कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ।

काठमाण्डौ:

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण फेरि उकालो लागेको छ। दैनिक हजारौं मानिस संक्रमित भइरहेका छन्। सरकार पछिल्लो संक्रमण ओमिक्रोन भेरियन्टले बढेको हो भनेर औपचारिक रूपमा भनिसकेको छैन तर ट्रेन्ड हेर्दा अहिले ओमिक्रोनकै कारण संक्रमण तीव्र भइरहेको देखिन्छ।

पछिल्लो डेढ सातायता संक्रमण पुष्टि भएका कोरोनाका बिरामीहरू धेरै त घरमै बसिरहनुभएको होला। तपाईंलाई घरिघरि लक्षणले सताउँदा आफू अस्पताल जाने कि नजाने भन्ने द्वुविधा परिरहेको हुनसक्छ। त्यसमाथि धेरैलाई ओमिक्रोनको असरबारे थाहा नहुँदा अलमल भइरहेको हुनसक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी ओमिक्रोन भेरियन्ट पहिलेका भेरियन्टभन्दा खासै फरक नरहेकाले संक्रमितले पहिल्यैकै सुरक्षाका उपायहरू अवलम्बन गर्नसक्ने बताउँछन्।

कसैलाई संक्रमण भए सबैभन्दा पहिले ती व्यक्तिले आफूलाई अन्य व्यक्तिहरूको सम्पर्कबाट टाढा राख्नुपर्ने डाक्टर सुवेदी बताउँछन्। साथै सामान्य लक्षण भएको अवस्थामा संक्रमित आत्तिएर अस्पताल गइहाल्नु नपर्ने उनको सुझाव छ। अहिले जति नयाँ संक्रमित अस्पताल भर्ना भएका छन्, तीमध्ये धेरै जना सामान्य लक्षण भएकाहरू छन्। चिकित्सकहरूका अनुसार उनीहरूमा ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने र थकान लाग्नेजस्ता सामान्य लक्षण छन्। यस्ता लक्षणहरू सामान्य रहेको उल्लेख गर्दै चिकित्सकले त्यस्ता संक्रमित घरमै बस्न सकिने जनाएका छन्।

घरमा बस्दा संक्रमितले केही कुरामा भने पक्कै ख्याल गर्नुपर्ने हुन्छ। डाक्टर सुवेदीका अनुसार संक्रमितले आफ्नो अक्सिजन मात्रा बेलाबेलामा जाँच गरिराख्नुपर्छ। त्यसका लागि अक्सिमिटर को प्रयोग गर्न सकिन्छ। चिकित्सकहरूका अनुसार अक्सिजन मात्रा ९० देखिमाथि भयो भने आत्तिनु पर्दैन। ९० बाट तल झर्न थाल्यो भने चिकित्सक वा अस्पतालसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यीबाहेक अन्य कारणले सिकिस्त भएको महशुस भए पनि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने डाक्टर सुवेदीको सुझाव छ। “ओमिक्रोन भेरियन्ट पहिलेका भेरियन्टभन्दा खासै फरक छैन। त्यसैले पुरानोभन्दा फरक नियम गर्नुपर्छ भन्ने लाग्दैन,” उनले भने।

सुवेदीका अनुसार ओमिक्रोन संक्रमितले यसअघि अपनाउँदै आएका उपायहरू नै अवलम्बन गर्न सक्छन्। त्यसका लागि संक्रमण पुष्टि भएपछि कम्तीमा १० दिन आइसोलेसनमा बस्नुपर्छ। १० दिन पूरा भएपछि संक्रमितहरूले अन्य व्यक्तिलाई संक्रमण नगराउने उल्लेख गर्दै सुवेदीले त्यसपछि भने पुनः परीक्षण नै गराउनु नपर्ने बताए।ओमिक्रोन संक्रमितले कुन अवधिमा बढी अरू व्यक्तिमा संक्रमण सार्न सक्छन् भन्ने कुरामा विभिन्न तथ्यांकहरू आएको सुवेदी बताउँछन्।”यसबारे फरक-फरक तथ्यांकहरू आइरहेका छन्। एकथरी तथ्यांकले संक्रमणको सक्षण सुरू हुनुअगाडि नै धेरै मानिसमा सरिरहेको देखिएको छ। अर्कोतिर लक्षण देखिएको सुरू दिनमा भन्दा पनि तीन-चार दिनमा जाँच गर्दा पोजेटिभ देखिने गरेको छ। त्यसैले यसै भन्न सकिँदैन,” सुवेदीले भने।अहिलेलाई ओमिक्रोन सर्ने सक्ने अवधि २ देखि १४ दिनलाई मान्नुपर्ने उल्लेख गर्दै उक्त बेलासम्म सतर्कता अपाउनु पर्ने डाक्टर सुवेदीको सुझाव छ।

अधिकांश संक्रमितले संक्रमण सार्न परे दुई-चार दिनभित्रै सारिसक्ने उनले बताए। पाँच दिनपछि भने अरूमा सर्ने सक्ने भए पनि त्यो सम्भावना निकै कम हुने सुवेदीले बताए।यी बाहेक अन्य कुराहरू पहिलाका भेरियन्टभन्दा फरक नभएको भन्दै उल्लेख गर्दै उनले ओमिक्रोन संक्रमितले पहिलेकै सुरक्षाका उपाय अपनाउन सक्ने बताए।अहिलेसम्म भएका अध्ययनहरूले ओमिक्रोन अन्य भेरियन्टभन्दा एकदम छिटो फैलिने देखिए पनि यो कम घातक रहेको देखिएको छ। लक्षणका हिसाबले भने ओमिक्रोन भेरियन्टले श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा बढी असर पुर्‍याएको देखिएको छ।”मलाई फोन गर्ने मान्छेमध्ये धेरैले घाँटी दुस्खेको भन्नुभएको छ। पछि परीक्षण गर्दा पनि उहाँहरूमा पोजेटिभ आएको छ,” डाक्टर सुवेदीले भने, “श्वासप्रश्वासको तल्लो भाग भनेको फोक्सो हो र माथिल्लो भाग घाँटी, नाक हो। ओमिक्रोनले माथिल्लो भागमा बढी संक्रमण गरेको देखिन्छ।” विज्ञहरूले सुझाएजस्तै सामान्य लक्षण भएका संक्रमित घरमै बसिदिए भने जटिल संक्रमितलाई अस्पतालमा व्यवस्थापन गर्न सहज हुन्छ। किनकी सरकारले तेस्रो लहरमा झन्डै १५ हजार संक्रमित गम्भीर हुनसक्ने प्रक्षेपण गरेको छ। अहिले अस्पतालहरू पनि यही कुरालाई मध्यनजर गर्दै बेड, अक्सिजनलगायत स्रोत जुटाइरहेका छन्। अस्पतालहरू सामान्य लक्षण भएका संक्रमितले भरिन थाले भने जटिल संक्रमितलाई व्यवस्थापन गर्न गाह्रो पर्छ। जसले गर्दा अनपेक्षित मृत्यु संख्या बढ्नसक्छ।

Facebook Comments Box
TOP