गल्याङमा तेस्रो महोत्सव हुने

गल्याङ् :
जिल्लाको तेस्रो व्यपारीक केन्द्र गल्याङ् नगरपालिकामा तेस्रो गल्याङ् महोत्सव हुने भएको छ । गल्याङ् उद्योग वाणिज्य संघको आयोजनामा चैत्र ३० गतेदेखी बैशाख ९ गतेसम्म तेस्रो गल्याङ् महोत्सव हुने भएको हो । उद्योग वाणिज्य संघले शनिवार पत्रकार सम्मेलन गरेर तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका हुन् ।

‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार’ भन्ने मुल नारा सहित संस्थाको स्थापनाको दिन पारेर महोत्सव आयोजना गरिएको संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (ध्रुव) ले जानकारी दिए । गल्याङ्लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन मात्रै नभएर यहाँ उत्पादन भएको कृषिको बजारीकरणमा यो महोत्सवले साथ दिने अपेक्षा आयोजकको रहेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । उक्त महोत्सवमा स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्धन एवम् संस्कृतिको जगेर्ना गर्न, खेलकुद क्षेत्रको संरक्षण र विभिन्न सांस्कृतिक कार्यक्रमहरुलाई विशिष्ट पहिचान बनाउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवलाई उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

आयोजकले सेतीवेणी शिला, ताम्केकोट, जगत्रदेवी मन्दिर, कालीगण्डकी जलविद्युत परियोजना, आँधिखोला जलविद्युत परियोजना(वि.पि.सी.), आक्वा, उत्तरवाहिनी, रामनदीधाम, सिद्धगुफा, आलमदेवी मन्दिर, गर्हौँ कालिका मन्दिर, अकलादेवी जस्ता धार्मिक क्षेत्रलाई प्रचारप्रसार गर्ने लक्ष्य लिएको जनाएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गर्न आउने आन्तरिक तथा बाह्रय पर्यटकका लागि घुम्ने व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले महोत्सवहरुलाई अब पृथकता दिने तर्फ उद्योग वाणिज्य संघहरु लाग्नुपर्ने धारणा व्यक्त गरे । महोत्सवले आर्थिक चलायमान गरेपनि यहाँको आर्थिक विकासमा छुट्टै पहिचान महोत्सवमा बनाउन सकेमात्रै उदेश्य र लक्ष्यमा पुग्न सकिने अध्यक्ष सिग्देलले बताए । मेला महोत्सव मार्फत जिल्लालाई चिनाउन उद्योग वाणिज्य संघहरुले खेलेको भुमिकामा स्याङ्जाका पत्रकारहरुले साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

महोत्सवले झण्डै डेढ करोडको कारोवार गर्ने लक्ष्य आयोजकले लिएका छन् । संघको आफ्नो कुनै जग्गा तथा भवन नभएकोले महोत्सवबाट आम्दानी भएको केही रकमबाट उचित स्थानमा जग्गा खरिद गरिने बताइएको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउनुका साथै यस क्षेत्रको संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने संस्थाका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद अर्यालले पत्रकार सम्मेलनमा बताए ।

कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धनका लागि आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधी हस्तान्तरण गर्न, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा महोत्सवले सघाउने संघका संस्थापक अध्यक्ष लेखनाथ भट्टराईले बताए । महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विषेश साँस्कृतिक प्रस्तुति, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरु हुने संस्थाकी महासचिव उमा श्रेष्ठले बताइन् ।

महोत्सवमा सुरक्षाको बिषय महत्वपुर्ण हुने भएकाले जिल्ला प्रहरी, शसस्त्र प्रहरी र आन्तरिक सुरक्षा संयन्यत्र परिचालन गरि सुरक्षित महोत्सवको आभास दिलाउने विश्वास महोत्सव सुरक्षा समितिका संयोजक तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । महोत्सवलाई विद्युतीय, छापा र सामाजिक संजाल मार्फत प्रचार प्रसारमा अगाडी बढाउने गरी तयारी थालिएको संघका उपाध्यक्ष तथा संचार समन्वय उपसमितिका संयोजक बिष्णु अधिकारीले बताए । महोत्सव तल्लो गल्याङ्मा निर्माण गर्न लागिएको मैदानमा गरिएने आयोजकले जनाएको छ ।

Facebook Comments Box
TOP