फेसबुकमा आकर्षक जागिर मिलाइदिने विज्ञापन गरि ठगि गर्ने स्याङ्जाका युवक पक्राउ ।

पोखरा:

फेसबुकमा आकर्षक जागिर मिलाइदिने भन्दै विज्ञापन गरि ठगि गर्ने स्याङ्जा फेदीखोला-१ घर भएका २१ वर्षीय युवक कृष्णप्रसाद पौडेल पोखरामा पक्राउ परेका छन ।
जागिर मिलाइदिने विज्ञापन गरी सम्पर्कमा आउनेलाई २५ सय तिराएर फाराम भराउने, जब ग्यारेन्टी भनेर फसाउनकै लागि पोखरा तालचोकमा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टरको बोर्ड राखेर करीब ४५ सय जनालाई यसरी नै ठगेको पीडित युवाहरुको आरोप छ ।

दाबीअनुसार पौडेलले जनही २५ सयको दरले एक करोड १२ लाख ५० हजार ठगी गरेको देखिन्छ । तर, पौडेलले १७ लाख उठाएको स्वीकारेका छन् । डाँडाको नाक, शिशुवा प्रहरीले पक्राउ गरेको हो । शुक्रबार नै २ सय बढी पीडितहरु प्रहरी कार्यालयमा धर्ना दिन पुगेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख महेन्द्र मरासिनीले जाहेरी परेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताएका छन् ।

पोखरामात्र होइन, फेसबुकमा उनको विज्ञापन हेरेका विभिन्न जिल्लाका युवाहरुले समेत फाराम भरेको पीडितहरुले बताएका छन् । सबैजसो फेसबुक पोष्टबाटै आकर्षक जागिरको विज्ञापन देखेपछि सम्पर्कमा आएको बताएका छन् । हण्डेड पर्सेन्ट जब ग्यारेण्टी, मासिक २५ हजार तलब देखेर आफूहरुले २५ सय तिरेरै अप्लाई गरेको उनीहरुको एक स्वर छ ।

कोरोनाको महामारीले लकडाउन हुँदा धेरैजसो जागिर नभएका युवाहरु विज्ञापन देख्दैमा लोभिएको पाइएको छ । २५ सय तिरी फाराम भरेर सेन्टरबाट अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी सम्पर्कमा आएका युवाहरुलाई दिइएको थियो । अन्तर्वार्ता भनेर लिएर कोहिलाई फेल गराउने, कोहि पास भयो भनेपनि जागिर नलगाउने, फेल हुनेलाई अर्को पदमा फेरि फाराम भर्न सुझाएर पुनः पैसा असुल्न लागेपछि भने उनीहरु सशंकित थिए ।

शुक्रबार कार्यालयमा पुग्दा सञ्चालक पौडेल नै पक्राउ परेको सुनेपछि पीडितहरु समूहमै शिशुवा प्रहरी कार्यालय पुगेका थिए । पौडेलले सम्पर्कमा आएका युवाहरुलाई होटलमै कार्यक्रम गरी आफ्नो कम्पनीले यसोउसो गर्छ भन्दै विश्वास समेत दिलाउने गरेका थिए ।

गत वर्षदेखि नै पैसा उठाउन सुरु गरेका उनले भदौ २५ गतेसम्म जागिरमा लागिसक्ने भनेपनि शुक्रबारसम्म जागिर नमिलेपछि पीडितहरु प्रहरीसम्मै पुग्नुपरेको हो ।

Facebook Comments Box
TOP