सन्तानको मुख हेर्ने रहर अधुरै, मुम्बईमै बिते स्याङ्जाका कोषबहादुर

kosh bdr_syangja

मिलन विश्वकर्मा :
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ स्वामीबोटकी विष्णु विकले ६ महिनामा श्रीमान् गुमाइन्। विवाह भएको एक महिना श्रीमानसँग बसिन्। बाँकी ५ महिना टाढै भएर बस्नुप¥यो। त्यसैमा वैवाहिक जीवनको सुखद आनन्द लिने उनको सपना पनि धेरै महिना टिकेन्। करिब ६ महिनामा सपना टुटेर गयो। श्रीमान् गुमाउनु प¥यो।
स्वामीबोट निवासी ५० वर्षीय कोषबहादुर विकले आजभन्दा २५ वर्ष पहिले विवाह गरेका थिए। २५ वर्षसम्म पनि सन्तानको जन्म नभएपछि आफुसँगै रहेकी श्रीमतिको सल्लाह अनुसार अर्को विवाह गर्ने निधो गरे। गतसालको कात्तिकमा उनले कान्छी श्रीमति अर्थात् विष्णुलाई विवाह गरे। सामान्य तरिकाले उनले विवाह गरे । केहि दिनमा कोषबहादुर दुवै श्रीमतिलाई साथमा लिएर मुम्वईतर्फ लागे। जहाँ आफुले जागिर गर्दै आएका थिए। घरबाट निस्कने दिन अब कुनैदिन नर्फकने अन्तिम दिन रहेछ कोषबहादुरको। तीन परिवारको सल्लाहअनुरूप सँगै गएकी विष्णु एक महिनामा घरमा फर्किइन्। जागिर गर्दै आएका कोषबहादुर र उनकी जेठी श्रीमति भने उतै बसे।
घर फर्किएकी विष्णुको पेटमा सन्तान हुर्किरहेको छ। तर त्यहि सन्तान देख्ने कोषबहादुरको सपना भने मुम्बइमै ढल्यो। विश्व महामारीको रूपमा फैलिएको कोरोनाले कोषबहादुरको निधन भएको छ। उनको सन्तान हेर्ने रहरको अध्याय यहिं अन्त्य भएको छ।
श्रीमानलाई सन्तानको खुशी देखाउने विष्णुको सपनापनि अधुरै बन्यो। घर फर्किएको ५ महिनामा श्रीमानको निधन भएको खबर सुनेपछि अहिले गर्भवती अवस्थामा रहेकी विष्णु भावविह्वल छिन्। जुन सन्तान देख्ने रहरले विवाह गरे, त्यो रहर पूरा नहुँदै श्रीमानको निधनले उनको जीवनमा उल्टै बज्रपात थपियो। उनको निधनसँगै विष्णुको जीवनसमेत अध्याँरोजस्तै बनेको छ।
कोषबहादुरको आजभन्दा ५ दिन अघि भारतको मुम्बइस्थित परेलमा रहेको के एक अस्पतालमा उपचारकोक्रममा निधन भएको छ। उनको पार्थीव शरीरको आइतबार बिहान मात्र अन्तिम सँस्कार भएको सहोदर भाई कुलबहादुर विकले बताए।
विगत ३० वर्षदेखि मुम्बईको प्याडारोडस्थित विनामी मेटल कम्पनीमा काम गर्दै आएका कोषबहादुर २० दिन पहिलेदेखि कोरोना भाइरस (कोभिड १९) ले संक्रमित भएका थिए। स्थानीय मेडिकलबाट सामान्य ज्वरोको औषधि सेवन गरेका उनलाई ज्वरोले च्याप्दै गएपछि थप परीक्षणकाक्रममा कोरोना भाइरस संक्रमणको पुष्टि भयो। त्यसलगत्तै थपउपचारको लागि अस्पतालमा भर्ना गरियो। भर्ना भएको १४ दिनमा कोषबहादुरको मृत्यु भएको भाइ कुलबहादुरले बताए। विदेशी भूमिमा मृत्यु भएकोले आफन्त समेत जान नसकेको उनले बताए। आज मरेपछि पनि आफन्तले हेर्न समेत पाइएन्। यो नेपाली युवाका लागि दुःखद् भएको उनले बताए।
परिवार पाल्न अर्काको मुलुकमा दास बन्नुपर्ने, त्यसैमा अकालमा ज्यान गुमाउनु पर्ने यस्तो अवस्थाले आफुलाई चिन्तित बनाएको मुम्बइमा काम गर्दै आएका अर्का छिमेकी युवा लालबहादुर विकले बताए। कोषबहादुरले काम गर्दै आएको कम्पनीबाट पाइने सेवासुविधा उपलब्ध गराएर परिवारलाई राहतको महसुस गराउन उनले आग्रह गरे। कोरोना संक्रमित उनकी श्रीमतिको उपचारमा सहयोग गर्न लालबहादुरले अपिल गरे।

.

कोषबहादुर विक


जेठी श्रीमति अस्पतालको वेडमा छट्पटिदै :
स्वर्गीय कोषबहादुर विकसँग सँगै मुम्बइमा रहेकी जेठी श्रीमति सावित्रा पनि कोरोना संक्रमणले ग्रस्त छिन्। कोषबहादुरसँगै बिरामी परेकी उनको पनि के एम अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्यमा भने सुधार आएको बुझिएको छ। आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको उनले थाहाखबर पाल्पाका समाचारदाता मिलन विश्वकर्मालाई इमोमार्फत जानकारी दिइन्। सँगै भर्ना भएका श्रीमानको मृत्युको खबर पाएपछि भने उनी त्यहि अस्पतालको वेडमा विक्षिप्त छन्। ‘सँगै विरामी भएर अस्पताल भर्ना भएका श्रीमानको निधन भयो भन्ने सुनेकी छु, बेहाल अवस्थामा रहेकी’ उनले भनिन् ‘अन्तिम पटक श्रीमानको मुख हेर्ने इच्छा थियो। हेर्न दिनुस् भनि आग्रह गरे। तर पाइन्।’
मेरो पनि अकालमा ज्यान जालाजस्तो भइसकेको छ उनले थपिन्। आफुलाई छिटो नेपाल आउने इच्छा भएको उनले बताइन्। ‘अर्काको देशमा विरामी परियो’ उनले थपिन् ‘साथ दिने श्रीमान् मरेर गए अब यहाँ साहरा दिने को नै छ र?’ साथमा केहि पैसा त् थियो तर त्यहि पैसाले पानी किनेर खान दिने मान्छे समेत नपाएको उनी गुनासो गर्छिन्। मर्न परे नेपाली भूमिमै मर्थे। छिटो नेपाल आउने वातावरण मिलाइदिन उनले सरकारसँग अनुरोध गरिन्।


Facebook Comments Box
TOP