जन्म, वर्णाश्रम र आम बुझाई

swami deb roshan

स्वामी देव रोशन :

सुक्ष्म एककोषिय जीवहरुबाट विकसित हुदै बनेको बहुकोषिय जीव चिन्पाञ्जी, गोरील्ला हुदै मानवको विकास भएको कुरा वैज्ञानिकहरु बताउँछन भने हिन्दु धर्मशास्त्रहरुले सर्वशक्तिमान भगवानले ब्रहमाण्डका सबै कुराहरुको सृष्टि गरेपछि ऋषिमनु प्रथम पुरुष र शतरुपा प्रथम स्त्रिको सृष्टिबाट मनुष्यको जन्म भएको बताएका छन । चिन्पाञ्जी र गोरील्लाका विकसित रुप हामीहरु वा प्रथम पुरुष र प्रथम स्त्रिबाट फैलिएका हामी सन्तानहरु आजको वैज्ञानिक, आधुनिक, प्राविधिक संसारका विकसित मानव हौ ।

हामीले हरेक कुराहरुलाई सुक्ष्म एंव बृहत रुपमा अध्ययन विश्लेषण गर्न सक्नुपर्छ । वेद, उपनिषद,  भगवत गिता, ब्रहमसुत्र जस्ता हिन्दुहरुको सद्ग्रन्थहरुमा ज्ञानको महासागर नै भेटिन्छ । हुन त सम्पुर्ण धर्मले आ-आफ्ना दर्शन र ज्ञानका सागर बगाएका छन । तर पनि हिन्दुहरुका ज्ञानका महासागरमा पश्चिमा देशका विदानहरु, दार्शनिकहरु पनि डुबुल्की मार्ने प्रयास गरीरहेका छन । भने हामी नेपालीहरु यो ज्ञानभुमी, शान्तीभुमी र तपोभुमिमा सृजना भएका ज्ञानलाई उपेक्षा गरेका त छैनौ ? तर हाम्रा सनातन जिवन दर्शनले समाजमा ल्याएका विकृती, विसङ्गती, बेथिती, अन्धविश्वास र कुप्रचलनहरुलाई सहर्ष स्विकार्न पनि हुदैन र सकिदैन पनि । यसलाई परीमार्जन गर्न, सकरात्मक बन्न सक्नुपर्छ ।

वर्णाश्रम व्यवस्थाबारे मानिसहरुमा भ्रम उत्पन्न भइरहेको छ । वर्णाश्रमले कसैलाई घमन्डि र गौरवान्वीत बनाएको छ । घमन्डले उफ्रिरहेका छन । यसलाई आफ्नै उपाधी नै सम्झन्छन । त कसैले यसको कडा विरोध गरिरहेका छन । यसलाई च्यात्नुपर्छ, जलाउनुपर्छ, हटाउनुपर्छ भनेर । वर्णाश्रम व्यवस्था रहँदासम्म दलितहरु समान रहदैनन । यिनिहरु हेपिन्छन । यो बाहुनवादी सोच हो, के-के हो, के-के नानाभाती सुन्नुपर्छ । नकरात्मक मात्रै होइन सकरात्मक पनि बनेर यसलाई बुझ्नुपर्दछ । यसैले यी विरोधहरु पनि वेठिक छ । घमन्ड पनि बेठिक छ है ।

वर्णाश्रम व्यवस्थामा रहेका यी चार वर्णहरु व्राह्मण, क्षेत्री, वैश्य र शुद्र मानिसमा रहने गुणहरु हुन । यी गुणहरु हाम्रो शरिरको ४ वटा केन्द्रहरुमा रहन्छन । व्राह्मण वा ज्ञानबुद्दिको केन्द्र हाम्रो टाउको हो । क्षेत्री वा साहस हिम्मतको केन्द्र हाम्रो छाती हो । वैश्य वा स्वामित्वको केन्द्र हाम्रो भुडि हो । शुत्र वा सेवा वा अज्ञानताको केन्द्र हाम्रो खुट्टा वा पैतला हो । कुनै पनि मानिस पृथ्वीमा जन्मिदा ब्राह्मण मात्रै या क्षेत्री मात्रै या वैश्य मात्रै या शुद्र मात्रै भएर जन्मदैन । विश्वका सम्पुर्ण ७ अर्व मानिसहरुमा यी चारै प्रकारका गुणहरुका केन्द्रहरु रहन्छन । तर अहिले चक्रविज्ञानले हाम्रो शरिरमा मुख्य सात केन्द्र मुलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहात, विशुद्, आज्ञा र सहस्रार चक्र हुने कुरा प्रमाणित गरेको छ । हिन्दुहरुमा मात्रै होइन सम्पुर्णमा यो गुण रहन्छ । तर अन्य धर्मले यसको व्याख्या नगरेको मात्रै हो । मनुऋषिले मनस्मृतिमा समेत यसरी बताउनु भएको छ:

