स्याङजामा नेकपाका दुबै समूहको सक्रियता बढ्यो, यस्तो छ गृह जिल्लामा मन्त्री अर्यालको प्रभाव ।

NCP_syangja_padma_edit

राधाकृष्ण डुम्रे :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह अन्तरगतका नेता तथा कार्यकर्ताहरु भेला तथा छलफलमा व्यस्त छन् । देशभर आ-आफ्नो पक्ष बलियो र सशक्त रहेको देखाउन उनीहरु लागि रहेकाछन् । एक अर्कालाई हदै सम्मको गाली र गलौजमा दुबै पक्ष उत्रिएकाछन् ।
स्याङ्जामा पनि दुबै पक्षले आफ्नो कार्यक्रम गरिरहेकाछन् । नेकपा ओली समूहले कार्यकर्ता भेला तथा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गरेकाछन् भने प्रचण्ड नेपाल समूहले जिल्लाका बैठक सँगै प्रधानमन्त्री ओलीको कदमलाई लिएर बिरोध गरिरहेको छ ।

कुन समूहको छ जिल्लामा पल्लाभारी :
स्याङ्जामा दुबै पक्षले आफ्नो उपस्थिती राम्रो छ भन्ने देखाउन लागि रहेका छन् जिल्ला कमिटिमा दुबै पक्षले आआफ्नो बहुमत भएको दाबी गरेकाछन् । सबै भन्दा पहिले भेला र बैठक गरेको नेकपा प्रचण्ड नेपाल समूहले आफ्नो बैठकमा बहुमत सदस्य उपस्थिती भएको र ओली समूह अल्पमतमा परेको जनाएको थियो ।
प्रचण्ड नेपाल समूहका सचिबालय सदस्य मिन प्रसाद कोईरालाले बताए अनुशार नेकपाको १४५ सदस्यीय जिल्ला कमिटि मध्ये ८१ जनाको सहभागीता रहेको थियो । उहाँले ११ वटा पालिकाका ५ जना अध्यक्ष र ७ जना सचिवको सहभागीता भेलामा रहेको दाबी गर्नुभयो ।
अर्काेतर्फ यस भन्दा पछाडि भएको नेकपा ओली समूहको भेलामा पनि आफूहरुको बहुमत रहेको दाबी सो समुहको छ । माओबादी कोटाबाट नेकपाको जिल्ला अध्यक्ष बनेका सुर्य प्रसाद गैह्रेका अनुशार १४५ जना जिल्ला कमिटि सदस्य मध्ये भेलामा ९० जनाको उपस्थिती रहेको थियो । जिल्ला कमिटिमा दुबै समूहले आआफ्नो पल्लाभारी भएको बताउछन् ।

को कता लागे :

  • माओबादी कोटाबाट जिल्ला अध्यक्ष बनेका सुर्य प्रसाद गैह्रे प्रचण्ड समूह छाडेर ओली समूह तर्फ लागे
  • भीरकोट नगरपालिकाको मेयरका उमेद्वार तत्कालिन एमालेका नेता सन्तोष केसी प्रचण्ड नेपाल तर्फ लागे,
  • गल्याङका मेयर भूपराज अधिकारी प्रचण्ड नेपाल समूह तर्फ लागे
  • जिल्लाका प्रभावशाली रहेका तत्कालिन एमालेका नेताहरु आरसी भट्टराई र टिकाराम नेपाली प्रचण्ड नेपाल समूह तर्फ लागे
  • तत्कालिन माओबादीका जिल्ला नेताहरु हुम बहादुर गुरुङ, राजु कोईराला,मोहन गुरुङ ओली समूहमा लागे
  • संघीय सांसद तथा मन्त्री पद्मा अर्याल र सांसद नारायण प्रसाद मरानिनी ओली समूह तर्फ लागे
  • प्रदेश सांसदहरु मोहन रेग्मी र मिन प्रसाद गुरुङ ओली समूहमा लागे भने प्रदेश सांसद दीपक चर्तिमगर प्रचण्ड नेपाल समूहमा लागे
  • केन्द्र तथा जिल्लामा प्रभावशाली रहेका तत्कालिन माओबादी तर्फका नेता शैलेन्द्र घिमिरे प्रचण्ड नेपाल समूह तर्फ लागे

