अर्जुनचौपारी : दलित केन्द्रद्वारा गैरदलितलाई घर

Prakash Tiwari

अर्जुन काफ्ले,

स्याङ्जा, असार ६ गते । अर्जुन चौपारी गाउँपालिका–६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्दै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्र अर्जुन चौपारीले घर बनाएर दिएको हो ।

आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको दलित उत्थान केन्द्रले गैरदलित खड्काको घर बनाइदिएर नमुना काम गरेको हो । गत मङ्सिर १८ गते जिल्ला प्रशासनमा दर्ता भएको केन्द्रले गरिब विपन्न तथा असहायलाई सहयोग गर्ने अभियान अन्तर्गत सेते खड्काको घर बनाएको हो ।

श्रीमती ६० वर्षीय पवित्रा खड्कासहित लामो समय बाँसले बारेको घरमा बस्नुभएका सेते खड्कालाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले घरको चाबी हस्तान्तरण गर्नुभएको हो । स्थापनाको छोटो समयमा राम्रो काम गरेको हुँदा अतिविपन्न परिवारको हितका लागि काम गर्न पालिकाले दलित उत्थान केन्द्रलाई सहयोग गर्ने र नयाँ नयाँ काममा लाग्न गाउँपालिका अध्यक्ष तिवारीले आग्रह गर्नुभयो । लामो समय भारत बस्नुभएका खड्का नेपाल आएसँगै आफ्नो कुनै घर नहुँदा बाँसले बारेर स्थानीयले घर बनाइदिएका थिए ।

हिउँदमा चिसो र बर्खामा पानीले भिजेर चिसो भुइँमा बस्नुपर्ने आफ्नो परिवारलाई दलित उत्थान केन्द्र आएको सेते खड्काले बताउनुभयो । खड्का परिवारलाई एक लाख ५६ हजार १०७ रुपियाँको लागतमा शौचालय तथा बिजुली जडान गरी निःशुल्क रूपमा हस्तान्तरण गरिएको हो । यस्तै विस्तारा सेट, चामल, नुन, तेल, दाल, चिनी, साबुन तथा घरमा चाहिने भाँडा, गाग्री, प्रेसर कुकर, थाली, कचौरा, जग, डाडुपन्यु र खड्का परिवारलाई लगाउने कपडासमेत प्रदान गरिएको थियो ।

दलित उत्थान केन्द्रले पालिकाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गरी घर, शौचालय निर्माणका साथै बिजुली बत्ती जडानका साथै आवश्यक सामग्री प्रदान गर्दै आएको छ । दलित उत्थान केन्द्रले स्थापनाको सात महिनामै अतिविपन्नका चार नयाँ घर निर्माण, तीन वटा मर्मत, ४० परिवारमा बिजुली जडान, ३० परिवारलाई न्यानो कपडा, ३० परिवारलाई दसैँ कोसेली, पाँच सेट सिलाइकटाइ मेसिन, आरन निःशुल्क प्रदान गरेको छ ।

पालिकाको दलित उत्थान कोषको १० लाख र दुई लाख पाँच हजार सहयोगीसँग सङ्कलन गरेर विपन्न, गरिबको क्षेत्रमा सहयोग गरेको अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो ।

विगतमा दलित केन्द्र आफ्नै सजातिलाई सहयोग गर्ने गरेको बताउँदै विश्वकर्माले कुनै जाति धर्म नभनी सबै जातजातिको सहयोगमा लाग्ने बताउनुभयो । Gorkhapatra Daily

Facebook Comments Box
TOP