कोरोनासँग यसरी सतर्क छ स्याङ्जाको फेदीखोला गाउँपालिका
विश्वभर महामारीको रूप लिइरहेको (कोभिड– १९) कोरोना भाइरसका कारण सरकारले लडकडाउन घोषणा गरेको आज एक महिना भएको छ । लकडाउनका कारण यतिबेला देश ठप्प छ ।
सरकारले आमनागरिकका लागि गर्नुपर्ने कामहरू व्यवस्थित गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । संघीय सरकार मात्र होइन प्रदेश र स्थानीय सरकारको भूमिकासमेत प्रभावकारी हुन सकेको देखिँदैन ।
लकडाउनका कारण कम आय हुने, दैनिक कमाएर जीवन धान्नुपर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगको औषधि खानुपर्नेहरू बढी समस्यामा परेका छन् । उनीहरूले आफूहरू समस्यामा परेको गुनासो गरिरहे पनि सम्बोधन हुन सकिरहेको छैन । किसानले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पुग्न नसक्दा खेर गइरहेको छ । सरकारले बजारसम्म पुर्याउन ‘सप्लाई चेन’ व्यवस्थित गर्न सकेको छैन ।
तर, स्याङ्जाको फेदीखोला गाउँपालिकाले भने यी सबै कुरामा गज्जबको व्यवस्थापन गरिरहेको छ । गाउँपालिकाले किसानको उत्पादनको बजारीकरण गरिरहेको छ । राम्रो क्वारेन्टाइनको व्यवस्था गरेको छ, प्रभावकारी परीक्षण विधि अपनाएको छ । अहिलेको संकटसँग जुध्ने मात्र होइन भविष्यमा आउन सक्ने बेरोजगारीलगायत समस्यासँग जुध्नसमेत योजना बनाइसकेको छ । आउनुस् सोही गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका कुरा सुनौं :
कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिका प्रमुखको अध्यक्षतामा उच्चस्तरीय संयन्त्र निर्माण गरेको छ । प्रत्येक वडामा त्यस्ता संयन्त्र बनाइएका छन् । गत चैत ९ गतेबाट स्याङ्जा र कास्की जिल्ला जोड्ने सिमाना कुभिन्डे भञ्ज्याङ भन्ने ठाउँमा हेल्थ डेस्क निर्माण गर्यौं । त्यहाँ आउनेलाई स्यानिटाइजर स्प्रे र थर्मगनका माध्यमबाट ज्वरो जाँच गरी मात्रै गाउँपालिका प्रवेश गर्न पाउने नियम बनाएका छौं । त्यसरी अहिलेसम्म ३७ हजारले गाउँपालिका प्रवेश गरेका छन् ।
गाउँपालिकाको स्काउटको टोली, रेडक्रस, त्यसैगरी गाउँपालिकाले अर्को स्वयंसेवी दल बनाएर नाकाहरूमा आउने यात्रुलाई आन्तरिक पासको व्यवस्था गराएका छौं । जिल्ला अथवा अन्य स्थानको हकमा जिल्ला प्रशासन कार्यालयले गर्ने भन्ने छ । अर्को कुरा, हामीले क्वारेन्टाइनको व्यवस्था गरेका छौं । हाम्रो गाउँपालिकामा ७० बेडको क्वारेन्टन्इनको व्यवस्थापन गरिएको छ । गाउँपालिकाकै केन्द्रमा ३० बेडको क्वारेन्टाइन छ ।
चैतको ४ गते १९ वर्षीय युवतीसँगै कतार एयरलाइन्समा फ्रान्सबाट आएर कोरोना संक्रमित भएकी युवतीसँगै आएका अर्का एक पुरुषको परिवारलाई ल्याएर क्वारेन्टाइनमा राख्यौं । धादिङको एक युवालाई कोरोना भाइरस पोजेटिभ भेटिएको थियो । उहाँहरूसहित अरू यात्रु गरेर हामीले चैत ६ गते ३६ जनालाई क्वावारेन्टाइनमा राख्ने व्यवस्था गर्यौं । उहाँहरूको दुई पटकसम्म पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आयो । त्यसपछि हामीले सबैको आरडीटी परीक्षण गर्दा पनि नेगेटिभ नै आएपछि घर पठायौं ।
