बन्दाबन्दी (लकडाउन) को बेला के गर्दैछन् स्याङ्जाली स्रष्टाहरु ? केही प्रतिनिधि स्याङ्जाली स्रष्टाहरुको दैनिकी-२

sahitya_2

१) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दी ( लकडाउन ) को यो अत्यन्तै संवेदनशील समयमा तपाईं कहाँ हुनुहुन्छ ? अनि यतिबेलाको यो समयमा तपाईंले विशेष के गरिरहनु भएको छ ?

२) कोरोना भाइरस ( कोभिड – १९ ) को विश्वव्यापी महामारीको अन्त्यपश्चातको समयमा एकजना कवि / लेखक / साहित्यकारको रूपमा तपाईं आफैंले के गर्नुहुन्छ ? के गर्ने सोच बनाउनु भएको छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर स्याङ्जाली साहित्यिक अभियन्ता युवा स्रष्टा मिलन समीरद्वारा केही स्याङ्जाली प्रतिनिधि स्रष्टाहरुसङ्ग गरिएको कुराकानी जस्ताको तस्तै –

बन्दाबन्दीमा साहित्य बन्यो महत्वपूर्ण साथी

.

प्रेमराज लुइँटेल :

विश्व विवश बनेर आज कोरोनाको विभत्स स्वरुपलाई स्वीकार गरिरहेछ । नागरिकको जीवन रक्षाका लागि सरकारले गरेको यो लम्बेतान लकडाउनलाई अन्य आम नागरिकलेझैँ निशर्त पालना गरिरहेछु । पृथ्वीमा करिब पन्ध्र लाख यस्ता भाइरस छन् र तीमध्ये दुई सय साठी जति मात्र पत्ता लागेका छन् रे ! यस भाइरसको कारणले सन् १९३० को भन्दा व्यापक र सन् १८७० पछिको सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना सिङ्गो विश्वव्यापी अर्थतन्त्रले गरिरहेछ र यसका बहुपक्षीय झड्कामा साहित्य क्षेत्र पनि अछुतो रहने छैन । विश्व साहित्यको अक्षराम्भ गरी नेपाली साहित्यको प्राथमिक पाठशालामा पढ्दै गरेको मजस्तो विद्यार्थीलाई पनि वर्तमान अवस्थाले चिन्तित तुल्याएको छ ।
गायत्री शनिवारसमेत राष्ट्रसेवामा हिम्मतसाथ खटिरहनु भएको छ । छोरो सम्राट पनि घरबाटै क्यानडामा सफ्टवेयर डेभलपरको रुपमा काम गरिरहेको छ । छोरी समता र म भने यो विषम परिस्थितिको भरपूर फाइदा उठाइरहेका छौँ । नजिकै रहेको दिदीको बारीमा बाझो खनेर केही भागमा मकै र तरकारीहरु लगायौँ । फर्सीको साग खाने भइसकेको छ । किसानको छोराले धेरै वर्षपछि बारीमा पसिना बगाउन पाउदा खुसी लागेको छ । “ माटोमा पसिना पोखी माटोमै फुल्छ जीवन , विश्वका वीरका निम्ति धर्ती हो पहिलो धन ” महाकवि देवकोटाका यी पंक्ति आज झन् बढी सार्थक लागिरहेछन् । छोराछोरीलाई घरमै बसेर आफूले भोगेको विगत र पुराना पुस्ताबाट प्राप्त अनुभवका आरोह अवरोहलाई केही मात्रामा हस्तान्तरण गर्ने सुअवसर यो महामारीले जुटाइदिएको छ । घरिघरि उनीहरुसँग टेवल टेनिस , क्यारम बोर्ड र ब्याडमिन्टन पनि खेल्ने गरेको छु ।
अफिसमा अति जरुरी नपरेका दिन बाहेक खासै जान परिरहेको छैन । सूचना प्रविधिमार्फत एक पटक सामूहिक बैठक गरेर काम विन्यास र जानकारीको आदान प्रदान गर्यौ । एक दुई वटा साहित्यिक अनलाइन कार्यक्रममा सरिक हुने अवसर पनि जुट्यो । माधवी र प्रयोगशालालाई दोहोर्‍याएर पढेँ । नरहरि आचार्यको गणतन्त्रको यात्रा, एङ्गेल्सको परिवार , निजी स्वामित्व र राज्यको उत्पति , गोपीनाथ मैनालीको अपेक्षा र अनुभूति , जगदीशचन्द्र भण्डारीको सौन्दर्यको अन्वीक्षण , काजी रोशनको मानसरोवरमा डुबुल्की मार्दा आदि केही किताबहरु रमाइला साथी बनिरहेछन् । एक दुई वटा कविता कोरेँ । सम्पादकीय भूमिकामा सहकारी विभागका मुखपत्रहरु सहकारी बुलेटिन र सहकारी दर्पणलाई प्रकाशनको निरन्तरता दियौँ । लुइँटेल कल्पको केही तयारी गरेका छौँ आफ्ना पुराना छरिएका केही लेख रचनाहरुलाई समेलेर राखेको छु । वालिङबाट हतार हतार पोको पारेर ल्याएका किताबहरुले पनि गुहार पाएका छन् । स्याङ्जाको अलग्गै खण्ड बनाएर राखेको छु ।

