बन्दाबन्दी ( लकडाउन ) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु?केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको बन्दाबन्दी दैनिकी-५

sahitya-4

कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ? २) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि / लेखक / साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर स्याङ्जाली साहित्यिक अभियन्ता युवा स्रष्टा मिलन समीरद्वारा केही स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसङ्ग गरिएको कुराकानी जस्ताको तस्तै –

यतिबेला मैले विभिन्न पुस्तकहरु पढिरहेको छु ।

.

डा. एकनारायण पौड्याल :

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ( कोभिड – १९ ) का कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को समयमा चितवन जिल्लाको भरतपुर – १२ , शुभलक्ष्मी टोलस्थित निवासमा बसिरहेको छु । यो समयमा कुनै पुरानै कामलाई निरन्तरता दिइरहेको छु भने केही नयाँ कामको पनि थालनी गरेको छु । यस अवधिमा जुममार्फत स्नातकोत्तर तह पहिलो सेमेस्टरको कक्षा लिइरहेको छु । केही पुस्तक पढिसकेँ भने केही पढ्ने योजनामा छु । यसबीचमा नेपालको क्रान्ति र गणेशमान सिंह , प्रतिगन्ध र विमान विद्रोह पढिसकेँ । केही साथीहरूका कथा र कविताका पाण्डुलिपि पढिरहेको छु भने एकदुईवटा लेख तयार गर्नाका साथै निसमालोचनाको पुस्तक लेख्दै छु । यसमा निसमालोचनाको सैद्धान्तिक चर्चा गरिएको छ । यिनै एकदुई सामान्य कामबाहेक अन्य उल्लेखनीय काम केही गरिएको छैन । परिवारका साथ नयाँनयाँ परिकार पकाउने र खाने कामसँगै टेलिभिजनसँगको मित्रता बढेको छ । यस महामारीको अन्त्य भएपछि विगतका दिनमा जस्तै अध्ययन, अध्यापन र सामाजिक कार्यलाई निरन्तरता दिनेछु ।

आँधीखोला , स्याङ्जा । हाल – चितवन ।

==========

जीवनको ऊर्जा साट्न अभिप्रेरित लेखनको सोचमा म रहेको छु ।

.

डा. सुकुम शर्मा :

(१)कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी (लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा म काठमाडौँको डेरामा बन्दी भएर नै रहेँ । यस समयमा म समाजवादी यथार्थवादी नेपाली निबन्ध विषयमा लघुअनुसन्धानको काम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको गद्यकवित्व विषयमा पुस्तक तयार पार्न म लागि परेँ ।
(२)कोरोना भाइरस जस्ता विश्वव्यापी महामारीसँग मानव पुस्ता हिजोदेखि नै सङ्घर्षरत छ र यो महामारीले पारेको अनेक क्षेत्रको असरलाई संश्लेषण गर्दै बाँच्नका लागि सङ्घर्षको भावमा जीवनको ऊर्जा साट्न अभिप्रेरित लेखनको सोचमा म रहेको छु ।

-पुतलीबजार , स्याङ्जा । हाल – काठमाडौं ।

==========

साहित्य सिर्जनासङ्गै कृषि कर्ममा व्यस्त रहेको छु ।

.

लोकहरि पाण्डेय क्षितिज :


काेभिड – १९ ले ल्याएको याे विश्वव्यापी सन्त्रास र नेपाल सरकारले गरेकाे बन्दाबन्दीमा अाफ्नाे जन्मभुमि कालीगण्डकी – ४ , विर्घा , स्याङ्जामा सिर्जनात्मक कार्यमा विशेषत : साहित्य लेखन ,अध्ययनका अतिरिक्त उत्पादनमूलक कृषिकार्यमा समय विताएँ । बन्दाबन्दी खुकुलाे भएकाे याे पछिल्लाे समयमा कर्मभूमि गुल्मीको भार्सेस्थित श्री भार्से जनसहयाेग माविमा गई विद्यालयका केही नियमित कामकाज एवं विद्यार्थीहरूलाई अध्ययनमा सहजीकरण गर्ने कार्यमा खटिएँ । बन्दाबन्दीमा घर र अाफ्नाे समाजमा रहँदा काेभिड – १९ काे सन्त्रासबाट टाढा रहन सिर्जनशील काममा लाग्न सबैलाई प्रेरित गरेँ । परिवारसङ्ग बस्दा झनै पारिवारिक उत्तरदायित्व बढेकाे महसुस भयाे । समाजमा जनचेतना फैलाउने काममा समेत लागेको हुनाले समय बितेकाे पत्तै भएन । यसै सन्दर्भमा सहृदयी सिर्जनशील प्रिय मित्र मिलन समीरले कोभिड – १९ ले निम्त्याएको महामारी र नेपाल सरकारले गरेकाे बन्दाबन्दीको सन्दर्भमा केन्द्रित रहेर एकजना साहित्यकारले गर्ने कामका बारेमा प्रश्नावली पठाउनुभएको हुनाले यसकाे उत्तर दिने जमर्को गर्दै छु । मूलत : साहित्यकार समाजकाे एउटा अगुवा सचेतक पनि हाे ।

