निख्लो (निस्तो) सहानुभूति ।

प्रकाश कुमार सिग्देल :
गाउँको एउटा सिङ्गै स्वाँरामा फैलिएको गरो । वरिपरि पक्तिबद्ध भएर उभिएका रुखहरु । खेतको गरामा भर्खरै मात्र जरा गाडेर पलाई हरियो भएको धान । कालो बादलले आकाश डम्म ढाकेको घुम्र्याइलो मौसम ।
धान र रुखबीचमा बहस चल्यो । “यस्तो त मैले कहिल्यै पनि थाहा पाएको थिइन । यो साल त कति पानी परेको है ? वर्खामा त ज्यान जोगाउन नि निकै गाह्रो हुने भो । हेर त पारी पखेरो पहिरो गएर सत्यानाश । सल्काइला जीउ भएका हाम्रा साथीहरु यहाँबाट हेर्दा नि कति राम्रो देखिन्थे । कुन बैरीको नजर लागेछ कुन्नि ? त्यहाँ पनि ती साथीहरुलाई बाँच्न दिएनन । बढेर यसो के ठूलो भाथे मान्छे भन्ने जातले उहिल्यै काटेर लगे । उनीहरु त्यहाँ रहन पाएको भए कसमेकम जमीनको सुरक्षा त हुने थियो । अहिले पहिरो जाने थिएन । यो कुरा मानव जातिको दिमागमा किन घुस्थ्यो र ? मान्छेको जात बेलामा बुद्धि पु¥याउँदैन अनि घटना घटेसि पुर्परोमा हात राखेर चुक्चुकाउने मात्रै हो । मान्छे जस्तो आफ्नै स्वार्थको लागि हामी कहाँ बाच्या हौं र ? उनीहरुले नैं हामीलाई कतिसम्म प्रयोग गरिराखेका छन् भन्ने कुराको कुनै लेखा जोखा नैं छैन । । यो जातलाई गुन लगायो उल्टै दुश्मनी साँध्छ ।” सँगै रहेको धानले आफ्नो अगाडि ठिङ्ग उभिएकोे रुखको कुरा बडो चाख मानेर सुन्छ । “यो पखेरो पहिरो गयो भने हामी पनि त के बाँचिएला र ! कुन हविगत हुने हो हाम्रो पनि ?” रुखको नजीकै रहेको धानको गाँजले जिज्ञासु भावमा निराशा व्यक्त गर्दै आफ्ना तर्क प्रस्तुत गर्छ । “तिमीहरु त ढुक्क भए हुन्छ । हामी छेवैमा तिमीहरुको ‘बडिगार्ड’ जस्तो बनेर उभिएका छौं ।” “दिन आएपछि जति नैं ‘बडिगार्ड’ बाट घेरिएपनि जानै पर्छ कसैले फूर्ति नलगाए हुन्छ ।” धानले रुखसँग प्रतिवाद गर्न खोज्छ । रुखलाई धानको कुरामा चित्त बुझ्दैन अनि आफ्नो कुरा माथि पार्न खोज्दै उसले भन्छ । “तिमीहरुको जस्तो कमजोर खुट्टा हैन हाम्रो । हामी त धेरै बलिया नि ! हेर त कति टाढासम्म पुगेको छ हाम्रो खुट्टा । यहि खुट्टाको भरमा तिमीहरु बाँच्याछौ । के के न कुरा गर्छौ अझ ?”

तीन चार दिन भो साउने झरी झरिराखेकै थियो मनपरी । रोकिने कुनै छाँटकाँट नैं थिएन । जमीन भिज्दै जान थाल्यो । भुइँचालोको कम्पनले थिल्थिएको जमीन गल्दै–गल्दै गयो । रुखको जराले मात्रै त्यत्रो जमीनको भार कसरी थेग्न सक्थ्यो र ? थुम्कोे टेकिएको फेदको जमीन भासियो । भाग्यबस त्यो ठूलो स्वाँराको छेउको भागमात्रै खस्यो । धानका गाँजहरुहरुलाई खासै केहि पनि भएन । म बलियो छु भनी घमण्ड गर्ने त्यो रुख पनि गल्र्याम गुर्लुम ढल्यो । धान आफू बचेकोमा खुसी हुदै भन्यो “निकै फूर्ति लाउथ्यो त ? आफैले आफूलाई खुब ‘म पहलमान हुँ’ भन्ने ठान्थ्यो । विपत्तिको अगाडि त्यस्तो घमण्डले केहि काम गर्दैन के !”

गाउँका झुप्राहरु निमेष भरमै पहिरोले निल्यो । पूर्खाले जोगाएर राखेको थातथलोको बिरासत भावी सन्तानसम्म पुग्न पाएन । रातको समय मस्त निन्द्रादेवीको काखमा लुटपुटाएकाहरु आफ्नो जीवन सधैको लागि तिनै निन्द्रादेवीमैं समर्पित गरे । गाउँलेहरुको त्यो ह्रदय विदारक कोलाहललाई केहि छिनको लागि मथ्थर पार्ने गरी आकाशमा हेलिकप्टरको कर्कसे आवाज सुनिन थाल्यो । सबैको नजर त्यतैतर्फ मोडियो । हेलिकप्टर भुइँमा ओलर्न लाग्दा बचेखुचेका घरका खरका छानाहरु उड्न थाले । हेलिकप्टरबाट ओर्लिएकाहरु लावालस्करका साथ अघि बढे । यो लावालस्कर कुनै कुल घरानाको बिहेमा दुलही लिन आएका जन्तीको भन्दा कम थिएन । स्थानीय नेताहरुले हेलिकप्टरमा सवार नेताहरुको भव्य स्वागत गरे । कार्यक्रमको लागि स्टेज पहिले नैं तयार पारिएको थियो । त्यो धान भएको खेतको पाटो ।

