बन्दाबन्दी ( लकडाउन ) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु..?केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको बन्दाबन्दी ( लकडाउन ) दैनिकी-४

sahitya_4

१) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ?

२) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि / लेखक / साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर स्याङ्जाली साहित्यिक अभियन्ता युवा स्रष्टा मिलन समीरद्वारा केही स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसङ्ग गरिएको कुराकानी जस्ताको तस्तै –

यतिबेला मैले उपन्यास लेखिरहेको छु ।

.

खगेन्द्र अर्याल :

कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयलाई घरभित्र रहेर ब्यतित गरियो । कोरोनाको कहरलाई केही सृजना गर्ने रहरको रूपमा परिणत गर्दै एउटा सानो सामाजिक उपन्यासको सृजना गरेको छु । कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्य पश्चात सम्पुर्ण मानव समुदायको जीवन सहज बनोस् भन्ने कामना गर्दै यस विषम परिस्थितिमा सृजित मेरो उपन्यासलाई मुर्तरुप दिने सोचमा छु । – वालिङ , स्याङ्जा ।

==========

प्रतिकुलतामा जिन्दगी चलाउने कला सिक्ने सुनौलो अवसर हुनसक्छ यो क्षण ।

.

खुमकान्त अर्याल :

यतिबेला बुबा , म र श्रीमती मात्र जन्मथलो वालिङ – ६ , मिर्दीस्थित घरमा बसिरहेका छौं । ५६ वर्षको जीवन अवधिमा फुर्सदिलो भएर यसरी घरै बस्न पाइएकै थिएन । घरपायककै पेसा जागिरमा जीवन बिताइएको भएता पनि बिहान घरबाट निस्केपछि एकैचोटी बेलुका मात्र आउने गरिन्थ्यो । छिमेकमा बुबा – आमाहरु , दाजु – भाउजू , काका – काकी , छोरा – बुहारीहरु अझ अहिले त बुढै भइएछ , नातिनातिनाहरु कसैसंग पनि एकछिन बसेर दुःख सुखका कुरा गर्ने फुर्सद पाइएको थिएन । गाँउमा वर्दापर्दा पनि औपचारिकता पुरा गर्न यसो झुलुक्क देखियो , भाग्यो गरिन्थ्यो, अहिले भने भौतिक / शारीरिक रूपमा निश्चित दुरी कायम गर्दै छिमेकमा भेटघाट / भलाकुसारीमा सहभागी भइयो । वल्लोपल्लो गाँउसम्मको विवाह , व्रतवन्धमा हतारो नगरिकन निम्ता मान्ने , काममा सघाउने , एकछिन बसेर रसिला गफ गर्ने मौका मिल्यो ।

यसैक्रममा गत जेठ २ गते बाटोमा दाजुभाइ उभिएर यसो कुरा गर्न लाग्दा सार्वजनिक विश्रामस्थलको अभाव खट्कियो । त्यसैले सडक विस्तार गर्दा विस्थापित भएको ढलेको शमी , चौपारी भएकाे ठाउँमा प्रतीक्षालय बनाउने सल्लाह गरियो र हामी आँफै पैसा उठाएर काम सुरु गरी असार ३० गते चौपारीको ढलान पनि भैसक्यो र अब थोरै मात्र काम वाँकी छ । गाँउ , टोलमा छिमेकी जम्मा भएर बस्न मिल्ने सामान्य भवन वा प्रतीक्षालय भयो भने फुर्सद हुँदा त्यहाँ जुटिन्छ । जुटेपछि आँफ्ना ठाउँका समस्या र सम्भावनाको बारेमा चर्चा चल्छ । तब समाजका सानाठुला कामले मुर्तरुप लिन्छ जस्तो लाग्यो मलाई । यो पटकको फुर्सदमा खेती लगाउने र स्याहार्ने काममा पनि धेरैनै सरिक भइयो । खेताला खासै खोजिएन । यहि समयभित्र मैले हिन्दिमा अनुवादित सम्पुर्ण महाभारत ग्रन्थ , संक्षिप्त विश्व इतिहास र केही पश्चिमेली दर्शनको अध्ययन गर्ने मौका पाएंं । भीमसेन मलाई ज्यादै मन पर्ने महाभारतका पात्र हुन् ।