साहित्यकारकाे साेँच , विवेक , र प्रतिभाशाली व्यक्तित्वकाे कारण समाजलाई सहि मार्गमा डाेर्याउन सक्ने क्षमता हुन्छ । समाजको वास्तविक तस्वीर उतार्ने क्षमता पनि हुन्छ । बन्दाबन्दीकाे अन्त्य अर्थात् काेभिड- १९ काे अन्त्यपछि एकजना साहित्यकारले गर्ने महत्त्वपूर्ण कार्य भनेकाे पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि समाज एवं समाजका जनतालाई सिर्जनात्मक कार्यक्रममा लाग्न प्रेरित गर्नु हाे । सामाजिक शिष्टाचार , कर्तव्य , मानवता र साहित्यलेखनका माध्यमबाट समाजलाई सचेत तुल्याउनु , समाजका विकृति , विसङ्गति र विप्ल्याँटाहरूलाई चिर्दै दमन , अन्याय र अत्याचारको विरूद्धमा दृढताकासाथ अाफूलाई उभ्याउनु हाे । मेराे साेँच पनि यही हाे । अाशा गराैँ , अबकाे केही दिनमा काेराेनाको अन्त्य हुनेछ । हामी पुरानै अवस्थामा फर्किने छाैँ । अन्त्यमा , सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणी पश्यन्तु माकश्चित दुखभागभवेत ।ॐ शान्ति : शानति: शान्ति : ।

-कालीगण्डकी , स्याङ्जा । हाल – गुल्मी ।

==========

पछिल्लो समय सरकारी सेवामा भएकाले जिम्मेवारी पुरा गर्न कार्यस्थलमा खटिरहेको छु ।

.

धनप्रसाद पौडेल :

वास्तवमा कोरोनाले विश्वसमुदायलाई नै स्तब्ध बनायो । यसबाट नेपाली समाज पनि अछुतो रहन सकेन । बन्दाबन्दीले मलाई कोठामा मात्र सिमित गराएन त्राहि त्राहि मच्चाएर सुनसान राजधानीको सेरोफेरोमा अदभूत जिजीविषा सिकायो । केहि फुटकर कविता, लेख, निवन्ध सिर्जना गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय केहि पुस्तक अध्ययन गर्ने अवसर भने मिल्यो तर मनोवैज्ञानिक प्रभावले सरसतामा कमि आयो । यद्यपि समय अभावले रोकिराखेको सृजनसिलतामा धार लाउन भने प्रशस्त भयो । पछिल्लो समय सरकारी सेवामा भएकाले जिम्मेवारी पुरा गर्न कार्यस्थलमा खटिरहेको छु । कोरोना मत्थर पश्चात पुनः सृजनसिल कलमका डोबहरुलाई निरन्तरता दिदै एक कृति प्रकाशन गर्ने सोच बनाइरहेको छु ।

पुतलीबजार , स्याङ्जा ।

==========

घरमै बसेर महत्त्वपूर्ण पुस्तकहरु पढिरहेको छु ।

.

प्रकाश न्यौपाने प्रयास :

यो बेलामा कालीगण्डकी – ५ , जैपते , स्याङ्जामा घरपरिवारसङ्गै लकडाउनको पुर्ण पालना गर्दै बसिरहेको छु । अरुलाई पनि लकडाउनको पालना गर्न सचेत गराउने काम पनि गरिरहेको छु । समाचार संकलन गर्ने कामलाई पनि निरन्तरता दिइरहेको छु । घरायसी काम गर्दै केही साहित्यिक पुस्तकहरु र महाभारत , रामायण , चाणक्यनीति जस्ता अन्य पुस्तकहरु पढ्ने काम पनि गरिरहेको छु । कोरोना भाइरसको अन्त्यपश्चात् सर्वप्रथम त सामाजिक सेवासङ्गै साहित्य लेखन तथा अध्ययनलाई निरन्तरता दिनेछु । अनाथालय सेवामा जुट्नेछु । हाम्रो संस्कार , संस्कृति जुन लोप हुदै छ , त्यसलाई लोप हुन नदिनका लागि त्यसको बारेमा आवश्यक खोज गर्नेछु । विशेष महत्त्वपूर्ण कुरा के हो भने – देशका लागि केहि गर्नुपर्छ भन्ने सोचाइलाई जीवन्त तुल्याउदै देशले आफुलाई के दियो भन्ने भन्दा पनि आफुले देशलाई के दिए , त्यो ठुलो कुरा हो भन्ने सन्दर्भमा केन्द्रित रहनेछु । भ्रष्टाचार निर्मुल गर्नेतिर लाग्नेछु । गरिब दीनदुखीहरुको सेवामा लाग्नेछु । जातिय भेदभाव हटाउने काममा सरिक हुनेछु । आपसी भाइचारा बढाउने काम गर्नेछु । आफुसङ्गै समाजलाई परिवर्तन गर्नेतिर उन्मुख हुनेछु । हाम्रो धर्म , संस्कार , संस्कृतिको रक्षा गर्ने कार्यमा तत्परताका साथ लागिरहनेछु । साहित्य बिनाको जीवन अधुरो र अपुरो छ भन्ने कुराको चेतना जगाउने काममा पनि लाग्नेछु । छिटोभन्दा छिटो सबै क्षेत्रलाई समेटेर अनलाइन साहित्य कार्यक्रम चलाउने र विभिन्न साहित्यकारहरुसङ्ग भलाकुसारी गर्नेछु ।

