बन्दाबन्दी (लकडाउन) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु? केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको बन्दाबन्दी (लकडाउन) दैनिकी-१

१) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ?

२) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि / लेखक / साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर स्याङ्जाली साहित्यिक अभियन्ता युवा स्रष्टा मिलन समीरद्वारा केही स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसङ्ग गरिएको कुराकानी जस्ताको तस्तै –

नयाँ परिस्थितिले मानवीय शक्तिको सीमा देखाइदिएको छ ।

.

नारायण नेपाल :

आफ्नो आकाशमा आफ्नै सूर्य-चन्द्र बनाउन सक्नेहरू पनि एउटा सूक्ष्म जीवका सामु नतमस्तक हुनुपरेझैँ देखिएको छ । हाम्रो राजनीतिले सधैं झैँ यतिखेर पनि हामीलाई निराश नै पारेको छ र साहित्यप्रति आकर्षण चुलिएको त छ तर स्तर भने स्तुतिप्रशस्तिको पुरातन घेराबाट माथि उठेर फेरि गालीगलौजतिर झरेकै देखिन्छ । यस परिप्रेक्ष्यमा रोजगारी गुमाएका र बाटो थुनिएर विपत्तिमा परेकाहरूसित सहानुभूति राख्दै दाङ जिल्लाको नारायणपुर ( घोराही – ११ ) मा निरन्तर जीवनलाई बुझ्ने प्रयत्नमा छु । यस परिस्थितिको अन्त्य कुन रूपमा हुने हो पूर्वानुमान गर्न कठिन छ । यदि अवस्था पूर्ववत् सहज भएछ भने यसै अवधिमा रचना र संग्रह गरी तयार पारिएको एउटा छन्दोबद्ध गजल संग्रहको प्रकाशन र सम्भव भए एउटा छरितो यात्रीदलका साथ एकपटक देशका हरेक भूभागमा पुगेर कठिन समयले लगाएका घाउहरूमा सहानुभूतिको मलमपट्टी गर्ने धोको छ ।

-पुतलीबजार , स्याङ्जा । हाल – दाङ ।


काेराेनाकाे महामारीले आफैलाइ नयाँ परिवेशमा गए जस्ताे बनायाे ।

.

गायत्री लम्साल परिरोशनी :

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले हाल सारा विश्वलाई नै आक्रान्त पारिरहेको छ । छिमेकी मुलुकमा फैलिएको भाइरसले हामीलाई पनि ढिलोचाँडो असर पार्न सक्ने कुरा अनुमान गरिएको थियो । नजिकैको भाइरस शुरुमा युरोपियन देशहरुलाई सखाप पार्दै कालान्तरमा नेपालमा पनि फैलिरहेको छ । लकडाउन शुरु भएको पनि चार महिना पुग्न थाल्यो । शुरुका दिनमा भन्दा आजभोलि झन् कोरोनाको त्रास बढ्दो छ । आर्थिक वर्षको अन्त्यतिर हुने सम्पूर्ण क्रियाकलापहरुलाई यसले निकै प्रभाव पारेको छ । तहसनहस हुने क्रममा रहेको विश्वको अर्थतन्त्रमा नेपाल पनि अछुतो रहन सकेन । यसको असरले निकट भविष्यमा भोकमरी, गरिबी र बेरोजगारीको दर बढ्नेछ भन्ने कुरामा सहज अनुमान लगाउन सकिन्छ । लेखकको अलावा म एउटा सरकारी कर्मचारी पनि हुँ । लकडाउन शुरु हुनुभन्दा केही महिना अगाडि मेरो सरुवा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा भयो । अन्य कार्यालयमा भन्दा यहाँ आएपछि आफुले गर्नुपर्ने कामको चाप निकै बढ्यो । यही बीचमा लकडाउन शुरु भयो । नेपालकै सबैभन्दा जेठो सरकारी अस्पताल, उसै त बिरामीको चाप निकै बढी हुन्थ्यो भने लकडाउन शुरु भएपछाडि झन् सरकारी अस्पतालको जिम्मेवारी र दायित्व ह्वात्तै बढ्यो । आर्थिक प्रशासनको कर्मचारी भएकोले अन्य सरकारी कार्यालयमा हुने आर्थिक काम / कारवाही र अस्पतालमा हुने आर्थिक काम / कारबाहीमा निकै फरक हुनेरहेछ ।