कोरोना कहरबाट मुक्ति पाउन केही समय लाग्ने देखिन्छ । नेपाली साहित्यको विकासमा राष्ट्रसेवक कर्मचारीहरुले पनि उल्लेख्य योगदान गरेका छन् । सुब्बा कृष्णलाल अधिकारीदेखि आजसम्म आइपुग्दा धेरै साहित्यसेवीहरुले नेपाली वाङ्मयको श्रीवृद्धिमा आफूलाई समाहित गरेका छन् । नेपाल प्रहरी लगायतको योगदानको बारेमा केही अन्वेषण भए पनि मूलतः निजामती सेवातर्फको साहित्यिक अनुसन्धान आशातीत रुपमा भएको पाइदैन । केही लामो अवधि लगाएर भए पनि नेपाली साहित्यमा राष्ट्रसेवकहरुको योगदानको शोधखोज गर्ने योजना बनाएको छु । यही लकडाउनकै समयमा उक्त अन्वेषणको प्रारम्भिक प्रारुपको कार्य पनि गरिरहेको छु र यसलाई अगाडि बढाइरहनेछु । गण्डकी साहित्य परिषदका गतिविधिहरुलाई विगतका वर्षहरुमा झैँ निरन्तरता दिदै थप प्रभावकारी गराउने सल्लाह भएको छ । स्याङ्जाको साहित्यिक उन्नयनमा गर्दै आइरहेको प्रत्यक्ष / अप्रत्यक्ष संलग्नता र सहभागितालाई आगामी दिनमा समेत जारी राख्नेछु ।

-वालिङ , स्याङ्जा । हाल – काठमाडौं ।

==========

बन्दाबन्दीले सूचना प्रविधिको प्रयोग बढायो ।

.

बद्री ढकाल हिरामणि :