-कालीगण्डकी , स्याङ्जा ।

==========

साहित्यको अध्ययन र लेखनसङ्गै विभिन्न सन्दर्भमा व्यस्त भैरहेको छु ।

.

शिव खनाल जीवम :

कोविड – १९ को महामारीले निम्त्याएको परिस्थितिको कारण सरकारद्वारा जारी लकडाउनले जनजीवनलाई अस्तव्यस्त बनाएको छ । खासगरी ज्यालादारी मजदुर , निजी क्षेत्रमा जागिर खाने व्यक्ति , सार्वजनिक यातायात क्षेत्रका व्यक्ति एवम् धेरै व्यापारीहरु निकै समस्यामा परेका छन् । परिस्थिति नकारात्मक छ । यस्तो परिस्थितिलाई नकारात्मक र सकारात्मक दुवै रूपमा लिने जमात छ । नकारात्मक रूपमा लिने व्यक्तिले आफ्नो मानसिक स्वास्थ्य बिगारिरहेका छन् । ठुलो संख्यामा आत्महत्याका घटना घटेको समाचार आइरहेका छन् । यो परिस्थितिलाई सकारात्मक रूपमा लिने व्यक्तिहरु पनि छन् । खासगरी स्रष्टाहरुले यसलाई लेखनको उपयुक्त समयको रूपमा लिएको पाइन्छ । म आफै पनि आफुले गर्न चाहेका र कार्यव्यस्तताले थाती रहेका कामहरु गरिरहेको छु । बन्दाबन्दीको संकटको यो घडीमा रुपन्देहीमा रहेर विभिन्न गतिविधिहरुमा व्यस्त रहेको छु ।

यो अवस्थामा विविध क्षेत्रमा आवद्ध भएको कारणले म पनि तिनै क्षेत्र बाहेक खाली समयको सदुपयोग गर्दै लेखनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यहरू गर्दै आईरहेको छु । धेरै पहिले लेखिएका जीवन साहित्य , लक्षित साहित्य , लेखन प्रविधि आदि बारेका अवधारणाहरु लेखको रूपमा प्रकाशित गर्ने मौका मिल्यो । नयाँ विधाको रूपमा देखा परेको ” झर ” नामको साहित्यिक विधाको उन्नयनको लागि यो समयको भरपुर रूपमा प्रयोग गरिरहेको छु । आफ्नै प्रवर्तन भएकोले पनि यसको विधागत स्वरुप , समूह निर्माण , प्रचारप्रसार आदिमा समय दिईरहेको छु । नेपाली साहित्य नामको फेसबुक समुह , झर फेसबुक समूह , नेपाली साहित्य परिवार एवम् झर मेसेन्जर समूह संचालन गरि विभिन्न साहित्यिक गतिविधि संचालन गरेका छौं । बाछिटा नामको नयाँ साहित्यिक विधाको अनलाइन मार्फत नियमित प्रकाशन एवम् प्रवर्द्धन गर्ने कार्यमा क्रियाशील रहने मौका मिल्यो ।