अस्पताल जस्तो निकै संवेदनशील ठाउँमा अक्सिजन लगायत अन्य अत्यावश्यक सामग्री तुरुन्तै खरिद गर्नुपर्ने बाध्यता एकातिर भने अर्कोतिर आर्थिक ऐन, सार्वजनिक खरिद ऐन, नियमावलीभन्दा बाहिर गएर खरिद हुन्छ कि भन्ने सन्तापले सधैं व्यस्त बनायो । लकडाउनको शुरुवातदेखि नै सदैवभन्दा फरक परिस्थिति सिर्जना भयो मेरो लागि । हरेक दिन लेखक कम र कर्मचारी बढी हुनुपर्ने बाध्यता शुरु भयो । बिहानैदेखि कार्यालय जानुपर्ने, शनिबार पनि मिटिङ र अन्य महत्वपूर्ण काम / कुराहरुको निर्णय गर्नुपर्ने । घरमा पूर्ण गृहणीको पनि जिम्मेवारी निभाउनुपर्ने हुँदा लकडाउनमा पनि आफूले मन परेको काममा समय लगाउने मौका जुरेन । जतिसुकै व्यस्त हुँदाहुँदै पनि कोरोना भाइरस र लकडाउनको अवस्थासँग सम्बन्धित समसामयिक लेख रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने कामलाई भने निरन्तरता दिइरहेको छु । यही बीचमा केही किताबहरु पनि पढेर सकेँ । छोराछोरीसँग मिलेर महाभारत र रामायणको सिरियल लगायत ओस्कार अवार्ड पाउन सफल केही राम्रा फिल्महरु पनि हेरियो । लकडाउनले हरेक मानिस विषम परिस्थितिको घडीमा एक्लै हुन्छ भन्ने तीतो तर सत्य सन्दर्भको पाठ सिक्ने अवसर मिल्यो । हस्पिटलमा काम गर्नेलाई घरबेटीले हेर्ने दृष्ट्रिकोण, समाजले हेर्ने दृष्ट्रिकोण मात्र नभएर घर परिवारले हेर्ने दृष्ट्रिकोणमा समेत फरक रहेको अनुभूति भयो । घरबेटीले कोठा छोड्न भनेका छन् , घरबाट अस्पताल निस्केपछि म हिँडेको ठाउँमा पानी राखेर पखाल्छन् भनेर अस्पतालमा साथीहरुले मलाई सुनाउनुहुन्छ । स्वास्थ्यकर्मीमाथि नराम्रा व्यवहार भएका कुराहरु त हामी सबैले सुनिरहेका छौँ ।

मेरो आफ्नै कुरा गर्दा बस्नको लागि घर छ । अन्य साथीहरुले जस्तो घरबेटीको नमिठो व्यवहार त सहनुपरेन तर मलाई घरबाट अफिस जान र फर्कनको लागि वीर अस्पताल लेखेको गाडी आउने गर्छ । अस्पतालको नाम लेखेको गाडी देखेर मेरो समाजका मानिसहरु भने मलाई ठूला–ठूला आँखाले हेर्ने गर्छन् । एकदुई जनाले त सोधे पनि – म्याडम ! हजुर अस्पतालमा जाने मान्छे घरबाट आउने – जाने नगरेर क्वारेन्टाइनमा बस्दा हुने होइन र ? मैले हाँसेर जवाफ दिने गर्छु । म अस्पतालको डाक्टर होइन । आर्थिक प्रशासन हेर्ने कर्मचारी हुँ । बिरामीसँग कुनै पनि किसिमको सम्पर्क हुँदैन । म बस्ने छुट्टै कोठा छ । समाजका यी प्रश्नहरुकै आधारमा हामीले अन्दाज लगाउन सक्छौं कि स्वास्थ्यकर्मीलाई नागरिकहरुले हेर्ने दृष्ट्रिकोण कस्तो छ भनेर । जे होस् , यो विषम परिस्थितिमा अस्पतालको कर्मचारी बनेर निरन्तर राष्ट्रसेवामा खट्न पाउँदा एउटा छुट्टै अनुभूति प्राप्त भएको छ । पहिलाभन्दा आजभोलिका दिनमा नेपालमा कोरोनाको संकमणको दर बढ्दो छ । हस्पिटलको वातावरणमा सामाजिक दूरी कायम गरेर काम गर्न निकै कठिन छ । जति सक्दो होशियारी अपनाउनु जरुरी छ ।