“जन्मना जायते शुद्र: संस्कारत दिज उच्चेते”

हरेक मानिस जन्मदा शुद्र भएर अज्ञानी भएर जन्मन्छ र संस्कार सिक्दै गएपछि उच्च हुदै जान्छ । अर्धचेतन स्वतन्त्र शिशु उमेर बढ्दै जाँदा बस्न, उठ्न, बोल्न, दौड्न जानेपछि उसले मेरो बाबा, मेरो आमा, दिदि, दाई, खेलौना भन्दै मेरो घर. खेतबारी, घडेरी, सम्पत्ति भन्ने गुणको विकास हुन्छ । यो गुण वैश्य गुण हो । यी गुणहरु कसैले कम देखाउँछन त कसैले बढि देखाउँछन । भने कोही दानविर बन्छन ,  कोही सन्यासी पनि बन्छन, कोही लोभी अरबपति बन्छन । यही क्रममा बच्चाहरु खाना प्राप्ति गर्न रुने, कराउने, झगडा गर्ने गर्छन । ठुलो हुदै जाँदा उ लडाई झगडा गर्ने, मुद्दा मामिला गर्ने, हकहितका आवाजहरु उठाउने गर्छन । यो गुण क्षेत्री गुण हो । यी गुणहरु पनि कुनैमा कम हुन्छ कुनैमा बढी हुन्छ । हाम्रो समाजका अग्रज, गुरु, मातापिताको निर्देशन अनुसार विभिन्न माध्यमहरुबाट औपचारिक अनौपचारिक, नियमित अनियमित शिक्षा प्राप्त गरेपछि उसको ब्रह्म तत्व खुलेपछि भृकुटीमा दिप बलेपछि मात्रै उ ब्रह्म जस्तै बन्छ अथवा ब्राह्मण वा बाहुन बन्छ ।

ऋषिमुनिहरुले ध्यान साधना गरेर ज्ञानी भए उनिहरुको ब्रह्म तत्वको विकास भएको थियो । उनीहरु मात्रै शुद्द ब्राह्मण थिए ।

यसरी हरेक मानिसहरुमा यी चारै गुणहरु विधमान रहन्छन । प्रत्येक मानिस बाबुआमा, खेतिपाती, पशुहरु र अफिस कार्यालयहरुको सेवा गर्छन् यो गुण शुद्र हो । त्यसैले सबै शुद्र हुन । आफ्नो सम्पत्तिको संरक्षण गर्छन, लोभ वस्तुहरुको माया गर्छन् यो गुण वैश्य हो । त्यसैले सबै मानिसहरु वैश्य हुन । आफ्ना अधिकारका लागी लड्छन, राजनितीका पक्षमा लाग्छन् यो गुण क्षेत्री हो । त्यसैले सबै मानिसहरु क्षेत्री हुन । हरेक मानिसहरु विभिन्न माध्यमहरुबाट ज्ञान प्राप्त गर्छन र बौदिक विकास हुन्छ । यो गुण ब्राह्मण हो । त्यसैले सबै मानिसहरु ब्राह्मण हुन । जस्तै मेरो उदाहरण: म शिक्षण गर्छु, नोकरी गर्छु, सेवा गर्छु म शुद्र हुँ । मलाई मेरो सन्तान र सम्पत्तिको माया छ । म वैश्य हु । म मेरो हकअधिकारका लागि आवाज उठाउछु, लड्छु । म क्षेत्री हुँ । मैले विधालय, क्याम्पस, विश्वविधालयबाट शिक्षा प्राप्त गरेको छु । विधार्थीहरुलाई शिक्षा दिन्छु । दैनिक पुजापाठ ध्यान जप गर्छु । म ब्राह्मण हुँ । यसरी यी गुणहरुका आधारमा मानिसहरुलाई विभाजित गर्नु, घमन्ड गर्नु, तुच्छ बनाउनु अज्ञानता हो, पशुत्व हो ।

