गल्याङको ‘कृषि तथा पशुपंक्षी नियमन एकाइ’ प्रभावकारी बनाईदै ।

राधाकृष्ण डुम्रे/वालिङ :
गण्डकी प्रदेशमा भित्रने पशु तथा कृषिजन्य उपजको स्वस्थता परीक्षण एवम् नियमनका लागि स्थापना गरिएको कृषि तथा पशुपक्षी नियमन एकाइलाई प्रभावकारी बनाइने भएको छ । पूर्वाधार र जनशक्ति अभावमा बन्द रहेको एकाईलाई व्यवस्थित रुपमा सञ्चालन गरिने भएको हो ।
लुम्बिनी प्रदेशसँगको सिमानामा रहेको एकाई सञ्चालनका लागि मन्त्री,सांसदहरु त्था कृषि विज्ञ सहितको टोलीले स्थलगत अनुगमन तथा छलफल गरेको छ ।
गण्डकी प्रदेश भुमी ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले एकाईलाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनु भयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गामा रहेको एकाईको अनुगमनमा क्रममा मन्त्री जिसीले आवश्यक थप जनशक्ति र प्रविधिको तत्कालै व्यवस्थापन गरिने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,“मन्त्रालयले सेवालाई प्रभावकारी बनाउने तयारीमा छ, स्थानीय तहसँगको समन्वय र सहकार्यमा काम अगाडि बढाईने छ ।”
कार्यालयले प्रभावकारी सेवा प्रवाह सुरु गरेपछि प्रदेश भित्रने मुख्य नाकामा पशुपक्षी र कृषिजन्य उत्पादनको गुणस्तर परीक्षण, नियमनलगायतका काम गरिने उहाँको भनाई छ ।
गण्डकी प्रदेशको मुख्य नाकामा रहको एकाई तत्कालै सञ्चालन गर्न स्थानीयले माग गरेकाछन् । छलफलमा स्थानीय वडा अध्यक्ष मणी वस्यालले आफूहरु कार्यालय हेर्दै बसेको बताउनु भयो । उहाँले भन्नुभयाे,“कार्यालय छ तर कर्मचारी कोही छैनन्, एकाईमा रहेका राम्रा उपकरणहरु विग्रन थाले,हाम्रो चित्त दुखेर के गर्नु सरोकारवालाले वास्ता नगरेपछि ।” छलफलमा बोल्ने स्थानीयले आफूहरु सहयोग गर्न तयार रहेको भन्दै एकाईलाई तत्कालै सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।


गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आव २०७५/७६ मा स्याङ्जाको मालुङ्गासँगै तनहुँको आँबुखैरनी एकाईका कार्यालय खोलेको थियो ।
सरकारको पहलमा स्थापना भएका नियमन एकाइ सञ्चालनमा ल्याउन गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईको माग छ । नागरिकले किन यस्तो बनाएर राखेको भनेर हामीसँग गुनासो गर्छन तर हाम्रो मागलाई प्रदेशले सुनुवाई गरेन उहाँले भन्नुभयो ।
स्थापना भएको पाँच वर्ष वितिसक्दा पनि प्रभावकारी सेवा दिन नसक्नु दुखद भएको प्रमुख भट्टराईको भनाई छ ।
छलफलमा गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेल,पूर्व अर्थमन्त्री सीता सुन्दास,सांसदहरु महेश भट्टराई,निर्मला थापा,जिल्ला समन्वय समितिका सभापति श्रीप्रसाद जिटी लगायतले तत्कालै एकाईको सञ्चालन गर्नु पर्ने बताएकाछन् ।
छलफलमा गण्डकी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले एकाईलाई प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक कार्य तत्कालै गरिने जानकारी दिनुभयो ।
एकाइ कार्यालय सञ्चालनका लागि पशु विकास र कृषि विकास अधिकृतसहित पाँच जनाको प्राविधिक जनशक्तिको दरबन्दी छ । स्याङ्जामा दुई जना प्राविधिक आई सकेको र अन्य कर्मचारी आउने क्रममा रहेको जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“दुई जना कर्मचारी आएको १५ दिन भयो, थप कर्मचारी व्यवस्थापनका लागि पहल हुँदैछ ।” एकाई कार्यालयको आफ्नै भवन रहेको छ ।

Facebook Comments Box
TOP