आर्थिक वर्ष अन्त्यको बेला कामको चाप बढि नै हुने गर्दछ । कार्यालयमा असार महिना अन्य महिना भन्दा बढी व्यस्त भएर नै बित्ने गर्दछ । असार महिना कार्यालयको काम , सामान्य लेखपढ , समसामयिक लेखनमा नै बिताउने सोच छ । नयाँ आर्थिक वर्ष शुरु भएपछि भने कार्यालयको व्यस्ततामा केही सजिलो होला । प्रकाशनको लागि तीनवटा कृतिहरु लगभग तयारी अवस्थामा छन् । एउटा संस्मरणहरुको संगालो , अर्को फुटकर समसामयिक लेख रचनाहरुको सङग्रह र तेश्रो मलाई बढी मनपर्ने हास्यव्यङ्ग्य सङ्ग्रह । यी तीनमध्ये कुनै एक कृति प्रकाशन गर्ने योजना बनेको छ । समय मिलेको खण्डमा हरहमेशा लेखकमा हुनुपर्ने गुणहरु थप्ने काममा नै व्यस्त हुने गर्दछु । हेरौँ , समय कति सकारात्मक बन्न सक्छ । नेपालीहरुमा कोरोना भाइरसले अझै विकराल अवस्था सिर्जना नगरोस् । सबै साहित्यकार, लेखक र पाठक साथीहरुको लकडाउनको समयावधि निकै सिर्जनात्मक र उर्जाशील बनेर बितोस्, हार्दिक शुभकामना ।

– बिरुवा , स्याङ्जा । हाल – काठमाडौं ।


जीवनमा पहिलाे पटक भाेगेकाे कठाेर बन्दी जीवन

.

लोकनाथ रेग्मी :

म जीवनमा पहिलाे पटक भाेगेकाे कठाेर बन्दी जीवन जस्तै काेभिड – १९ काे कारण आफ्नै जन्मथलाे पुतलीबजार – ५ , नयाँबजारमा बसिरहेकाे छु । मेराे ठुलाे छाेराकाे परिवार हेटौंडा , काठमाडौं र धनकुटामा छरिएर बसेका छन् भने कान्छाे छाेराकाे परिवार पाेखरामा छन् । छाेरीहरु आ – आफ्नाे घरमा छन् । हामी दुइ दम्पती मात्र घरमा छौँ । म एक फर्निचर उद्योगी पनि हु र विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्छु । लकडाउनले गर्दा शुरुको १५ दिन निकै अत्यास लाग्याे । बिस्तारै कृषि कर्मसङ्गै अध्ययनतिर मेराे ध्यान केन्द्रीकृत गरेकाे छु । याे समयमा हाम्रो समाज भन्दा फरक भारतका कर्णाटक , राजस्थान र गुजरातका घना जङ्गल र अाेडारहरुमा अघाेर तपस्या गरेका तपस्यी र जादुमय सिद्ध व्यक्तित्वहरुकाे जिवनी , उनीहरुकाे चामत्कारिक प्रयाेग , दिनचर्या साथै मानिसले किन कठाेर तपस्या गर्छ भन्ने जस्ता अत्यन्त राेचक र वास्तविक घटना क्रममा अाधारित पुस्तकहरुकाे अध्ययन गर्ने , सामाजिक सन्जालहरुमा उपलब्ध स्रष्टाहरुका रचना हेर्ने , विभिन्न संघ / संस्थाहरुका भर्चुअल बैठकमा सहभागी हुने र आवश्यक परामर्श लिने / दिने जस्ता काॠ नै मेरो दैनिकी भएको छ । मेराे सामाजिक , धार्मिक , र उद्योगी संस्थाहरुकाे आफ्नाे जिम्मेवारी बहन गर्ने कार्यमा बढी समय ब्यतित गर्नुपर्ने भएकोले छिटफुट लेख रचना तयार गरेपनि तुरुन्त कुनै प्रकाशनकाे तयारीमा छैन । अन्त्यमा सबै सर्जक महानुभावहरुमा सुरक्षीत रहौ । आफु पनि बचौ र अरुलाई पनि बचाऔं । धैर्य गरौं भन्छु ।

पुतलीबजार , स्याङ्जा


सकारात्मक सोच बोकेर आत्मविश्वासको दियो बालेर अगाडि बढौ ।

.

