बुद्धका वाणीमा मैत्री भावना

Loard buddha
लेखक : सुवेदी

युवराज सुवेदी :

पृष्ठभूमि :

भगवान बुद्धका वाणीहरुको अध्ययन गर्दा समस्त प्राणीहरुप्रति मैत्री भावना प्रकट भएको पाइन्छ । बुद्धका शिक्षाहरुमा प्राणीहरुमा मैत्री भावना पैदा गर्ने र त्यसलाई विस्तार गर्ने पुनीत चेष्टा रहेको देखिन्छ । बुद्धले चार ब्रह्मविहारको उपदेश दिँदा, करणीय मेत्त सुत्तमा मैत्री भावनाको उपदेश दिंदा वा मैत्री महिमा सुत्रमा मैत्री भावनाको विविध अङ्ग, स्वरुप, प्रयोग र सुपरिणामको बारेमा बताउनुभएको पाइन्छ । यो शोध आलेखमा मैत्री भावनाको स्वरुप, यसका विविध पक्षहरु र यसको उदात्त विस्तारका बारेमा खोज एवं अनुसन्धान गरिने छ । अध्ययनका क्रममा मानव जीवनमा मैत्री भावनाको महत्ता र गुणानुवाद समेतको साङ्गोपाङ्ग चर्चा गरिने छ ।

मैत्री भावनाको आरम्भ :

मानिस आफ्नो भौतिक आवश्यकता र भौतिक सुखका इच्छाहरु पूरा भएर सन्तुष्ट हुँदैन । उसलाई इन्द्रिय जगतबाट माथि उठेर निर्वाणको अवर्णनीय सुख अनुभूति गर्ने उत्सुकता हुन्छ । बाल्यकालदेखि नै सिद्धार्थ गौतम मैत्री, करुणा इत्यादि गुण युक्त हुनुहुन्थ्यो । एक पटक बाल्यकालमै देवदत्तले वाण हानेको घाइते पन्छीलाई उपचार गरेर सिद्धार्थले जीवन दिएको प्रसङ्ग पाइन्छ । बुद्धो भवेयं जगतो हिताय[1] भन्ने उदात्त भावना समस्त बोधिसत्वहरुको मूलमन्त्र हो । बोधिचर्यावतार नामको विख्यात कृतिमा आचार्य शान्तिदेवले कसरी बोधिसत्वले सम्पूर्ण जगतकै कल्याणका लागि आफ्नो जीवन समर्पण गर्छन् भन्ने सुन्दर पद्यहरुमार्फत बताएका छन् । शान्तिदेव भन्छन्, ‘सम्पूर्ण जगतको आनन्दका लागि, सबैको दुःखको घाउमा मलम लगाउन तत्पर बोधिचित्त उत्पन्न गर्नुको पुण्य कुनै तराजुमा नाप्न सकिंदैन ।’[2] बोधिचर्यावतारमा व्याख्या गरिएका छ पारमिता मध्ये क्षान्ति भावना एक प्रमुख पारमिता हो । सबैप्रति क्षमाशील रहनु र सबैसँग मैत्री भावना विकसित गर्नु यसको आसय रहेको छ । मैत्री र करुणाको भावना सानैदेखि अभ्यास गरेको हुँदा सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि सबै सत्वहरुलाई करुणा बाँड्न सक्षम हुनुभयो । पहिल्यै देखि जुन स्वभाव विकसित गरिएको हुन्छ त्यसको प्रभाव रहिरहन्छ । बुद्धले एक पटक सारिपुत्रको जिज्ञासामा यही कुरा बताउनुभएको थियोः

करुणाको अभ्यास :

भगवान बुद्ध आफ्ना शिष्यहरुसँग भन्नुहुन्थ्यो, ‘बुद्धत्व उपलब्ध हुनुभन्दा पहिला करुणाको भावले ओतप्रोत होऊ ।’ एक दिन सारिपुत्रले सोधे, ‘आखिर यस कुरामा यति धेरै आग्रह किन? किनभने हजुरले बुद्धत्वसँगै करुणा आउँछ भनेको हामीले सुन्दै आएका छौं । यसैले बुद्धत्व उपलब्ध हुनुपूर्व करुणाको भावले भरिनु किन आवश्यक छ? यो त विरोधाभासी जस्तो भयो ।’

