विकास : भ्रम कि आवश्यकता ?

मुक्तिनाथ खनाल :

विकास भनेको सकारात्मक र गुणात्मक परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकासलाई साधरणतया आर्थिक वृद्धिको पक्ष सँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ । कुनै पनि वस्तु, सेवा वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने सकारात्मक परिवर्तनलाई नै विकास भनिन्छ ।  यो विगत वा अघिल्लो भन्दा गुणात्मक रूपमा नै फरक हुन्छ अर्थात् वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो । यो एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने प्रक्रिया हो । यसले पुरानो विशेषता, बुझाइ, गराइ, भोगाइ र मनोविज्ञानलाई पनि रूपान्तरण गर्छ । यसमा राजनीतिक, विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास, मनोवैज्ञानिक विकास, भौतिक पूर्वाधार विकास, प्राविधिक विकास लगायतका समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छन । यसैको समष्टिगत स्वरूप नै विकास हो ।

एडम स्मिथको समयदेखिनै विकासलाई आर्थिक आयामसंग जोड्ने परम्परा रहेको छ । दोस्रो विश्व युद्ध पछि यस अवधारणालाई अझ महत्वपूर्ण ठानिएको हो । यस अवधारणाले आर्थिक विकास र गुणस्तरीय जीवन मूलतः आर्थिक पूँजी र प्रविधिको उपज हो भन्ने मान्दछ

सन ५० को दशक पछि मानव पूँजीको अवधारणा विकसित भयो । यस अवधारणाले आर्थिक विकासको अवधारणालाई अस्वीकार गर्दैन तर आर्थिक विकासमा मानवको स्वास्थ्य शिक्षा, सीप जस्ता मानव पूँजीलाई बढी महत्व दिन्छ । किनभने शिक्षित स्वस्थ र सीपयुक्त जनसङ्ख्याले आर्थिक विकासमा योगदान गर्दछ।

राष्ट्रिय आयमा वृद्धिले पूँजी र लगानीमा वृद्धि भइ रोजगारी बढछ जसले सबै मानिसको कल्याणमा वृद्धि हुन्छ भन्ने पूजीवादी अवधारणा आंशिक रुपमा मात्र सफल रह्यो ।

आधारभूत आवश्यकता सन ७० को शुरुमा यस अवधारणाको विकास भयो । राष्ट्रिय आयको वृद्धि, आर्थिक समानता लक्ष्य नभएर मानवीय कल्याण प्राप्त गर्ने साधन हो ।यी दुवै कुरा भए पनि मानिस आधारभूत आवश्यकताबाट वंचित भएको हुन सक्छ ।त्यसैले मूलकुरा भनेको मानिसका आधारभूत आवश्यकताहरुको परिपूर्ति हो। यस अन्तर्गत खाद्यान्न, लत्ता कपडा, आवास, शिक्षा, सामाजिक सुरक्षाको न्यूनतम प्राप्ति लाई आधार मानियो । तर अल्पविकसित मुलुकहरुमा उपर्युक्त लक्ष्यहरुको सन्तोषजनक रुपमा प्राप्ति भएन । तसर्थ जीवनको गुणस्तरीयताको नाप यस आधारमा हुन सकेन ।

आर्थिक उदारीकरण स्थानीय अर्थतंत्र र बजार व्यवस्थालाई विश्व अर्थतंत्रसंग समायोजन गर्दै बजार व्यवस्था माथि सरकारी हस्तक्षेप बन्द गरेर आर्थिक वृद्धि हुन सक्ने मान्यता यसको अवधारणा रहेको छ ।