हरेक मानिसमा यी चारै गुण रहेपनि सबैमा यी गुणहरु समान रहदैनन । कुनैमा ब्राह्मण गुण प्रवल भए अन्य गुणहरु कम देखिन्छन । कुनैमा क्षेत्री गुण प्रवल भए अन्य गुणहरु कम देखिन्छन । यस्तै यस्तै वैश्य र शुद्र गुण प्रवल रहे अन्य गुणहरु कम देखिन्छन । ब्राह्मण गुण प्रवल देखिनेहरुलाई ब्राह्मण भनियो । ति ब्राह्मण गुण भएकाहरुले आफ्ना सन्तानहरुलाई पढाए, सिकाए, ज्ञानको विकास गराए ब्राह्मण बन्दै गए भने केही सन्ताहरुमा लुप्त गुण प्रवल हुन थाल्यो । कोही लडाकु बने, कोही नेता बने, कोही धनाढ्य बने, कोही पढ्न नसकेर अरुका घरमा काम गर्ने परिचर भए तर उनिहरु ब्राह्मण नै रहिरहे अनि घमन्ड चढ्यो ।

ज्ञानी मानिसमा त घमन्ड नै हुदैन । घमन्डी भएपनि उनिहरु ज्ञानी भए अथवा ब्राह्मण भइरहे । त्यस्तै क्षेत्री गुण प्रवल देखीने साहस क्षमता भएका धर्नुविधामा सिपालु भएकाहरु राज्यको रक्षा गर्न थाले र उनीहरुलाई क्षेत्री भनिन थालियो ।

उनिहरुले पनि आफ्ना सन्तानहरुलाई आफ्ना कृयाकलाप गर्न लगाए त्यही सिकाए क्षेत्री गुण भएका सन्तानहरु बने । केही सन्तानहरुमा उनिहरुका लुप्त गुण प्रवल भएर कसैले मिहिनेत गरी पढेर ज्ञानी बने, कोही सम्पत्तिका मालिक बने, कोही सेवक बने तरपनि क्षेत्री गुण भएका सन्तान भएकोले ब्राह्मण, वैश्य र शुद्र पनि क्षेत्री नै रहे । त्यस्तै वैश्य गुण प्रवल दखिने धन सम्पत्तिमा लोभ भएका व्यापार व्यवसाय चलाउनेहरुलाई वैश्य भनिन थालियो ।

उनीहरु पनि आफ्ना सन्तानहरुलाई आफुले सिकेको व्यवसाय सिकाए उनीहरु पनि वैश्य नै रहे । तर केही सन्तानहरुमा उनिहरुका लुप्त गुण प्रवल भयो र कोही राम्रो ज्ञान आर्जन गरी ज्ञानी भए, कोही राजनितीमा सफल रहे, कोही नोकरीमा सफल रहे तर पनि उनीहरु वैश्य नै रहे । त्यस्तै शुद्र गुण देखाउने ज्ञानका कमी अरुको सेवा गर्न चाहनेहरुलाई शुद्र भनिन थालियो । उनिहरु पनि आफ्ना सन्तानहरुलाई अरुले जस्तै आफुले सिकेका ज्ञान सिपहरु सिकाए तर पछिल्ला केही सन्तानहरुमा उनिहरुको लुप्त गुण प्रवल भयो । कोही राम्रो ज्ञान आर्जन गरी ज्ञानी भए, कोही राजनिती गरी नेता भए, कोही प्रशस्त धनका मालिक बने तरपनि उनिहरु शुद्र गुण भएका सन्तान भएकोले ब्रह्मण, क्षेत्री र वैश्य पनि शुद्र नै रहे । यसरी ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र जात नभएर हरेक मानिसहरुमा रहने प्रवल र लुप्त गुणहरु हुन । आफुमा भएको राम्रो गुणको विकास गर्नु, घमन्ड नगर्नु हाम्रो स्वभाव हुनुपर्छ । वैज्ञानिक र धर्मशास्त्रका अनुसार सम्पुर्ण मानिसको वंशज एउटै भएकोले हामी सम्पुर्ण मानवहरुको जात नै मानव हो ।

(शिक्षक, गगालाल मा.वि., स्याङ्जा)

Facebook Comments Box
TOP