गौतम बुद्धले भन्नुभयो, ‘यो कुरा विरोधाभासी जस्तो जरुर लाग्छ तर यसको कारण भिन्न छ । बुद्धत्व उपलब्ध भएपछि जुन करुणा पैदा हुन्छ तिमी त्यसमा अरुलाई सहभागी बनाउन समर्थ हुन सक्ने छैनौ, यदि तिमीले बुद्धत्वपूर्व त्यसलाई बाँड्ने अभ्यास गरेनौ भने । यदि तिमीले आफूलाई अझै पनि अँध्यारो गल्लीहरुमा आफ्नो मार्ग खोजिरहेकाहरुको लागि जीवित रहने अभ्यासमा अनुशासित गरेनौ भने बुद्धत्व प्राप्ति पछि पनि त्यसो गर्न सक्ने छैनौ ।’[3]

कुनै कविले संस्कृत पद्यमा भनेका थिएः जबसम्म शरीर रुपी घर स्वस्थ रहन्छ र बुढ्यौली टाढै रहन्छ, इन्द्रियको शक्ति यथावत रहन्छ, आयु क्षय भइसकेको हुँदैन तबसम्म बुद्धिमान मानिसले आत्म कल्याणको लागि महान प्रयन्त गर्नुपर्छ । घरमा आगो लागेपछि कुवा खन्नुको के अर्थ हुन्छ र ?[4]

अतः उमेर छँदै, शरीरमा शक्ति र जाँगर छँदै मैत्री एवं करुणाको भावनाको अभ्यास गर्नु हितकर हुने तथ्य ज्ञानीहरुले औंल्याएका छन् ।

वर्तमान समाजमा मैत्री भावना भन्नाले आफ्ना नजिकका मानिसहरुप्रति मैत्री भाव राख्नु भन्ने अर्थ लिएको पाइन्छ । वास्तविक मैत्री भावना केवल आफ्ना परिवार या मित्रजनप्रति सीमित हुँदैन । बुद्धले मैत्री भावनाको उपदेश दिँदा यो भावनालाई कतिसम्म बृहत्तर रुपले विस्तार गर्नुपर्छ भन्ने बताउनुभएको थियो । श्रामणेर विनयमा यसप्रकार मैत्री भावना उल्लेख गरिएको छः

मेरा मातापिता, आचार्य र ज्ञाति बन्धु वैरविहीन होऊन्, द्वेषविहीन होऊन्, क्रोध विहीन होऊन्, सुखपूर्वक आफ्नो संरक्षण गरुन् । रक्षा गर्ने देव, भूदेव, वृक्षवासी देव, आकाशवासी देव वैरविहीन होऊन्, द्वेषविहीन होऊन्, क्रोध विहीन होऊन्, सुखपूर्वक आफ्नो संरक्षण गरुन् । पूर्व दिशा, पश्चिम दिशा, उत्तर दिशा, दक्षिण दिशा, तलको दिशा, माथिको दिशा, …दशै दिशाका सबै सत्व, सबै प्राणी, सबै जीव, सबै पुद्गल … वैरविहीन होऊन्, द्वेषविहीन होऊन्, क्रोध विहीन होऊन्, सुखपूर्वक आफ्नो संरक्षण गरुन् । माथि भवाग्रदेखि लिएर तल अवीचि नरकसम्म सबै चक्रवालका थलचर प्राणी जलचर प्राणी र नभचर प्राणी वैरविहीन होऊन्, द्वेषविहीन होऊन्, क्रोध विहीन होऊन्, सुखपूर्वक आफ्नो संरक्षण गरुन् ।[5]  

यदि सबै मानिसले शान्तिको चाहना राख्ने हो भने सबैले हृदयदेखि नै मैत्रीको कामना गर्नु पर्छ । यजुर्वेदमा मैत्रीको अभ्यास कसरी गरिन्थ्यो भन्ने प्रसङ्ग यहाँ सान्दर्भिक हुनेछ । ऋचामा भनिएको छः म सम्पूर्ण प्राणीहरुलाई मित्रको दृष्टिले हेर्दछु, सम्पूर्ण प्राणीहरुले मलाई मित्रका दृष्टिले हेरुन्, हामी सबैले सबैलाई मित्रको दृष्टिले हेरौं ।’[6]

शुक्ल यजुर्वेद मैं सबै लोकमा शान्ति होस्, बनस्पति र पानीहरु पनि शान्त होऊन् भन्दै यसप्रकार संगायन गरिएको छः

‘द्युलोक शान्ति होस्, अन्तरिक्षलोक शान्ति होस्, पृथिवी शान्ति होस्, पानीहरू शान्ति होऊन्, फुल्ने र फल्ने औषधीहरू शान्ति होऊन्, नफुल्ने वनस्पतिहरू शान्ति होऊन्, देवताहरू पनि शान्ति होऊन्, ब्रह्म शान्ति होस्, शान्ति शान्ति होस् र मलाई त्यही शान्ति मिलोस् ।[7]