मानवीय विकास कुनै पनि मुलुकको वास्तविक धन भनेका त्यहाँका महिला र पुरुष हुन र विकासको उद्देश्य यस्तो वातावरणको सृजना गर्नु हो जसमा जनता स्वस्थ, दीर्घायु र रचनात्मक हुन सक्छन । भौतिक र वित्तीय धनको लालसामा यो महत्वपूर्ण सत्य ओझेलमा पर्छ । राष्ट्रिय आय तुलनात्मक रुपमा कम छ तर मानिसको जीवनको गुणस्तरीयता उच्च रहेको छ । यो अवधारणाकेहि नयाँ हो । यसले मानवीय विकास र गुणस्तरीय जीवनलाई आर्थिक विकासको आधार मान्दछ । यस अवधारणालाई के कारणले पनि वैज्ञानिक मानिन्छ भने यसमा आर्थिक विकासका अन्य सूचकहरु, प्रति व्यक्ति आय, शिक्षा, स्वास्थ्य आदि कुराहरु पनि समायोजित गरिन्छ । साथै गुणस्तरीयताको संख्यात्मक नाप गरिने भएकोले यो सूचक अन्य भन्दा बढी वैज्ञानिक छ ।

विकासले समयको पूर्णरूपमा पालना गरेको हुनुपर्छ भने यसले तोकिएको समयमा तोकिएका भैतिक, वित्तिय लक्ष्य प्राप्तिका लागि समयवद्द रुपमा प्राकृतिक स्रोत साधन, मानव साधन, पूँजी, सूचना र प्रविधिको अभ्यास गर्ने प्रक्रिया हो । जसले मानविय मूल्य, मान्यतामा ठोस योगदान पुर्याएको, मानिसको जीवन यापनमा सहजता, सरलता प्रदान गरेको, दैनिक आवश्यकताका साथसाथै दीर्घकालिन रूपमा मानिसका सबै पक्षलाइ सकारात्मक परिवर्तन गर्ने मार्ग प्रशस्त गरेको, मानिसको प्रत्येक पाइलामा उसका समग्र पक्षहरूलार्इ समेट्ने गरी मूल्य अभिबृद्दि गर्नु नै विकास हो ।  

विकासका लागि योजना, कार्यक्रम र परियोजनाहरूको आवश्यकता पर्दछ । यी सबै पक्षलाइ समयबद्दरूपमा कार्यान्वयन गर्नु नै विकास हो । विकास अनुशासन हो, जसअन्तर्गत आवश्यकताको प्राथमिकीकरण गरी उपलव्ध स्रोतसाधनको विनियोजनमार्फत निर्धारित गन्तव्यमा पुग्ने गरिन्छ । त्यो गन्तब्यमा पुग्नका लागि स्पष्ट मार्गको निर्धारण गरिन्छ । त्यो मार्गको हरेक चरणमा सही, पारदर्शी, उत्तरदायी र जवाफदेही रूपमा पूर्णपालनाको सुनिश्चित गरिनु पर्छ । विकासका लागि त्यो व्यवस्थित प्रक्रिया हो, जस अन्तर्गत स्रोत साधन र समयको उपयोगमार्फत राष्ट्रका प्राथमिकतालाई संवोधन गरिन्छ ।

योजनावद्द विकास निरन्तरको प्रक्रिया हो । यसमा देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, मानवीय पक्षको संभावनाका आवश्यकताका र क्षमताका आधारमा राष्ट्र निर्माणमा क्रियाशील हुन्छन् । विकास समयसापेक्ष हुने भएकोले समयसँग सँगै हिड्ने गर्दछ । यसमा मानिसले आफूसँग भएको सम्भावना पत्ता लगाउने, आफ्नो सामिप्यतामा भएका सम्भावनाको पहिचान गर्ने, यसका आधारमा आवश्यकताको सही खाका तयार गर्ने र त्यो आवश्यकतालाइ पूरा गर्नको लागि मानवीय, भैतिक, वित्तिय, सूचना, प्रविधि जस्ता साधन स्रोतको पहिचान र ब्यवस्था गर्ने र  सबै पक्षका आधारमा समग्र स्रोतसाधन एवं क्रियाकलापहरूलाइ कार्यान्वयन गर्नको लागि छरितो संरचना निर्माण तथा प्राथमिकता सहित स्पष्ट मार्गदर्शन निर्माण गर्ने गर्नु पर्दछ । यसलाइ हुबहु कार्यान्यन गरेर तोकिएको समय र स्रोतसाधनको प्रयोग मार्फत लक्षित उपलब्धि हासिल गरी समाजलाइ सकारात्मक रूपान्तरण गर्नु नै विकास हो ।

