पत्रकारमैत्री कमलप्रसाद पंगेनी, अब केवल सम्झनामा मात्रै ।

भवानी अधिकारी :
‘होचो कद, उँचो बिचार । स्पष्ट बक्ता । दृढ संकल्पित । सबैसंगै अपनत्व भाव मिसाउन सक्ने ब्यवहार ।’ मैले चिनेको नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संबिधानसभा सदस्य कमलप्रसाद पंगेनी । पत्रकारमैत्री कमलप्रसाद पंगेनी । हिलोमा उम्रेर फर्केको सुन्दर फुल कमल जस्तै ।

प्रायजसो : लवेदा, सुरुवाल, इस्टकोट उहाँकोे पहिरन । ‘जल, जमिन, जंगल र जवानीलाई स्वदेशमा लगानी गरौं’ भन्ने उहाँका मन्तब्यका साझा सुझाव प्रायसोज सुन्थे म । अझैं पनि केही परबाट सेतो लवेदा सुरुवाल लगाएर आए भनेपनि उहाँ नै हो की भन्ने लाग्दछ । कत्ति पनि यो मन मान्दैन कमल पंगेनी दाई यो संसारमा हुनुहुन्न भनेर । सधैंजसो हँसिलो र मुद्रामा देखिइने कमलप्रसाद पंगेनी आज हामीबीच हुनुहुन्न । तर , पनि यो मन अनि आत्माले फेरि पनि मान्दैन । बोलाउदै आउनुहुन्छ की जस्तो लाग्छ ।
फलानो ठाँउमा यती ………..गते यो ……… बार यस्तो ………….प्रकारको कार्यक्रम छ भनेर फोन आउँछ कि जस्तो लाग्छ । त्यसैले त म भन्छु पत्रकार मैत्री कमल पंगेनी । ‘सानो तिनो कार्यक्रम, बैठक जे होस् । जिल्लामा कोही नेता आवस् । उहाँले सम्झनुहुन्थ्यो । बोलाउनुहुन्थ्यो । जिल्लाका गतिबिधीका बारेमा जानकारी गराउनुुहुन्थ्यो । स्पष्टसाथ बुझाउनुहुन्थ्यो । कार्यक्रमका बारेमा टिपोट गराउनुहुन्थ्यो । जसले गर्दा नेपाली कांग्रेसका गतिबिधिका बारेमा जानकार हुने अवसर मिल्थ्यो ।’ त्यसैले त उहाँ पत्रकारमैत्री नेता हो ।
काठमाण्डौं होस् या स्याङ्जा वा जुनसुकै स्थान भए पनि जिल्लामा साना देखि ठूला खाले प्रायजसो सबै कार्यक्रममा उहाको उपस्थिती हुन्थ्यो । खुशीयालीका दिन हुन या दुःखद क्षण । सहभागी बनेर साथ दिने उहाको बानी थियो । कुनै कार्यक्रमको योजना तयार भएपछि सबै पत्रकारलाई सम्झने गर्नुहुन्थ्यो उहाँ । कार्यक्रम सुरु हुनु भन्दा पहिले होस वा सकिएपछि पनि उहाले पत्रकारहरुलाई जानकारी गराउनुहुन्थ्यो । संबिधानसभा सदस्य हुदाँ होस् वा जिल्ला सभापति हुदाँ पनि हामी पत्रकारलाई सम्झदा उहाँ आफैंले फोन गरेर जानकारी दिनुहुन्थ्यो ।
निधनको अघिल्लो साँझसम्म पनि उहाँ कार्यकर्ता भेटघाटमै हुनुहुन्थ्यो । २०७४ सालको कांग्रेसको पराजयको कारण बुझ्दै र हिड्नु भएको थियो उहाँ । स्थानीय सहित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पराजयलाई बुझ्न र कांग्रेसको संगठन सृढृढ गर्दै हिड्नु भएका पंगेनी त्यो दिन कालीगण्डकी गाउँपालिकामा कांग्रेसीजनसंगको भेटघाट गरेर फर्कनु भएको हो । फर्कने क्रममा पनि उहाँ स्याङ्जा र पाल्पा जिल्लाको संगमस्थल स्थित पवित्र तीर्थस्थल रामनदीधाम (राम्दी) मा संचालित शिवपुराणमा प्रवचन सहित आरती पनि गर्नुभयो ।
भजन किर्तनमा नाच्नुभयो । आफुसंगै गएका साथीहरु गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्ल, क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, कांग्रेसका नेताहरु महेन्द्र श्रेष्ठ, श्याम बस्याल, अर्जुन खनाल र बिद्यार्थी नेता धनराज पौडेल लगायतका साथीलाई पनि नचाउनुभयो । साँझ सम्म रमाइलोगरी धर्मकर्ममै बित्यो त्यो दिन उहाको । तर, कसलाई के थाहा ? ‘अघिल्लो दिन साँझसम्म रमाउदै नाचेका पंगेनी भोलीपल्टै सबैलाई रुवाउदै त्यही स्थलमा जल्नु पर्छ भनेर । ’
