रोकिएन शहिद सुर्य प्रसाद घिमिरेको परिवारको आँसु ।

तस्विरमाः क्रमश शहिद पत्नी, देवर र छोरी विष्णुदेवी

नारायण विश्वकर्मा /स्याङ्जा :
सन्तान भएर मात्र जीन्दगी कहाँ पुरा हुँदो रहेछ र जीवन भर सहयात्रा गर्ने यात्री हराए पछि । देशले परिवर्तन त पायो, मैले श्रीमान गुमाएँ, एक्लै—एक्लै सहयात्रा गर्दैछु आखिर के पाए परिणामा । त्यो वेला पनि नराम्ररी भक्कानीएकी थिएँ जुनवेला श्रीमानले मेरो साथ छोडेर शहिद हुनुभयो । आज पलपल उहाँको याद सम्झनाले सताईरहन्छ । आँसु त छैनन आँखामा तर घरि घरि रुन खोज्छ यो मन, रसाउन थाल्छ आँसु । फेरी मनलाई समाल्छु नआउने आँसुलाई किन दुख दिन्छेस । यो भनाई हो स्याङ्जाको चापकोट नगरपालिका–८, रत्नपुरकी शहिदसुर्य प्रसाद घिमिरेको धर्म पत्नी राधा घिमिरेको । २०४६ साल फागुन सात गते पाल्पाको रामपुर नगरपालिका–५ वेझाड बजारमा ३२ वर्षको उमेरमा सुर्य प्रसादलाई गोली लाग्यो भने उपचारको क्रममा फागुन १६ गते काठमाण्डौको विर अस्पतालमा मृत्युभयो । “मैले श्रीमानको मृत्यु भए पछि मुख देख्न सम्म पाईन, काठमाण्डौमा जेठाजु हुनुहुन्यो, आन्दोलनकै क्रम भएकाले प्रहरीले जेठाजुलाई समेत संगै लगेर राती पशुपति आर्याघाटमा जलायो, आज त्यो घटनाले छिनछिनमा मुटु भक्कानिने गर्छ ।” शहिद पत्नि राधाको भनाई छ । तिन छोरा र एक छोरी मध्य जेठा छोरा बाबुराम घिमिरे कहाँ गए कसैलाई पत्तो छैन, माईलो छोरा सुवास कतारमा मज्दुरी गर्दैछन, कान्छो छोरा कमल घिमिरे (ACE) बुद्ध पावर एन्ड टेक्नोलोजी प्रालिका नारायणघाट इन्चार्जको रुपमा कार्यरत रहेका छन् । एक मात्र छोरी विष्णुदेवी घिमिरे आचार्य पाल्पाको रामपुर नगरपालिकाको उप–प्रमुख भएर जनप्रतिनिधिको रुपमा काम गर्छिन । “श्रीमानको विछोडले घरमा बस्न मन लाग्दैन ।” राधाले भनिन,–“आफुलाई भुलाउन कहिले माईलो छोरो संग, कहिले कान्छो छोरो संग त कहिले छोरी संग गएर वस्ने गरेकी छु ।” अव त डाँडा माथिको घाम भँए, धेरै ठुला चाहाना छैनन, राज्यले वास्विक शहिदहरुको पहिचान गरोस र उनीहरुलाई त्यही अनुसार सम्मान गर्न जानोस् ।

शहिद सुर्य प्रसाद घिमिरे

टाउकाको मुल्य तोकिएका शहिदको कदर भएन : परिवार
छोरी विष्णुदेवी घिमिरेले तत्कालिन समसयमा टाउकाको मुल्य तोकिएका शहिदहरुको कदर नभएकोे बताईन । “४६ सालका कुनै पनि सहिदहरुको परिवार सरकारको काम कर्तव्य प्रति सन्तुष्ट छैनन ।” घिमिलेले थपिन,–“राज्यले देशको प्रमुख परिवर्तनका लागि लडेका सहिदहरुको वेवास्ता गरेको छ ।” “राज्यले कुखुरा चल्ला मरे पनि शहिद, वाख्रा मरे पनि शहिद, कोहि लोटेर मरे पनि शहिद भनेको छ, यो परिपाटिको हामीलाई मान्य छैन ।” घिमिरेले भनिन,–त्यति वेलाका शहिद र अहिलेका शहिद लाई फरक दृष्टिकोणबाट हेर्नु आवस्यक छ ।”
२०४६ सालको पहिलो जनआन्दोलमा देशैभरबाट ४९ जना सहिद भएको गृह मन्त्रालयको तथ्याङ्कमा छ । २०६२/६३ को दोस्रो जन आन्दोलनमा भने स्याङ्जाबाट कोहि पनि सहिद भएनन । नेपालको पहिलो जनआन्दोलनहोस वा दोस्रो जनआन्दोलनहोस राज्यले ठोस तथ्याङ्क सार्वजनिक गर्न नसकेकाले स्याङ्जामा यति घाईते, कति अपाङ्ग भनेर भन्न सकिने अवस्था छैन तर सुर्य प्रसाद भने जनआन्दोलनकै एक्ला शहिद हुन । पछिल्लो समय के.पी सर्मा ओली प्रधानमन्त्री भैसकेपछि २०४६ सालमा आन्दोलनको क्रममा मृत्यु भएका ४९ जनालाई वल्ल क्याविनेटबाट सहिद घोषणा गरेको विष्णुदेवीको भनाई छ ।
आफ्ना वुवा सहिद सुर्य प्रसाद घिमिरेको रामतुल्सी मा.वि को आड रामपुरमा पुर्ण शालिक र चार सहिद गंगलाल श्रेष्ठ, दशरथ चन्द, सुक्रराज सास्त्री र धर्मभक्त माथेमाको अर्ध शालिक निर्माण कार्य भैरहेको विष्णुदेवीले बताईन ।
उनले रामपुर नगरपालिका किसानबारीमा सहिद सुर्य प्रसाद घिमिरे वहुमुखी क्याम्पस स्थापना भएर पठनपाठन भैरहेको पनि बताईन ।

यस्तो छ जनआन्दोलनको उपलव्धी :
२०४६ सालकोे जनआन्दोलनमा विभिन्न राजतिक दलहरू एकै उद्देश्य लिएर सडकमा थिए । नेपाली कांग्रेसले नेतृत्व गरेको यो आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर सरिक भएका थिए । ५० दिनसम्म चलेको आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे । आन्दोलनमा सम्पुर्ण प्रजातन्त्रबादी नेपालीहरुको ठूलो समर्पण थियो । नेपालमा बहुदलीय व्यवस्थाको लागि त्यो आन्दोलन थियो । जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको शुरुआत गरायो । तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धको आडमा २०६२/६३ को अर्को भयानक जनआन्दोलन भयो । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन रुपमा १९ दिनसम्म चलेको थियो । यस आन्दोलनले दुई सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । यी ठुला आन्दोलनमा तत्कालिन माओवादी, नेपाली कांग्रेस र तत्कालिन नेकपा एमाले सम्मिलित थिए ।

Facebook Comments Box
TOP