पछिल्लो समय विदेशबाट ४६ जना आएकामा १४ जनालाई क्वारेन्टाइनमा राख्यौं । बाँकीलाई आफ्नै घरमा सुरक्षित रहने गरी पठायौं । दैनिक एकपटक स्वास्थ्यकर्मीहरू उनीहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरे । सबैको आरडीटी परीक्षण पनि नेगेटिभ आइसकेको छ ।
खाना-खाजा र वाईफाईसहितको क्वारेन्टाइन
क्वारेन्टाइनमा रहेकाहरूलाई बिहान खाजा, खाना, त्यसपछि फेरि खाजाको व्यवस्था गरेका छौं । उहाँहरूलाई पढ्न लाइब्रेरी र फ्री वाईफाई जोनलगायतको व्यवस्था गरेका थियौं । बेडहरू पनि एकदम राम्रो थियो । क्वारेन्टाइनमा रहेका प्रत्येक व्यक्तिलाई सम्पर्कका लागि बाकीटकीको व्यवस्था गरेका छौं । एउटा कोठाबाट अर्को कोठामा सम्पर्क गर्नुपर्दा बाकीटकीमार्फत गर्ने व्यवस्था गरेका थियौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि बस्न छुट्टै व्यवस्था मिलाइएको थियो ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सामाजिक दायित्व वहन गरी गाउँपालिकालाई र कोभिड १९ विरुद्धमा सपोर्ट गरेकामा प्रोत्साहन भत्ताको व्यवस्था गरी उहाँहरूलाई गाउँपालिकाले नै गाडीमा घरघरसम्म पुर्याउने काम गर्यौं ।
त्यसैगरी बजारमा कोभिड १९ को संक्रमणबाट बच्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीको समस्या देखिएपछि स्थानीय रूपमै ल्याब टेस्ट गरी ८० लिटर स्यानिटाइजर, डिसइन्फेक्सन स्प्रे ५० लिटर तयार पार्यौं । डब्लुएचओकै कोड अफ कन्डक्टभित्र रहेर स्थानीय टेलरहरूको प्रयोग गरी मास्कहरू बनाएर स्थानीय जनतालाई वितरण गर्ने काम पनि गाउँपालिकाले गरेको छ ।
खाद्य व्यवस्थापन सफ्टवयेर, कृषि एम्बुलेन्सको व्यवस्था
गउँपालिकाले फुड म्यानेज्मेन्ट सिस्टम सफ्टवयेर निर्माण गरी २७ पसललाई एकीकृत गरी खाद्य व्यवस्थापन प्रणालीलाई सञ्चित एवं वितरण गर्ने कार्य अघि बढाइएको छ । इन्टरनेटको माध्यमबाट भिड नगरी घरमै बसेर खाद्यान्न अर्डर गर्ने सिस्टम निर्माण गरी प्रत्येक वार्डका सचिवलाई एक–एक एडमिन प्यानल दिएर कार्ड नै पठाएर प्रत्येक पसलमा कुन ग्राहकलाई कति सामग्री कुन ठाउँबाट उपलब्ध गराइदिने भनेर मोवाइल सिस्टम विकास गरेका छौं । प्रविधिको सहज पहुँचमा नरहेका मानिसका लागि हामीले कुपन सिस्टमबाट खाद्यान्न व्यवस्थापन गर्यौं ।
लकडाउनका प्रभावले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री बिक्री हुन छाड्यो । त्यसमा ध्यान केन्द्रित गरी गाउँपालिकाले आफ्नै एउटा सरकारी गाडी र अर्को गाडी भोलेन्टियरका रूपमा माग गरी ती गाडीलाई कृषि एम्बुलेन्सका रूपमा सञ्चालन गरेका छौं । जसले किसानका उत्पादन खेर जानबाट जोगिएको छ । जसरी मानिस बिरामी हुनासाथ अस्पताल लैजानुपर्छ त्यसैगरी किसानको पनि खेर जानुभएन । यसलाई हामीले बजारीकरण गर्यौं ।
लकडाउनका कारण बाहिरको उत्पादन यहाँ आउन नसकेका बेला पनि यहाँको स्थानीय बजारमा पनि हाम्रै उत्पादन जाने भयो । पोखरा महानगरपालिकालाई र स्याङ्जा जिल्ला सदरमुकामलाई पनि यहाँका किसानका उत्पादन पुर्याएर बजारकै मूल्यमा बेच्ने व्यवस्था मिलाएका छौं । एउटा किसानको पनि उत्पादन खेर जान दिएका छैनौं । किसानले उत्पादन गरेका कृषि सामग्रीहरू पहिले गाउँपालिकाले किसानहरूसँग किन्छ र त्यसलाई गाउँपालिकाले नै तोकिएका विभिन्न स्टलमा पुर्याउने र कुपन सिस्टमबाट भौतिक दूरी कायम गरी त्यसको बिक्री गरिदिने गरेको छ ।
