पूर्वराष्ट्रपति विद्या भण्डारीको ‘सक्रियता’ले एमालेभित्र तरङ्ग ।

bidhya bhandari

 

काठमाण्डौ:

दुई कार्यकाल गरेर शीतल निवासको सात वर्षे बसाइ पूरा गर्दै गत फागुनमा निजी जीवनमा फर्केकी पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम पछिल्ला दिनमा एमालेको राजनीतिसँग जोडिन थालेको छ । जसले पार्टीभित्र र बाहिर एक खालको तरङ्ग नै उत्पन्न गरेको छ ।

कतिपयले भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउन चाहेको भनेर व्याख्या, विश्लेषण र टिप्पणीसमेत गरिरहेका छन् । तर स्वयं भण्डारीले भने आफू राजनीतिमा सक्रिय हुने वा नहुने भनेर अहिलेसम्म कहीँकतै मुख खोलेको पाइँदैन । बरु आफूलाई भेट्न आउनेहरुसँग भण्डारीले आफ्नो रुचि सामाजिक काममा बढी रहेको बताउने गरेकी छन् ।

गत फागुन २९ गते शीतल निवासबाट बाहिर निस्केकी भण्डारी त्यस यता झण्डै ५ महिनाको अवधिमा सार्वजनिक कार्यक्रममा पनि विरलैमात्रमा देखिएकी छन् । तर भण्डारीलाई उनकै निवासमा भेट्न जानेहरुको संख्या भने पछिल्ला दिनमा बढ्दै गएको उनी निकटस्थहरुको भनाइ छ । भेटका लागि एमाले नेता कार्यकर्ताहरु नै धेरैजसो आउने गरेको उनीहरु बताउँछन् ।

भण्डारीको निजी सचिवालयका अनुसार उनलाई भेट्न आउनेहरु राष्ट्रपति हुँदा भेट्न खोजेर पनि समयअभावका कारण भेट हुन नसकेका मानिसहरु निजी निवासमा भेट्न आउने गरेका छन् ।

‘सामान्यतया राष्ट्रपति पदमा हुँदा भेट्न चाहेर पनि विभिन्न कारणले भेट हुन नसकेका शुभचिन्तक र शुभेच्छुकहरु भेट्न आउनुहुन्छ’, भण्डारीका स्वकीय सचिव राजकुमार राईको भनाइ छ ।

बाहिर चर्चामा आएजस्तो राजनीतिक भेटघाट र राजनीतिक रुपमा सक्रिय हुन खोजेको भनेर गरिएका प्रचारमा भने कुनै सत्यता नरहेको राई बताउँछन् । ‘खासगरी उहाँको चासो सामाजिक मुद्दामा रहेको पाउन सकिन्छ । जलवायु परिवर्तन र महिलाका मुद्दामा केही गरौँ भन्ने चासो रहनु स्वाभाविक पनि हो,’ उनले भने, ‘त्यो बाहेक अन्य राजनीतिक गतिविधिमा जसरी जोडिएको छ, त्यो मानिसहरु आफैँले निर्माण गरेको भाष्य हुनसक्छ ।’

राईले अस्वीकार गरे पनि भण्डारीको राजनीतिक भेटघाट र सक्रियताबारे एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले मुख खोलेपछि यसबारे थप चर्चापरिचर्चा भइरहेको छ ।

साउन २८ गते नेकपा एमाले पार्टी कार्यालय च्यासलमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा अध्यक्ष ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने सम्भावनालाई पूरै अस्वीकार गरे । साथै अध्यक्ष ओलीले नेताहरुसँगको भेटघाटको विषयलाई लिएर गरिएका प्रचारवाजी एमालेलाई कमजोर बनाउनेबाहेक अरु केही हुन नसक्ने दाबीसमेत गरेका थिए ।

पूर्व राष्ट्रपति भण्डारीलाई आफूले पनि पटक–पटक भेटेको स्वीकार्दै ओलीले त्यसलाई आधार बनाएर भण्डारीलाई राजनीतिमा फर्काउने प्रयासका रूपमा बुझ्न नहुने तर्क गरे । ‘यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ,’ ओलीले भने, ‘उहाँ एमालेको नजिकको मित्र हो ।’

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी काठमाण्डौको बुढानीलकण्ठस्थित भंगालमा रहेको निजी निवासमा बस्दै आएकी छन् । उनले आफ्नै निवासमा एमालेका शीर्ष नेतादेखि जनवर्गीय सङ्गठन र जिल्ला तहका धेरैजसो नेताहरूसँग भेटघाट गर्ने गरेकी छन् । यी गतिविधिलाई भण्डारी पुनः राजनीतिमा सक्रिय हुने संकेतको रूपमा हेर्न थालिएपछि ओलीले त्यसको प्रतिकार गर्न पुगेका हुन् ।

‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि, विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु’, अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भनेका थिए, ‘अरुले पनि कुरा गर्नुभएको छ । यस्तो विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे, पार्टीमा आइदिनुप¥यो भनेर निम्ता गर्नुभयो भन्नेजस्ता खालका प्रयासहरुलाई मलजल नगर्दै राम्रो हुन्छ ।’