सीता बिष्ट कार्की सीबिका :

मेरो पूर्ख्यौली घर पौवैगौडे , पुतलीबजार – ५ , स्याङ्जामा पर्छ । बिदाको समय बेला बेलामा गइरहन्छु । अहिलेको मेरो बसाइँ भने काठमाडौं महानगरपालिकामा पर्ने टोखा – ९ , गोङ्गबु हो । त्यसैले यो लकडाउनको बेला म मेरै निवास गोङ्गबुमा छु । बन्दाबन्दीको पहिलो चरणमा अलि असहज पनि भएको थियो । कताकता अलमलिए जस्तो , डर , त्रास र भयले सतायो । कलम छुन पनि जाँगर आएन । इतिहासमा कहिल्यै नभोगेको , नजानेको कुरालाई सम्हाल्न गाह्रो हुँदोरहेछ । त्यसैले यो बन्दाबन्दीको कहरमा बिहानै उठ्ने बित्तिकै यूटुवका भजनहरु सुन्ने , लोक भाकाका गीतहरु सुन्ने अनि नाच्ने पनि गरिरहेकी छु । मलाई नाच्न , गीत सुन्न मन पर्छ । अहिले बन्दाबन्दीको तेस्रो चरणमा आएर भने बिहानै मर्निङ वाक गर्न असजिलो भएको हुँदा ट्रेड मिल ( दौडिने मेसिन )किनेर कोठा भित्रै प्रत्येक बिहान दुई किमि हिड्ने गरेकी छु । अचेल मैले यो समयलाई पहिले जस्तो भय , त्रासको रूपमा लिएकी छैन । यद्यपि संक्रमितको सङ्ख्या बढिरहेको छ । मान्छे पनि मरिरहेका छ्न । म आफूलाई ब्यस्त बनाईरहेकी छु यतिबेला । ब्यस्त भएपछि दिमागमा नकारात्मक सोच पनि नआउने रहेछ तर यतिखेर घरायसी काम पनि अलि बढी नै छ । चिकित्सा शास्त्रमा आवद्ध मेरा दुई छोराहरु छन् । ठुलो छोरा सुमेरु अस्पतालमा ईमर्जेन्सी वार्डमा काम गर्छ । लकडाउनको सुरुतिर सानो छोरा नेपाल मेडिकल कलेजमा तेस्रो वर्षको अन्तिम सेमेस्टर पढदै थियो । अहिले लकडाउनको बेलामा घरै बसेर अनलाइन क्लासद्वारा तेस्रो वर्षको थ्योरी क्लास पनि सिद्वियो । अब प्राक्टिकल क्लास बाँकी छ ।

खै कसरी पुरा हुन्छ । श्रीमान बैंकको कर्मचारी हो । बन्दाबन्दीको दोस्रो चरणसम्म सङ्गै थियौं । मेरो यो समयलाई सार्थक बनाउन वहाँले निकै सहयोग गर्नुभयो । मेरो दैनिक कार्यमा उहाँले सहयोग गर्नुभएको हुनाले नै आफुले पहिले पढ्न अधुरै रहेका धेरै किताबहरु अध्ययन गर्ने मौका पाँए । यही मौकामा श्रीमदभागवत गीताको अध्ययन गरे ।निलम कार्की निहारिकाको चीरहरण पहिले पुरै पढन पाएकी थिइन । अहिले पुरै पढे । त्यसपछि योगमाया दोहोराएर पढे । अरु साहित्य र इतिहासका किताबहरु पनि पढ्दै छु । यसप्रकार यो समयले घरको काम सङ्गसङ्गै मलाई अध्ययनशील पनि बनाईरहेको छ । म घरमै भए पनि रुटिन अनुसार चलिरहेकि हुन्छु । जुम प्रविधिको सहयोगले घरैबाट भर्चुअल सिर्जना वाचनहरु , संघसंस्था र कलेजका मिटिङ्हरु पनि भईरहेका छ्न । म कलेजमा प्राध्यापन गर्ने भएकोले घरबाटै अनलाइन पढाउने कुरा पनि भैरहेको छ । अझै सुरु भने भएको छैन । त्यसैले यतिबेला बन्दाबन्दीको यो समयमा पनि निकै ब्यस्त बनिरहेको छु । अर्को कुरा मलाई साहित्यका सबै विधा मन पर्छ । मेरो साहित्यको पहिलो विधा कविता हो ।