यसप्रकार सर्वत्र शान्ति भए मात्र हामीलाई शान्ति हुन्छ भन्ने मान्यता यजुर्वेदकाल देखि नै विकसित भएको देखिन्छ । मैत्री भावनाको दायरा समस्त पूर्वीय दर्शनमा अत्यन्त फराकिलो भएको देखिन्छ । भगवान बुद्धले सो उदात्त भावनालाई अझै माथिल्लो उचाइमा पुर्‍याउनु भएको थियो । जातक कथामा मैत्री भावनाको महिमा मैत्री महिमा सुत्रमा सुन्दर ढंगले वर्णन गरिएको छ । त्यहाँ बोधिसत्वले तेमिएको रुपमा जन्म लिएर सुनन्द नामको सारथीलाई मैत्री भावनाको महानताको बारेमा बताउनुभएको थियो । उक्त सुत्रमा भनिएको छः

जसले मित्रलाई धोका दिँदैन उसले आफ्नो घरबाहिर प्रवासमा जाँदा खाद्य भोगको भागी हुन्छ, उसको माध्यमले अनेकौं मानिस र अन्य प्राणीहरुको जीविका चल्दछ । जसले मित्रलाई धोका दिँदैन ऊ जुनजुन जनपद या इलाका या राजधानीमा जान्छ सर्वत्र पूजित हुन्छ । जसले मित्रलाई धोका दिँदैन उसलाई चोरले दुःख दिँदैनन्, राजाले उसको अनादर गर्दैनन्, उसले सबै शत्रुमाथि विजय प्राप्त गर्छ । जसले मित्रलाई धोका दिँदैन ऊ प्रसन्न चित्त आफ्नो घर फर्कन्छ । सभामा उसको स्वागत हुन्छ, जाति र बन्धुहरुमा ऊ उत्तम मानिन्छ । जसले मित्रलाई धोका दिँदैन उसले सत्कार गरेर सत्कार पाउँछ । गौरव गरेर गौरवशाली हुन्छ, ऊ प्रशंसा र कीर्तिको भागी हुन्छ । जसले मित्रलाई धोका दिँदैन ऊ पूजा गर्नेवालाको पूजा हुन्छ, वन्दना गर्नेवालाको वन्दना हुन्छ, यश र कीर्ति प्राप्त गर्छ । जसले मित्रलाई धोका दिँदैन ऊ आगोसमान प्रज्वलित हुन्छ, देवतासमान प्रकाशित हुन्छ, श्रीयुक्त हुन्छ । जसले मित्रलाई धोका दिँदैन उसका गाईहरु बढ्दै जान्छन्, खेतमा फसल विस्तार हुन्छ जसको फल उसले पाउँछ । जसले मित्रलाई धोका दिँदैन ऊ पहाड या वृक्षबाट खस्यो भने पनि सहारा पाउँछ । जसले मित्रलाई धोका दिँदैन उसलाई शत्रुले पराजित गर्न सक्दैनन् ठीक त्यसैगरी जसरी मजबुत जरा भएको वृक्ष आँधी हुरी आउँदा पनि प्रभावित हुँदैन ।[8]

पूर्ण भिक्षु र मैत्री भावना :

भगवान बुद्धको समयमा एक भिक्षु थिएः पूर्ण । पहिला त उनी व्यापारी थिए । श्रावस्ती आएको बेलामा उनलाई बुद्धको उपदेश सुन्ने मौका मिल्यो । उनी बुद्ध वाणी सुनेर अत्यन्त प्रभावित भए र अन्ततः बुद्धको शिष्य बने । भिक्षु भइसकेपछि केही दिनसम्म उनले बुद्धसँग ज्ञान र ध्यान दुवै सिके । उनलाई सूनापरान्त नामको गाउँमा गएर धर्मोपदेश गर्ने चाहना भयो । उनले यसका लागि बुद्धसँग अनुमति मागे ।