विद्या भण्डारी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी धर्मपत्नी समेत हुन् । जवजका प्रतिपादक समेत रहेका मदनकी धर्मपत्नी भएको नाताले पनि स्वाभाविक रुपमा उनी नेकपा एमालेप्रति जोडिन पुग्नुलाई अन्यथा लिन नहुने कतिपय एमाले नेता कार्यकर्ताहरुको बुझाइ छ । पहिलो पटक राष्ट्रपतिको हैसियतामा शीतल निवास जानु अघि विद्या नेकपा एमालेको निर्वाचित उपाध्यक्ष थिइन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पत्रकार सम्मेलनका क्रममा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीबारे कसैले प्रसङ्ग निकालेपछि दिएको जवाफ भएकाले त्यसमा विवाद गरिरहन जरुरी नभएको बताउँछन् ।

पोखरेलले ‘नन् इस्यु’लाई ‘इस्यु’ बनाएको दावीसमेत गरे । उनले एक प्रश्नमा भने, ‘त्यहाँ जसरी कुरा आयो, त्यो आएपछि प्रतिक्रिया व्यक्त गरेको हो अध्यक्षले ।’

नेता पोखरेलले कोही मान्छे पार्टीमा आउने नआउने कुरा तीन वटा कुरामा भर पर्ने पनि बताए । ‘राज्यको संविधानले के भन्छ पहिलो । सम्बन्धित पार्टीको विधानले के भन्छ दोस्रो र तेस्रो सम्बन्धित व्यक्तिको चाहना र रुचि के छ ? यी तीन वटा कुरा भन्दा चौथो कुरा हुन सक्दैन ।’ पोखरेलले भनेजस्तो यो तीन वटै कुरालाई हेर्दा पनि भण्डारीलाई एमालेको सक्रिय राजनीति गर्न नेपालको संविधानले पनि रोक्दैन, पार्टी विधानले पनि रोक्दैन र व्यक्त गरिनसके पनि व्यक्तिको चाहना नहुने कुरै भएन ।

एमाले पोलिटव्युरो सदस्य कृष्णबहादुर राई पनि एमाले अध्यक्ष ओलीले भण्डारीबारे दिएको पछिल्लो अभिव्यक्ति पार्टीभित्र औपचारिक रुपमा छलफल भएर आएको जस्तो आफूलाई नलागेको बताउँछन् ।

उनले नेकपा एमालेको पार्टी महाधिवेशन हुन अझै तीन वर्षभन्दा बढी रहेको भन्दै कसैले पूर्व राष्ट्रपति भण्डारीलाई अहिलेबाटै लाग्न सुझाव दिन सक्ने बताए । ‘कसैलाई त्यस्तो लागेर सुझाव दिन पाइन्छ । तर पार्टीले औपचारिक रुपमा तिमी आऊ, यो कमिटीमा बस, यसरी राख्छु भन्ने हैसियत त अहिले कसैको छैन’, राईले भने, ‘तर कसैलाई त्यो भावना लाग्यो भने व्यक्तिगत रुपमा भन्न त सक्छ ।’

राईले कसैले त्यसरी भन्दैमा नहुने भए पनि समयले भण्डारीको माग पार्टीमा गर्न सक्ने सम्भावना भने जीवितै रहेको बताए ।

उनले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीबारे दिएको अभिव्यक्तिले अध्यक्ष ओली र भण्डारीबीच तिक्तता बढेछ कि क्या हो भनेर गरिने आशंकालाई बल पुगेको बताए । यद्यपि उनले राजनीतिमा आउने नआउने भन्ने विषय भण्डारीको इच्छामा भरपर्ने बताए । त्यसो त भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत एमालेको समानान्तर गतिविधि वडातहसम्मै विस्तार गरेकाले उनी कुनै पनि बेला सक्रिय हुन र राजनीतिमा फर्कने चाहे त्यो सम्भावना प्रबल रहेको धेरैको बुझाइ छ ।

‘पहिलो कुरा उहाँ राजनीतिमा आउने नआउने उहाँकै इच्छाको कुरा हो’, राईले भने, ‘संवैधानिक रुपमा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नहुने भन्ने कहीँ कतै छैन ।’

उनले राष्ट्रपति हुनुभन्दा पहिला भण्डारी प्रधानमन्त्रीको लाइनमा समेत रहेको पनि बताए । ‘पार्टीको निर्वाचित उपाध्यक्ष, त्यसमाथि जवजको प्रवर्द्धन गर्ने कुरामा उहाँको पनि योगदान छ । अर्कोतर्फ महिला अधिकारलाई राज्यका सबै अङ्गमा सुनिश्चित गर्ने काममा उहाँको योगदान कसैले बिर्सेका छैनन्’, राईको भनाइ छ ।

त्यसो त राष्ट्रपति हुँदा पनि भण्डारी राजनीतिक गतिविधिबाट टाढा बस्न नसकेको आरोप उनीमाथि लागेको थियो । नेकपा कालमा होस् वा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दाका बखत नै किन नहोस्, भण्डारीमाथि राजनीति गरेको आरोप लाग्ने गरेकै थियो । तत्कालीन समयमा भण्डारीले राष्ट्रपति निवासलाई पार्टीभित्र ओली समूहलाई बलियो बनाउने थलोको रूपमा प्रयोग गरेको कतिपय नेताहरुले सार्वजनिक रुपमै बताएका थिए ।

Facebook Comments Box
TOP