स्याङजा : धान रोपेको दुई हप्तामै हिस्पाको प्रकोप

dhan virkot

भवानी अधिकारी/स्याङजा : धान रोपेको ३ हप्ता पनि नपुग्दै धानबालीमा राइस हिस्पा (काँडेदार खपटे)  किराको प्रकोप बढ्न थालेको छ। किराले पात काटेर सुक्न थालेपछि किसान चिन्तित छन्। भीरकोट नगरपालिका ५ स्थित पकान फाँटमा राईस हिस्पाको प्रकोप बढेपछि कृषि ज्ञान केन्द्रका प्रमुखसहित प्राविधिक टोलीले अनुगमन गरेर विषादी प्रयोगका बारेमा जानकारी गराए।

भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्न थालेको छ। किराले धान विरुवाको गुभो पनि खान लागेपछि धानबाली नष्ट पार्ने चिन्तामा परेको किसान कृष्णप्रसाद पौडेलले जनाए।

धानखेतिका लागि उर्वर मानिएको पकानफाँटमा राइस हिस्पाको प्रकोप रोक्न भीरकोट जेसीसको समन्वयमा ज्ञान केन्द्रले फाँटमै पुगेर किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई प्रशिक्षित गराएको छ।

धानवालीमा किराको प्रकोप बढेपछि किसानसहितको प्राविधिक टोलीले धानको अनुगमन तथा निरीक्षण गरेका छन्। धान रोपेको १७ दिनमै हिस्पाको प्रकोप देखिएपछि किसानलाई सामान्य विषादीसहित उपचारका विधि सिकाइएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी गराए। उनले भने, ‘फाँटका करिब ७० रोपनी धानबालीमा गरेको अनुगमनमा २० रोपनी धानखेतमा किराको प्रकोप छ।’

झरी पर्ने र बादलिने मौसममा किराले बढी क्षति गर्छ। धानमा सामान्य सेतो देखिने वित्तिकै किसानले हरियो बनाउन यूरिया मल छर्ने गर्दा झनै किराको प्रकोप बढने कृषि अधिकृत इश्वरीप्रसाद अर्यालको भनाइ छ। ‘समस्या देखिँदासाथ खेतमा पानीको सतह बढाउने, किराका अण्डाहरुलाई नष्ट गर्न सके प्रकोप कम हुन्छ,’ अर्याल भन्छन्।

अनुगमनपछि ७५ प्याकेट किङ स्टार नामक विषादी वितरण गरिएको थियो। भीरकोट जेसिजको सहजीकरणमा केन्द्रले प्रकोप सम्बन्धी अन्र्तक्रिया गरेर किसानलाई विषादी वितरण गरेको छ। सोही वडाध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले कृषिका लागि उर्वर पकान फाँटमा धान ब्लकमार्फत धान खेती गरिएको जानकारी गराए।

सहभागी भीरकोट जेसिजका अध्यक्ष प्रसुन मगर, किसान दामोदर तिवारी, पोतप्रसाद तिवारी, शान्ति अर्याल, शेषकान्त तिवारी, राधाकृष्ण अर्याल, शिवप्रकाश अर्याल नारायणप्रसाद अर्याल, कृष्णप्रसाद पौडेललगायतले जिल्लाकै प्रमुख धान उत्पादक क्षेत्र पकान फाँटमा खपटे किराले क्षति पुर्याएकोमा चिन्ता व्यक्त गर्दै समयमै उपचारका लागि आग्रह गरे।

Facebook Comments Box
TOP