म स्याङ्गजा फापरथुम , टीकाजा हुदैँ कोहलपुरमा शिक्षण पेशामा संलग्न छु। अहिलेको यो जटिल परिस्थितिमा घरका विभिन्न काममा सघाउने , करेसाबारीमा समय दिने , बालबच्चाहरुसङ्ग विभिन्न खेल खेल्दै , मोबाइल एपहरु चलाउन सिक्दै / सिकाउदै दैनिकी बितिरहेको छ । त्यसमाथि केही पुस्तक अध्ययन गर्ने , फेसबुक , गुगल , युटुबमा आएका अध्ययन सामग्री , समाचारको अध्ययन गर्ने , गाउँघर र यताउता भेटिनुहुने विद्यार्थी , शिक्षक , स्वास्थ्यकर्मी , अभिभावक , साहित्यकार , कलाकार , समाजसेवी , नेताहरु आदिसङ्ग भए गरेका भेटघाटमा आवश्यक प्रतिक्रियाहरु संकलन गर्ने र सम्पादन गरि भिडियो बनाई अपलोड गर्ने काम पनि गरिरहेको छु । विश्वभरि फैलिएको कोरोना महामारीले थुप्रै चुनौतीको सामना गर्नुपरेको यो परिवेशका विभिन्न घटनाहरुलाई साहित्य मार्फत र इन्टरनेट भर्चुअल बैठकमा आवश्यक छलफल गर्दै विभिन्न गोष्ठीमा भाग लिईरहेको छु । देश सामाजिक, आर्थिक , शैक्षिक आदि पक्षमा झन्झन् कमजोर हुँदै गएकोमा दुख लागिरहेको छ । जनस्तरको त्रशीत मनोविज्ञानलाई ख्याल गर्दै विभिन्न भिडियो बनाउने , साहित्यिक रचना गर्ने गरिरहेको पनि छु । बन्दाबन्दी पछि एउटा हाइकु कृति निकाल्नु पर्छ कि भन्ने सोचमा पनि छु । यु ट्युब च्यानल search media nepal मा विद्यार्थी , शिक्षकहरुलाई बढी उपयोगी हुने सामग्रीहरु अपलोड गर्ने गरि निरन्तरता दिने सोचमा छु । जीवनमा आइपर्ने यस्ता दैवीप्रकोप वा मानव निर्मित महामारीमा विवेकशील व्यवहार , सहयोगी भावनाको विकास गर्दै आफ्नो गाउँ र समाजका साथै देशको लागि सकारात्मक सहयोग गर्ने र अरुलाई पनि सोहि अनुसार आत्मबल बढाउने उपाय अपनाउन सहयोग गर्ने नै छु । एक अध्यापक भएका नाताले शिक्षण पेशामा ict को प्रशस्त प्रयोग गर्ने छु भन्ने लागेको छ । -आधिखोला , स्याङ्जा । हाल – बाके ।

==========

भैसकेका विपदहरूलाई कल्पेर बस्नुभन्दा किताब पढ्न र सकारात्मकतातर्फ उन्मुख रचना गर्न मन लाग्छ

.

शान्ति सापकोटा :

सिर्सेकोट , स्याङ्जा मेरो पुर्ख्यौली थलो हो । हाल ललितपुर , धोबीघाटमा मेरो बसोबास छ । मेरो नियति कुवाको भ्यागुता जस्तै थियो र अहिले पनि उस्तै छ । कारण , एक प्रकारको सेन्टको बास्ना र धूलो / धुवाँको एलर्जीले मलाई बाहिर निस्किन दिएन । यदाकदा निस्किहाले पनि त्यस्ता तत्वहरूबाट बच्न निकै मुस्किल पर्दथ्यो । यसको मतलब बन्दाबन्दीले मेरो व्यक्तिगत मनोदशामा कुनै असर पारेन। तर समाचार हेर्दा नेपालमा बसोबास गरेका नेपालीहरू भन्दा बाहिरी मुलुकमा काम गर्न गएका नेपाली दाजुभाइ , दिदीबहिनीहरूको कन्तविजोग देखेर ग्लानी भएर आउँछ । व्यापार व्यवसाय गरेर खानेहरूकालागि त जीवन झन् कष्टकर बनेको छ र अर्थतन्त्रले अझै कुन रूप लिदै जाने हो भन्ने चिन्ताले सताउछ । बिहान ४:३० मा उठेर योग ,ध्यान , प्रणायाम गर्छु । यति गरिसक्दा बिहानको ७ बजिसकेको हुन्छ । तुलसी र अदुवाको विना चिनीको चिया बनाएर पिउछु । दैनिक कार्यको सुरुवात यसरी हुन्छ । कोरोनाको भयावह परिस्थितिको सामना गर्नसक्ने उपाय नै योग रहेछ भन्ने म सहित मेरो परिवारले पनि बुझेको छ । त्यसैले घर एउटा आश्रम जस्तै भएको छ । म एकान्तप्रेमी र अन्तर्मुखी स्वभावका कारण जमघट , भेला , सभा , समारोहमा सहभागी हुन पाइएन भन्ने पटक्कै गुनासो छैन । आफन्तलाई पनि मोबाइलकै भित्तामा भेट्न पाइन्छ । प्रविधिले सुख सुविधा दिएको छ । त्यसैले न्यास्रो लाग्ने कुरै भएन । केही न केही लेखिरहन मन लाग्छ । त्यसैले बन्दाबन्दीको अवधिमा यसै सम्बन्धि केही कविता र बालकथा लेखेकी छु । भर्चुअल कार्यशाला तथा गोष्टिहरूमा भाग लिएकी छु । यस्तो भयो , उस्तो भयो भनेर भैसकेका विपदहरूलाई कल्पेर बस्नुभन्दा राम्रा किताब पढ्न र सकारात्मकतातर्फ उन्मुख रचना गर्न मन लाग्छ ।

