हाम्रा नेता

प्रकाश कुमार सिग्देल :

हामीलाई चाहिन्छ तिमी पाँच वर्षमा छिन छिन

तर तिमीलाई हामी पाँच वर्षमा एक दिन

चुर्लुम्मै डुबेनि फाेहाेराे राजनीतिकाे अाहालमा

लाग्दाे रहेनछ तिमीलाई अलिकति पनि घिन

सृष्टि हुँदै उपहारमा पायाै अजिवकाे छाला

जति चिमटाै जे गराैं केहिले छुदैन ज्यान जाला

कुर्सिकाे लागि फलाम नैं पचाउँने शक्ति छ तिमीमा 

त्यहाँ पुग्न नैतिकताकाे अन्त्येष्टि, मानवतामा राेप्नैपर्छ भाला 

कुर्सीकाे गरिमा तिमीले बिगार्याै या कुर्सीले तिमीलाई

तिम्रै कारण साधु सन्त बिग्रन्छन्, टुक्रन्छन् दाजु भाइ

उन्मत्त हात्तीकाे पारा, संसार सारा मेरै हुन कमारा 

भनी  हिड्ने तिम्रै कारण जनता छन् त्राही-त्राही

हाम्लाई चाहियाे रासन चाहिदैन भाषण, साेच हाम्रा लागि

कहिलेसम्म बाल्ने चुल्हाेमा अागाे छिमेकीसँग मागी मागी 

छिमेकीसँग सधैं कति गुहार बेला अायाे फेर्ने देशकाे मुहार, 

धुनुछ कर्तुत, बन्नु छ मजबुत, किन बन्ने जन्ता अघि दागी हिजाे हामीले जसाेतसाे तिमीलाई जिताएर पठाएकै हाे 

पुलुक्क हेरेनाै तिम्राे सवारीले घरछेउ धुलीमण्डल भाे 

किनकी अहंकारी अाँखामा मालिकपनकाे चश्मा छ

अन्त नजर किन लाउनु, लाउने हाे नजर फाइदा जस्मा छ  

परार साल अर्कै पाटीमा थियाै 

पाेहाेर साल अर्कै पार्टीबाट उम्मेदवारी दियाै

अहिले अर्कै पार्टीको लागि टिकट लियाै 

तैपनि हामीले तिम्राे  व्यक्तिगत स्वार्थलाई 

किमार्थ बाल दिएनाै, जितायाैं, जिताइरह्याैं

अर्काे चुनावमा अाऊ तिमीलाई यसरी नैं

जीतकाे पगरी गुथाएर पठाउँला

किनकी तिमीले भाषण गर्दा भन्ने गर्छौ 

“लाेकतन्त्रकाे सुन्दर पक्ष भनेकाे चुनाव हाे

याे नै नागरिककाे अधिकारकाे ख्वाव हाे 

अमूल्य मतकाे सदुपयाेग गराैं जनाव हाे”

बस् यति थाहा छ मलाई

याे भन्दा अरु केही थाहा छैन 

त्यहि भएर चुनावमा भाेट दिएर पठायाैं

देशकाे प्रतिनिधिको रुपमा खटायाैं

देशकाे लागि केही हाेला भनेर

तर अाशाकाे त्यान्द्राे चुडाइछाेड्याै

बस् गर्याै त तिमीले

अाफ्नै लागि, घर जाेड्याै

बैंक ब्यालेन्स जाेड्याै 

देशकाे ढुकुटी रित्याएर छाेड्याै,  

चप्पल चुडेकाे बेला, मेराे घरमा अाउँदा

डाेरीले फिता गाँसेर लगाई हिडेकाे

ससुराली जाँदा मेरा जडाैरी लुगाले

इज्जत ढाकेकाे बिर्सियाै हाेला

तर मैले बिर्सेकाे छैन, किनकि म उहि ठाउँमा छु 

उहीँ झुप्राेमा अनि उहि गाउँमा छु 

इमान इज्जत जाेगाएकाे 

एक वफादार नागरिककाे नाउँमा छु ।

वालिङ-७, केवरे भञ्ज्याङ, स्याङ्जा

Facebook Comments Box
TOP