अहिले पनि यी कथाहरुबाट धेरै प्रेरणा लिन सकिन्छ । यस्तै कथा र समसामयिक सन्दर्भमा रहेर मैले ९ / १० वटा लेख तैयार गरेको थिंंए । ती लेखहरु डिजिटल खबर पत्रिकाहरुमा प्रकाशन भएका छन् र केही फेसबुकमा पनि । विश्व कोरोना भाइरसबाट आक्रान्त भैरहदा यसबाट प्रभावित सम्पूर्ण व्यक्ति तथा सिङ्गो समाजप्रति गहिरो दुःख र समवेदना त छदैछ । तैपनि प्रतिकुलताको बीचबाट जिन्दगी चलाउने कला सिक्ने क्षण पनि हो यो । यसरीनै आगामी दिनमा पनि गृहस्थि संचालनको साथमा अध्ययन तथा लेखनको कार्यलाई निरन्तरता दिने विचार गरेको छु । लकडाउन डायरीमा मेरो आफ्नो अनुभव र अनुभुतिलाई राख्ने अवसर दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद !

-वालिङ , स्याङ्जा ।

==========

यो बन्दाबन्दीको समयमा म काठमाडौमा दिनहरु बिताइरहेको छु ।

.

चन्द्रप्रसाद पाण्डे :
यो बन्दाबन्दीको समयमा म काठमाडौमा दिनहरु बिताइरहेको छु । सिर्जनात्मक काममा भन्दा पनि लामो समयको थकाइ मारेजस्तै समाचार सुन्ने, राम्रा फिल्म हेर्ने, किताब पढ्ने गरेर धेरै समय बिताएँ । चहलपहल र त्रासदी कम भएस“गै लेख्दै गरेको नाटकलाई पूर्णता दिदैछु साथै अति भो टेलिफिल्मको कथालेखन, अभिनय तथा निमार्णमा सक्रिय छु ।
यो महामारीको अन्त्यसँगै पुनः नयाँ उत्साहका साथ आफ्नो कर्म क्षेत्रमै लाग्नेछु ।

-गल्याङ नपा, २ रैबार, स्याङ्जा (हाल काठमाडौ)

==========

प्रकृति सबैभन्दा माथि छ , यसलाई जित्न कसैले सक्दैन ।

.

नारायणप्रसाद काफ्ले :

विश्वव्यापि महामारीको यो समयमा म अर्जुनचौपारी – ३ , सिमलचाैरस्थित आफ्नै जन्मघरमा छु । विशेषत : यो समयमा सधैं एक्लै घरधन्दामा ब्यस्त रहने श्रीमतीजीलाई घर – गाेठकाे काममा सघाउने गरिरहेको छु । छाेराछाेरीसँगै बसेर , खेलेर उनीहरूसङ्गै रमाउने पनि गरिरहेको छु । अरू बाकी समय कृषि धन्दामा बितिरहेको छ । लेखन – पठनको कुरा सदा झैँ नै रह्याे । सर्वप्रथम याे महामारीले हामीहरूमा त र म भन्ने प्रवृतिकाे केही हदसम्म कम गर्नुपर्छ । किनकि हामीले जतिसुकै तेराे र मेराे भनेर घमण्ड गरे पनि प्रकृति सबैभन्दा माथि छ । यसलाई जित्न कसैले सक्दै सक्दैन । अतः अबकाे साहित्यले याे विषय – सन्दर्भलाई विशेष जाेड दिनुपर्छ । प्रकृतिसँगकाे अात्मियता र सामिप्यतासँगै साैहार्दमय , सुन्दर जीवन जीउन प्रण गर्ने खालका रचना सिर्जना गर्नु अबकाे लेखकीय धर्म ठानेकाे छु।

-अर्जुनचौपारी , स्याङ्जा ।

==========

यतिबेला मैले उपन्यास पढिरहेको छु ।

.