बुद्धले भन्नुभयो, सूनापरान्तका मानिसहरु बडा चण्ड एवं कठोर हुन्छन् । यदि उनीहरु क्रोधित भए भने तिमीलाई कस्तो लाग्ला? पूर्णले भने, भगवान्, सूनापरान्तका मानिस मप्रति क्रोधित भएर बोल्न लागे भने मैले सोच्नेछु यिनीहरु असल रहेछन्, किनभने मारपीट त गरेनन् । केवल क्रोध मात्रै गरे । बुद्धले भन्नुभयो, यदि उनीहरुले मारपीट नै गर्न थाले भने नि । पूर्णले भने, फेरि पनि मैले उनीहरुलाई असल मानिस भन्नेछु । किनभने उनीहरुले मलाई मारिहालेनन् । बुद्धले पुनः भन्नुभयो, यदि उनीहरुले तिम्रो ज्यान लिए भने नि । पूर्णले शान्त हुँदै भने, भगवान्, फेरि पनि मैले उनीहरुलाई असल मानिस भन्नेछु । असल मानिसहरुले मेरो हत्या गरेर यो निस्सार जीवनको अन्त्य गरिदिए । म दुःखी दुनियाबाट परिनिवृत्त हुनेछु । पूर्णको क्षमाशीलता सुनेर बुद्धले भन्नुभयो, साधु साधु पूर्ण । तिम्रो सहनशीलता एवं मैत्री भावना महान छ । म तिमीलाई धर्म प्रचारका लागि जाने अनुमति प्रदान गर्छु । भगवान बुद्धको र बुद्धका शिष्यहरुको मैत्री भावना असीम अर्थात् सीमारहित छ ।[9]

बुद्ध वाणीमा प्रकट हुने मैत्री भावनाको अर्थ बन्धुत्व, साथित्व या अपनत्वको भावना केवल मानिससम्म सीमित हुँदैन । पशु पक्षी र निर्जीव वस्तुसम्म यो भावनाको विस्तार भएको पाइन्छ ।

मैत्री भावनाको अभ्यास गर्ने साधकलाई बुद्धले भन्नुहुन्थ्यो, शान्तिको पद प्राप्त गर्न चाहने हरेक साधक कल्याणको भावनामा निपुण हुन आवश्यक छ । ऊ सरल र सन्तोषी सादा जीवन बिताउने हुनु पर्छ र उसका इन्द्रिय शान्त हुनुपर्छ । उसले सानातिना समेत यस्ता काम नगरोस् जसको कारणले अरु मानिसले उसलाई दोष दिन या औंला ठडाउन सकून् । उसले यस्तो काम मात्रै गरोस् जसले गर्दा सबै प्राणीहरु सुखी र क्षमाशील होऊन् । सबैको कल्याण कामना गर्दा शरीरमा त्यसैत्यसै सुखको सञ्चार हुन थाल्छ । शान्ति आविर्भाव हुन थाल्छ । उठ्दा, बस्दा, हिंड्दा, बोल्दा हर्दम मनमा शान्तिको कामना राखेर, सबैको कल्याणको भावना राखेर व्यवहार गर्नु अत्यावश्यक छ । किनभने यही अभ्यास हो, मनलाई साध्नु भनेकै साधना हो । मनलाई शुभ भावनामा प्रशिक्षित गर्नु नै सही अर्थमा ध्यानको अभ्यास हो । मैत्री भावनाले आफ्नो पनि कल्याण हुन्छ र समस्त जीवन र जगतको कल्याण गर्न सक्ने क्षमता प्राप्त हुन्छ । 

धम्मपदमा भगवान बुद्धले अवैर भावनाको महत्व अनेक गाथा मार्फत बताउनु भएको छ । नही वेरेन वेरानी सम्मन्तीह कदाचन ।[10] अर्थात् वैर भावनाले कहिल्यै पनि वैरभाव शान्त हुँदैन । अवैर भावना या मैत्री भावनाले मात्र वैर भाव शान्त हुन्छ ।

सारसंक्षेप :

भगवान बुद्धका वाणीहरु शान्ति, मैत्री र करुणाको भावनाले ओतप्रोत रहेका पाइन्छन् । यी वाणीहरुको अध्ययन गर्दा जिज्ञासु पाठकको हृदय द्रवीभूत हुन्छ । मानव इतिहासमा भगवान बुद्ध नै यस्तो व्यक्ति हुन् जसको हृदयको गहिराइदेखि नै समस्त प्राणीहरुप्रति मैत्री र करुणाको भावना पैदा भएको थियो । यही कारणले बुद्ध महापरिनिर्वाण भएको २५०० वर्षभन्दा अधिक समय बितिसक्दा पनि संसारका अधिकांश मानिसमा बुद्धप्रति श्रद्धाभाव विकसित भइरहेको छ । सुख र शान्तिको आधार मैत्री भावना हो । सम्भवतः निर्वाणको आधार पनि मैत्री र करुणाको भावना नै हो ।