नाँच्दा नाँच्दै छातीमा अफ्यारो महसुस गरेपछि उहाँलाई गल्याङको सामुदायिक अस्पतालमा उपचारका लागि लगियो । तर, उपचारमा रहनु भएका पंगेनी पन्ध्र मिनेटमा आफुलाई ठिक भो भन्दै बाहिर निस्कनु भएको थियो । थप उपचारका लागि उहाँका साथीहरुले पोखरा अथवा पाल्पा जाउ भन्दा पनि उहाले नमानेको र उपचारपछि संचो लाग्यो भन्दै भीरकोट नगरपालिका स्थित बयरघारीमा आफनै कोठामा आएर सुत्नुभयो । तर, राती फेरि अचानक मुटु दुखेपछि उहालाई कालिका सामुदायिक अस्पतालमा पु¥याईयो । उही नै उहाँको निधन भएको अस्पतालले घोषणा ग¥यो । ह्दयघातबाट निधन भएको अस्पतालले जानकारी गरायो ।
सामान्य परिवारमा जन्मनु भएका कमलप्रसाद पंगेनी सुरुवाती जीवन कष्टमै बितेको उहासंगको भेटबाटै मैल थाहा पाएको थिंए । दश कक्षा पढ्ने बेलासम्म खुट्टामा चप्पल नलगाएको किताबकापी जुटाउनै धौ धौ परेको । आफु सानो छँदा बाबु आमा दुबैको मृत्यपछि दाजु लीला पंगेनीले जिम्मेवारी लिनुभएको थियो । उच्च शिक्षाका लागि पृथ्वीनारायण क्याम्पसदेखि गुजारा चलाउनका लागि नीजि बिद्यालयमा पढाउने गरेको र बेला भाउजुसंगको प्रेमपछि विवाहसम्मका आरोह, अवरोध र अवरोहका बारेमा पनि म केही जानकार थिंए । निकै चुनौती र ठूलो आँट र साहसका साथ उहाँहरुले विवाह गर्नुभएको रहेछ ।
अन्र्तमुखी प्रतिभाका धनी पंगेनी वीपीका सच्चा अनुयायी हो । लोभ, लालचमा नीति र सिद्धान्त बेच्नु हुदैन भन्नुहुन्थ्यो । लोकतन्त्र, वाक स्वतन्त्रता र मानवअधिकारको पक्षपाती उहाँ राजनीतिमा दृढ संकल्पित हुनुहुन्थ्यो । खुला किताव जस्तो उहाँको जीवनी । सादा जीवन उच्च
बिचारका धनी कमल पंगेनी ।
वि.स.२०१९ सालमा पिता बालकृष्ण पंगेनी र माता मोहनीकुमारी पंगेनीका माइला छोराका रुपमा भीरकोट नगरपालिका ६ खिलुङ गोदीखोलामाका जन्मनु भएको हो । दाजु लीलाको अभिभावकत्वमा उहाँ हुर्कनुभयो । तीक्ष्ण बुद्धिका पंगेनी स्कुल पढ्दा सधैं कक्षा प्रथम । बिद्यालयमा पढ्दा पनि पूर्व संसद एवम् नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति खग्रेन्द्रराज रेग्मीले नै उहालाई पढाउनु भयो भने राजनीतिमा पनि उहाले नै हात समाउदै आफनै स्थान सुम्पिनुभयो । दहथुम मावि बयरघारीका पहिलो छात्र (फस्ट ब्याई) उनी २०३७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्र्तीण गरेपछि थप अध्ययनका लागि उहाँ पोखरा जानुभयो ।
उहाँ पृथ्वीनारायण क्याम्पस पुगेर बिज्ञान संकायको प्रवीणता प्रमाणपत्र तहमा भर्ना भएर पढ्न थाल्नुभो । गीत, संगीत, कला, साहित्य, कबिता, गजल प्रति अगाध प्रेम गर्ने पंगेनी ६÷७ कक्षा पढ्दा ताका नेपाल बिद्यार्थी संघको (नेपाली कांग्रेसको बिद्यार्थी संगठन) सदस्य हुनुभयो । उहालाई नेविसंघको सदस्यता दिने राजनीतिक गुरु हुनुहुन्थ्यो सोही बिद्यालय दहथुम माविका तत्कालिन बिज्ञान तथा गणित शिक्षक खगेन्द्रराज रेग्मी । वही रेग्मी नै नेपाली कांग्रेस जिल्ला सभापति बन्नुभयो । त्यसपछिको अधिवेशनपछि आफना चेला पंगेनीलाई सभापति बनाउनुभयो ।
