केसियस लिम्फेडिनाईटिस: बाख्राको कानमुनी वा अन्य भागमा आउने पिलो वा घाउ

- सुशिल अर्याल/डा. अनिष सापकोटा :
केसियास लिम्फेडिनाईटिस (Caseous Lymphadenitis) बाख्रा मा लाग्ने एक सरुवा रोग हो। यो रोग लागेपछि बाख्राको कानमुनी तथा अन्य आन्तरिक वा बाह्य लिम्फ ग्रन्थीहरु सुनिएर गाठाहरु जस्तो देखिन्छ र पाकेर पिप निस्कन्छ। यो रोगले संक्रमित बाख्राको मासु काट्दा भित्रि अङ्गहरुमा पिप देखिने तथा गन्हाउने भएकाले मासुको अबमुल्यन हुन्छ भने कतिपय अवस्थामा पुरै मासु फ्याक्नुपर्ने हुन जान्छ। साथै एकपल्ट रोग लागिसकेपछि पटकपटक बल्झिरहने र संक्रमित बाख्रा दुब्लाउने, बढ्न नसक्ने आदि हुन्छ। यसरी यो रोगले गर्दा धेरै बाख्राको मृत्यु नहुने भएतापनि बिभिन्न कारणले हुने क्षति बाख्रापलक कृषकहरुको टाउको दुखाई हुन गएको छ। यो रोगले यूरोप, अफ्रिका तथा अस्ट्रेलियामा भेडाबाख्राको मुख्य समस्या को रुप लिएकाले महामारी रोगको रुपमा राखिएको छ। नेपालमा पनि विदेशबाट बोयर लगायत उन्नत प्रजातिका बाख्रा आयात हुने क्रम बढेसंगै आयातित बाख्रा र ति बाख्रा पालिएका स्थानवरपर यो रोगको संक्रमण देखिएको छ। हाल बाख्राहरुको शरीरका भित्रि लिम्फ ग्रन्थिहरुमा यो समस्या रहेतापनि बिदेशबाट ल्यार्इएका बोयर बोका बाख्रा प्रजनन उद्देश्यका लागि मात्र प्रयोग भएको र मासु उत्पादनका लागि खासै प्रयोग नभएको हुनाले बाहिर नदेखिएको हुन सक्छ। निकट भविष्यमा बोयर बाख्रा मासुको रुपमा उपयोग हुदै गर्दा यो रोग भयावह रुपमा देखिन सक्छ। यसर्थ यो रोग प्रति सजग हुन जरुरि देखिन्छ। यस रोग को नियंत्रण को लागि नियामित खोप र जैविक सुरक्षा मा बिशेष ध्यानदिनु पर्दछ।
.

कारक तत्व र सर्ने माध्यम:
यो रोग लाग्नुको कारण Corynebacterium Psudotuberculosis नामक जीवाणु (Bacteria) हो। यो जीवाणु मानिसमा लाग्ने भ्यागुते र क्षयरोगको जीवाणुसंग मिल्दोजुल्दो हुन्छ। संक्रमित पशुको घाउबाट निस्कने पिपमा यो रोगको जीवाणु प्रशस्त हुन्छ। प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यो पिप वा पिपसंग सम्पर्कमा आएका औजारहरु, पानि, दाना, सोतर, लगायत बिभिन्न बस्तुहरुबाट यो रोग सर्छ।
नाभी काट्ने, खसी पार्ने, उन काट्ने, पुच्छर काट्ने, डिपिंग आदि कार्यहरु गर्दा पर्ने घाउ माथि उल्लेखित बस्तुहरुको सम्पर्कमा आएमा स्वस्थ पशुको शरीरमा जीवाणु प्रवेश गर्छ। यसरि प्रवेश गरेको ३ महिनाजतिमा जीवाणु नजिकैको लिम्फ ग्रन्थिमा पुग्छ र त्यहाबाट रगतसम्म पुग्छ।
यसबाहेक संक्रमित पदार्थ अन्य माध्यमबाट निरोगी बाख्राको सम्पर्कमा आउदा पनि निरोगी बाख्रामा यो रोग सर्छ।
लक्षण:
यो रोगका लक्षणहरु निम्नानुसार रहेका छन्:
.

- संक्रमित पशुको लिम्फ ग्रन्थी सुनिन्छ। यसरि सुन्निएको ग्रन्थीको स्थान हेरेर यो रोगलाई आन्तरिक र बाह्य गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ। विशेषत: कानमुनि, काखीमा र कल्चौडो/अन्डाकोष वरपरका बाह्य लिम्फ ग्रन्थीहरु सुनिएको ठाउमा बाहिरबाटै गाठोजस्तो अनुभब गर्न सकिन्छ। आन्तरिक लिम्फ ग्रन्थी सुन्निएको छ भने अनुभब गर्न सकिदैन। आन्तरिक लिम्फग्रन्थीहरु सुनिएको कतिपय अवस्थामा त मासु काट्ने बेलामा मात्र थाहा पाईन्छ।
- यसरी सुन्निएको लिम्फ ग्रन्थी केहि समयपछि फुट्छ र पिप निस्कन्छ। सुरुको अवस्थामा फुटेको छ भने लेदोजस्तो सेतो वा हरियो पिप निस्कन्छ। लामो समयसम्म नफुटेको अवस्थामा पिप जमेर प्याजको जस्तो पत्रपत्र पर्न जान्छ।
- यो रोग लागिसकेपछि केहि बाख्राहरु बिस्तारै दुब्लाउदै जान्छन।
उपचार:
यो रोग लागिसकेपछि उपचारका लागि पिप निकालेर सफा गरिदिने र पुन: संक्रमण हुनबाट रोक्ने हो। यसका लागि निम्न उपायहरु अपनाउन सकिन्छ।
.

