भोलि हरिशयनी एकादशी : छाङछाङदी छाँयाछेत्र मन्दिरमा प्रवेश निषेध


कला राना :
यसपटकको एकादशीमा छाङछाङदी मन्दिरमा स्नान तथा पुजापाठका लागी निषेध गरिएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा विगतका वर्षहरुमा ठुलो मेला लाग्ने गथ्र्यो । छायाँक्षेत्र मन्दिर सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार भोलि अर्थात असार १७ गते मनाईने एकादशीका अवसरमा हुने स्नान तथा पुजा पाठ पुर्ण निषेश गरिएको हो । कोरोना भाईरसको लकडाउनका कारणमा मन्दिरमा हुने मेला तथा पुजापाठलाई निषेध गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । समुदायस्तरमै कोरोना फैलिएका कारण पनि मानिसको जमघटले थप जोखिम हुन सक्ने भन्दै पुर्ण निषेध गरिएको उहाँले बताउनुभयो ।
चैत्रदेखि जारी लकडाउनका लागि मन्दिरमा नियमित पुजापाठ बाहेकका अन्य पुजापाठ गरिएको छैन् । शिवको महिनाको रुपमा लिईने साउन महिनामा मन्दिरमा वर्षेनी विशेष मेला लाग्ने गर्छ । यसपटक भने कोरोनाका कारण ३ महिनायता विशेष मेलाहरु भएका छैनन् । साउनको बारेमा केहि समय बाँकी रहेकाले अहिलेसम्म कुनै निर्णय नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विषेश गण्डकी प्रदेशका प्रसिद्ध मन्दिर छायाँक्षेत्र छाङछाङ्दी मन्दिरको महिमा स्वस्थानी ब्रत कथासंग जोडिएको छ । सनातन धर्मावलम्बीहरू यस एकादशीका अवसरमा घरका आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजाआराधना गरी मनाउँने गर्दछन् ।
ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा भोलि एकादशीका बेला सार्ने प्रचलन छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि चतुर्मास अनुष्ठान सम्पन्न हुने धार्मिक परम्परा छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यता स्वरूप चार महिनासम्म नयाँ मांगलिक कार्य गरिँदैनन् । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित पूजा पाठ अनुष्ठानलाई महत्त्व दिइन्छ । यद्यपि सनातन धर्मावलम्बीका महत्त्वपूर्ण चाडपर्व यसै अवधिमा पर्छन् । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्वका साथ मनाईन्छ । आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको अत्यधिक उपयोग गरिन्छ ।बढी अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको वैज्ञानिक महत्व छ । फाईल तस्वीर

Facebook Comments Box
TOP