प्रजातान्त्रिक आन्दोलनमा निरन्तर संघर्ष गरी रहने रेग्मीकै प्रेरणाबाट उहाँ नेविसंघको सदस्य बन्नुभएको हो । ०३६ सालको बिद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पंगेनी नेविसंघका केन्द्रीय सदस्य बन्नुभएको थियो। ०४२ सालको सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनको सक्रिय सहभागिता रह्यो । पृथ्वीनारायण क्याम्पस पढ्दा पोखरामा उनी प्रजातन्त्रवादीहरुको सम्पर्कमा रहनुभयो । कास्कीका प्रजातन्त्रवादीहरुको सम्पर्कले झनै उहामा राजनैतिक उर्जा थपियो । अध्ययन संगसंगै जीवन चलाउनका लागि उहाले पोखरा स्थित अन्नपूर्ण अंग्रेजी बिद्यालयमा अध्यापन गर्न थाल्नुभयो । सोही बिद्यालयमा अध्यापनरत शिक्षिका बेला लिम्बुसंगै उनको अन्तरजातिय प्रेम विवाह भएको हो । उहाँका एक छोरा र एक छोरी छन् ।
नेपाली कांग्रेस स्याङ्जाको तीन पटक जिल्ला सभापति हुनुभएका पंगेनी संबिधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ वाट निर्वाचित सदस्य हो । बि.सं. २०३३ सालमा नेपाल बिद्यार्थी संघबाट राजनीति यात्रा सुरु गर्नुभएका पंगेनी २०४२ सालमा केन्द्रीय सदस्य, जिल्ला कार्यसमितिको सहसचिव हुदै तीन पटक (२०६०, २०६७, २०७२) सम्म जिल्ला सभापति बन्नुुभयो । बि.स. २०५३ मा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र २०५६ मा पश्चिमाञ्चलको अध्यक्ष हुनुभएको थियो ।
स्थानीय निर्वाचन २०४९ र २०५४ पछि जिल्ला विकास समितिमा इलाका सदस्य बन्नु भएका पंगेनी २०६४ सालको संबिधानसभा निर्वाचन क्षेत्र नं. १ वाट र २०७४ को प्रदेशसभा १ (क) बाट भने पराजित हुनुभयो । आफनो पराजयलाई तत्काल स्वीकार गरी आफुले गरेका वाचालाई पुरा गरिदिनु भन्दै आफना प्रतिस्प्रर्धी मित्रलाई सहजरुपमा बधाई दिनुहुन्थ्यो । चुनाव जित्दाका बेला उमांद होइन, चुनाव हार्दा पनि उहाँमा कुनै बिस्मात देखिदैनथ्यो । निर्वाचनका बेला मतदातासंग गरेका विकासे वाचालाई सहयोग गरिदिन आग्रह गर्दै आफना प्रतिस्पर्धी दिपक थापालाई आग्रह गर्दै फुलमाला र खादाले सम्मान गर्नुभएको थियोे उहाँले । निर्वाचनमा पराजयमा पनि उहा रत्तिभर दुखी देखिनुभएको थिएन । निर्वाचनको नतिजा घोषणा भएलगत्तै उहाले हामीलाई खवर दिनुभयो । हामी पत्रकार साथीहरु उहाँलाई भेट्न आएका थियोै । उहाँ त आफना प्रतिस्पर्धाीलाई शुभकामना दिने तयारीमा देखिनुभयो ।
कमलप्रसाद पंगेनीको जीवन सन्यासीको जस्तै थियो । उहाँ एउटा औपन्यासिक पात्र झै । पार्टी र समाजसेवा भन्दा बाहिर उहाँ कहिल्यै रहनु भएन । जीवनको अन्तिम घडीसम्म पनि उहाँ राजनीति र समाजसेवामै क्रियाशिल रहनुभयो । आफनो ब्यक्तिगत फाइदामा कहिल्यै लागेको देखिएन् । २०३६ सालको बिद्यार्थी आन्दोलनदेखि उहाको क्रियाशिलता झने बढेको देखियो । २०३५ देखि २०७५ सम्म क्रियाशिल पंगेनीले जीबनको अन्तिम घडीसम्म भाडामा जीवन बिताउनुभयो । स्थायी बासस्थान कही रहेछन । काठमाण्डोंैं स्थित भाडाको घरमा पत्नी (बेला), छोरी (क्रान्ति) र छोरा (बिप्लप) पंगेनीलाई सदाका लागि छाडेर जानुभयो ।
पंगेनीको पार्थिव शरिरमा श्रद्धान्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा लगायत केन्द्रीय पदाधिकारीको समूहले अन्त्येष्टीका दिन
सहभागीता जनाउनुभयो । तेह्रोै दिनभित्रमा ७६ जिल्ला सभापति लगायत, सांसद, पूर्व सांसद, भातृसंगठनका नेताहरु लगायत श्रद्धान्जलीका लागि स्याङ्जा आए । उहाँकै निवास भीरकोट पुगे । शोकसन्तप्त परिवारजनलाई भेटेर सहानुभूति जनाए । जसले गर्दा कमल पंगेनी सबैको लोकप्रिय नेता भनेर प्रमाणित गराएको छ ।
राजनीतिका सुरुका दिनहरुमा बिभिन्न गीत कबिता,, गजलका माध्यमबाट राजनैतिक ब्यवस्था परिवर्तन गर्न सकिने अठोट लिनु भएका पंगेनी स्याङ्जा पोखरामा हुने प्रजातन्त्र वादीको भेला, छलफल, भेटघाट बैठकमा सहभागी हुदै अघि बढ्नु भएको हो । नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको ५५ बर्षको उमेर ह्दयघातका कारण निधन भएको छ । भीरकोट नगरपालिका १ बयरघारी आफनै कोठामा सुतेका अवस्थामा स्वास्थ्यमा असहज भएको जानकारी गराएपछि उनका परिवारले हेलुमा कालिका सामुदायिक अस्पतालमा पु¥याइएको थियो । सोही अस्पतालमा नै उहाँलाई मृत घोषणा गरियो ।
उहाँको अभाव जिल्लामा अति खड्केको छ । राजनीतिक दलहरु एवं नागरिकका लामो संघर्षवाट प्राप्त सार्वभोैमिकता, राष्ट्रिय अखण्डता र एकता कायम राख्दै बिभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति र कलालाई संरक्षण र सम्बद्र्धनमा अन्तिम क्षणसम्म उहा निरन्तर प्रयासरत हुनुहुन्थ्यो । उहाँ जस्तो जुझारु र बौद्धिक नेताले कालजयी विमारलाई नजरअन्दाज गर्नु दुखद एवं लापरवाहीको संकेत थियो । उहाँमा देखिएको बालहठ जस्तो भो । थप चिकित्सीय सहयोग एवं उपचार पाउन सकेको भए सायद उहाँ अझै पनि हाम्रो माझ हुनुहुन्थ्यो कि ? उहाँ जस्तो बहुमुल्य रत्न यती चाडै हामीवाट सायद छुट्टिनु हुने थिएन होला । जुन जिम्मेवारी सहित उहाँ अघि बढ्नु भएकोे थियो पक्केै पनि सो पुरा गर्नुहुन्थ्यो होला । उहाँले थालनी गरेका विकास निर्माणका गोरेटाहरु, संबिधानको कार्यान्वयन, लोकतन्त्र र स्वतन्त्रताको लागि पुरयाउनु भएका उहाँका योगदान अधुरै रहे ।
कांग्रेसको आफनो मार्गदर्शनको मूल गुरुमन्त्र वीपीवाद र प्रजातान्त्रिक समाजवादलाई शिरोधार्य गर्दै वीपीले बनाएको योजनामा हलो जोतेको किसानको तस्विर हेरेर बनाउनु पर्छ भन्दै एटा घर, दुहुना गाई, एक हल गोरु, हुनुपर्ने उल्लेख गरे झैं स्वर्गिय पंगेनीले कोही खान नपाएर, कोही औषधी उपचार नपाएर मर्न नपरोस् भन्नका लागि समाज रुपान्तरणका लागि आफनै माटो सुहाउदो खेती गरेर उत्पादन बृद्धि गर्नु पर्नेमा उहाँको जोड हुन्थ्यो । बालबालिका, युवा, जेष्ठ नागरिक जो सुकैंसंग भेट हुदाँ पनि उहाँ समाजवाद, लोकतन्त्र र स्वतन्त्रताका बारेमा जानकारी गराउनुहुन्थ्यो ।
जिल्लाको विकास, नागरिक स्वतन्त्रता, मानवअधिकार, पेशागत सुरक्षाका लागि बिभिन्न संरचनाका रेखा कोर्नु भएका पंगेनीलाई ती काम पुरा गर्न दैवले पनि साथ दिएन ।
श्रद्धासुमन कमलप्रसाद पंगेनी दाईप्रति ।
लेखक नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष हुनुहुन्छ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…