केहि दिन अघि रुख र धानको गाँजवीच चर्काचर्की भएकै ठाउँ । । त्यहि बाँकी रहेको खेतको पाटोमा कार्यक्रमस्थल बनाइएको थियो । कल्कलाउँदो अनि भर्खरै मात्र बसाईँ सरेर आएका धानका बेर्नाहरुले राम्रोसँग जरा गाड्न पनि पाएका थिएनन् । त्यहि धानलाई मडारेर रातो कार्पेट ओछ्याइयो । गाउँमा रमिता हेर्नेहरुको भीड लाग्यो । हेलिकप्टर हेर्नेहरुको भीड, नेताको दर्शन गर्नेहरुको भीड, पहिरोको आहातमा परेकाहरुले राहत थाप्ने भीड । यो दृष्य हेर्दा गाउँमा कुनै जात्रा लागेको हो कि जस्तो देखिन्थ्यो । महामारीको बेला अपनाउनुपर्ने सामाजिक दुरीको धज्जि उडाइएको थियो । कार्यक्रम शुरु भयो । स्थानीय नेता बोल्न थाले “देख्नु भो त गाउँले दिदीभाइ तथा दाजुबहिनीहरु ! नेता चुनावमा भोट माग्न मात्रै आउँछन् अनि कहिल्यै मुख देखाउदैनन् भन्नुहुन्थ्यो नि ! हाम्रो नेताज्यू त्यस्तो हुनुहुन्न । यस्तो महामारीको बेलामा, आफ्नो व्यस्त समयको बाबजुद पनि तपाइहरुलाई भेट्न आउनुभो , तपाईंहरुप्रति उहाँको माया कति रहेछ भन्ने कुरा त यहिँबाट पनि अनुमान लगाउन सक्नुहुन्छ ।” स्थानीय नेताको त्यो फूलबुट्टे भाषण सुनेर नेताज्यू नाकको फोन्द्रा फुलाएर टाउको हल्याउँदै थिए ।

अरु स्थानीय नेताहरुले पनि आफ्ना सबै शब्दहरु त्यो विपत्तिको बेलामा पीडितलाई सान्त्वना दिनको लागि होइन आफ्ना नेताहरुको गुणगान गाउनकै लागि खर्च गरे । नेताज्यूको बोल्ने पालो आयो “मैले त पहिले नैं भनेको हुँ नि हजुरहरुलाई ! यो ठाउँ असुरक्षित र जोखिमपूर्ण छ भनेर । मैले त्यतिबेला बस्ती अन्यत्र सार्नुपर्छ भन्दा मेरो कुरा कसैले सुनेन । पछिल्लो समय म एक्लै भएपनि बस्ती व्यवस्थापनको लागि निकै सक्रिय रुपमा लागेको थिएँ । छ महिना अघि सरोकारवाला निकायहरुकहाँ पुगेर यो बस्ती व्यवस्थापनको बारेमा छलफल गरेको थिएँ । मन्त्रालयमा यसको बारेमा कुरा पनि चलाइसकेको थिएँ । तर त्यहि बेलामा कोरोना संक्रमण सुरु भयो । केहि पनि गर्न पाइएन ।” भएभरको दोष जति कोरोनामाथि थुपार्न पाएकोमा नेताज्यू निकै मख्ख देखिन्थे । उनको पाउमुनिका धानका गाँजहरु मृत्युसैयामा झैं छट्पटाइरहेका थिए । “त्यो रुख मेरो आडमै भएको भए मलाई यो अवस्थामा देखेर कति गिज्याउँदो हो । धन्न त्यसलाई पहिरोले लग्यो ।” यो कुरा सोचेर धानको गाँजले थोरै भएपनि सान्त्वनाको सास फे¥यो । घाइते अवस्थामा लडेका ती खेतका धानका बोटहरुले यी सब कुराहरु अर्धचेतन अवस्थामा भएपनि सुनिरहेका थिए । आफ्नो छातीमाथि रातो कार्पेटको जात, त्यसमाथि पनि हजारौं बुटहरुको बज्रपात, यो पीडा त उनीहरुमा छदै थियो र अझ त्यो भन्दा पनि अत्याधिक पीडा भन्ने कि पश्चाताप के भन्ने; यस्तो प्राकृतिक विपत्तिसँग जुधेर यस्ता कुपात्रहरुको प्राणरक्षाका खातिर आफ्नो जीवन उत्सर्ग गरेकोमा थियो ।
भाषण सकिएपछि राहत बाँडियो । राहत प्याकेजमा प्रत्येक परिवारलाई एक÷एक बोरा चामल र पाँच÷पाँच किलो दाल थियो । नेताहरुको सवारी देख्दा पीडितहरुले निकै ठूलो आश गरेका थिए । तर वास्तविकता भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै भइदियो । नेताहरुको त्यहाँबाट फिर्ती सवारीको लागि हेलिकप्टरतर्फ प्रस्थान भयो । तितरबितर हुनै लागेको हुलबाट एउटा आवाज निस्कियो । “कमसे कम केन्द्रिय सरकारसँग स्थानीय सरकारले समन्वय गरेर राहत वितरण गरेको भए नेताज्यूहरु यहाँ आउने खर्चले पहिरो पीडितका लागि घरहरु सजिलै ठडिने थिए । यस्तो कुरामा कस्को विवेक पुगोस ।” त्यो आवाज हेलिकप्टरको आवाजमै गएर मिसियो । कसैले सुन्न पाएनन् ।

-वालिङ–७, केवरे भञ्ज्याङ, स्याङ्जा

Facebook Comments Box
TOP