अस्ट्रेलियासंग नेपाल ३-० गोलले पराजित ।

काठमाण्डौ:
फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अस्ट्रेलियासंग नेपाल ३-० गोलले पराजित भएको छ। खेल शुक्रबार कुवेत सिटीमा भएको थियो । फिफा वरीयतामा नेपाल भन्दा १३० स्थान माथिको टिमसंगको खेलमा उक्त गोल खाए पनि नेपालको खेललाई तारिफ योग्य मान्न सकिन्छ ।

खेलको छैटौं मिनेटमा अस्ट्रेलियाले म्याथ्यु लकीको गोलले अग्रता लियका थियो भने दोस्रो गोल ३८ मिनेटमा काराकिकले गरे।
रोहित चन्दले ४५ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भयपछि नेपाल १० खेलाडीमा सीमित बनेका थियो। उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए। अस्ट्रेलियाल तेस्रो गोल ५७ मिनेटमा थप्यो । उक्त गोल बोयलले  गरे। दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो बन्यो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगमा समान २-० गोलले पराजित गर्दा अरु तीन टिमसँग दुवै खेलमा पराजय भोग्यो। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन। नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ। अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ।

Facebook Comments Box
TOP