- यदि संक्रमण सुरुको अवस्थामा छ र पाकेको छैन भने यसलाई पकाउनका लागि म्याग्नेसियम सल्फेटको प्रयोग गर्न पनि सकिन्छ। यसरि प्रयोग गर्दा मनतातो पानीमा गाढा घोल बनाई सफा कपडाको सहायताले संक्रमण भएको स्थान वरपर लगाएर सेक्न सकिन्छ। कतिपय अवस्थामा यसरि सेकेरमात्र पनि यो रोग निको भएका उदाहरणहरु छन्।
- पाकेर मुख बनिसकेको घाउलाई भने निर्मलीकरण गरिएको ब्लेडको सहायताले चिरेर पिप निकालिदिन सकिन्छ। पिप निकालिसकेपछी कटन गजले घाउको भित्रि भागसम्म घोटेर पिपको अवशेष निकलि पोभिडिन आयोडिन वा बेटाडिनले घाउ सफा गरिदिनुपर्छ। घाउ चिर्दा अनिवार्य रुपमा पन्जा लगाउनुपर्छ र त्यहा निस्केको पिपलाई भुईमा चुहिन नदिईकन एउटा प्लास्टिकको थैलीमा जम्मा गरेर जलाउनुपर्छ। पिपको सम्पर्कमा आएका सबै औजारहरु निर्मलीकरण गरेर मात्र पुन: प्रयोग गर्नुपर्छ।
- यसरी चिरिसकेपछी घाउवरपर थप पाक्न र झिंगाले अण्डा पार्न नदिन मलम वा स्प्रे प्रयोग गर्न सकिन्छ। पुन: संक्रमण हुन नदिन एन्टीबायोटिक औषधिको प्रयोग गर्न सकिन्छ, तर यो घाउ पाक्नुभन्दा पहिले एन्टीबायोटिक औषधि प्रयोग गर्नु उचित मानिदैन।
.

रोकथाम:
स्वस्थ पशुलाई रोगी जनावर, पिप तथा संक्रमित पदार्थ/औजारहरुको सम्पर्कमा आउनबाट रोक्नु नै यो रोगको रोकथामको उपाय मानिन्छ। यसका निम्ति निम्न उपायहरू अबलम्बन गर्नुपर्दछ :
- बाख्रा पालक हरु ले आफ्ना बाख्राहरुको नियमित रुपमा जाँच गर्नु पर्छ। टाउकोको वरिपरि गाठो वा थैलीजस्तो देखिएको खण्डमा उक्त बाख्रालाई अन्य बाख्राको बथान बाट अलग राख्नुपर्छ र पशु चिकित्सक वा प्राविधिकलाई तुरुन्त खबर गर्नुपर्छ।
- रोगि या शंका लागेका बाख्रा हरु लागि हेरचाह गर्ने बेला मा एक बाट अर्कोमा रोग नसर्ने किसिमले अवलोकन गर्नुपर्छ अर्थात् उपकरण सफा र कीटाणुमुक्त गर्नुहोस्, सम्भावित संक्रमित बस्ने ठाउ नष्ट गर्नुपर्छ।
- खसी पार्दा ,पुच्छर काटदा ,भेडा को उन काट्दा हुने घाउहरुमार्फत पनि रोग सर्न सक्छ। यस्तै डिपिंग गर्दा, जबर्जस्ति औषधि खुवाउदा पनि बिभिन्न कारणले घाउहरु हुन सक्छन। यी कार्यहरु गर्दा सकेसम्म घाउ नबनोस भनि होसियारी पुर्याउनुपर्छ। घाउ बनाउनुपर्ने अवस्थामा निर्मलीकृत गरिएका औजारहरु मात्र प्रयोग गर्नुपर्छ।
- चिरफार को लागि प्रयोग हुने सामाग्रीहरु र औजारहरु कीटाणुरहित हुनुपर्छ। यसका लागि प्रयोग गर्नुपूर्व र प्रयोग गरिसकेपछि ति सामाग्रीहरु अटोक्लेभ गर्ने वा उमाल्ने गर्नुपर्छ। उमाल्न सम्भब नभएमा स्प्रिट वा पोभिडिन लगायत एन्टिसेप्टिकको ले राम्ररी सफा गरे पछि मात्र प्रयोग गर्नुपर्छ।
- बाख्रा पाल्दा सके सम्म बाख्रा बधुवा किसिमले पाल्ने गर्नु पर्छ। यदि चराउन लैजानुपर्ने भएमा अन्य बथानका बाख्राहरुसंग प्रत्यक्ष सम्पर्क नहुने गरी चराउन पर्छ।
- व्यवसायिक बाख्रा फर्महरुले आफ्नो फर्ममा रोग आउन नदिनका लागि क्वारेन्टिनलाइ ध्यान दिनु पर्छ।
- अन्य फर्महरुबाट खरिद गरि ल्याएको बाख्राहरुमा रोग नभएको यकिन भएपछी मात्र बथान मा मिसाउने गर्नु पर्छ।
(लेखक सुशिल अर्याल गल्याङ नगरपालिकाकाे पशु सेवा शाखा प्रमुख हुनुहुन्छ भने डा. अनिष सापकोटा गल्याङ नगरपालिकाका पशु चिकित्सक हुनुहुन्छ । )
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…