यात्रुका लागि मेसको व्यवस्था
फेदीखोला गाउँपालिकामा सिद्धार्थ राजमार्गको १२ किलोमिटर पर्छ । पोखरा महानगरपालिकामा काम गर्न आएका श्रमिकहरू, दमौली, गोरखादेखि थुप्रै मानिस यो बाटो भएर दाङ, कैलाली, बर्दिया, प्युठान जानेहरू हुन्छन् । ती यात्रुका लागि गाउँपालिकाले करिब १ सय ५० जनासम्मको मेस सञ्चालन गरी खाना खुवाउने व्यवस्था मिलाएका छौं । खाना खुवाइसकेपछि प्रशासनसँग समन्वय गरी यातायातको व्यवस्थापनसँगै गन्तव्यसम्म पुर्याउन पनि थालेका छौं ।
बिरामीलाई घरमै औषधि
गाउँपालिकाले अहिले दुई एम्बुलेन्स चलाइरहेको छ । डाइलोसिसको समस्या भएको, मुटु रोगको समस्या भएको मानिसका लागि अत्यावश्यक स्वास्थ्य सेवा निम्ति भनेर पास लिएर काम गरिरहेका छौं । यहाँको बिरामी लिएर दुईपटक भक्तपुर पुग्यौं । उपचार गरेपछि लिएर पनि आयौं । अनि यहाँ नपाइने औषधि काठमाडौं गएर किनेर ल्याएर यहाँ जनतालाई बाँड्ने काम पनि हामीले गरिरहेका छौं । यो काम अति प्रभावकारी भइरहेको छ ।
अर्कोचाहिँ, ज्येष्ठ नागरिक केयर सिस्टम बनाएका छौं । ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार भनेपछि यो प्रत्येक महिनाको ५ दिन जति घरघर पुगेर स्वास्थ्यकर्मीहरूले उहाँहरूको स्वास्थ्य अवस्था परीक्षण गरेका छौं । यसरी अहिलेसम्म १ हजार ७११ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिसकेका छौं । उहाँहरूलाई परामर्श र निःशुल्क दिनुपर्ने औषधि दिएका छौं । पीपीई लगाएर लकडाउनमा पनि स्वास्थ्यकर्मीहरूले यो काम गरिरहनुभएको छ ।
त्यसैगरी बिरामीका लागि अत्यावश्यक औषधोपचरमा कमी नहोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रकै कर्मचारीको संलग्नतामा ३ जनाको औषधि व्यवस्थापन समूहसमेत निर्माण गरिएको छ । उनीहरूका लागि गाउँपालिकाले नै मोटरसाइकलको व्यवस्था मिलाइदिएको र बिरामीको फोन आएपछि घरमै पुगेर उनीहरूको रेकर्ड राखी मगाएका औषधि घरसम्मै पुर्याउने काम भइरहेको छ ।
औषधि व्यवस्थापन समूहले हालसम्म ८ सय २४ जनालाई घरमा पुगेर औषधि वितरण गरेको छ । लकडाउनसँगै शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाले ‘अनएअर एजुकेसन सिस्टम’ तयार गरेको र सञ्चालनको अन्तिम चरणमा छौं ।
रोजगार बैंक स्थापना
कोरोनाकै प्रभावका कारण पछिल्लो समय विभिन्न स्थानबाट धेरै मानिस गाउँ फर्किएको अवस्थामा गाउँमा जनसंख्या वृद्धि हुने र बेरोजगारको संख्या पनि बढ्ने भएकाले लकडाउनपछि कसरी त्यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने योजना बनाएर अनलाइन फर्मको व्यवस्था गर्दै छौं । विदेशबाट घर फर्किन चाहनेहरूका लागि उनीहरूले त्यहाँ गर्ने कामलगायत सम्पूर्ण कुरा उल्लेख गरेर केही समयपछि मात्रै गाउँमा प्रवेश गर्न पाउने व्यवस्था मिलाउँदै छौं ।
उनीहरूको रोजगारका लागि युवा रोजगार बैंक कार्यक्रम छ । त्योमार्फत समूहमा लगानी गरी उनीहरूलाई श्रमसँग जोड्ने गरी अघि बढ्न तत्काल ६० लाख रुपैयाँको बजेट तयारीमा राखेका छौं । साभार : बाह्रखरी डटकमबाट
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …