नागरिकको आयस्रोत बढाउन चापाकोट नगरपालिकाद्वारा दुनाटपरी मेसिन प्रदान ।

duna tapari chapakot -1

स्याङ्जा : विवाह, वर्तबन्ध तथा अन्य पुजापाठमा प्रचलनमा आउने दुना टपरी हराउन थालेपछि चापाकोट नगरपालिकाले संरक्षण अभियान शुरु गरेको छ । सालको पात टिपेर दुनाटपरी बनाउने चलन पछिल्लो समय हराएपछि चापाकोट नगरपालिले महिलालाई दुना टपरी बनाउने तालिम दिन शुरु गरेको हो । सालको जंगल प्रसस्त भएको चापाकोट नगरपालिकाले दुना टपरीको संरक्षण पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउन सकिने भएपछि यो अभियानको थालनी गरेको छ । नगरपालिकाले प्लास्टिक विस्थापित गर्ने रणनिति संगै महिलाहरुलाई आयआर्जनमा समेत सहयोग पुग्ने उद्देश्यले विद्युतीय मेसिनवाट दुना टपरी निर्माण गर्ने तालिम प्रदान गरेको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत चापकोट नगरपालिकाको आत्मनिर्भर महिला सहकारी संस्थाका महिला समुहलाई शिप सिकाई दुना टपरी वनाउने विद्युतिय मेसिन समेत हस्तान्तरण गरिएको छ । चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले स्थानीय बनमा खेर गइरहेको सालको पात टिपेर दुना टपरी बनाई महिलाहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मेसिन सहयोग गरेको जानकारी दिए ।

बिद्युतीय मेसिन भएपछि दुना टपरी उत्पादन गर्ने समय र लागत समेत घट्ने गिरीको विश्वास छ । तालिममा सिकेको शिप र यो आधुनिक विद्युतिय मेसिनको प्रयोगवाट महिलाहरुको समुहवाट उत्पादित वस्तुको विक्रि वितरणमा पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख गिरीले सहभागीलाई विश्वास दिलाए । चापाकोट नगरपालिका उत्पादनमा जोड दिन चाहान्छ प्रमुख गिरीले भने,‘उत्पादनलाई बजारको व्यवस्था सगै नागरिकलाई आम्दानीको सहजता नगरपालिकाले गर्छ ।’ नागरिक आत्मनिर्भर भए मात्रै नगरपालिकाको आयस्रोत बलियो हुन्छ उनले भने ।

duna tapari chapakot -2

तालिममा आत्मनिर्भर महिला सहकारी संस्थाका ४० जना महिलाहरुको सहभागिता रहेको छ । नगरपालिकाले महिलाहरुलाई उद्दमी वनाउने उद्देश्यले गरेको शिपमुलक तालिमलाई सदुपयोग गर्ने सहकारीका अध्यक्ष गायत्री आचार्यले प्रतिवद्धता व्यक्त गरिन् । उनले नगरपालिकावाट सहयोग प्राप्त दुना टपरी निर्माण गर्ने विद्युतीय मेसिनलाई सहकारीको सामुदायिक भवनमै सन्चालन गरिने सामुहिक उत्पादनको मोडेलमा उद्योगको रुपमा विकास गर्ने लक्ष्य लिइएको समेत उनले प्रष्ट पारिन् । अहिले सम्म आफूहरुले हातले नै दुना टपरी बनाउदै आएको र यसरी मेसिनबाट दुना टपरी बनाउने सिप सिक्ने अवसर पाउँदा खुसी लागेको तालिममा सहभागी चापाकोट नगरपालिका वाड नं २ ठाँटी भञ्ज्याङकी लक्ष्मी मल्लले बताईन् । मल्लका अनुसार फुर्सदको समयलाई अब दुनाटपरी बनाउनेमा खर्चिने बताईन् । पुजा, विवाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यमा दुना टपरीको प्रयोग हुन्छ । चापाकोट आसपासमा दुना टपरी बनाउन प्रयोग हुने सालको जंगल प्रसस्त रहेकोले महिलाहरु सहजै यो उद्योग सन्चालन गर्न सक्ने चापकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव खनालले वताए । नगरपालिकाले सहयोग गरेको यो मेसिन सहकारीले सहि सदुपयोग गर्न सके र यसलाई व्यवसायिक उत्पादन संग जोडन सके यहाँका महिलाहरुको अयआर्जनमा समेत थप टेवा पुग्ने उनले वताए । सालको पातबाट बनाईने दुना टपरीको सम्भावना रहेको चापाकोटमा यस व्यवसायलाई व्यवसायीक करण गर्न सकेमा धेरै महिलाहरुको रोजगारमा टेवा मिल्ने विश्वास नगरपालिको छ ।पब्लीक आवाज

Facebook Comments Box
TOP