-वालिङ , स्याङ्जा । हाल – ललितपुर ।

==========

साहित्यसँगै सामाजिक कार्य मै व्यस्त छु ।

.

विष्णु वाग्ले :

नमस्कार ! सर्वप्रथम यो स्थानमा मलाई पनि समाहित गर्नुहुने प्रिय मित्र मिलन समीर ज्यु ! तपाईंलाई हार्दिक धन्यवाद । म अहिले दक्षिण कोरियाको थेगु भन्ने शहरमा छु । कोरोनाले विश्व आक्रान्त भईरहेको बेला म अहिले भएको ठाउँँ पनि कोरियामा कोरोनाको सबैभन्दा बढी संक्रमण भएको ठाउँ हो । बाहिर हिँड्न जोखिम मोल्नै पर्छ । सामान्य भेटघाट र अन्य कुनै कार्यक्रम छोडेर आफ्ना सामान्य दैनिकिका आवश्यकता पुरा गर्न पनि बजार जान जोखिम मोलेरै जानुपर्छ । तर यहाँँ अनलाइन सपिङको राम्रो सुबिधा भएकोले दैनिक आवश्यक पर्ने सामान खरिद गर्नको लागि धेरै जसोले त्यही विधि नै अपनाउनु परेको छ । कतिपय कम्पनिहरु कोरोनाको कारणले व्यवसायिक रुपमा धरापमा परेका छन । कोरियामा रहेको मैले काम गर्ने कम्पनिको पनि एउटा ब्रान्च कोरोनाकै कारणले बन्द भएको छ । नेपालमा लकडाउन हुनु अगाडि घरदेश फर्कन टिकट काटेको थिएँ । तर कोरोनाको कारणले पटक पटक समय परिवर्तन गरे पनि अन्त्यमा टिकट क्यान्सिल गरेर कर्मथलोमै बस्नु पर्‍यो केही समय अझै । यो बाहेक पछिल्लो केही दिन ब्यस्त रहनु पर्‍यो । केही हप्ता अगाडि स्याङ्जा बिरुवा कै एक जना साथी ( भाइ ) को हृदयाघातको कारणले असामयिक निधन भएको थियो । उहाँको शवको अन्त्यष्टिको लागि समय दिनु पर्‍यो । नेपालमा लकडाउनको कारणले शव पठाउन सकिएन । परदेशमा साथी भन्दा माथि को नै छ र । दु:ख आँफुलाई पर्दा मात्रै हुने हैन । सबैको बराबर नै हो । सक्दो सहयोगी भूमिका निभाउनै पर्‍यो । आफ्नै मृत्‍युको पालो पो आउँछ कि जस्तो लाग्छ यो बिरानो ठाउँमा यस्ता घटनाहरु देख्नु / सुन्नु पर्दा । । सामाजिक संस्था र साहित्यिक संस्थामा पनि आवद्द भएकोले त्यतातिर पनि केही समय दिनु परिरहेको छ । तर कोरोनाको संक्रमणकालिन अवस्था भएकोले सकृय रुपमा प्रभावकारी किसिमको कुनै काम गर्न सकिएको अवस्था छैन । यसको अलवा अहिले श्रीमदभागवतगीता यथारुप दोहोर्याएर पढिरहेको छु । अमर न्यौपानेको करोडौ कस्तुरी पनि पढिरहेको छु । समय मिलाएर डा. घनश्याम न्यौपाने परिश्रमीको गजल सौन्दर्य मिमांसा पनि दोहोर्याएर पढिरहेको छु । कहिलेकाहिं कुनै कुराले मन छोयो भने कविता , मुक्तक लेख्ने कोशिश पनि गरिरहेको छु । सिर्जनशिलताको लागि सबैजनामा सिक्ने र सिकाउने भावना जागिरहोस् । अग्रज र अनुज सर्जकहरुको सम्बन्ध असल चेला र प्रिय गुरुको सम्बन्ध भै दिगो बनेर बाँचिरहोस् । एक अर्कामा समर्पित हुने हार्दिकताको सगरमाथा अग्लिरहोस् । पहिले म नेपाली अनि स्याङ्जाली हुंंनुमा सधैंँ गर्व गर्न सकुँ । मरेर लानु केही छैन । मिलेर बाँचौं । मिलेर हाँसौं । जो जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला र सुरक्षाका उपायहरु सही तरिकाले अपनाउनु होला । -बिरुवा , स्याङ्जा । हाल – दक्षिण कोरिया ।