साथै हालै गठित राष्ट्रिय बाछिटा प्रतिष्ठानको उपाध्यक्षको रूपमा कार्य गरिरहेको छु । आफ्नै संचालन एवम् सम्पादनमा रहेको अनलाइन न्युज पोर्टल सबैको न्युज मार्फत विभिन्न स्रष्टाहरुको रचना प्रकाशन गर्दै आएको छु । एक मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने व्यक्तिको रूपमा प्रदेश ५ मनोसामाजिक स्वास्थ्य समाजको संयोजकको रूपमा रँहदै निशुल्क टेलिकाउन्सिलिङ सेवा संचालन गरिरहेका छौं । एक सकारात्मक जीवन अभियन्ताको रूपमा जीवन साधनाका विभिन्न शृङ्खला जारी छन् । नेपाल जेसिजको मिडिया चियरपर्सनको रूपमा संघसंस्थाका समाचार एवम् गतिविधिहरुलाई प्रकाशन गर्ने तथा देशभरबाट विभिन्न मिडियाकर्मीहरुलाई संगठित गर्दै सकारात्मक पत्रकारिताको जग बसाल्ने प्रयासमा छु । लकडाउनको खाली समयमा अनलाइन मार्फत सिकाईका धेरै अवसर प्राप्त भए । कार्यक्षेत्र रुपन्देही भएकोले स्याङ्जामा रहनुभएका आमाबुबासङ्ग भेटघाट गर्ने संगै बस्ने अवसरको रूपमा समेत यो समयलाई उपयोग गरियो । कोरोना महामारीको यो समयलाई एक साधना र तयारीको समयको रूपमा लिदै विभिन्न विधामा साहित्य सृजनामा लागिरहेको छु ।

खासगरी नेपाली साहित्यको प्रवर्द्धनको निम्ति हामीले तत्कालै २ वटा साहित्यिक संस्था गठन गर्ने तयारीमा छौँ । महामारीको अन्त्यपश्चात हामीले नेपाली साहित्यका विभिन्न कृतिहरु प्रकाशन गर्ने योजना बनाएका छौँ । विभिन्न साहित्यिक कृतिको प्रकाशनसङ्गै ” सकारात्मक जीवन ” शीर्षकको प्रेरणादायी पुस्तक प्रकाशनको सोचाइ पनि राखेको छु । अन्त्यमा , स्याङ्जाका स्थापित एवम् लोकप्रिय युवा स्रष्टा मिलन समीर ज्यु ! तपाईंले निकै ठुलो मिहिनेत गरि स्याङ्जाली स्रष्टाहरुको लकडाउन डायरी तयार गर्नुभएको र उक्त डायरीमा मलाई पनि सम्झिनु भएर आफ्नो अनुभुति राख्ने मौका दिनुभएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । धन्यवाद !

-गल्याङ , स्याङ्जा ।

=========

यतिबेला घरमै बसेर समय बिताइरहेको छु ।

.

हरि अधिकारी :

कोरोना भाइरस अर्थात कोभिड – १९ ले संसार नै अस्तव्यस्त बनाइरहेको बेला नियमित काममा फर्कने अवस्था नभैरहेको हुँदा म यतिबेला कर्मथलो काठमाडौं छोडेर गृहजिल्ला स्याङ्जाको गल्याङ मै छु । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण गर्दै आइरहेको काम रोकिएको हुँदा म यो समय अलिक फुर्सदिलो नै छु । यो बेलामा घरमै बसेर अलि बढी ईन्टरनेटमा तथा सामाजिक संजालमा बिताएको छु । कति कुरा हेर्छु , अध्ययन गर्छु भन्दा पनि समय नमिलेर यत्तिकै थाँती राखेको थिए , त्यो कुरा यो बेला पुर्ण भएको छ । यो बाहेक देशैभर छरिएर रहेका अग्रज स्रस्टा जो नेपाली साहित्यमा अनवरत रुपमा लागि परिरहनु भएको छ , उहाँहरुको प्रयास , अनुभव र जीवनी खोजी -खोजी अध्ययन गरेको छु । मलाई कहिलेकाहीँ स-साना कुराहरुले पनि छोईरहेको हुन्छ । त्यो विषयमा केही न केही त पक्कै लेखौ भन्ने लागिरहन्छ । त्यसैकारणले पनि मैले फुर्सदको यो समय केही सिर्जनात्मक अभ्यास पनि गरिरहेकै छु । कोरोनाको यो विश्वव्यापी महामारीको कहिले अन्त्य हुन्छ भन्ने नै अन्योल छ । यद्यपि यसको अन्त्य भैसकेपछि नियमित काममा फर्किनुपर्ने बाध्यता त छदैछ । त्यसको अलवा साहित्यमा पनि केही नयाँ सोच विचारका साथ लाग्ने योजना बनाइरहेको छु । म रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहदा त्यहाँको अनुभव , बसाइँसङ्गै अनेकन भावहरुलाई समेटेर धेरै गजलहरु सिर्जना गरेको छु । तिनलाई आवश्यक सम्पादन गरेर प्रकाशन गर्ने सोचाइ बनाएको छु । अबको समयमा लकडाउन खुकुलो भएपछि केही बाकी रहेका कार्यहरु सम्पन्न गर्नुपर्ने छ , त्यसमा केन्द्रित रहनेछु ।

-गल्याङ , स्याङ्जा ।

Facebook Comments Box
TOP