हामीले योजनाबद्द रूपमा विकासको थालनी गरेको ६४ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले १४ वटा आवधिक योजनाहरूको कार्यान्वयन पूरा गरी अहिले १५ अाै आवधिक योजनाको कार्यान्वयन शुरू भएको छ । यो ६४ वर्षको अवधिमा नेपालले धेरै उपलब्धी हासिल गरेको छ । देशको प्रत्येक गाउँघरमा विधालयहरू खुलेर सबै नागरिकले पढ्ने र लेख्ने मौका पाएका छन । शैक्षिकस्तर बढेको छ । महिलाहरू अधिकार सम्पन्न भएका छन । जातिय भेदभावमा कमी आएको छ । सबै नागरिकमा राजनीतिक चेतना आएको छ । यो अवधिमा नेपाली नागरिक अधिकार सम्पन्न र सार्वभौम नागरिक हुने सौभाग्यता पाएका छन भने नेपालले राजनीतिक संरचाना र प्रणालीमा अति ठूलो उपलब्धी हासिल गरी एक दलिय राजतन्त्रात्मक शासन प्रणालीलाइ बदलेर संघीय गणतन्त्रात्मक मूलुकमा परिणत भएको छ । नेपाल अन्तरराष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति र भनाइ राख्न सक्ने भएको छ भने ठूला र विकसित मूलुकहरूले पनि नेपालबाट सिक्नसक्ने र नेपालले पनि उनीहरूलाइ सहयोग गर्न सक्ने र सिकाउन सक्ने समेत हैसियत बनाएको छ ।

नेपालले योजनाबद्द विकास शुरू गरेको यो ६४ वर्षको अवधिमा धेरै पक्षमा सकारात्मक परिवर्तन र उपलब्धि गरेको छ । यसमा दुइमत छैन । तर यो अवधिमा नेपालले यति धेरै कुरा गुमाएको छ कि त्यो अब कहिल्यै पनि पुन प्राप्ति गर्ने सक्ने छैन ।

नेपालका खेती योग्य र अति सुन्दर भूमिमा अलेसमान भवनहरू बनेका छन । सुन्दर हरियाली वनमा शहर र वस्ति बसेकाछन । यसले नेपाललाइ बाँडेर खाने मुलुकबाट मागेर खाने मुलुकमा रूपान्तरण गरिदिएको छ । यस अवधिमा नेपाल अरू मुलुकलाइ आर्थिक, वित्तिय लगायतका स्रोत साधन दिनसक्ने मुलुकबाट अहिले जसले जति दिन्छ त्यति नै हात थापेर लिएर उसको सेवा गर्ने मुलुकमा परिणत भएको छ । नेपाल खाध्यान्न, लत्ताकपडा लगायतका क्षेत्रमा आत्म निर्भर मुलुकबाट वार्षिकरूपमा खरबौंको खाध्यान्न आयात गर्ने मुलुक भएको छ भने विभिन्न बहानामा लत्ताकपडाका घरेलु तथा साना र ठूला उद्याेगहरू बन्द गरेर र विदेशिहरूलाइ वेचेर करिव करिव १०० प्रतिशत नै विदेशबाट आयात गर्ने मुलुकमा परिणत भएको छ । काठमाण्डौ उपत्यका, तराइ, पहाड र हिमालका फेदमा रहेका सुन्दर, हरियाली फाँटहरूलाइ विकास र शहरीकरणको नाममा भारतका मार्वल र ढुंगाहरू छापेर मरूभूमिमा परिणत गरेको छ भने नेपालका बहुमूल्य वन, जङ्गल, जडिबुटी लगायतका हाम्रा सम्पत्तिहरू तस्करी गराएर वा कौडीको भाउमा विदेशीहरूलाइ हस्तान्तरण गरेर हाम्रो परम्परागत ज्ञान, सीप, क्षमता र प्रविधिलाइ ध्वस्त बनाएका छौं । अब हामी त्यही ज्ञान, सीप र प्रविधि सिक्नलाइ करोडौ खर्च गरेर विदेश जानु पर्ने भएको छ । हाम्रो मूलुकमा उत्पादन हुने वास्मति धान, मार्सी धान लगायत हजारौं हजार प्रकारका वनस्पतिहरूको बौद्दिक सम्पत्तिको अधिकारलाइ विदेशीलाइ सुम्पेका छौं ।