तीनवटा कविता संग्रह प्रकाशित भैसकेका छन् । मुक्तक , हाइकु , गजल एक एक वटा , उपन्यास एउटा लेख्दै जाँदा बाल साहित्यमा पनि रुची बढ्दै गयो । बाल उपन्यास , बालकथा , बाल कविताका संग्रहहरु पनि निकालीसकेको छु । त्यसैले यो बेलामा सबै विधाको बारेमा अध्ययन , लेखनले झन ब्यस्त बनाएको छ । लघुकथा पनि लेखिरहेकी छु । कथा पनि १२ वटा लेखिसकेकी छु । अब त्यसमा अझै केही कथा थपेर छाप्ने तरखरमा छु । अचेल राजधानी अलि सुनसान बनेको छ । प्रदुषणरहित बनेको छ । सुन्दर हरियाली बनेको छ । धुँवा र धुलोले पोतिएर मान्छेको भिडमा कोलाहल काठमाडौं अहिले शान्त , रम्य बनेको छ । कवि , लेखकको लागि सिर्जनाको एक रङ्गिन आकाश बनेको छ । सडकको छेउछाउ फुलेका फूलहरुले रोमान्चित बनाएको छ । घरको छ्तबाट हेरिरहेकी हुन्छु पिजडाभित्रको सुगा जस्तै बनेर । त्यो सुन्दरतालाई यतिबेला मैले स्पर्स गर्न सकेकी छैन । न त निर्धक्क भएर अवलोकन गर्न ।

धुलो / धुवाँ त निकै खाइसके , यसैमा अभ्यस्त छु । कोरोना भाइरसको महामारी पछिको समय पक्कै पनि आकाश खुलेजस्तो हुने छ । तर पूर्णता आउन केही समय अवस्य लाग्नेछ । किनभने कोरोनाले बनाएको आलो घाउ तुरुन्त निको हुन गाह्रो छ । सबै पुरिन केही समय लाग्ला । अबदेखि रहनसहनमा पनि परिवर्तन गर्नुपर्छ । अब साहित्यको सन्दर्भमा कुरा गर्दा लकडाउन खुलेपछि पनि केही समय सामाजिक दुरी कायम गर्दै , सचेत हुँदै कार्यक्रम गर्नु पर्छ जस्तो लाग्छ । लकडाउन पहिले मैले बनाएको साहित्यिक योजनामा परिवर्तन आएको छ । खास मेरो ठूलो योजना त केही पनि छैन तर पनि केही गर्ने सोच भने बनाएकी छु । त्यो के भने लकडाउन पहिलेको योजनालाई यथावत राखी समयले साथ दिएमा लकडाउनभरि सृजना गरिएको कथा संग्रह र लघुकथा संग्रह गरि दुई कृति निकाल्ने सोच बनाएकी छु ।

अन्त्यमा भित्र बस्दाबस्दा बास्पिकरण भईरहेको यो मनलाई शब्दहरु पोखेर शीतल बर्षा बन्ने मौका दिनुभएकोमा सहृदयी सिर्जनशील प्रिय युवा साहित्यकार मिलन समीर भाइलाई धेरै धेरै धन्यवाद । तपाईको सिर्जनशील मन र कलम सधैंभरि यसैगरी गतिशील बनिरहोस । सबैजना सकारात्मक सोचका साथ आत्मविश्वासको दियो बालेर हिडौ । छिट्टै अब मानवजातिले यूद्व जित्ने छ । यी बन्द झ्याल ढोकाहरु खुल्नेछन ।

-पुतलीबजार , स्याङ्जा । हाल – काठमाडौं ।


नेपाली पुस्तकहरु अनलाइनबाट किनेर पढ्न पाईने वातावरण नहुँदा समस्या भयाे ।

.