कुन स्थानीय तहका प्रमुख तथा उपप्रमुख कुन पक्षमा :
११ वटा स्थानीयतह रहेको स्याङ्जामा ७ वटा पालिकामा प्रमुख र उपप्रमुख तथा एक पालिकामा उपप्रमुख नेकपाले जितेको थियो ।
जसमा गल्याङका प्रमुख भूपराज अधिकारी र आँधीखोला गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेल प्रचण्ड नेपाल समूहमा खुलेका छन् भने गल्याङकी उपप्रमुख देबीसरा थापा तटस्थ रहनु भएको छ । त्यस बाहेक सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरु ओली समूहमा खुलेकाछन् । जसमा पुतलीबजार नगरपालिका,कालीगण्डकी गाँउपालिका,फेदीखोला गाँउपालिका, बिरुवा, हरिनास र आँधीखोला गाँउपालिकाका प्रमुख रहेकाछन् त्यस्तै अर्जुनचौपारी गाँउपालिकाका उपाध्यक्ष समेत ओली समुहमा खुलेको बताइएकाे छ ।
यसबाट स्थानीयतहमा ओली समूह बलियो रहेको देखाएको छ तर पार्टीका सक्रिय नेताहरु जो स्थानीयतहमा रहेकाछन् उनी मध्ये प्रचण्ड नेपाल पक्षमा धेरै रहेको सो समूहको दाबी रहेको छ ।


के मन्त्री अर्यालको प्रभाव कै कारण जिल्लामा ओली समूह बलियो भएकाे हो :
स्याङ्जा मन्त्री पद्मा कुमारी अर्यालको गृह जिल्ला हो । पार्टीमा आएको दरारसँगै तत्कालिन कृषि मन्त्री घनश्याम भूषालले राजिनामा दिए पछि उहाँको ठाँउ लिनु भएको छ तत्कालिन भूमिसूधार मन्त्री अर्यालले । अर्यालले तत्कालिन अवस्थामा भएको प्रतिनीधीसभाको चुनावमा बहालवाला उपप्रधानमन्त्री तथा शिक्षामन्त्री समेत रहनु भएका कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्नु भएको थियो ।
पार्टीको बिभाजन पछि स्याङ्जामा दुबैपक्ष उत्तिकै हुने आँकलन गरिएको थियो तर मन्त्री अर्यालको प्रभाव कस्तो रहेछ भन्ने पार्टी बिभाजन पछि स्पष्ट देखाएको छ । तथ्यले के देखाउछ भने बुधबार भएको पार्टीको प्रशिक्षण तथा भेलामा जिल्लाका अगुवा कार्यकर्ता, जिल्लामा राम्रो पकड बनाएका नेताहरु तथा स्थानीयतहका पदाधिकारीहरु धेरैको उपस्थितीले ओली समुह बलियो रहेछ भन्ने प्रमाणित गरिदियो । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको उपस्थितीमा ओली समूहको भेला चलिरहदा नजिकै सडकमा प्रचण्ड नेपाल समूहको बिरोध कार्यक्रम जारी रहेको थियो । त्यहाँपनि उपस्थित कमजोर भने थिएन तर जिल्लामा प्रभाव पार्न सक्ने व्यक्तिको उपस्थिती भने तुलनात्मक रुपमा कम थियो । लेखकको सम्पर्कमा आएका कतिपय नेता तथा कार्यकताहरु दोधारमा भएको पाइयो भने कतिपयले पद्मा अर्याल जता लाग्छिन त्यतै जाँदा आफूहरुको राजनीतिक भबिश्य सुरक्षित हुने भनाइ राखेकाे पाइयाे । कतिपयले भने चुनाव चिन्ह र पार्टीको नाम कसले पाउछ त्यसपछि निर्णय लिने भनाई राखेकाछन् । यो समूहमा तत्कालिन माधब र झलनाथसँग नजिक रहेका व्यक्तिहरु रहेकाछन् ।

तत्कालिन माओवादी कोटाबाट जिल्ला अध्यक्ष बनेका सुर्य प्रसाद गैह्रे र उनी निकटका केही व्यक्तिहरु ओली समूहमा खुलेर नै लागेकाछन् । यसको पछाडि समेत मन्त्री अर्यालको प्रभाव रहेको कतिपय नेताहरुले सामाजिक सञ्जालमा लेखेको बिचारबाट स्पष्ट हुन्छ ।
समग्रमा भन्नुपर्दा जिल्लामा दुबै पक्षको उपस्थिती राम्रो छ तर नेता नेपाल र झलनाथ खनाल पक्षका कतिपय नेता कार्यकर्ताहरु अझ पनि नखुलेको बताईएको छ । पार्टीको बिभाजन पछि पूर्ब एमालेका धेरै नेता तथा कार्यकर्ताहरु ओली समूह तर्फ लागे भने पूर्ब माओबादीका धेरै नेता तथा कार्यकर्ताहरु प्रचण्ड नेपाल समूहमा लागेकाछन् । (…….थप अपडेट अर्काे लेखमा)

Facebook Comments Box
TOP