यस अवधिमा हामीले हाम्रा सबै प्रकारका उद्याेगहरू बेचेर र बन्द गरेर नेपाली युवाहरूलाइ बेरोजगार बनाएका छौ र हाम्रा लाखौं लाख बेरोजगार युवाहरूलाइ अरवको खाडीमा निर्यात गरेका छौं र उनीहरूले ५०– ५५ डिग्रीको तापक्रममा रगत र पसिना बगाएर कमाएको विप्रेषण खाएर हामी गौरव गरी रहेका छौ भने बेरोजगार युवाहरू आफ्नो घरपरिवार, जग्गा जमिन त्यागेर रूँदै खाडी मुलुकमा गएको दृश्यलाइ टुलु टुलु हेरेर रमाइरहेका छौ भने रूँदै विदेशिएको युवा काठको बाकसमा फर्केको हेर्न हामी विवस छौ । नेपाली युवाहरू विदेशिनाले हाम्रा गाउँघरहरू बृद्दा आश्रममा परिणत हुँदा, खेतबारी, पाखापखेराहरू बाँझै र उजाड हुँदा, गाउँघरमा मलामी नपाएर महिला, बालबालिकाहरूले यो जिम्मेवारी पूरा गरेको हेर्दा हामी नेपाली र हाम्रो सरकार गौरवान्मित छौं र यी सबै दृश्य परिदृश्यलाइ हामी विकास हो भनेर गौरव गर्न पनि पछि परेका छैनौं ।

यो अवधिमा हामीले हाम्रो भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व, लवाइखुवाइ, कला, कौशल, आदि सम्पूर्ण कुरा गुमाइसकेर करिव करिव नाङ्गै भएका छौं । अहिले हामीले हाम्रा पुर्खाले सिर्जना गरेका पेशा अपनाउँदा, उनीहरूले प्रयोगमा ल्याएका कपडा लगाउँदा, परम्परागत शैलीमा बनाएका खानाहरू खाँदा र नेपाली भाषा बोल्दा पाखे हुने भएका छौं । तर अंग्रेजी बोल्दा, विदेशीको धर्म, भाषा, संस्कृति, परम्पराको अनुसरण गर्दा भने हामी गौरव गर्ने र  सभ्य हुने भएका छौं । हामी हाम्रा पूर्खाहरूले सिर्जना गरेको गौरवपूर्ण इतिहासलाइ विर्सेर विदेशीको गुनगान गाउन, उनीहरूको भाषा, धर्म, संस्कृतिलाइ अनुसरण गर्न अग्रसर छौं ।

हाम्रा नेताहरू, विद्वान, धनीमानी, उच्चपदस्थ ब्यक्तिहरू लगायतले आफ्ना सन्ततिहरू विकसशित मुलुकमा गएर बसेको, रोजगारीमा गएकोमा आफूलाइ भाग्यमानी ठान्ने र आफ्नै देशमा केही गर्न नचाहने मानसिकता मानसिकताको विकास गर्न सक्षम भएका छौ । यतिमात्र हैन ठूलाबडा शक्तिशाली ब्यक्तिहरूलाइ जे गर्दा पनि छुट हुने तर गरिव, असहायले कहीं पनि ठाउँ नपाउने खालको संरचना, नीति, रणनीति, कार्यनीति आदि बनाउन र अपनाउन पनि सक्षम भएका छौ । सायद विकास भनेको यही हो भनेर बुझ्न पनि हामी पछि नपर्ने अवस्थामा पुगेका छौ ।