युवराज लामिछाने प्रदीप :

म यतिबेला युरोपेली मुलुक रोमानियामा कार्यरत छु । कोरोना भाइरसको कारणले केही महिना कोठामै बस्न बाध्य भैयो । यही समयमा केही कथा र मुक्तक चै लेखेको छु । तर खासै मन परेका छैनन् । मलाई लेखनको लागि पनि खासै उपयुक्त लागेन यो कोरोनाको समय । केही लेखकहरुले पुस्तक नै तयार पार्नु भो रे ! भन्ने पनि सुन्नमा आएको छ । त्यो एकदम राम्रो पनि हो। यसको अलवा युटुबमा केही फिल्महरु हेरे । दैनिक रुपमा घरपरिवार सँग इन्टरनेटको माध्यमबाट सम्पर्कमा रहिरहे । रोमानियामा रहेका नेपालीहरुको बारेमा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्य दूतसँग निरन्तर सम्पर्कमा रहेर समस्यामा परेकाहरुलाई आफ्नो तवर बाट सहयोग गर्दै आएको छु। परदेशमा हुनाले नयाँ पुस्तकहरु पढ्ने वातावरण त छैन् । नेपाली पुस्तकहरु अनलाइनबाट किनेर पढ्न पाईने वातावरणको विकास पनि भईसकेको छैन ।

-अर्जुनचौपारी , स्याङ्जा । हाल – रोमानिया ।


आगामी दिनमा आर्थिक समृद्धि ल्याउने लेखनमा हाम्रो कलम चलाउनु पर्छ ।

.

असफल गौतम :

आजको सन्दर्भ कोरोनाको विश्वव्यापी महामारीसँगै नेपालमा शुरु भएको लकडाउन बीचको धेरै समय रस्तीवस्तीको थलो पोखरामै बिताएँ । हतारको साहित्य पत्रकारिता क्षेत्रको संलग्नता थियो । त्यसमा पनि स्वतन्त्र पत्रकार संघ कास्की, मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी र लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षको जिम्मेवारी र संस्थागत नेतृत्वका हिसाबले शुरुआती चरण अनुगमन, रिपोर्टिङ र सेवाका काममै समय बित्यो । जुन बेला दैनिक ज्यालादारी मजदुरहरूलाई राहत कार्यक्रम घोषणा भए पनि वितरणमा ढिला भएको र तथ्याङ्क संकलनमा व्यवहारिक झन्झटिलो व्यवस्था भएकोले खबरदारी गरियो । राहत वितरणलाई छिटो र पारदर्शी बनाउन आह्वान गरियो । यसो गर्दैमा दोस्रो चरणको लकडाउन बित्यो । त्यसपछि तीन हप्ताको समय आफ्नो थातथलोमा बिताए । पुनः रस्तीवस्तीको थलोमा आएपछि स्वतन्त्र पत्रकार संघकै पदाधिकारीको चुलो बाल्न समस्या भएपछि संस्थागत हिसाबले केही राहत प्रदान गरियो । अनेसास गण्डकी प्रदेश समितिको महासचिव भएकाले भर्चूअल बैठक बसेर कोरोना अनुभूतिपरक संस्मरण लेखन प्रतियोगिता र पुस्तक प्रकाशनको निर्णय गरियो । यहाँले पनि असार मसान्तसम्म दुई हजार शब्दसम्मको अप्रकाशित संस्मरण पठाउन सक्नुहुन्छ । यस्तै पत्रकार महासंघ , साहित्यिक संस्था , लायन्स क्लबका भर्चूअल बैठक र विभिन्न अन्तरक्रियामै धेरै समय बित्यो । यता लकडाउनको मिति शृङ्खलाबद्ध थप हुँदै जाने उता समाजका मोतीरामहरू मतिहीन भएर निस्कने , धर्मराजहरू अधर्मी भएर हिँड्ने ।