==========

मेरो समय साहित्य सृजनामा नै व्यतीत हुने गरेको छ ।

.

रामचन्द्र भट्टराई :

विश्व नै कोविड – १९ को यो महामारीबाट गुज्रीरहेको यस अवस्थामा हाम्रो देश नेपाल र हामी नेपाली अछुतो रहन सक्ने अवस्था भएन । यो संकटको समयमा म अाफ्नै जन्मभुमि चापाकोटमा बसी लकडाउनको पालना गरिरहेको छु । देश परदेशको घटना गतिविधिहरुले दुखित बनाएको अवस्था भए पनि यो समय मेरो साहित्य सृजनामा नै व्यतीत हुने गरेको छ । हिजोका दिनहरुमा जस्तो सर्जकलाई अाफ्ना सृजनाहरु सार्वजनिक गर्न अहिले माध्यमको अभाव छैन । कवि गोष्ठी , सम्मेलनहरु न्यून मात्रामा हुने गरेको भएता पनि सामाजिक संजालका विभिन्न साहित्यिक समूह ,सदन मार्फत लेख रचना सार्वजनिक , छलफल , विचार विमर्श गर्ने अवसर मिलिरहेको छ । अग्रजहरुका नवीनतम कृतिहरु अध्ययन गर्ने , गजल , कविता मुक्तक ,हाइकु , लघुकथा , कोपिला लेखेर दिन व्यतीत गरिरहेको छु । अाशा गरौं भोलि सहज परिस्थिति बन्नेछ । भोलिका दिनहरुमा अाफ्नो जीविकोपार्जनको कार्यका अलवा रुचिको विषय साहित्य सृजनालाई निरन्तरता दिने छु । अाफुले लिपिबद्ध गरेका सृजनाहरुलाई पुस्तकका रुपमा प्रकाशन गर्ने सोच बनाएको छु । परिस्थिति , समय , स्रोत / साधनले भ्याएसम्म नेपाली साहित्यको श्रीवृद्धिमा लागिरहने सोच रहेको छ । -चापाकोट , स्याङ्जा ।

==========

साहित्य सम्बन्धि अध्ययन र केही लेखन अभ्यासमा समय बितिरहेको छ ।

.

ध्रुव अर्याल निरस :

यतिबेला म प्रवासमा रहेको छु । यहाँ कोरोना संक्रमित बिरामीहरुको वृद्धिदर अत्यधिक भएता पनि सरकारले लकडाउनको घोषणा भने अहिलेसम्म गरेको छैन । दैनिक कामकाज नियमित रूपमा चलिरहेकै छ । अरुबेलामा जस्तै नियमितरूपमा काममा जाने / आउँने क्रम चलिरहेको छ । फुर्सदको सदुपयोग गर्दै साहित्य सम्बन्धि अध्ययन गर्ने र केही लेखन अभ्यास गरेर यतिबेलाको मेरो समय बितिरहेको छ । -पुतलीबजार , स्याङ्जा । हाल – कतार ।

Facebook Comments Box
TOP