हामीले हाम्रा उत्पादनहरूलाई आधुनिकीकरण र विकास नाममा विषमा परिणत गर्यौं । कृषिका हरेक उप्तादनलाई बेमौषमी उप्तादनका नाममा होस वा चाडो र धेरै फलाउने नाममा होस वा धेरै धेरै भन्दा धेरै उत्पादन र कमाउनेका नाममा होस हामीले मानव जाति र सबै प्रकारका जीवका लागि तत्कालै र दीर्घकालमा हानिपुग्ने खालका विषादीको अत्यधिक प्रयोगमा केन्द्रीत भयौं । हामी हाम्रो समग्र पर्यावरणमा खेलवाड गर्न केन्द्रीत भयौ । यसले कृषक र त्यस क्षेत्रमा लागेका ब्यवसायीहरूलाई तत्कालका लागि केही फाइदा दिए जस्तो भयो जस्तो कि सानो बच्चाले आफू सुतिरहेको थाङ्नामा पिसाव गर्दा तातो भएको महसुस गर्छ र केही समयसम्म त्यसमै सुतिरहयो भने उसलाई चिसो लागेर निमोनिया, रूघाखोकी आदिले सताएर ज्यानैसम्म जाने बनाउँदछ त्यसरी नै कृषकहरूका यी कार्यले उनीहरू त रोगी भए भए ती उत्पादनहरू प्रयोग गर्ने तमाम मानिसहरू र घरपालुवा जनावरहरू समेत रोगी हुन पुगे । यसबाट मानिसहरूको उत्पादकत्वमा ह्रास आयो भने उनीहरूलाई स्वास्थ्य उपचारमा घरखेत सबै गुमाउनु परिरहेको छ । राज्यले पनि  यसबाट सिर्जित दीर्घ रोगीहरूको उपचारका लागि प्रत्यक्ष रूपमा वार्षिक अरवौं रूपैया खर्चिनु परिरहेको छ । अप्रत्यक्ष रूपमा भने ब्यक्ति र राज्यको यो लागत गणना गर्नै गाह्रो छ । समग्रमा राज्यलाई अपूरणिय क्षति पुगेको छ र यो क्रम रोकिने सम्भावना पनि छैन ।

त्यसै गरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि हामी र हाम्रो सरकारले विकास र प्रगतिका नाममा नागरिक माथि अति अन्याय गरिरहेको छ । शिक्षा र स्वास्थ्यलाई सबैभन्दा बढी नाफामूलक ब्यापारको रूपमा नीतिगत रूपमै विकास गरिएको छ । यी दुबै क्षेत्रका सरकारी संरचनालाई ध्वस्त बनाएर ब्यापारीहरूलाई सहज बनाइएको छ ।

कलम, कापी, किताव, मासिक शुल्क, यातायात, खाना, खाजा, लुगा, जुत्ता, चप्पल लगायतका सबै क्षेत्रमा आम नागरिकलाई जोगी बनाउने र सीमित व्यावसायीलाई रातोरात धनी बनाउने काम भैरहेको छ । यसका साथै देशभित्रै आफ्ना नागरिकलाई दुई किसिमको शिक्षा दिएर दुई प्रकारको नागरिक तयार गरिरहेको छ र यी दुई प्रकारको नागरिकलाई विक्री गर्ने देश पनि करिव करिव अलग अलग गरेर छ्ट्याएको अवस्था छ । गरिब र सरकारी स्कूलमा अध्ययन गरेका युवाहरूलाई  दलाल मार्फत खाडीमूलुकमा विक्री र धनीमानीका सन्तान र राम्रो निजी विधालयहरू र कलेजमा पढेकाहरूलाई युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका धनी मुलुकहरूमा विक्री गरिरहेको छ । त्यसै गरी खाध्यान्न र अौषधिको उत्पादन, प्रशोधन र विक्री वितरणमा पनि आम नागरिक माथि खेलबाढ भैरहेको छ । गुणस्तरहिन बस्तुहरूको उत्पादन, विक्रि वितरणमा राज्य मुकदर्शक भएको छ । आम नागरिकले स्वास्थ्य उपचार नपाएर र गुणस्तरिय सेवा नपाएर एवं गुणस्तरिय सेवामा  पहुँच नपाएर अकालमा मृत्युवरण गर्नु परिरहेको छ । यी सबै कार्यहरू राज्यले विकासका नाममा उपनाएका सिद्दान्त, लिएका नीतिहरू र नागरिकको उद्यमशील बन्नु भन्दा परनिर्भर हुने मनाेसामाजिक चरित्र सोहीलाई पृष्ठपोषण गर्ने शिक्षा प्रणाली,, याेजना निर्माणमा तथ्य विना विकास योजनाहरू र ततनिकायमा फरक पृष्ठभूमिका जनशक्ति, वस्तुनिष्ठ अनुगमन र मूल्यांकन आदि कार्यान्वयनबाट सिर्जित प्रतिफलहरू हुन ।

