लकडाउन: जीवनरक्षा कि आत्महत्या ?

deb roshan

स्वामी देव रोशन :

व्यक्ति, संगठन र सरकारका गतिविधीहरुप्रति चित्त नबुझेर, अन्याय अत्याचार सहन नसकेर कहिलेकाही सामाजिक अभियन्ताहरु, राजनैतिक संघ संगठनहरु र न्यायप्रेमी जनताहरुले नेपालमा १ दिन मात्रै पनि नेपाल बन्दको आन्दोलन गर्दा त देशको आर्थिक, सामाजिक, शैक्षिक अवस्था डामाडोल हुने, जिवन कष्टकर हुने, लाखौ क्षति हुने, नेप्से परिसुचकमा गिरावट आउने भन्ने समचारहरु, लेखहरु, विभिन्न संचार माध्यमहरुबाट सुन्न, पढ्न, देख्न पाइन्थ्यो । हुन त २०६२।०६३ मा १९ दिनसम्म जनआन्दोलन भएको थियो देश ठप्प नै थियो, कष्टकर थियो ।

तर आज Covid-19 ले गर्दा विश्व लकडाउनको अवस्थामा छ । प्राय: ठप्प नै छ । हाम्रो देश नेपालमा पनि लकडाउनको प्रभाव करिव १०० दिन नाघिसक्यो । अरु २०० दिन सम्म हुन सक्ने सम्भावनाको हल्ला छ । के थाहा ? यो लकडाउन ३००/ ४०० दिन हुने हो की ? यसको प्रभावले विदेशमा कयौँ नेपालीहरुको रोजगार गुमेर, खान नपाएर, रोग लागेर, नेपाल आउन नपाएर विचल्लीमा परेका छन । सरकारको प्रयास त जारी नै छ ।

तर प्रयासले पुगीरहेको छैन । युवाका जोश, जागर, पसिना विदेशी भुमिमा खनाएर त्यसबाट आउने रेमिट्यान्सले बैंक तथा वित्तिय संस्थाहरु, सुनचादीँ पसलहरु, विभिन्न व्यक्ति तथा संस्थाहरुले कारोबार गर्न पाउँथे । घर घडेरी जग्गाहरुको कारोबार हुने गर्थो । त्यसैले यीनीहरुको मुल्य बढिरहेका थिए । यस्ता कारोबार गरेर चलिरहेकाहरु, श्रीमान विदेशीए पछि छोराछोरी काखी च्यापी शहर पस्नेहरु र विदेशी भुमीमा दु:ख पाउनेहरु आज आर्थिक कारोबार गर्न नपाउँदा, बैंकको व्याज तिर्न नपाउँदा, घरपरिवार चलाउन नसक्दा, घरमा आउन नपाउँदा ऋणको भारले थिचिएर आत्महत्याको प्रयास गरिरहेका छन ।

एक दुई लाख नेपाली रुपैयाले नेपालमा केही गर्न सक्ने सम्भावनाहरु नदेखेका र  थोरै लगानी गरी नेपालमा भन्दा धेरै कमाउने आशा राखेकाहरु विदेशमा बस्ने सम्भावना नभई नेपालमा फर्कनु पर्यो भने अब सम्भावना देख्छन त ?

नेपाल सरकार सजग छ त ? हुन त सरकारले बजेट भाषणमा कागजी हवाइजहाज उडाइसक्यो, तासको महल बनाइसक्यो । फेरि अहिले आएर विदेश जाने अवसर खुलाउँछौ भन्ने दोहोरो चरित्रको कुरा गरेका छन । उनीहरुले केही अवसर नपाउँदा सम्म दुर्व्यसनिको खतरा बढेर जानेछ । रक्सी, चुरोट, खैनी, सुर्तीको मुल्य पहिलाको तुलनामा बढेर जादा पनि खाने क्रम अझ बढि रहेको छ । अझै बढ्दै जाने छ । मंहगीले गर्दा खर्च कतिन्जेल सम्म धान्ने हो ? दुर्व्यसनीहरु आफ्ना लत लागेको वस्तुहरु नपाएको खण्डमा आत्महत्याको प्रयास गर्नेछन ।

नेपालमै बसेर सानो तिनो कृषि पेसा व्यवसाय गरी वस्ने निम्न र मध्यम वर्गियहरुले उत्पादन गरेका दुध, फलफुल, तरकारी, माछा, मासु  आदिलाई उपयुक्त कृषि केन्द्र, कृषि बजार सम्म समयमा पुर्याउन नसक्दा कयौ समानहरु सडेर विग्रिएर उपयोगविहिन भएर गइरहेका छन । यतिवेला यातायातको चहलपहल छैन । हुन त सरकारले निजी गाडी चल्न दिने अनुमती दिएको छ । प्रत्येक कृषकका आफ्ना निजि सवारी साधन छैन । आफ्ना निजी गाडी नहुदा समयमा वेच्न, बजार सम्म पुर्याउन सकिरहेका छैनन । अन्य गाउँलेहरुलाई अर्गानिक कृषि उत्पादनको महत्व पनि थाहा छैन । किनेर खाने क्षमता पनि छैन ।