[1] बोधिसत्त्वादिकर्मिकमार्गावतारदेशना २। 

[2] आचार्य शान्तिदेव, बोधिचर्यावतारः सं स्वामी द्वारिकादास शास्त्री, वाराणसीः बौद्ध भारती, २००१।

[3] अनिता गौड, सम्पादक, मै बुद्ध बोल रहा हुँ, नयाँ दिल्लीः प्रभात पेपरब्याक्स, २०१६, पृ ९२ ।

[4] यावत्स्वस्थमिदं कलेवर गृहं यावज्जरा दूरतः

यावच्चेन्द्रिय शक्तिरप्रतिहता यावत्क्षयो नायुषः ।
आत्मश्रेयसि तावदेव विदुषा कार्यः प्रयत्नो महान्
संदीप्ते भवने तु कूपखननं प्रत्युद्यमः कीदृशः ॥ सुभाषितरत्नभाण्डागार, संकलित पद्य २१४

[5] श्रामणेर विनय, धम्म वन्दना, सम्पादक सत्यनारायण गोयन्का, इगातपुरीः विपश्यना विशोधन विन्यास, २०१२, पृ ४९-५१।

[6] मित्रस्य चक्षुषा सर्वाणि भूतानि समीक्ष्यन्ताम् । मित्रस्याहं चक्षुषा सर्वाणि भूतानि समीक्षे । मित्रस्य चक्षुषा समीक्षामहे । शुक्लयजुर्वेद ३६।१८

[7] द्यौः शान्तिरन्तरिक्ष गुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्र्विश्वेदेवाः शान्तिर्ब्रह्मशान्तिः सर्व गुं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि । शुक्लयजुर्वेद ३६। १७

[8] जातककथा २।२२।१०३ मूगपक्खजातक ५३८ ।

[9] धर्मकीर्ति, नवभारत टाइम्स, http://navbharattimes.indiatimes.com

[10] धम्मपद यमक वर्ग गाथा ५ ।

उद्धृत ग्रन्थहरु :

  • अनिता गौड, सम्पादक, मै बुद्ध बोल रहा हुँ, बुद्धको आत्मकथा, नयाँ दिल्लीः प्रभात        पेपरब्याक्स प्रकाशन, सन् २०१६
    जातककथा २।२२।१०३ मूगपक्खजातक
  • धम्मपद, नेत्र आचार्य, नेपाली अनुवादक, काठमाण्डूः विद्यार्थी पुस्तक प्रकाशन गृह, विसं २०७० ।
  • धर्मकीर्ति, नवभारत टाइम्स, http://navbharattimes.indiatimes.com
  • बोधिसत्त्वादिकर्मिकमार्गावतारदेशना २
  • शान्तिदेव, बोधिचर्यावतारः सं स्वामी द्वारिकादास शास्त्री,वाराणसीः बौद्ध भारती, २००१ ।
  • शुक्लयजुर्वेद संहिता, गोरखपुरः गीताप्रेस, १९९५ ।
  • श्रामणेर विनय, धम्म वन्दना, सम्पादक सत्यनारायण गोयन्का, इगातपुरीः विपश्यना विशोधन विन्यास, २०१२
  • सुभाषितरत्नभाण्डागार, संकलित पद्य २१४
  • अनिता गौड, सम्पादक, मै बुद्ध बोल रहा हुँ, बुद्धको आत्मकथा, नयाँ दिल्लीः प्रभात        पेपरब्याक्स प्रकाशन, सन् २०१६
    जातककथा २।२२।१०३ मूगपक्खजातक
  • धम्मपद, नेत्र आचार्य, नेपाली अनुवादक, काठमाण्डूः विद्यार्थी पुस्तक प्रकाशन गृह, विसं २०७० ।
  • धर्मकीर्ति, नवभारत टाइम्स, http://navbharattimes.indiatimes.com
  • बोधिसत्त्वादिकर्मिकमार्गावतारदेशना २
  • शान्तिदेव, बोधिचर्यावतारः सं स्वामी द्वारिकादास शास्त्री,वाराणसीः बौद्ध भारती, २००१ ।
  • शुक्लयजुर्वेद संहिता, गोरखपुरः गीताप्रेस, १९९५ ।
  • श्रामणेर विनय, धम्म वन्दना, सम्पादक सत्यनारायण गोयन्का, इगातपुरीः विपश्यना विशोधन विन्यास, २०१२
  • सुभाषितरत्नभाण्डागार, संकलित पद्य २१४
Facebook Comments Box
TOP