बाबुआमाले सुपुत्र ठानेकाहरू कुपुत्र बन्ने संस्कार मौलाएपछि यस्तो विशृङ्खलित परिवेश र महामारी बीचमै कमाउ धन्दाका समाचारहरु देखिन थालेपछि बिस्तारै मन बिरामी हुन थाल्यो । जसका कारण साहित्य साधनामा उल्लेख्य कार्य हुन सकेनन् । तापनि पहिल्यै लेखेर प्रकाशन नभएका तीन समालोचनात्मक लेख परिमार्जन गरेँ । बालकृष्ण समको स्वर्ग र देउता कविता वर्तमान परिवेशसँग मिलेको अनुभूत भएकाले ‘ वर्तमान बोल्दै – स्वर्ग र देउता ’ समालोचना प्रकाशन गरे । यही बीचमा नेपाली मुक्तकका धरोहर रत्नशमशेर थापालाई गुमाउन पुग्यौं । उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘अस्ताए नेपाली वाङ्मयका क्याप्टेन – रत्नशमशेर थापा ’ समालोचना प्रकाशन भयो । यस्तै अनेसासका निवर्तमान केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको शब्दसुमन कविता कृतिमाथिको समालोचना ‘शब्दसुमनमा सरल कविका तरल कविता ’ शीर्षकको समालोचना यही बीचमा प्रकाशन भयो । केही फुटकर मुक्तक र गजल लेखियो । स्याङ्जाली गजलबारे २०६९ सालमा लेखेको एउटा आलेखलाई परिमार्जन गर्दैछु ।

यद्यपि यो समय सर्जकका लागि उपयोगी समय भए तापनि ज्यालादारी जिन्दगी बिताउने स्रष्टाका सन्दर्भमा कोरोना कहर बनेर आएकाले उनीहरू पीडामै समय बिताइरहेका छन् । आफूलाई पनि त्यही रूपमा देखेको छु । भोलिका कुरा कुरा रह्यो भोलिको । अहिले कोरोना–कोरोना भनेर त्रास फैलाइएको छ । अर्थतन्त्र डामाडोल भयो भनेको सुनिएको छ । तर स्रष्टा भनेको सचेत नागरिक हो , त्यसैले हामीले सचेतना फैलाउनु पर्छ । हिजो द्वन्द्वकालमा हामीले थाहा पाउँदापाउँदै पटक–पटक करोडौं चन्दा दिएर ज्यान बचाएकाहरू अहिले हामी मर्न लाग्यौं भन्न थालेका छन् । यो हास्यास्पद कुरा हो । अब हाम्रो कलमले समृद्धिका सिर्जना लेख्नुपर्छ । आन्तरिक पर्यटन वृद्धिमा कलम चलाउनुपर्छ । हिजोको हाम्रो अर्थतन्त्र आफ्नै माटो र पसिनाबाट मजबुत थियो । बाह्य पर्यटन त धेरै पछि भित्रिएको सन्दर्भ हो । यसैले हामीले आन्तरिक श्रोतबाटै समृद्धि ल्याउनुपर्छ ।

हाम्रा घरबास परियोजना ( होमस्टे ) मौलिक उत्पादनमुखी बन्नुपर्छ । त्यहाँको उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । जस्तो एउटा आन्तरिक पर्यटक दरौं सिरुबारी होमस्टेमा गएर बेलुका झोल र मासु खाएर बिहान रित्तै फर्किने होइन । बिहान आउँदा उसले त्यहाँको मौलिक उत्पादनमा केही रकम खर्च गरोस् तब अर्थतन्त्र चलायमान हुन्छ । त्यो रकम त्यहीँका जनताले खर्च गर्न पाउँछन् । हाम्रो छायाक्षेत्र दर्शनमा आउनेले तिनै भारतीय उत्पादनका तस्वीर र माला किनेर आउने होइन हाम्रो मौलिक उत्पादन त्यहाँ होस् र पैसा खर्च होस् । तब हाम्रै घरभित्र उक्त नगद भित्रियोस् । यसैले आगामी दिनमा आर्थिक समृद्धि ल्याउने लेखनमा हाम्रो कलम चलाउनु पर्ने देखेकाले त्यस्ता केही आलेख लेख्ने योजनामा छु । अन्त्यमा यो अवसरका लागि सम्पादक / संयोजक र प्रकाशक दुवैप्रति आभार प्रकट गर्दछु ।

-पुतलीबजार , स्याङ्जा ।

Facebook Comments Box
TOP