मुक्तिराम रेग्मी अविरल :

क‍ोरोना महामारीले विश्वनै अाक्रान्त भईरहेको छ । यस्तो अवस्थामा अाज मानव जगतनै बन्द कोठामा थुनिएको छ । त्यसमा म व्यक्तिगत रुपमा अछुतो रहने कुरै भएन । पेशाले शिक्षक भएकोले अहिले सम्पूर्ण शैक्षिक क्रियाकलापहरु अस्तव्यस्त भएको सन्दर्भमा म पनि लकडाउनकै पालना गर्दै अाफ्नै जन्मभूमि पुतलीबजार – ५ , नयाँबजारस्थित घरमा नै बसिरहेको छु । असारलाई मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिईन्छ । मेरो पनि धेरै समय खेतबारीमा नै बितिरहेको छ । विश्वनै कोरोनासँग लडिरहेको बेला मानिसमा पद , प्रतिष्ठा र पैसा भन्दा पहिले मानवता जागेको महशुस भएको छ । लकडाउनले कैदी त बनायो तर साहित्यिक यात्रा रोकिएको चाहिँ छैन । सामान्य लेखन कार्यलाई कोरोना त्रासले कममात्र असर पारेपनि मानसिक शिथिलताले सृजनामा उत्साह र उर्जा चाहिँ देखिएको छैन । पछिल्लो समय जी.एस. पौडेलको उपन्यास ” एक सर्को माया ” पढिरहेको छु ।

धेरै समय अगाडिदेखि लेखिएका गजल र मुक्तकहरु डायरी मै सीमित रहेका छन् । तिनीहरूलाई सम्पादन गर्नुपर्नेछ । यी सबै रचनाहरुलाई एउटा संगठित स्वरुप दिने कि भन्ने सोचमा छु ।पछिल्लो समय साहित्यिक जमघट र भेटघाटमा उपस्थिति पातलिएको महशुस भएको छ । यसमा सुधार गरि साहित्यिक यात्रालाई सिर्जनशील रूपमा अर्थपूर्ण र जिवन्त पार्नुपर्नेछ ।

-पुतलीबजार , स्याङ्जा

==========

म यतिबेला घरमै एकान्तबासमा बसिरहेको छु ।

.

प्रजित कुवर :

बन्दाबन्दी ( लकडाउन ) अथवा कोभिड – १९ ले संसारभरिका मान्छेहरूको जनजीवन अत्यन्तै जटिल बनाईरहेको अवस्थामा यो महामारी रोगबाट आफुपनि बचौँ , घर – परिवार , समाज एवम् राष्ट्रलाई नै बचाऔं भन्ने उदेश्यले सरकारी नियमको पूर्ण रूपमा पालना गर्दै घरमै एकान्तबासमा बसिरहेको अवस्था हो । यतिबेला भविस्यका मेरा कर्णधार बच्चाहरूलाई स्कुल बन्द भएको भए तापनि उनिहरूको पठनपाठनमा कुनै कमी कमजोरी नआओस् भन्ने उदेश्यले नियमित होमवर्क दिने , लेखाउने र पढ्न सिकाउने काम गरिरहेको अवस्था हो । किनकी घर नै बालबालिकाहरुकोलागि पहिलो पाठशाला हो । लकडाउनको अन्त्यप्रश्चात चिरपरिचित तथा अपरिचित सम्पूर्ण स्याङ्जाली साहित्यिक अग्रजदेखि अनुज मनहरूको जमघट गरी अझै साहित्यलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ र साहित्यमा रूची राख्ने समस्त साहित्यप्रेमीहरूलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनी यौटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने तर्खरमा लागिरहेको छु ।

-वालिङ , स्याङ्जा ।

Facebook Comments Box
TOP