिस्तार गर्ने काम पनि भयो ।

घर नजिकै रहेको सिँचाईको कुलो निर्माण अनि सम्भार , गाउँ आउने बाटोलाई पक्कि गर्ने कामसंगै व्यक्तिगत घरायसी बाटोमा ढुंगा बोक्ने , छाप्ने जस्ता काम पनि गरियो । जसले गर्दा गाउँको बसाइ अत्यन्तै सहज अनि सक्रिय रह्यो। बुढापाकाहरु अनि पुराना भाकाहरुसंग मेरो छुट्टै लगाव छ बच्चै देखि । यो खालि समयको सदुपयोग गर्दै स्थानीय पाका बुवाहरुको इच्छालाई पनि सम्मान गर्दै केही भजनहरु रेकर्ड गर्ने जमर्को गरें । साच्चै भन्दा सुरुको केही महिना साहित्यसंग सम्बन्धित केहि पनि काम गरिन तर बन्दाबन्दी सोचेभन्दा धेरै लम्बिने छाँट देखिएपछि लकडाउनको अन्तिम महिनाहरूमा साहित्यकार शम्भु अर्याल लगायत स्थानीय साथीभाइसंग सम्पर्क गरी केही पुस्तकहरु जम्मा गरेर पढेँ। केहि थान कविताहरु , केही गीतहरु पनि लेखेको छु । केही प्रकाशित भैसकेका पनि छन् । फरक तरिकाले जति नै व्यस्त र सक्रिय रहे पनि जीवनयात्राका निमित्त तय गरेको विषय अनि बाटोको आफ्नै महत्व हुने रहेछ ।

अझ नमिठो लाग्ने गरी देश विदेशमा कयौँ मान्छेहरु रोग अनि रोगले सृजित समस्याबाट गुज्रिरहेका छन् । रोग , भोक अनि शोकका अत्याशलाग्दा समाचार हरुले गल लाग्ने गरि घाँटी अठ्याएको अठ्यायै छ । सबैभन्दा पहिले त सम्पूर्ण विश्व यो पिडाबाट छिटो उम्कियोस् भन्ने कामना गरिरहेको छु । लगत्तै त्यसपछिको समय चाहिँ अत्यन्तै सक्रिय रुपमा साहित्य सृजनामा लाग्ने प्रेरणा पनि मिलेको छ । साहित्य आफैमा पनि अनुभवहरुको संगालो न हो । यो छोटो तर लामो लागेको समयले धेरै अनुभव दिएको छ । जीवन जगत अनि प्रकृतिको शक्तिका बारेमा ।

साहित्य भनेकै मुख्यतः जीवनका २ पाटाहरुमा आधारित रहेर सृजित हुने रहेछन जीवनका खुसी अनि उमंगका अनुभव अनि समयले दिएका पीडा र उल्झनहरु , पीडा र उल्झनका उच्चतम अनुभव गरेको पुस्ता हो हाम्रो , बाँकी खुसी र उमंग त जीवन जिउने क्रममा कति संगाल्न सकिन्छ , समयले बताउला । यिनैलाई संगाल्दै – सम्हाल्दै उर्जाशील साहित्यमा लाग्ने सोच बनाइरहेको छु । सकेसम्म छिट्टै यौटा कविताको सँगालो अनि गीतहरुको सँगालो प्रकाशित गर्ने सोच बनेको छ । आगे समयको निर्देश पालना हुनेछ । -वालिङ , स्याङ्जा ।

==========

महाकाव्य र उपन्यास लेखिरहेको छु ।

.

सिद्धार्थ देवकोटा जिन्दगी :

यो विश्व महामारीको प्रतिकुल परिस्थितिमा म आफ्नो स- परिवार सहित गोङ्गबु , काठमाडौंस्थित आफ्नै डेरामा छु । बाहिर हिड्डुल गर्ने वातावरण छैन तर अति आवश्यक परेको खण्डमा सजक भएर नै काम गरेको छु । यो ( लकडाउन ) बन्दाबन्दी मेरो लागि निकै उपयोगी बन्न पुगेको छ । यो समयमा मैले पाश्चात्य शैलीको महाकाव्य र एउटा उपन्यास तयार पारेको छु । कोभिड – १९ को अन्त्य पश्चात् म पहिले महाकाव्यको विमोचन गर्ने योजना बनाएको छु । त्यसको केहि समय पश्चात् मात्र मैले उपन्यास बजारमा ल्याउने तयारी गरेको छु । कोभिड – १९ को अन्त्य पश्चात् पुनः म अन्य साहित्यिक कार्यक्रमहरुमा समेत सामेल हुनेछु । यो समय अतिनै सजक रहन म यहि मार्फत अपिल गर्दछु । धन्यवाद ! -चापाकोट , स्याङ्जा ।

==========

जति दिन बन्दाबन्दी भयो , त्यति नै दिनहरु पनि सिर्जनशील बनेरै बिते ।

भावना लामिछाने :

.

भावना लामिछाने :

कोभिड – १९ को कारण बन्दाबन्दीको समयमा स्याङ्जा फेदिखोलास्थित घरमै बसिरहेकी छु । रोकिएको परीक्षाको पनि तयारी गरिरहेकी छु । कोरोना भाइरसको कारण बन्दाबन्दीको समय सदुपयोग गर्न सके झैँ लागेको छ । लकडाउनको बेला मैले केही गजल लेखेँ । यही लकडाउनको समयमा फुर्सदको सदुपयोग गरेर थुप्रै बहरमा गजल लेख्न सकेँ । जसमा आफैँलाई खुशी लागेको छ । साथै केही कविता र केही मुक्तक पनि लेखेँ । कलेजका किताबहहरू सङ्गसङ्गै केही साहित्यिक किताब पढ्ने समय पनि मिल्यो । जुम लाइभ मार्फत केही कार्यक्रममा पनि सहभागी बन्न सकेँ। जति दिन बन्दाबन्दी भयो , त्यति नै दिन सिर्जनशील भएर बित्यो । कोरोना भाइरसको अन्त्यपश्चात् हामी थुप्रै स्रष्टा मिलेर एक साहित्यिक माहोल तयार गरेर साहित्यिक जमघट र उत्सव मनाउनेछौँ । एक – अर्काका रचना र सिर्जना सुन्ने अवसर मिलाउनेछौँ । साथै सिकाइ र स्वअध्ययनलाई अझ प्रभावकारी बनाउनेछौँ। साहित्य नै समाजको ऐना भएको कारण साहित्यप्रेमी भएको नाताले साहित्य क्षेत्रलाई अझै बिस्तार गरेर ज्ञानको दायरालाई फराकिलो बनाउन सकिने कुरामा विश्वस्त भएर अगाडि बढ्नेछु । -फेदिखोला , स्याङ्जा ।

याे पनि : वालिङमा ‘जनस्वास्थ्य विपद’ घोषणा,अत्यावश्यक बाहेकका सबै सेवाहरु एकहप्ताका लागि बन्द ।

Facebook Comments Box
TOP