हरितालिका तीज आज

हिन्दू महिला दिदीबहिनीहरूले निराहार व्रत बसी हरितालिका तीज सोमबार मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाउने परम्परा छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्को भनाइ छ । तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आराधना गर्दै महिलाहरू नाचगान र रमाइलो गर्नमा व्यस्त हुन्छन् । हरितालिका तीजको पूजा दिनभर व्रत बसी साँझपख गरिने बागडोलका पण्डित गेहेन्द्रराज अर्यालले बताए । दियो र कलश गणेश थापी बीचमा बालुवाको शिव लिंग बनाएर अथवा शिव पार्वतीको मूर्ति राखेर पूजा गर्ने चलन रहेको उनले बताए । कतैकतै कलशमाथि थाली राखेर ओमकार लेखी पूजा गर्ने पनि चलन पनि छ । तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् । पहिलेपहिले माइतीमा चेलीको भेट त्यत्ति नहुने भएकाले तीजमा बढी माइत जाने गरिएको स्मरण ७५ वर्षीय राधिका उपाध्याय गर्छिन् । ‘पहिलेभन्दा तीजमा धेरै परिवर्तन आर्एको छ, झट्टपट्ट व्रत बस्छन् ,निराहार बस्दैनन् फलफूल, दूध, पानी प्रशस्त खान्छन्,’ उनले भनिन्, ‘अहिले माइत जान तीज नै कुर्नुपर्दैन, पहिले घर व्यवहारका संघर्षका कुरा पोख्न तीज चाहिन्थ्यो ।’
हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथलगायत विभिन्न शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ । त्यस्ता ठाउँहरूमा महिलाहरू भेला भई सांगीतिक एवं नाचगानको कार्यक्रम गर्ने गर्छन् । तीजका दिन कोटेश्वरको कोटेश्वर महादेव, भक्तपुरको डोलेश्वर, साँगा महादेव, ललितपुरका तिलेश्वर, कालेश्वर र सन्तानेश्वर महादेवका मन्दिरका साथै सतीदेवीका अंग पतन भएका शक्तिपीठ र आराध्यदेव महादेवका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । दियो–कलश गणेश थापी माझमा थालीमा शिव पार्वती सम्झेर साँझ हरितालिकाको पूजा लगाउने चलन छ । तीजको व्रत भने भोलिपल्ट गौदान र पूर्णपात्रो गरेपछि मात्र पूर्ण हुने विश्वास गरिन्छ ।

यसपालि हरितालिकाकै भोलिपल्ट सूर्योदय मात्र चौथी तिथि र त्यसलगत्तै पञ्चमी तिथि लाग्ने ज्योतिष पण्डित माधवप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान स्नान गरी गौदान पूर्णपात्रो गरेर उद्यापन गर्ने र त्यसपछि फेरि नुहाइधुवाइ गरी दतिवन लगाउनुपर्नेछ । त्यसपछि पञ्चमी पूजा लगाउनुपर्छ ।
हरितालिकाको पर्सिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ । पञ्चमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यस दिन व्रतसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ । यसदिन बिहानै महिलाहरूले ३६५ वटा दतिवन पनि लगाउने गर्छन् ।
विगतमा हरितालिकाको एक दिनअघि मात्र दर खाने गरिए पनि पछिल्ला वर्षमा राजधानीलगायत मुख्य सहरमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ । भड्किलो खर्च गर्ने र गहनाको प्रर्दशन गरेर रत्यौली प्रवृत्तिका र हिन्दी गीत संगीतमा रमाउँनाले संस्कृतिमा विकृति फैलिएको संस्कृतिविद्को दुःखेसो छ ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मवादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महŒव छ ।

दतिवनको समस्या :

ऋषिपञ्चमीका दिन बिहान नुहाइधुवाइ गर्दा ३६५ वटा दतिवनको प्रयोग गर्नुपर्ने हुन्छ । संस्कार र संस्कृति जीवित रहे पनि दतिवनको अभावमा कत्तिले दतिवनको संख्या पु¥याउन सकेका छैनन् । आयुर्वेदिक हिसाबले उपयोगी दतिवन पञ्चमीका लागि अत्यावश्यक वस्तु हो । पछिल्ला वर्षमा यसको प्रयोगमा मात्र ध्यान जाने तर संरक्षणमा ध्यान नजानाले धेरै अप्ठ्यारो परेको छ । सहरी क्षेत्रमा त कतै न कतैबाट दतिवन पैसा तिरेर पाउने गरिएको छ । एक महिलाले भनिन्, ‘तर ग्रामीण भेगमा दतिवन खोज्न गा¥हो भएको छ ।’

आइतबार राति दर :

यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार व्रतालुहरूले मीठामीठा परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । आइतबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

पशुपति क्षेत्रमा दर्शनार्थीलाई व्यवस्था :

हरितालिका तीजका दिन पशुपतिनाथ दर्शनका लागि विशेष व्यवस्था मिलाइएको छ । लाइनमा बसी दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । दर्शनका लागि पूर्वी ढोका पनि खोलिने कोषले जनाएको छ । वृद्ध अशक्तलाई सुरक्षाकर्मीद्वारा सहज दर्शनको व्यवस्था मिलाइएको र पशुपतिमा सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी ठाँउठाँउमा सीसीक्यामेरा राखिएको छ । सवारी पार्किङका लागि तिलगंगा, गौशाला प्रभाग, कोषको कार्यालय, अमालकोट, सिफलचौरलाई तोकिएको छ । मालवाहक सवारी साधनलाई तीजका दिन पशुपति क्षेत्र वरपर नआई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ । स्वास्थ्य उपचारका लागि र सूचनाका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।

चथा सोमबार नै :

चतुर्थीका दिन चथा पर्वका रूपमा नेवार समुदायले पनि मनाउने गर्छन् । उखु, अदुवा, चथाजस्ता वनस्पतिलगायतका वस्तु चन्द्रमालाई चढाएर चथा पर्व मनाइने चलन छ । कति नेवार समुदायले सोमबार साँझ चथा पर्व मनाउँदै छन् । यो पर्वदेखि नै नेवार समुदायमा दसैं सुरु भएको मानिन्छ । सोमबार बिहान ९ बजेर ७ मिनेटमा तृतीय सकिएर चौथी तिथि लाग्ने र साँझको समयमा पनि त्यही तिथि हुने भएकाले चथा सोमबार नै मनाउनुपर्ने भएको छ । राजधानी दैनिकबाट

Facebook Comments Box
TOP