केही विचौलियाहरु किसानका मर्कालाई गोरीका आँसु बगाएर थोरै मुल्यमा किनेर किसानहरु माथि शोषण गरिरहेका छन । किसानीहरुका आम्दानी घटिरहेको छ । यति वेला घर बाहिर सहर बजारमा उच्च शिक्षा, आय आर्जनका लागी गएका छोराछोरीहरु, छोराबुहारीहरु, नातीनातिनाहरु गाँउ आएर घरलाई रमाइलो बनाएपनि रमाइलो सगैँ खर्च बढिरहेको छ । किसान घर खर्च धान्न नसकेर दिनमा १० चोटी आफ्नो टाउँको समाउँछन । ऋण सरसापटी गर्ने ठाउँ छैन । सबै उस्तै छन । यतिवेला बैंकहरुले पनि ऋण नदिने समस्याले दिनमा १० चोटी एकोहोरीन्छन, १० चोटी छट्पटाएर टाउँको समाउँछन । यही समस्याले गर्दा धेरै किसानहरुले आत्महत्याको प्रयास गरेको बुझिएको छ ।

उद्धोग कलकारखाना चलाउने व्यापार व्यावसायीहरु पनि त्यति धेरै चलायमान छैनन । पुराना गाडी जस्तै, विस्तारै धेरै धुवाँ फालेर जबरजस्ती कुदिरहे जस्ता छन । ग्राहकको क्रम क्षमता कमजोर भएका कारण कम उत्पादन, कम विक्रि वितरण भइरहेको छ ।

घरभाडा, विजुली पानीको विल, बैंकको किस्ता, कामदारहरुको ज्याला, घरमा पौष्टिक खानाको व्यवस्था, बच्चाको पढाई खर्च, औषधि उपचारका लागी तयारी खर्च, अन्य खर्च आदि सबैको व्यवस्था मिलाउँदा ओठँ मुख सुक्यो, तालु खुइल्यो । शुरु-शुरुका १५ दिन, १ महिना, २ महिना सम्म मिठा-मिठा परिकार बनाउदै, फेसबुक, ट्विटर, युट्युब हेर्दै हास्दै, टिकटकमा अभिनय गर्दै, तास र मदिरामा व्यस्त उद्धोगी, व्यापारीहरुका आजका आम्दानी कम र खर्च बढि देखिदैछन, आर्थिक अवस्था कमजोर हुदैछ । दोहोरी साझ, रेष्टुरेन्ट एण्ड बार, डान्सबार तथा क्लब चलाउनेहरु पुरै ठप्प छन । मालिक, कलाकार, कामदार निन्याउरो मुख बनाई सलबलाइ रहेका छन । ठुला- ठुला तारे होटलहरु, फिल्म हलहरु, गित गाएर नै चम्केका गायक-गायिकाहरु, नृत्यकारहरु, हास्यव्यंगहरु, कथा पुराण वाचन गर्नेहरु र तिनीहरुका कलाकार टिमहरु सबै टाट पल्टेका छन ।

सबैका आर्थिक अवस्था कमजोर भएका कारण तिनीहरुको जिवनशैलीमा समस्या हुदै गइरहेको छ । लकडाउन अवधि अघि विहान उठे देखी राती ९।१० बजे सम्म काममा व्यस्त रहने परिवारसंग पनि राम्रो संग बोल्न फुर्सद नभई एकोहोरो मेसिन झै चलेकाहरु आज कैदि जस्तै घरभित्रै परिवारसंग मात्रै बसिरहँदा थाकेर सुत्छन फेरि उठ्छन । मोवाइलमा फेसबुक मात्रै चलाउनेहरुले थप ट्विटर,इमो, युट्युव, पपजी चलाउने गर्छन त्यस्तै म्यासेन्जरमा लामा- लामा कुरा गर्ने, लामा-लामा स्टाटस राख्ने गर्न थालेको देखियो । यसले गर्दा खर्च बढेर, बैंक व्यालेन्स सकिएर, जाँगर घटेर आएको देखिन्छ । अहिले यीनीहरु यो अवस्थालाई गम्भिर भएर सोच्न थालेका छन । एकोहोरीन थालेका छन । त्यसैले आत्महत्याको प्रयास गरिरहेका छन ।

मेरै आखा अगाडि अत्यन्तै गरिब परिवारका सन्तानका बालबच्चाहरु, दिर्घरोगीहरु, वृद्दहरु विरामी हुँदा रु३५० सम्म गाडीभाडा तिरेर पुगिने ठाउँमा रु १५००० सम्म तिरेर जिप रिर्जभ गरेर विरामीहरुलाई अस्पताल पुर्याउनु पर्ने अवस्था अहिले आएको छ । अस्पतालका दवाइपानी खर्च, खान बस्न, आउन जान पुगेर पनि बच्ने पैसा सबै गाडिलाई दिनुपर्छ । अझ हवाइजहाजमा पुर्याउनु पर्ने अवस्थाका दुर्गम क्षेत्रका विरामी परे अझ के चाल हुने हो ? ऋणको भारले घरका अभिभावक, चिन्तै चिन्ताले थप रोगी बन्छन । घरको एउटालाई उपचार गरेर थला परेका एकजना अभिभावक विरामी पर्दा समेत उपचार गर्न जान मानेन बरु मर्छु तर सन्तानलाई ऋणको भारमा डुबाउन्न भनेर भन्छन । यस्तै यस्तै हजारौ परिवार छन हाम्रो नेपालमा यी र यस्तै समस्याले गर्दा आत्महत्या गर्ने सोच बनाइरहेका छन ।

अहिले यो माहामारी कोभिड १९ ले सम्पुर्ण विश्वको मुटु हल्लाएको छ । राजनितिक व्यक्तित्व, उच्च पदस्थ कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई समेत यसले छाडेन । रोगीहरु आइसोलेसन, आइ सियुमा छट्पटाइरहेका छन । स्वास्थ्यकर्मीहरु डराइ-डराइ उपचार गर्न लागि परिरहेका छन । आफ्नै घरपरिवारका सदस्यहरु समेत कोरोना लागेर मर्दा आफ्नो जातकर्म, रितिरिवाज,  संस्कार अनुसार अन्तेष्टि गरिएको छैन । ७ अर्व मानिसहरु घरभित्र जेलमा थुनिए झै बस्नुपरेको छ । सबैका हातहरु बाँधिएका छन । खर्चहरु बढिरहेका छन । कर्मशिल हातहरु चल्न पाए पो उत्पादन हुन्छ । उत्पादन बढे आम्दानी हुन्छ ।

आम्दानी भए जिवन धानिन्छ, संसार धानिन्छ । यै चालाले संसार नथामिने भयो । भोक, खर्च, रोग, अशान्ती बढिरहने भयो । यसैमा सम्पुर्ण विश्वको चिन्तै चिन्ताले गर्दा आत्महत्याको प्रयास भइरहने भयो । हे प्रभु ! छिट्टै परमात्मारुपी डाक्टरहरु, अन्वेषकहरुको चिन्मय आत्मा खुलोस, औषधिहरु, भ्याक्सिनहरु छिट्टै पत्ता लागुन । नत्र भने यो विश्वमा केही कोरोना भाइरसमा झुन्डिनु पर्ने त, कोही अभाव र समस्याले आत्तिएर डोरीमा झुन्डिने भए ।  केही सम्पन्न विकसित राष्ट्रहरु र सम्पन्न धनि व्यक्तिहरुमा यसको प्रभाव ढिलो होला । किनभने उनिहरु संग चन्द्रमा सम्म पुग्ने खुबी छ । पहिले नै जग्गा समेत किनेर राखेका छन उतै बस्लान । पृथ्वीमा बस्नेहरु सबै PPE ड्रेसमा सुरक्षित रहलान ।

आर्थिक अभाव हुदै हुन्न उनीहरुलाई । विकसित राष्ट्रहरु बम वारुद आणविक हतियारहरु थुपार्ने खुवी भएकाहरु उनीहरु हरेक कुराहरुबाट सुरक्षित रहेको गौरव गर्दछन । मैले अड्कल गरेको सोचेको परिस्थिती आउदै नआओस प्रभुसंग प्राथना छ । यदि यही गतिमा कोरोना रोगीहरु बढि रहे भने, ६ महिना सम्म भ्याक्सिन नबनेर थुनिरहनु पर्यो भने निम्न वर्गका मानिसहरुमा यसको प्रभाव पर्ने छ । १ वर्ष सम्म रहि रहे मध्यम वर्ग प्रभावित बन्ने छन । १ वर्ष भन्दा वढि यहि अवस्था रहिरहे उच्च वर्ग, विकसित राष्ट्रहरु पनि आत्महत्याको प्रयासमा लाग्नेछन ।

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया

सर्वे भद्राणी पथ्यन्तु माकश्चित दु:ख भागवदे ।।

(मा.वि. शिक्षक, गंगालाल मा.वि., स्याङ्जा)

Facebook Comments Box
TOP