विकासका नाममा अर्थतन्त्र र बजेटका स्रोतहरू अर्थ क्षेत्रका मसिहाको हातमा, बन तथा नदीजन्य पदार्थ जति बनका सीमित कर्मचारीको अकर्मण्यताले माफियाका हातमा, यातायात क्षेत्र जति यातायात ब्यवसायी र माफियाहरूका कब्जामा, पूर्बाधार जति आफूलाई अवव्ल ठान्ने प्राविधिकहरू र यस क्षेत्रका सीमित ठेकेदार माफियाका हातमा छन, जग्गा जमिनहरू भूमिसुधार, नापी, मालपोतका कर्मचारी एवं भूमाफियाका हातमा छन । शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्र जति ब्यपारीहरूका हातमा, राज्यका साधन स्रोत, अधिकारहरू ठूलाबडा, राजनीतिज्ञ तथा धनीमानीहरूका हातमा छन । गरिव, असहाय, निमुखा जतिका लागि भने ५०–५५ डिग्रीको गर्मीमा खाडीमुलुकमा श्रम गर्नका लागि मात्रै हो?? राज्यको खरवऔको लगानीले आजका दिनसम्म सरकारको नीति, रणनीति, कार्यक्रम र कार्ययोजनाले यो भन्दा अरू के काम गर्न सकेको छ र अबका दिनमा पनि यही गर्ने त होला ??

तसर्थ, विकास भनेको आम नागरिकको सेवा, सुविधा र लोक कल्याणका लागि हुनु पर्ने हो । विकासले सबै नागरिकलाई समानरूपमा हेर्नु पर्ने हो । विकासले सबैका लागि समान अवसर र पहुँच सिर्जना गर्नु पर्ने हो । तर नेपालले विगत ६४ वर्षमा विकासका नाममा लिएका नीतिहरू, रणनीतिहरू, कार्यक्रमहरू, आयोजना छनौट र कार्यान्वयन आदिलाई शुक्ष्मरूपमा अध्धयन र विश्लेषण गर्दा नेपाल र नेपालीको कल्याणका लागि भन्दा पनि विदेशीहरूको नीति र रणनीतिलार्इ परिक्षण गर्ने, नेपाल र नेपालीको भाषा, धर्म, संस्कृति, परम्परा, सीप, कला, कौशलता आदिको विनास गर्ने र विदेशीलाई सुम्पने, देशमा उधोगधन्दा बन्द गराएर युवाहरूलाई खाडीमुलुकहरूमा बेच्ने, हरेक क्षेत्रमा नागरिकको हीत विपरित मात्र कार्य गरेर आम नागिरकको स्वास्थ्य, सुरक्षामा खेलवाड गर्ने, राज्यको अस्मिता माथि खेलबाड गर्ने, भ्रष्टचार र अनियमिततालाई बढावा दिने, हुने र नहुने वर्गविचमा खाडल तयार गरी भेदभाव गर्ने, धनी र शक्तिशाली ब्यक्तिहरूको इच्छा र आवश्यकताका नीतिहरू बनाउने, राजनीतिलाई ब्यवसायको रूपमा विकास गरेर स्वार्थ पूरा गर्ने आदि मात्र भएका छन । यी तमाम कार्यलाई विकास भन्ने हो भने विनास चाहि के लाई भन्ने? हाम्रा यिनै क्रियाकलाप र नीतिले साँच्चिकै जनाताका लागि कल्याण दिन सक्ला? स्मरण रहोस् यी कार्यले नेपाल र नेपालीको कहिल्यै कल्याण गर्ने छैन । सधै विनास, अस्थिरता र असुरक्षामात्रै दिने छ ।

(लेखक खनाल स्वास्थ्य मन्त्रालयका उपसचिव हुनुहुन्छ ।) –[email protected]

Facebook Comments Box
TOP